डोट्याली लोक समुदाय आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सुमदाय हो । यस क्षेत्रमा बोलिने भाषा, यहाँको संस्कृति, मूल्यमान्यता, जीवनशैली पनि मौलिक छ । यस क्षेत्रमा प्रायः मानिसहरुले डोट्याली भाषा प्रयोग गर्दै आएको पाइन्छ । यस भाषामा रहेको लोक साहित्य पनि विशिष्ट छ । यस क्षेत्रमा मनाइने चाँडपर्व पनि मौलिक छन् । ती चाँडपर्वहरुमा विभिन्न किसिमको लोकसाहित्यको प्रस्तुति गर्ने गरिन्छ । यस्ता प्रस्तुतिहरुमा सगुन, फाग, गाथा, पर्वगीत, कृर्षिगीत आदि पर्दछन् । यस क्षेत्रको लोक साहित्यमा देविदेवताका स्तुति देखि लिएर समयको विभिन्न कालखण्डमा प्रसिद्ध विषयवस्तु तथा घटनाहरुको चित्रण गरिएका गाथागीत, त्यसैगरी समाजमा हुने गरेका विभिन्न विकृति तथा विसङ्गति लगायतको साङ्केतिक चित्रण, नैतिकता सम्बन्धी विषयवस्तु आदि विविध कुराको उजागर गरिएको पाइन्छ ।
भैली विशेष गरी दिपावली तथा देवीदेवताको जात्रा लग्नेबेला प्रस्तुत गरिने पर्व गीत हो । लक्ष्मीपूजाको दिनदेखि सुरु भएर भाईटिकाको दिनसम्म खेल्ने गरिन्छ । विशेष गरी साँझपख घरघरमा गएर भैलि खेल्ने चलन रहेको छ । भुगोल अनुसार यो फरक फरक सन्दर्भमा पनि खेल्ने गरिन्छ । बैतडीतिर दीपावलीमा त भैली खेलिन्छ नै त्यो बाहेक यस क्षेत्रमा मंसिर महिनाको औँशीदेखि दुत्यासम्म पनि भैली खेलिन्छ । यसलाई कतैकतै बुडो भैलो पनि भनिन्छ । उदाहरणका लागि बैतडीको दशरथचन्द नगरपालिका गुरुखोला, देहिमाण्डौ क्षेत्रमा झौलेककी दुत्या मनाउने चलन पनि छ । छडिलिङ्ग महाराजको मन्दिरमा मंसिरको शुक्ल द्वितीयाको मेला लाग्छ । उक्त मेलामा पनि भैली प्रदर्शन गरिन्छ । त्यसै गरी बैतडीको तल्लो स्वराड क्षेत्रमा रागाँको वली दिन मन्दिरमा लग्ने बेलामा पनि भैली गाउने चलन छ । त्यसै गरी सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा विविध अवसरमा भैली गाइने भए पनि दीपावलीमा भने भैलीको विशेष रौनक रहेको पाइन्छ । भैली स्थान र लिङ्ग अनुसार फरक फरक लयमा प्रस्तुत गरिन्छ । महिलाहरुले खेल्ने भैलीमा बढी सङ्गीतात्मकता र लामो लय हुन्छ भने पुरुषहरुले गाउने भैली छोटो लयमा हुन्छ । भैली एक जनाले भट्याउने र अरुले सामुहिक रुपमा भैली, भैली ला भैली आदि लयको पुनरावृत्ति गर्ने गर्दछन् । सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्यभित्र खेलिने भैलिका केही अंशहरु यसरी प्रस्तुत गरिन्छ :
क) तीर्थराज भट्टले सङ्कलन गरेको डोटी जिल्लामा गाइने परम्परागत तथा नियमित भैँलो :
यो सुरुमा तिथिअनुसारको सम्बोध गरी खेलिने भैँलो हो । यो सबैको घरमा अनिवार्य खेलिन्छ । यसमा आसिक वचन पनि समेटिएको हुन्छ, जो परम्परादेखि आजसम्म चलिआएको छ । गाई तिहारका दिन खेलिने भैँलोलाई यसरी उल्लेख गर्न सकिन्छ ः
ए ! आउँसी बार – भैँलोइ
ए ! गाईको त्यार – भैँलोइ
ए ! त्यारैका बार – भैँलोइ
ए ! सकरैका द्वार – भैँलोइ
ए ! सक्कर खोली – भैँलोइ
ए ! पैसाकी जोली – भैँलोइ
ए ! इनपैसी माझ – भैँलोइ
ए ! अरे न तरे – भैँलोइ
ए ! पिपल ढले – भैँलोइ
ए ! पिपल पात्ती – भैँलोइ
ए ! रायकी छक्की – भैँलोइ
ए ! राय जमाउनु – भैँलोइ
