शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

 सिर्जनात्मक लेखन र यसको महत्व


आइतबार, जेठ १५ २०७९
  • 3.8K
    Shares

  • images
    images
     सिर्जनात्मक लेखन र यसको महत्व

    सिर्जना भनेको रचना गर्नु भन्ने बुझिन्छ । कुनै नयाँ कुराको प्रस्तुतिलाई सिर्जना भनिन्छ । सिर्जना नित्तान्त व्यक्तिगत हुने गर्दछ । कुनै कुराको सिर्जना गर्नमा मानव मस्तिष्कमा उत्पन्न हुने कल्पनाको विशेष महत्व रहेको हुन्छ । मानव मस्तिस्क कल्पनाको भण्डार हो, कल्पनाकै उपज यो सृष्ट्रिको पनि रचना भएको कुरा पनि पूर्वीय दर्शनमा पाइन्छ । यो सृष्टिका आदिरचनाकार मानिने बह्माको कल्पनाशक्तिको उपज यो संसार मानिन्छ । भौतिकरूपमा यो बह्माण्ड जति ठूलो छ छ मानव मस्तिस्कको आयतन अझै यो भन्दा ठूलो हुनुपर्छ किनकी यो बह्माण्डमा नदेखेका कुराहरूको पनि हामी कल्पना गर्न सक्छौ । जुन कुरा यो बह्माण्डमा छैन त्यो कुरा मानव मस्तिष्कभित्र रहेको हुन्छ । यसकालागि मस्तिष्कको मन्थन हुनु जरुरी हुन्छ । मस्तिष्क जति मन्थन गरियो त्यति नै यसको क्षमता पनि बढ्दै जान्छ र जति खुम्च्यायो यसको क्षमता तथा गुण पनि लुप्त हुँदै जाने गर्दछ ।  जसरी एउटा कम्पूटरले असिमित काम गर्न सक्छ त्यसको अरबौँगुना बढी मानव मस्तिष्कले काम गर्न सक्छ । मावन मस्तिष्कको क्षमता मापन गर्नसक्नै कुनै वैज्ञानिक आधार हुँदैन र हुन पनि सक्दैन किनकी त्यो आधार तयार गर्नका लागि पनि मानव मस्तिष्ककै प्रयोग हुन्छ । एउटा व्यक्तिको मस्तिष्क भनेको अनन्त बह्माण्डहरूको रचनाको आधार तयार गर्ने कल्पनाको सप्टवेयर हो । यसकारण मानव मस्तिष्कमा अनन्त सिर्जनाशक्ति रहेको हुन्छ ।  
     त्यसअघि नगरिएको अर्थात कुनै कुरालाई नौलो तरिकाले आफ्नोपन दिएर प्रस्तुत गरिने कलालाई सिर्जनात्मक कला भनिन्छ । सिर्जनात्मक कलाका विभिन्न भेदहरू हुन सक्दछन् । जसरी मानव मस्तिष्कको मापन गर्न सकिदैन त्यसरी नै सिर्जनात्मक कलाका भेदहरू पनि सङ्ख्यामा गन्न सकिदैन । यी भेदहरू सिर्जनाकार अनुसार थपिदै जाने गर्दछन्, यसैको उपज हो साहित्यका विविध भेद थपिदैजानु, विज्ञानका विविध चमत्कार थपिदै जानु, खेलहरू, नयाँनयाँ फेसन, खानाका परिकार, ज्ञानका क्षेत्र तथा विषयहरू आदि जेजति पनि कुरा छन् ती दिनानुदिन बढ्दै जानु भनेको सिर्जनाका भेदहरू असिमित हुँदै जानु हो । यसकारण सिर्जनाका भेदहरूलाई पनि सङ्ख्यामा गन्नु उपयुक्त हुँदैन । नयाँकुराको रचना मात्रै सिर्जना नभएर पुराना कुरामा आफ्नो पन दिनु अर्थात प्रस्तुतिको तरिका फरक गर्नु पनि सिर्जना नै हो । जसरी मानव मस्तिष्कको क्षेत्र व्यापक छ त्यसरी नै सिर्जनाको क्षेत्र पनि व्यापक छ । धर्म, संस्कृति, ज्ञान, विज्ञान, दर्शन जे जति कुराहरू छन् यी सबै मानव मस्तिष्कमा भएको कल्पनाशक्ति र सिर्जनात्मकताकै उपज हुन् । सामान्य अर्थमा मानिसको मस्तिष्कमा उत्पन्न विविध भावहरूलाई विभिन्न माध्यमबाट व्यक्त गरिने कलालाई सिर्जनात्मक कला भनिन्छ । यस्तो कला बोलेर, अभिनय गरेर, लेखेर तथा विभिन्न वस्तुहरूको सहायताले नयाँ रूप दिएर व्यक्त गरिन्छ । 

