शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमेली लोक आभूषणहरू


आइतबार, कात्तिक १४ २०७८
  • 2.0K
    Shares

  • images
    images
    सुदूरपश्चिमेली लोक आभूषणहरू


     सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो । यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, चालचलन तथा रीतिरिवाज एवम्  समग्र जीवनशैली मौलिक प्रकृतिको रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्र हिमाल, पहाड र तराई जस्तो भौगोलिक स्वरुपमा अवस्थित छ । विभिन्न क्षेत्रको भूगोल, मौसम, लिङ्ग, जातजाती, आदिका आधारमा केही फरक रहे पनि सामान्यतया  यहाँका मानिसहरुको जीवनशैली समान रहेको पाइन्छ । यस क्षेत्रको मुख्य पेशा कृर्षि हो । यस क्षेत्रका मानिसहरुले मातृभाषाका रुपमा मुख्यतया डोटेली र चौधरी भाषाको प्रयोग गर्दछन् । घरमा पशुहरु पाल्ने, कृर्षि कर्म गर्ने सामान्य जीवनशैली यस क्षेत्रको विशेषता हो । परम्परागत रुपमा हिन्दु धर्मसंस्कृतिमा विश्वास गरी प्राकृतिक पूजनमा विश्वास राख्ने यस क्षेत्रमा वर्तमान समयमा पनि हिन्दुहरुको बाहुल्यता पाइन्छ । विषु, ,ओल्के, गौरा, माघी आदि यस क्षेत्रका मौलिक पर्वहरु हुन् । यसरी मौलिकताले भरिपूर्ण संस्कृति नै यस क्षेत्रको पहिचान हो । 
     भौगोलिक बनावटका आधारमा हिमाल, पहाड र तराईमा मौसम अनुसारको पहिरन लगाइन्छ । हिमालमा विशेष गरी ऊनबाट बनाइएका बाक्ला लुगा लगाइन्छ भने पहाड र तराइतिर मौसम अनुसारका लुगा लगाउने गरिन्छ । यस क्षेत्रको लोक जीवनलाई अध्ययन गर्ने हो भने  लैङ्गिक आधारमा पुरुषहरुले भोटो, कुर्ता, सुरुवाल, धोति, बनियान, टोपी, पगड़ी जस्ता पहिरन लगाउथे भने महिलाहरुले घागरो, आङडोÞ, पिछौड़ो, चौपन्द्या, फेटो जस्ता पहिरनहरु लगाउँथे । यस्ता पहिरनहरु स्थानीय स्तरमै निर्माण हुने गर्दथे । 
     यस क्षेत्रमा सुन र चाँदीका गहनाहरु लगाउने गरिन्छ । विशेष गरी गरगहना महिलाहरुले लगाउने भए पनि धार्मिक तथा साँस्कृतिक रुपमा पुरुषहरुले पनि गहना लगाउने गर्दछन् । महिलाहरुले लगाउने परम्परागत गहनाहरुमा फुली, बुँलाकी, सुता, चाँदीको पैसाको माला, बाला, ठोका, झुमझुमी, मुदड़ा, पैड़ा आदि आभुषणहरु पर्दछन् भने साँस्कृतिक तथा धार्मिक रुपमा लगाउने पुरुषहरुले गहनाहरुमा औठी, बाला, मुदड़ा आदि पर्दछन् । केही सन्दर्भ बाहेक महिलाहरुले मात्रै गहना गलाउने चलन यस क्षेत्रमा रहेको पाइन्छ । साँस्कृतिक रुपमा धामी, झाक्रीहरुले हातमा बाला र कानमा मुदड़ा लगाउने गरेको पाइन्छ । देवतालाई चढाएका बाला तथा मुदड़ा धामी झाक्रिहरुले लगाए पनि तिनीहरुलाई व्यक्तिगत रुपमा प्रयोग गरी बेचबिखन गर्न पाइदैन । तिनीहरु केवल देवतासँग सम्बन्धित सार्वजनिक महत्वका हुने गर्दछन् । यस्ता गरगहना पनि स्थानीय रुपमै बनाउने गरेको पाइन्छ । 
     महिलाहरुले लगाउने सुन चाँदीका गहनाहरु विशेष गरी सुन र चाँदीबाट निर्मित गरिन्छन् भने स्थानीय रुपमै आँफर तथा सुनारहरुले बनाउने गर्दथे । विशेष गरी सुनबाट निर्मित गहनाहरुमा फुली, बुँलाकी र मुदड़ा हुन भने चाँदीबाट निर्मित गहनाहरुमा बाला, ठोका, सुता, पैड़ा, झुमझुमी आदि हुन् । यस्ता विभिन्न आभुषणहरुलाई यसरी चिन्न सकिन्छ ः
