महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन्। आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
महराले छ हजार ७७३ मत प्राप्त गर्नुभयो भने उनका प्रतिद्वन्द्वी कांग्रेसका भट्टले छ हजार २६४ मत प्राप्त गरे । नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गरेका छन् । शुक्लाफाँटाको नगर उपप्रमुखका नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छन् ।
उनले छ हजार ५१९ मत प्राप्त गरिन् । त्यसैगरी उप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का माधव पन्तले ५ हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा शुक्लाफाँटामा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल निर्वाचित भएका थिए । नौ पालिका रहेको कञ्चनपुरमा हालसम्म तीन पालिकामा नेपाली कांग्रेस, तीनमा एमाले र एउटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ । यहाँको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकामा मतगणना जारी रहदा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
.gif)