नेपालको एकीकरणपूर्व वर्तमान सुदूरपश्चिम डोटी राज्यमा अवस्थित थियो । यस क्षेत्रमा प्रायःजसो मानिसहरुले डोटेली भाषालाई मातृभाषाका रुपमा प्रयोग गर्दै आएको पाइन्छ । डोटेली भाषा लोक साहित्यका दृष्टिले अत्यन्तै धनी मानिन्छ । यस क्षेत्रमा विभिन्न चाँडपर्व तथा लोकसँस्कारहरुका क्रममा प्रस्तुत गरिने फाग, सगुन, भलौलो, चाँचरी, भैन, अठ्यावाली, ढुस्को, धमारी, भैलो, होली आदि थुप्रै लोकसाहित्यका सम्पत्तिहरु रहेको पाइन्छ । वर्तमान पश्चिमा सँस्कृति र शहरमुखी मानसिकताका कारण यस्ता लोक सम्पत्तिहरुप्रति कसैले ध्यान नदिदा लोप हुँदै जाने अवस्थामा पुगेका छन् । यस्ता लोक सम्पत्तिहरु लिपीबद्ध भएनन् भने लोप हुन बेर लाग्दैन । भाषा तथा लोक साहित्यमा हाम्रो पहिचान लुकेको हुन्छ । यसकारण यस्ता लोक सम्पत्तिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हुन आउँछ ।
मदन चन्द नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सशक्त योद्धा तथा समाजसेवीका रुपमा चीर परिचित व्यक्ति हुँदाहुँदै डोटेली भाषा तथा लोक साहित्यका संरक्षकका रुपमा पनि चिनिन्छन् । उहाँले आफ्नो जीवनको उत्तरार्धकाललाई भाषा तथा साहित्यमा उपयोग गरेको पाइन्छ । उहाँले वि.सं. २०७० सालमा लोक दर्पण र रोशस लेख संग्रह प्रकाशित गरेका छन् भने डोटेली शव्दकोश र डोटेली गीतहरुको संग्रह प्रकाशनको क्रममा रहेका पाइन्छन् ।
मदन चन्दको लोक दर्पण डोटेली लोक साहित्यमा एक महत्वपूर्ण कृति हो । यसमा उहाँले विशेष गरी गौराको अवसरमा प्रस्तुत गरिने ठाडोखेल, ढुस्को, धमारी त्यसै गरी होली पर्वका अवसरमा गाइने होरी, भैलो आदि जस्ता महत्वपूर्ण लोक सम्पत्तिहरुको सङ्कलन गरी पुस्तकाकार रुप दिएर यस क्षेत्रको लोकसाहित्य संरक्षणमा ठूलो योगदान दिएको पाइन्छ ।
वयोबृद्ध अवस्थामा पनि उहाँ जवानहरु भन्दा बढी सक्रिय रहेका मदन चन्दले डोटेली भाषाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको पाइन्छ । भनिन्छ कुनै मानिसलाई सजाय दिनुछ भने शव्दकोश लेख्न दिनुपर्छ । मदन चन्दले वयोबृद्ध अवस्थामा शव्दकोश निर्माण जस्तो कठीन काम गरी यस क्षेत्रमा हराउन लागेका पुराना झर्रा डोटेली शव्दहरु संरक्षण गर्दैहुनुहुन्छ । यद्यपी उहाँको शव्दकोश अझै प्रकाशनको क्रममै रहेको छ । यो शव्दकोश प्रकाशनमा आए डोटेली भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान रहनेछ ।
हरेक भाषामा आफ्नो साहित्य हुने गर्दछ । साहित्यको रस बिना मानिस पशु समान हुन्छ । डोटेली भाषामा पनि थुप्रै साहित्य रहेको पाइन्छ । यसै कार्यलाई निरन्तरता दिन मदन चन्दले एक हजार भन्दा बढी डेउडा गीतहरुको रचना गर्नुभएको छ । यो कृति पनि प्रकाशनको कर्ममा रहेको छ ।
यसरी राजनीति, समाजसेवा तथा भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिने मदन चन्द साँच्चिकै बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । डोटेली भाषा, साहित्य र लोक साहित्यमा उहाँको विशिष्ट योगदान समाजले भुल्ने छैन् ।
.gif)