दुर्व्यसनी तथा लागुऔषधको सेवन एक प्रकारको कुलत हो । यो अहिलेकोसमाजको जल्दोबल्दो समस्या हो । नसालु पदार्थको सेवन, धुम्रपान, मद्यपान, विभिन्न औषधीहरुको सेवन आदि यस कुलत अन्तर्गत पर्दछन् । डाक्टरको सल्लाह र परामर्श बाहेक औषधीको जथाभावी दुरुपयोग गर्नु पनि कुलत हो । गाँजा, चरेस, अफीम, हिरोइन, रक्सी, चुरोट, सुर्ती जस्ता नसाल् पदार्थको सेवन गर्नु दुव्र्यसन हो ।
लागु औषध सेवन र दुर्व्यसनले सेवनकर्ताको स्वास्थ्यमा नराम्रो असर पर्दछ । यसले हाम्रो पारिवारिक तथा सामाजिक जीवनमा पनि ठूलो असर पार्दछ । यसबाट समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घट्ने गर्दछन् । लागुऔषध सेवन र दुर्व्यसन गर्ने मानिसहरुले चोरी, डकैती हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरु घट्ने गर्दछन् । यस्ता व्यक्तिहरुले घरपरिवार तथा समाजमा द्वन्द सिर्जना गर्ने काम पनि गर्दछन् । लागुऔषधको सेवन तथा दुव्र्यसनले घरपरिवारमा आर्थिक समस्या उत्पन्न हुनको साथै अशान्ति पनि बढाउँछ । यसले हाम्रो सोच्ने क्षमतालाई कमजोर बनाउनुका साथै एकोहोरो टोलाइरहने बनाउँछ । हाम्रो स्मरण शक्ति घटाउनुका साथै हाम्रो मस्तिष्कमा नराम्रो असर पार्दछ । लागुऔषधको सेवनले हाम्रो स्नायुप्रणालीमा असर गर्दछ । यसले हाम्रो शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर पारेर विभिन्न रोगहरु निम्त्याउँछ । यसले मानसिक तनाव बढाउनुका साथै मनमा विभिन्न किसिमका नराम्रा विचारहरु उत्पन्न गराउँछ । आफूले सोचेजस्तो नभइदिदा कतिपय अवस्थामा आत्महत्या गर्ने जस्ता सोचहरु मनमा आउने गर्दछन् र कतैकतै यस्ता घटनाहरु समेत घट्ने गर्दछन् । यसको सेवनले मनलाई नियन्त्रण गर्न नसक्दा विभिन्न किसिमका मानसिक रोगहरु पनि निम्त्याउने गर्दछ । लागुऔषधको लत लागेपछि छुटाउन गाह्रो हुने भएकाले पछिपछि यसको सेवन गर्न नमिले अर्थात उपलब्ध हुन नसके छटपटी हुने र किन्नका लागि पैसा नभए चोरी गर्ने बानीको पनि विकास हुन्छ । यसले मानिसलाई घरबार विहीन बनाउछ र शिक्षादीक्षा तथा रोजगारीका अवसरहरुबाट बञ्चित गराउँछ । देशमा दक्ष जनशक्तिको अभाव भएर समाज तथा राष्ट्रको विकासमा पनि यसको असर देखा पर्दछ ।
वर्तमान समयमा यस्ता समस्या विशेष गरेर किसोरावस्थाका बालबालिकामा बढी देखिने गरेको पाइन्छ । साथीहरुको लहलहैमा लागेर चुरोट, बिडी, गाँजा, चरेस, रक्सी तथा अन्य विभिन्न लागुऔषध गर्ने बालबालिका तथा किसोरहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको पाइन्छ । बालबालिकाहरु कुलतमा लाग्दा उनीहरुको पढाइलेखाइ पनि कमजोर हुने, विद्यालय, घरपरिवार र समाजबाट पनि मायाप्रेम नपाउने हुनाले उनीहरुको जीवन एक्लो हुन्छ । जस्ले गर्दा उनीहरु त्यसको पीडा भुलाउन झन ठूलो कुलतको प्रयोग गर्दछन् र अन्त्यमा ठूलै ड्रगिष्टको रुपमा चिनिन्छन् । यसको प्रयोगले हत्या, आत्महत्या, बलात्कार, चोरीचकारी जस्ता घटनाहरु पनि बढ्दै गइरहेका छन् । यसरी बालबालिकाहरु कुलतमा फस्दै जानु र विभिन्न अपराधहरु बढ्दै जानु अहिलेको प्रमुख समस्या बन्न पुगेको छ।
बालबालिकाहरुलाई लागुऔषध र दुर्व्यसनबाट बचाउन अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ । हरेक बालबालिकाहरुलाई आफ्नो निगरानीमा राखेर उसलाई विभिन्न किसिमका शिक्षा र नैतिक चरित्रको विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । उनीहरुलाई कुलतमा लागेका व्यक्तिबाट टाढा राख्नुपर्दछ । बालबालिकाहरुको मनोविज्ञान बुझेर उसलाई सदमार्गमा हिडाउने कोशिष गर्नु पर्दछ । लागुऔषध बेचबिखनमा लागेका मानिसहरुबिरुद्ध राज्यले कडा कानुन ल्याएर यसको रोकथाममा विशेष ध्यान दिनुपर्दछ । लागुऔषध दुर्व्यसनका सम्बन्धमा सरकार तथा विभिन्न सामाजिक संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । विद्यालयमा पनि यस सम्बन्धमा विशेष शिक्षाको व्यवस्था गरिनुपर्दछ । कुलतमा फसिसकेकाहरुलाई सुधारगृहमा राखेर उसमा भएको दुव्यसनलाई हटाउने कोशिष गर्नुपर्दछ । कुलतमा लागेकाहरुलाई तिरस्कार भन्दा पनि सकारात्मक तरिकाबाट त्यसबाट बाहिर निकाल्ने कोशिष गर्नु पर्दछ । लागुऔषध अहिलेको समाजको जल्दोबल्दो समस्या भएकाले यसको समाधानको लाई व्यक्ति, राज्य तथा सरोकावाला सबै पक्षले यसको निराकणका लागि ध्यान दिनु आजको आवश्यकता हो ।
.gif)