    सुनका गहना
    फुली : फुली महिलाहरुले नाकमा लगाउने गहना हो । यो फुलजस्तो गोलो आकारमा हुन्छ ।
    किलो : किलो महिलाहरुले नाकमा लगाउने सुनबाट  निर्मित गहना हो । यो किल जस्तो आकारमा हुने गर्दछ । 
    बुँलाकी : बुलाकी नाकमा झुण्ड्याएर लगाउने सुनको गहना हो । विशेष गरी यो दुई किसिमको हुन्छ । एउटा सामान्य रुपमा गोलो रिङ जस्तो आकारमा हुन्छ भने एउटा पानको पात आकारमा झुण्डिने र पातको बिचमा नग (रातो पत्थर) लगाइएको हुन्छ ।
    मुदड़ा : मुदड़ा कानमा लगाउने सुनको गहना हो, यो दुबै कानमा लगाइन्छ । यसलाई विशेष गरी महिलाहरुले लगाउँछन् भने पुरुषहरुमा धामी झाक्रीहरुले लगाउने गर्दछन् । 
    नथ : नथ महिलाहरुले लगाउने सुनको बाटुटो आकारको गहना हो । यो नाकमा लगाइन्छ र सुनकै साङलले कानसम्म पुन्े चैन लगाइएको हुन्छ । 
    सुनजनै : सुनजनै देवीदेवताहरुलाई चढाउनका लागि बनाइने सुनको जनेउ जस्तै हो । मानिसहरुले देवतालाई विभिन्न मनोकामना पुरा होस भनी भाकल गरिन्छ र उक्त मनोकामना पुरा भएपछि विशेष अवसरमा देउता पुजेको दिन मूल गाथमा सुनजनै चढाउने गरिन्छ । 
    चाँदीका गहना 
    बाला : बाला चाँदीबाट बन्ने गहना हो । यो विशेष गरी महिलाहरुले एकएक ओटा बाला दुबै हातमा हातमा लगाउने गर्दछन् भने देवताका धामीहरुले पनि दाँयाहातमा धेरै बालाहरु लगाउँछन् । 
    ठोका : ठोका पनि चाँदीबाट महिलाहरुले हातमा लगाउनका लागि बनाउने गर्दछन् । ठोका बालाजस्तै हुने भए पनि यो अलि फराकिलो आकारमा हुने गर्दछ । 
    सुता : सुता महिलाहरुले घाँटीमा लगाउने चाँदीको गहना हो । यो एक पाउ देखि आधाकिलो जति चाँदीको बनाइन्छ । 
    पैड़ा : खुट्टमा लगाउने चाँदीको बालजस्तै गहना हो यो पनि एक खुट्टका लागि लगभग एक पाउकिलो चाँदीको बन्दछ पैड़ालाई हिड्दाखेरी उछिट्टिनबाट जोगाउन बुढीऔलामा धाागेले बाध्ने गरिन्छ । यसमा आवश्यकता अनुसार बुट्टाहरु भरिएको हुन्छ भने अगागिपट्टको भागमा चाँदीकै फूलजस्तो गोलो बनाइएको हुन्छ । 
    झुमझुमी : यो महिलाहरुले शिरमा लगाएर गालाको दुबैपट्टि झुण्ड्याउने चाँदीको गहना हो । चारपाटे चाँदीको पातोमा चाँदीकै झुमुर्काहरु झुण्ड्याइन्छ । दुबै पातोलाई धागोले बाधेर नाम्लो लगाएझै शिरमा धागो लगाउने र पाताहरु तलपट्टि झण्ड्याइएको हुन्छ । 
    चउन्नीकी  माला : चारआना चाँदीका पैसाहरुलाई चाँदीकै साङल तथा कपडाको फितोमा गाँसेर बनाइएको मालालाई चउन्नीकी माला भनिन्छ । 
    उपयुक्त बाहेक पनि यस सुन चाँदीका थुप्रै गरगहनाहरु यस क्षेत्रमा लगाइने गरिन्छ । कालोजिनको भोटोमा चाँदीका पैसाका टाँकहरु लगाउनेदेखि लिएर अन्य थुप्रै गरगहनाहरु लोक आभुषणका रुपमा लिन सकिन्छ ।  यस्ता लोक आभुषणहरु वर्तमान समयमा केही लोप भइसके, केही लोप हुने प्रक्रियामा भने केहीको रुप परिवर्तन गरिएको पाइन्छ । जेजसो भए पनि यस्ता परम्परागत गरगहनाहरुको सुरक्षा गर्न सकियो भने हाम्रो लोक पहिचान केकस्तो थियो भन्ने ज्ञान मिल्थ्यो ।सामाजिक तथा सरकारी रुपमा संग्रहालयको व्यवस्था गरेर भए पनि यी पुराना लोक आभूषणहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । 

     




    प्रतिक्रिया दिनुहोस