मानिस सुन्दरताको पूजारी हुन्छ । सुन्दरता मन नपराउने मानिस कुनै पनि हुँदैन । हिन्दु वाङ्मयका वेद, पुराण तथा विभिन्न धर्मग्रन्थहरुमा पनि प्राकृतिक तथा मानवीय सुन्दरताको विषयवस्तुको थुप्रै प्रशंसा गरेको पाइन्छ । हिन्दु धर्मका विभिन्न देवीदेवता, ऋषिमुनी तथा विभिन्न मानवहरुको सुन्दरताका कथाहरु हाम्रो वाङ्मयले बोक्दै आएको पाइन्छ । संस्कृत वाङ्मयका महान कवि कालीदासले आफ्ना विभिन्न कृतिहरुमा प्रकृति र नारी सुन्दरताको खुला हृदर्यले चित्रण गरेको पाइन्छ । मानव उत्पत्तिदेखि लिएर हालसम्म आइपुग्दा सौन्दर्यताको प्रशंसा नगर्ने लेखक, कवि तथा अन्य कुनै पनि मानिस पाउन सकिदैन । वर्तमान विश्वव्यापीकरणको युगमा पनि विभिन्न क्षेत्रमा सुन्दर सुन्दरी प्रतियोगिता समेत हुने गरेको पाइन्छ । स्वस्थ, सुखमय र खुसीले भरिएको जिन्दगी जिउनका लागि सुन्दरता नभइनहुने महत्वपूर्ण कुरा हो । कुनै पनि व्यक्ति वस्तु तथा स्थानका लागि पहिलो प्रभाव भनेको उसको सुन्दरता हो । यसकारण मानिस स्वयम् सुन्दर बन्न चाहान्छ र अरुलाई पनि सुन्दर बनेको हेर्न चाहान्छ । यसका लागि मानव उत्पत्तिदेखि नै थुप्रै प्रयाश तथा उपायहरुको खोजी गरी प्रयोग गरिदै आएको पाइन्छ । आयुर्वेदमा उल्लेख गरिएका औषधि तथा लेपन हुन या वर्तमान समयमा खोलिएका ब्युटिपार्लर तथा हेन्समपार्लरहरु नै किन नहुन यी सबै सुन्दरताका लागि गरिएका प्रयाशहरु हुन । हरेक मासिन आफू सफा, सुन्दर र चिटिक्क परेको हेर्न चाहान्छ, यसका लागि मिलेका लुगा, विभिन्न श्रृङ्गारपटार देखि लिएर आफ्नो शरीरमा अत्तर समेत छर्कन पछि पर्दैन । मानव सुन्दरता मात्रै नभएर मानिस आफ्नो वरपरको वातावरण समेत सुन्दर भएको हेर्न चाहान्छ । घरभित्रको सजावटदेखि लिएर फूलबारी, पार्क आदि विभिन्न प्रयासहरु पनि सुन्दरताकै लागि गरिरहेको हुन्छ । समग्रमा भन्नुपर्दा मानिस सुन्दरताको पूजारी हो, सुन्दरताले मानवमनलाई प्रफुल्ल बनाउछ र यसले भित्री सुन्दरता र मनमा सुख तथा शान्तिको समेत सञ्चार गराउँछ । मानसिक शान्तिका लागि सुन्दरता सबैभन्दा महत्वपूर्ण कुरो हो । सति अनुसुयाका अनुसार मानिसले सुन्दर बन्न सकेमा घरपरिवारमा झैझगडा नहुने तथा पतिपत्नीबीच सुमधुर सम्बन्ध रहिरहने कुरा रामायणमा उल्लेख गरेको पाइन्छ । सुन्दर मानिसप्रति क्रोध कम उत्पन्न हुन्छ । हँसिलो अनुहारले क्रोधित मानिसलाई पनि वसमा पार्न सकिन्छ । सुन्दर रहन सकेमा मानसिक रुपमा तनाव पनि कम हुन्छ र समाजका हरेक ठाउँमा जानका