     मानव मनका भावहरूलाई भाषाका माध्यमबाट लेखेर व्यक्त गरिने कलालाई लेखन कला भनिन्छ । आफ्ना मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पु¥याउने कला नै सिर्जनात्मक लेखन कला हो । लेखन सामान्यतया दुई किसिमको हुन्छ, साहित्यिक लेखन र साहित्य इतर लेखन । यी दुबै लेखन लेखन कलाभित्र नै पर्दछन् तर लेखन सिर्जनात्मक हुनका लागि यो मौलिक हुनु जरुरी हुन्छ ।  अर्को अर्थमा भन्दा अरुले प्रस्तुत गरेका विचार भन्दा भिन्न अथवा फरक शैलीमा लेखिन्छ भने त्यो सिर्जनात्मक लेखनभित्र पर्दछ । लेखिएका कुरालाई फरक तरिकाले लेख्नु पनि सिर्जनात्मक कला नै हो ।  विभिन्न अनुसन्धानमूलक लेखहरू, विभिन्न विचार तथा दर्शन, साहित्यका विविध विधा कविता, कथा, गीत, गजल, नाटक, निवन्ध, समालोचना आदि सम्पूर्ण कुराहरू सिर्जनात्मक लेखनभित्र पर्दछन् । 
    हाम्रो समाजमा जीवनलाई सजिलोसँग सञ्चालन गर्नका लागि मानिसहरूले विभिन्न पेशाहरू अपनाएका हुन्छन् । पाइलट, इन्जिनियर, डाक्टर, शिक्षक, विभिन्न व्यापार व्यवसाय आदि । यिनै पेशाहरूका आधारमा विद्यालय तथा महाविद्यालयका पाठ्यक्रम पनि बनेका छन् । लेखन सबैभन्दा उत्कृष्ट कला हो सबैले भन्छन् तर यसलाई पेशााको रूपमा भने कसैले अँगाल्न सकेको पाइदैन् । सिर्जनात्मक लेखनलाई पेशाको रूपमा लिन नसक्नाले कतिपय लेखकहरूमा लेखनप्रति वितृष्णा पैदा भएको पाइन्छ । हाम्रोजस्तो देशमा कुनै कुरा लेखेर गुजारा गर्न सकिदैन भनेर पूर्वानुमान गरेरै मानिसहरू यो पेशालाइृ अँगाल्न नै मन गर्दैनन् यो सरासर गलत हो । कुनै काम नगरिकनै त्यसको प्रतिफलको बारेमा नकारात्मक सोच बनाउनु र नराम्रो कल्पना गर्नुमा कुनै वैज्ञानिकता छैन् । सर्वप्रथम त हामीले यसको महत्व नै बुझेका छैनौँ अर्को कुरा के हो भने हामीले के लेख्ने र कसरी लेख्ने भन्ने कुराको बारेमा जानकार छैनौ । साहित्यलाई केवल मनोरञ्जनको साधन र नाम कमाउने बाटोका रूपमा मात्र हेर्ने परिपाटीले गर्दा कतिपय लेखन कलातिर लागेका मानिसहरूमा निरासा पैदा हुनु सिवाय अरु केही भएको पाइदैन । अहिलेको युग बौद्धिक युग हो, शारीरिक रुपमा पसिना बगाएरमा मात्र अर्थ कमाउन सकिन्छ भन्ने होइन । हामीले के बुझ्नु जरुरी छ भने हामीले लेखेर पनि राम्रै आम्दानी गर्न सक्छौ तर के कुरा ज्ञात हो भने हामीले लेखेको कुरा धेरैभन्दा धेरै मानिसको काम आओस् तब मात्र हामी हाम्रो लेखनलाई अर्थसँग जोड्न सक्छौँ । सर्वप्रथम त हामीले के बुझ्नु जरुरी छ भने लेखनबाट संसारका धेरै मानिस आर्थिक सम्पन्नताका