शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कहाँ हराए बालअधिकारका नारा ?


बुधबार, जेठ ११ २०७९
  • 1.7K
    Shares

  • images
    images
    कहाँ हराए बालअधिकारका नारा ?

    स्थानीय निर्वाचन सकिएपछि नयाँ शैक्षिकसत्रको सुरुवात सुरुवात भयो । विद्यालयहरु धमाधम खुल्न थाले । पुस्तक पसलहरुमा विद्यार्थीहरुका पाठ्यसामग्री किन्नेहरुको घुइचो देखिन्छ । त्यसै गरी  कपडा पसलहरुमा पनि विद्यार्थीहरुका पोशाक किन्ने मान्छेहरुको बाकलो भिड चलेको छ । विद्यालयमा विद्यार्थीहरु नयाँ कक्षा, नयाँपाठ्यपुस्तक र नयाँ पोशाकका साथ नौलो जोश जाँगर लिएर विद्यालयमा आउन थाले । अभिभावकहरुले पनि आफना नानीबाबुहरुका लागि उपयुक्त विद्यालयको पहिचान गरी धमाधम भर्ना गराउन थालिरहेका छन् । शिक्षकहरु पनि नयाँ जोशका साथ विद्यालयमा उपस्तिथ भइरहेका छन् । कतिपय शिक्षक, अभिभावक र विद्यार्थीहरु समयमै पुस्तक नपाएको गुनासो पोख्दै गरेको देखिन्छ । विद्यार्थीको गतवर्षको प्रगति विवरणका आधारमा नयाँ शैक्षिकसत्रको तयारीका लागि समेत विद्यालयमा बहस हुँदै गरेको दृष्य देखिन्छ । भाग्यमानी हनु यस्ता बालबालिका जसले समयानुकूल शिक्षाका लागि सचेत अभिभावक, शिक्षक र विद्यालय पाएका छन् । तर दुःखको कुरा त यस्तो छ जहाँ आफ्नै उमेरका बालबालिकाहरु नयाँ शैक्षिक सामग्री र नयाँ लुगाका साथ विद्यालय गइरहदा तिनीसँगै एउटा फोहोर कट्टा बोकेर विद्यालयकै छेउछाउमा फोहोर खोजिरहेका छन् । 
    कुरा यही जेठ ५ गतेको हो र   म नयाँ शैक्षिकसत्रको सुरुवातमा विद्यालयमा पढाउनका लागि गए । पहिलो घन्टी पढाएर बाहिर निस्कदा तिनचार जना ससना बालबालिकाहरु एउटा फोहोर कट्टा काँधमा झुण्ड्यायी विद्यालयको प्राङ्गणमै पुगेर छेउछाउमा विद्यार्थीहरुले फालेका प्लाष्टिक खोज्दै हिडिरहेका थिए । ती बालबालिकाहरु मध्ये १२ वर्षभन्दा माथिका कोही पनि देखिदैनथे । आफ्नै दौतरीका केटाकेटी विद्यालयमा आनन्दले पढिरहँदा उनीहरुलाई पनि रहर लाग्दो होला । उनीहरु पनि सोच्दछन् होला अरु केटाकेटीजस्तै सुन्दर झोलामा नयाँनयाँ किताब, कापी राखेर सुन्दर पोशाकमा विद्यालय जान तर त्यसो हुनुको सट्टा विद्यालयकै वरिपरी पनि के भन्नु विद्यालयकै प्राङ्गणमा फोहोरको भारी काँधमा झुण्ड्याइ डुल्दा उनीहरुको मनमा के बित्छ होला । एकचोटी मैले ती बालबालिकाहरुलाई रोक्ने प्रयास गरे । मलाई तिनीहरुसँग कुराकानी गरी उनीहरुका अभिभावकलाई भेटेर केही कुरा गर्न मन लागिरहेको थियो तर तिनीहरुलाई बोलाउन खोज्दा कुन्नी डरले हो या लाजले तिनीहरु भागेर गए । यो कुराको उठान गर्नुपर्छ भन्ने उद्देश्यले मैले टढैबाट उनीहरुको तस्बिर पनि लिए  । यसरी अन्तराष्ट्रिय स्तर मै बालअधिकारका ठूलाठूला कुरा चलाएर थुप्रै एनजिओ, आइएनजिओहरुले पैसा सोहिरिरहेको बेलामा यस्ता कलिला बालकहरुको काँधमा फोहोरको थैलो झुण्डिएको देख्दा बालअधिकारका कुरा त कागजमा मात्रै सीमित भएको महशुष भयो । महेन्द्रनगर शहरी क्षेत्र भएकाले सुदूरपश्चिमकै सभ्य मानिस बस्ने ठाउँ पनि हो । यस क्षेत्रमा बालबालिका सम्बन्धी काम गर्ने थुप्रै संघसंस्थाहरु पनि छन् । थुप्रै मानवअधिकारकर्मी र सरकारी कर्मचारीहरुको भीड भएको ठाउँ पनि हो यहाँ गाउँको भन्दा बढी सुरक्षाकमी तथा सामुदायिक प्रहरी पनि