ए ! ठुलो घर बनाउनु – भैँलोइ
ए ! यै ठुला घरको – भैँलोइ
ए ! बाखरा खानु – भैँलोइ
ए ! बाकरी ढाल – भैँलोइ
ए ! गर्धौँ खाल – भैँलोइ
ए ! खाल खल्यानी – भैँलोइ
ए ! पुछड मल्यानी – भैँलोइ
ए ! पुछड तोडी – भैँलोइ
ए ! देउसिञ्याँ रोडी – भैँलोइ
ए ! रोड्को रुमाउणो – भैँलोइ
ए ! मासुको थुमाउडो – भैँलोइ
ए ! मास्सर विण्णी – भैँलोइ
ए ! सुरुसुर हिण्णी – भैँलोइ
ए ! सुक्र्या धागो – भैँलोइ
ए ! सुर्के तलाँको – भैँलोइ
ए ! यै घरै रानी – भैँलोइ
ए ! काँ गैन पानी – भैँलोइ
ए ! कि खोली खेत – भैँलोइ
ए ! कि वन बेत – भैँलोइ
ए ! न खाली खेत – भैँलोइ
ए ! न वन बेत – भैँलोइ
ए ! दिय हो रानीउँ – भैँलोइ
ए ! दिउँभरिशिस – भैँलोइ
ए ! लाखबारिस – भैँलोइ
आशीर्वादात्मक भैलो
ए ! बाँची रया – भैँलोइ
ए ! पलुइ ब रया – भैँलोइ
ए ! ज्युजागी रया – भैँलोइ
ए ! पुणाइनी झालजसा – भैँलोइ
ए ! मैलाइ ब रया – भैँलोइ
ए ! केलाका थुमजसा – भैँलोइ
ए ! गर्जी ब रया – भैँलोइ
ए ! दुबाकी चामडी जसा – भैँलोइ
ए ! पलाइ ब रया – भैँलोइ
ए ! गोठ गाईबाच्छा – भैँलोइ
ए ! पाण बालबच्चा – भैँलोइ
ए ! बाँची रहुन् – भैँलोइ
ए ! लाख बारिस – भैँलोइ
ए ! फिरिफिरी भैँलेरु – भैँलोइ
ए ! यैँ खिनी आउँला – भैँलोइ
ए ! पञ्चै बाजा – भैँलोइ
ए ! यैँखी बजाउँला – भैँलोइ
ए ! बर्षै दिनकी – भैँलोइ
ए ! एकै दुत्ते – भैँलोइ
ए ! रीत जगाउँला – भैँलोइ
ए ! वर्ष दिनकी – भैँलोइ
ए ! सिद्धि सुनाउँला – भैँलोइ
ए ! भैँलो भितरी पस्यो ए ! भैँलो भितरी पस्यो !!
बुढो भैँलोको मनोरञ्जनात्मक तथा ठट्टात्मक शैली
ए ! यै घरै रानी – भैँलोइ
ए ! यै कुन्टा जान्निन् – भैँलोइ
ए ! उई कुन्टा जान्निन् – भैँलोइ
ए ! के दिऊँ भणन्निन् – भैँलोइ
ए ! झाँकरो कण्याँउनिन् – भैँलोइ
ए ! कनिका बट्याउन्निन् – भैँलोइ
ए ! पोइय सोधन्निन् – भैँलोइ
ए ! आउँछ खसी – भैँलोइ
ए ! सिङ्ङ भेडिएको – भैँलोइ
ए ! पुछडी फर्केको – भैँलोइ
ए ! छ्यो छ्यो भण्ला – भैँलोइ
ए ! जेउणो लाउँला – भैँलोइ
ए ! गाउँ गाउँ फेराउँला – भैँलोइ
ए ! नाउँइ चलाउँला – भैँलोइ
ए ! मुसा घाणो लग्यो – भैँलोइ
ए ! बिल छिरायो – भैँलोइ
ए ! कौवा घाणो लायो – भैँलोइ
ए ! दुनियाँ फेरायो – भैँलोइ
..................... – भैँलोइ
ए ! दिय हो रानीउँ – भैँलोइ
ए ! दिउँभरिशिस – भैँलोइ
ए ! लाखबारिस – भैँलोइ !!
भैँलो भितरी पस्यो । भैँलो भितरी पस्यो ।।
ख) कविराज भट्टद्वारा सङ्कलित बैतडी जिल्लामा खेलिने परम्परागत भैलो
औशी बारो
गाई तिहारो
धर्म धुपारो
धर्मै खोली
पैसाकी झोली
इन तेरा पैसा
ह¥या न त त¥या
पिपल ध¥या
पिपल पाती
पिपल पाती
रयाकी छाती
रयो जमान
जाख जुमला
घिउ खानी कमला
खानत खान
क्यासित खान
बाकरो खान
बाकरो कसो
भुरकुल्ली छोटोे
पुछड़ मोटो
रक्तकी नन्दी
सो नन्दी काँ गै
धौली धार
काली पार
काली पारका
राज दरबार
बकरो काटी
हम खान लिउँला
कोलेडो काटी
गाउँ मुख्या दिउँला
खुरेउड़ा काटी
तम खान दिउँला
एइ घर घरिना
जि जागी रन्ना
अमर हन्ना
हम भैलो दिन्ना
यी बाहेक पनि हरेक दिनको फरक फरक भैलो, हरेक ठाउँको फरक फरक भैलो हुने गरेको पाइन्छ । यस्ता लोक सम्पत्तिको संरक्षण हामी सबैको कर्तव्य हुन आउँछ ।
.gif)