दृष्टिले धेरै अघि छन् । लेखन गर्नुअघि हामीलाई लेखनको बारेमा थाहा हुनुपर्दछ । लेखनको बजार कस्तो छ ? कुन किसमको लेखन अहिलेको समाजले खोजिरहेको छ भन्ने कुरा सर्वप्रथम आउँछ । दोस्रो महत्वपूर्ण कुरा के हो भने संसारका उत्कृष्ट लेखकहरूको बारेमा अध्ययन गर्नु जरुरी छ । उनीहरूले के लेखे कसरी सफल भए यो कुरा नजानीकन कुनै पनि लेखकले अगाडि बढ्न सक्दैन । लेखन यस्तो कला हो जसको साहारामा पुरै समाज चलेको हुन्छ यसकारण लेखकले लेख्ने कुरा सधैँ समाजको हितमा हुनु जरुरी छ । यसकारण लेखकले आफूलाई लेखक भन्दा पनि एउटा अध्येता हुँ भन्ने सोच्नुपर्दछ । एउटा लेखक सधैँ अध्ययनशील र अनुसन्धानको लागि टुलिरहेको हुनुपर्दछ । लेखनको लासिग आवश्यक पर्ने कच्चापदार्थको खोजमा सधैँ तयारी अवस्थामा बसेको हुनुपर्दछ । अर्को महत्वपूर्ण कुरा के हो भने लेखक स्वयम्ले कति लेखकहरूका लेख तथा कृतिहरू पढेको छ भन्ने हो । जब लेखक आफैले कुनैकृति पढ्दैन त्यस अवस्थामा उसमा ज्ञानको कमी हुनु त स्वभाविक हो तर अरुले पनि उसले लेखेका कुरा पढ्दैन । उसले आफूले पढेका कुराको समालोचना पनि गर्नु जरुरी हुन्छ । लेखनका विषयवस्तु छनौटका लागि सामान्य साहित्यको अध्ययन पनि जरुरी हुने गर्दछ । कुनै लेखकले के सोच्छ भने म त एउटा अनुसन्धानमूलक लेख लेख्ने व्यक्ति हुँ मैले यो सानोतिना गीत, गजल, कवित, काथ पढेर के पाइन्छ भन्ने मनाशय एकदम गलत हो किनकी अनुसन्धानको कच्चापदार्थ भनेकै समकालिन साहित्य हो यसकारण समकालिन साहित्यको अध्ययन बिना लेखन मात्र होइन संसारका हरेक पेशा फेल हुन्छन् । एउटा व्यापारीले आफ्नो बजारलाई लोकप्रिय बनाउनका लागि समेत समकालिन साहित्यको विशेष भूमिका हुने गर्दछ ।  मानिसका चाहाना तथा समाजको आर्थिक अवस्थाको ज्ञान जति साहित्यबाट थाहा हुन्छ त्यति कुनै कुराबाट थाहा हुँदैन । कुनै समाजको साहित्य पढेर एउटा व्यवशायीले त्यस समाजको आर्थिक अवस्था, त्यहाँको राजनीतिक अवस्था, त्यहाँको भूगोलका लगायत जनताहरूको आवश्यकताको पहिचान गरि त्यही स्तरका प्रोडक्टहरू उत्पादन गर्नमा सहयोग पुग्दछ । यसै गरी राजनीतिकर्मीलाई जनचाहाना बुझ्न तथा कुन समाजका मानिसले कस्ता पीडा भोगिरहेका छन् सो कुरा बुझन, नीतिनिर्माणकर्ताले समाजको अवस्था बुझेर नीतिनिर्माण गर्न, इतिहास, संस्कृति आदि बुझ्न साहित्यको अध्ययन हरेक मानिसलाई आवश्यक हुन्छ । यसकारण लेखकले पनि के बुझ्नु जरुरी छ भने जुनसुकै विषयको लेखनका लागि पनि समकालिन साहित्यको अध्ययन हुनु जरुरी छ । अर्को कुरा आफूले लेखेको कुरा बजारमा सित्तै वितरण गर्नु हुँदैन । आफ्नो परिश्रम अनुसार त्यसको फ खोज्न लेखकले कटिबद्ध हुनु जरुरी छ ।  