महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनी ४२६२ मतसहित पालिकाको अध्यक्षमा विजयी भएका हुन् । शाहीका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा पनि कांग्रेसकै मीनादेवी विष्ट विजयी भएकी छन् ।
उनी ४०७२ मतसहित विजयी भएकी हुन् । विष्टकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन् । केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो । केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो । गाउँपालिकाका सात ओटा वडामध्ये चारमा कांग्रेस, एकरएक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन् । डोटीका नौमध्ये आठ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा ६ पालिकामा कांग्रेस विजयी भएको छ । एमाले र माओवादीका उम्मेदवार एक÷एक पालिकामा विजयी भएका छन् ।
.gif)