शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकविश्वासमा सपना


सोमबार, चैत ७ २०७८
  • 1.5K
    Shares

  • images
    images
    डोट्याली लोकविश्वासमा सपना


    मानव जीवनमा शुभ अशुभको सङ्केतका बारेमा व्याख्या गर्ने परम्परा धेरै पुरानो मानिन्छ । मानव जीवनका विविध क्षेत्रमा घट्ने घटनाहरुका आधारमा राम्रो नराम्रोको अर्थ लगाउने परम्परा नै सामान्यतया लोक विश्वास हो । यसै अन्तर्गत सपना पनि एक हो । पूर्वीय र पाश्चातय दुबै परम्परामा सपनाको विविध अर्थ लाउने परम्परा रहेको छ । पूर्वीय परम्परामा त सपनाको अध्ययन गर्ने शास्त्र समेत बनेका पाइन्छ । शुकुन विचार लगायतका विभिन्न सपना सम्बन्धी अध्ययन गर्ने शास्त्रहरुका आधारमा मानव जीवन र सपनाको गहिरो सम्बन्ध रहेको प्रमाणित हुन्छ ।  

      
    डोट्याली लोक समुदायमा पनि सपनाहरुका आधारमा विभिन्न किसिमका शुभ अशुभ सङ्केतको अर्थ लाउने परम्परा धेरै पहिलेदेखि नै चल्दै आएको पाइन्छ । डोट्याली लोक समुदायको अध्ययन गर्ने हो भने जनक नन्दिनी सीतालाई वनबास जानु अघि सपना भएको र उक्त सपनामा खालानिरको पिपल ढलेको देख्नु, नवालीका चाप ढलेको, घरको धुरी, भरानो टुटेको देखेको सर्प लड्दै कराउन लागेको, आभुषणहरु खोलेको आदि सपना देख्दा दाजु बिरखमले उक्त सपनाको अर्थलाएको प्रसङ्ग लोकरामायणमा यसरी आउँछ :


    खोलीको पिपल ढल्या कइ पिडालो
    खोलीको पिपल ढलया नङर पिडा
    नवालीका चाप ढल्या कइ पिडा
    नवालीका चाप ढल्या पन्यारी पिडा
    गोठकी भरानी टुट्या कइ पिडालो
    गोठकी भरानी टुट्या बल्ल पिडा
    मजेलाकी धुरी टुट्या कइ पिडा
    मजेलाकी धुरी टुट्या पुरिख पिडा..... 


    उक्त सपना सुनेर बिरखमले यो सपना राम्रो नभएको र यस सपनाले अशुभ सङ्केत गर्ने कुरा गरेको प्रसङ्ग लोक रामायणमा आउने गर्दछ ।
    त्यसै गरी राम रावणको युद्ध हुनुअभि मन्दोदरीलाई पनि अशुभ सपना भएको र  त्यसबाट डरेर उक्त सपनाको वर्णन गर्दै रावणसँग ससम्मान सीतालाई फिर्ता पठाउन आग्रह गरेको प्रसङ्ग आउने गर्दछ । 
     
       त्यसै गरी डोट्याली लोक महाभारत अन्तर्गत पाण्डवको धुनीअन्तर्गत  कुन्तीले ऋतुस्नान गरी पूजाका लागि दीप प्रज्वलन गर्दा दीयो निभेको र त्यसलाई अशुभ सङ्केतका रुपमा मान्दै रुन थालेकि र रुदारुदा निद्रा लागेर शिरमा सालीधानको चामल राखेको थाली, त्यसैमा गाई घिउँ, जोलो सुपारी, जोलो जनेऊ, उरुदको दाल, मर्चआदि मसला भएको र कोखीमुनी पुस्तक, हातमा निङालोको छडीभएको र पैतलामुनी गंगा बगेकी देखेको र उक्त सपनाको वर्णनका लागि घरपरिवार तथा विज्ञ मान्छेहरुसँग त्यसको वर्णन गर्न आग्रह गरेको र अन्त्यमा उनका दाजु दुनाचारले उक्त सपनाको राम्रो सङ्केत भएको र पुत्र प्राप्ति हुने फल व्याख्या गरेको र दुनाचारकै सल्लाह अनुसार ऋषिभोज गरेर पुत्र प्राप्ति भएको प्रसङ्ग पाइन्छ ।  
    यसरी समुदायको लोक विश्वास अनुसार विभिन्न किसिमका सपनाहरुका लागि विभिन्न ढङ्गले अथ्र्याइने गरिन्छ । सपनामा पनि रातीको पहर अनुसार छिटो ढिलो मिलाउने भन्ने विश्वास गरिन्छ ।  पहिरो गएको देखेमा अशुभ घटना घट्ने, हिलोमा फसेको देखेमा दुःख तथा दलदलमा फसिने, सफा पानी देखेमा  मनोकामना पुरा हुने, बाढी आएको देखेमा रोग व्याधिमा परिने, मरेको मान्छेसँग बोलेमा मनोकामना पुरा हुने, मरेको मान्छेको हातको खाना खाएको देखेमा रोग बढ्ने तथा मृत्यु हुने, घोडा तथा यातायातका साधनमा चढेको देखेमा अप्रिय घटना घट्ने मृत्यु हुने, दाउरा चिरेको देखेमा गाउँ छिमेकमा कोही मर्ने, नयाँ कपडा लगाएको देखेमा मृत्यु हुने आदि थुप्रै सपनाका अर्थ लगाउने गरिन्छ । त्यसै गरी सपनाकै आधारमा विभिन्न देवीदेउताहरुको दोष लागेको अर्थ पनि लगाउने गरिन्छ । यसरी मनोवैज्ञानिक रुपमा मानव जीवनका विविध पक्षहरुमा सपनाको गहिरो प्रभाव रहेको पाइन्छ ।  




    प्रतिक्रिया दिनुहोस