एक बामुनुनका बाह्र जनाइ मउ थि । चारगर्खाकि जिजमानि बामुनुनका हात्तै काथडि़ हन्या । बामुनिले लइ गोठमुण दुई भुइसा दिन्या पालिराख्या भ्या । घर गोरसकि केइ कमि नाइ । एकदिन एक मान्स हेरालि गरुनाइ बामुनुनका घर आयान । बामुन घर नाइभ्या रे बामुनिनले थोक्कै बेर बसिझा बा, सराद झाइर्यान रे पुगिझान्ना थोक्कै बेर भण्यो रे खालाका कन्सिउनि परालो फिन डसेइदियो । फिनामाइ बसिबरे तनले सुल्पामाइ तमाख भर्यो रे खानपस्या । उन्ज्याँ बामुनिनले खानिधानि बनाइछ । बामुन पुग्या नाइ रे तनलाइ खानाइ बोलायो । तनले त खानाखाना बाह्र जनाइ पकायो खानाइ लै एक विण्णाकि छाँच लइ फर्कन नाइदियो । खाइछरे अड़ाम्मु डगार निकाल्यो रे चुठ्ठाकि भाइर गया । खोलादेलिउनि पुगिरैथ्या रे बामुनिनले गेदानखाइ यो इति खान्या मुड़कट्या कि काम गद्या हो ब, पुराइ मउकि पकायो खाइदियो रे, एइकि घरिना कस्या पाल्लि हो एइलाइ भणिछ । तसो भण्यो तनले सुणिहाल्यो । हातमुख चुठिबरे भितर आया रे भणिछ आमा केइ काम छ त खाल्लि कि बैरु बामुन औन्ज्याँ सम्म भणिछ । बामुनि बोल्यान रे केइन थिन काम त आब तम कि गद्या हो बसिरौ भणिछ । नाइ आमा केइ काम भया भण भणि जिद्द गरिछ । आब और त केइन थिन रे बेलि पल्ला गैर लाकड़ा फाडि़ राखिथ्या रे तनुइ लेइआस पुइ भणिछ । आमा कति छन् ब लाकड़ा भणि सोद्यो रे बामुनिनले भण्यो हन्ना दस बाह्र भारी रे तम क्याइ हो कष्ट गद्या सकन्छौ त एकपुलो लेइ आस पुइ भणिछ । ठिकै छ आमा भितरमुण भया सप्पै जेउड़ा लम्याला ल्यास पुइ भणिछ । सप्पै जेउड़ानले तम कि गद्या हो भण्यो रे ल्यास त सही मुइ जि लइ गर्लो रे भणिछ । आमाले लइ चार जेउड़ा दुई लम्याला मुखइनि खितिदिया । तन जेउड़ा लम्याला समाया रे गोठ झाइ गोरबाच्छानका किलाका गलिउँ लइ फोया रे सप्पै थामी लाकड़ा लिउन गया । लम्याला, जेउड़ा, टुटेउड़ा, गलिउ सप्पै एकलाइ गछिया रे जति थ्या सप्पै लाकड़ा एकैमा बाद्या रे टुपुक्क टिपी लेइआया । लाकड़ाकि भारी लेइबरे खोलादेलिउनि बिसाइ दिछ । बामुनि भितर भया रे भाइर औन्या बाटोइ नाइ आब कि गरुन । झ्यालमुण मुण्डो हालि बामुनिनले भण्यो ओ बा कि गर्या ब इसो, आब भाइर कस्याँ हो ब औन भणिछ । उन्ज्या तन बोल्यान रे भण्यो एक भारि लाकड़ा नउचाइ सक्केइ घगरियाले खानाइ नखाया कि भ्यो ब भणिछ । पुइ बामुनि बोल्यान रे ओ बा मेरा खापकि बुर्कि रै गइ रे तइ भारि उचाइबरे खालामा राखिदिए भणिछ । तनले हात लम्यालो सामि भारिलाइ घुणो लायो रे टुपुक्क खालामाइ खितिदियो । बामुनि आमा अचम्म रइन रे चाबासि दियो ।
.gif)