समग्रमा के भन्न सकिन्छ भने लेखन पेशा अगाल्नुका लागि अध्ययनशील हुनु जरुरी छ भने साथै आफ्नो पेशालाई आफैले सम्मान गर्नसक्ने हुनु जरुरी पनि छ । सिर्जनात्मक लेखनबाट अन्य व्यवसायभन्दा सजिलैसँग मनग्य आमदानी गर्न सकिन्छ । 
     सिर्जनात्मक लेखनले मानिसमा खोजी गर्ने बानीको विकास हुन्छ । यसले मानिसमा तार्किक क्षमताको विकास गर्दछ । लेखक एक मार्गदर्शक भएकाले समाजमा उसलाई सम्मान गर्ने मानिस बढी हुने भएकाले आफूलाई लेखकले कहिले पनि हलुको रुपले लिनु हुँदैन । उसले बढीभन्दा बढी बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरूसँग मात्र सङ्गत गर्नुपर्छ । विद्वान व्यक्तिका कुरा ध्यान दिएर सुन्ने, विभिन्न कार्यक्रम तथा समाजको अवलोकन गर्ने, बम बोल्ने, तार्किक कुरा मात्र बोल्ने जस्ता प्रज्ञिक गुणहरू आफूमा विकसित गराउनुपर्ने हुन्छ । अहिलेका मानिसलाई धेरै गन्थनमन्थन पढ्ने फुर्सद हुँदैन यसकारण आफ्ना लेखमा अनावश्यक वर्ण थुपारेर पाठकलाई दिक्क लाउने काम पनि गर्नुहुँदैन । यसरी धेरै अध्ययन र अनुसन्धानपछि मात्रै लेखेको लेख तथा सिर्जनात्मक रचनाले लोकप्रियता हासिल गरेको हुन्छ र बजारमा पनि बिक्ने हुन्छ । 
     संसारका धेैरै मानिसहरूले लेखनबाट आफूलाई समाजमा स्थापित गरिसकेका छन्, लेखनले मानिसलाई मानसम्मान दिलाउनुको साथै आर्थिक रूपमा पनि सम्पन्न गराएका कुराहरू सर्वविदित नै छन् । चाहे त्यो साहित्यिक लेख होस चाहेँ अन्य लेखन नै किन नहोस यदि त्यो स्तरयुक्त छ भने अवश्य लोकप्रिय हुन्छ र त्यसले बजार पाउँछ । यसकारण हामीले लेखनलाई पेशाका रूपमा विकसित गर्नका लागि यसको महत्व बुझ्नु र बुझाउनु जरुरी छ । लेखन एउटा सामाजिक कार्य पनि हो यसले समाजका चाहानाहरुलाई एकअर्का समक्ष प्रस्तुत गर्नमा सघाउँछ भने इतिहास, संस्कृति, सभ्यता लगायत ज्ञानगुनका कुराहरु जीवित राख्नमा लेखनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।  यसले एकातिर मस्तिष्कलाई मन्थन गर्नमा सहयोग गर्दछ भने अर्कोतिर मस्तिष्कको निर्मलीकरणमा विशेष भूमिका खेलेको हुन्छ । यसकारण सिर्जनात्मक लेखनको महत्व बुझेर लेखनलाई एक पेशाको रूपमा विकसित गर्न सक्यौ भने लेखनबाट धर्म, अर्थ, काम, तथा मोक्ष जस्ता सिद्धिहरू प्राप्त गर्न सकिनुका साथै युगौ युग जीवित रहन सकिन्छ भन्ने कुरामा दुईमत छैन ।

     




    प्रतिक्रिया दिनुहोस