घुमिरहेका हुन्छन् । सबैको नजरमा यी बालबालिक पर्छन् तर यिनीहरुको बारेमा कसैले पनि चासो नराखेको पाइन्छ । विशेष गरी छिमेकी देश भारत मूल भइ नेपालमा बसोबास गर्दै आइरहेका बालबालिका यस्तोमा बढी देखिन्छन् । बालबालिका जुनसुकै देशका भए पनि बालअधिकारकर्मीहरुले यिनीहरुको भविष्यका लागि कदम चाल्नुपर्ने हो तर यसो कही कतैबाट पनि भएको देखिदैन । यिनीहरुका अभिभावकहरुले पनि तिनीहरुको भविष्यका बारेमा चासो राखेको देखिदैन् । मैले केही प्रबुद्ध व्यक्तिहरुसँग कुरा राख्दा तिनीहरु भारतीय मूलका बालबालिका हुन् तिनीहरुका अभिभावकहरुलाई जति सम्झाउँदा पनि मान्दैनन् भन्ने गुनासो पनि सुनियो तर यदि अभिभावकले भनेको मान्दैनन् भने बालश्रमको केशमा तिनीहरुलाई कारवाही किन हुँदैन । के तिनीहरु भारतीय मूलको भएकै कारण नेपालको कानुनले कारवाही गर्न नमिल्ने हो र ? के ती बालबालिकाको लागि अन्तरष्ट्रिय रुपमा बालअधिकारको क्षेत्रमा काम गर्दै आइरहेका संघसंस्थाले बोल्नै नपाउने हो त ? यदि बोल्न नै नपाइने हो भने पनि भारत सरकारलाई खबर गरी तिनीहरुलाई जिम्मा लाएको खै ? अभिभावकहरु त अशिक्षित पनि हुन सक्छन् । परम्परागत रुपमै उनीहरुले पनि त्यस्तै काम गर्दै आइरहेका छन् के उनीहरुका सन्ताहरुले पनि आजीवन त्यही काम मात्र गर्नुपर्ने हो र ? आदि थुुप्रै प्रश्नहरु मनमा खेल्दछन् तर तिनीहरुको जवाफ भने कही कतैबाट पाउन सकिदैन । ती बालबालिकाहरुका अभिभावकलाई राम्ररी सम्झाइ बुझाइ सकेको सहयोग गरी विद्यालय पठाउने वातावरण बनाउने जिम्म आँखिर कसको हो ? मानव समुदायमा बसिसकेपछि एउटा शिक्षित नागरिकको कर्तव्य सम्झी हरेक मानिसले यसमा आवाज उठाउनु पर्नेमा झन् कसैले मतलब नराख्नु कुन मानवता हो र ? 
    बालबालिकाहरु जुनसुकै देशका भए पनि तिनीहरुको पढ्नेलेख्ने अधिकार सुनिश्चित गर्न हरेक राष्ट्रको कर्तव्यभित्र पर्दछ । यदि कहीँ कतैबाट बालश्रम भइरहेको छ भने त्यसलाई आवश्यक कारवाही गर्न सक्नु पर्दछ । विभिन्न समयमा बालअधिकार सम्बन्धी भएका गोष्टी तथा सभाहरुले पनि कुनै पनि राष्ट्रले बालबालिकाहरुलाई अध्ययनको आधार प्रदान गर्नका लागि र उनीहरुको पढ्नेलेख्ने अधिकारलाई सुनिश्चित गर्ने विभिन्न सन्धीहरुमा हस्ताक्षर गरेको पाइन्छ । के ती सन्धीहरु केवल सहभागिताका लागि मात्र हुन् ? के तिनीहरुलाई सबैले व्यवहारतः लागु गर्नु पर्दैन् ? यदि साँच्चिकै बालअधिकारका लागि ती शान्ति सम्झौता भएका हुन् भने हरेक जुनसुकै देशका बालबालिका भए पनि तिनीहरुको शिक्षा ग्रहण गर्न पाउने अधिकारका लागि कदम चाल्नुपर्दछ । यदि अभिभावकबाटै त्यस्ता समस्या देखिएमा तिनीहरुलाई सम्झाइ बुझाइ तथा आवश्यक परे कानुनी कारवाही गर्न समेत पछि पर्नु हुँदैन । यी त केही बालबालिकाका कुरा मात्रै हुन् यस बाहेक पनि थुप्रै बालबालिकाहरु होटेलमा भाँडामाझ्ने, देखि लिएर गाडीमा कामगर्ने, विभिन्न कम्पनीहरुमा काम गर्ने, ठेकेदारहरुले विभिन्न किसिमको मजदुरी गराउँदै आइरहेका घटनाहरु पनि थुप्रै छन् । यस्ता कुराहरुको न्युनीकरणका लागि व्यक्ति, समाज, सरकार तथा अन्य बालअधिकारसम्बन्धी काम गर्दै आइरहेका संघसँस्था, बालअधिकारर्मी सबैले अनुगमन गरी तिनीहरुको अधिकार सुनिश्चित गर्नु भूमिका खेल्नु आजको आवश्यकता हो ।  




    प्रतिक्रिया दिनुहोस