लागि कुनै पनि किसिमको हिचकिचाहट हुँदैन । वर्तमान समयमा त रोजगारी पाउनका लागि समेत सुन्दरताको खाँचो पर्दछ । आफूमा भएको कार्यक्षमताले मात्रै मानिसलाई पूर्ण भएको मान्न सकिदैन यसको प्रत्यक्ष उदाहरण हो विभिन्न रोजगारीका विज्ञापनहरुमा योग्यताका सँगसँगै हँसिलो अनुहार तथा आकर्षक व्यक्तिलाई पहिलो प्राथमिकता दिएको पाइन्छ । यसकारण सुन्दर बन्न सक्नु पनि मानिसको एक अनिवार्य आवश्यकता हो । त्यसैले हामीले सुन्दरता के हो ? यो किन आवश्यक छ ? र सुन्दर कसरी बन्न सकिन्छ भन्ने बारेमा जान्नु आवश्यक छ ।
सुन्दरता भनेको मनलाई आनन्दित पार्ने तत्व हो । कुनै पनि व्यक्ति वस्तु तथा स्थानलाई देखेर मनमा आउने एक किसिमको आनन्द नै सुन्दरता हो । अर्को शब्दमा भन्नुपर्दा सुन्दरता एक प्रकारको आकर्षण हो जसले अरुलाई आफूप्रति आकर्षित गर्नुका साथै सकारात्मकताको सञ्चार गर्दछ । मानसिक स्वास्थ्यलाई बलियो बनाउन सुन्दरताले महत्वपूर्ण भूमिका खेल्दछ । मानसिक स्वास्थ्य नै शारीरिक स्वास्थ्यको आधार भएकाले यसले शारीरिक स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । त्यसै गरी पतिपत्नीबीच सुखद दामपत्यजीवनका लागि पनि सुन्दरताले अहम भूमिका खेलेको हुन्छ । अन्य व्यक्तिमाथि आफ्नो प्रभाव जमाउन तथा विभिन्न किसिमका रोजगारीका लागि पनि सुन्दरताले महत्वपूर्ण प्रभाव पार्दछ । यसरी हाम्रो जीवनका हरेक पक्षमा सुन्दरताले अहम् भूमिका खेलेको हुन्छ । मानिसले सुन्दर रहनका लागि निम्न उपायहरु अवलम्वन गर्नु पर्दछ । व्यक्तिगत तथा वातावरणीय सरसफाइ, शरीर सुहाउँदो लुगा। सामान्य श्रृङ्गारपटार तथा हँसिलो अनुहार सुन्दरताका लागि महत्वपूर्ण कुराहरु हुन । यी बाहेक मानिसले आफ्नो अनुहारलाई सुन्दर देखाउनका लागि निम्न उपायहरु अपनाउन सकिन्छ :
१. प्रशस्त पानी पिउने :
मानिसले दिनमा तीन देखि पाँच लिटरसम्म पानी पिउनुपर्छ । पानी पिउनाले हाम्रो शरीरका बिकार तत्वहरु बाहिर निस्कने गर्दछन् जसले गर्दा विभिन्न रोगहरुबाट बच्नुको साथै छालालाई मुलायम र लचिलो बनाउन मद्दत गर्दछ ।
२. हप्तामा एक दिन बेसार (हल्दी) को लेप लगाइ सुत्ने
बेसारलाई आयुर्वेदमा महत्वपूर्ण औषधिका रुपमा लिइन्छ । प्रायःजसो ५० प्रतिशत रोगहरु रुघाखोकी ज्वरो, चोटपटक आदि विभिन्न रोगहरुमा हल्दीको प्रयोग गरिन्छ । हिन्दु परम्परामा विभिन्न देवीदेवताहरुको अभिशेषमा पनि हल्दीको प्रयोग गर्ने गरिन्छ । त्यसै गरी बिहेको दिन पनि बरवधुलाई हल्दी लगाउने चलन रहेको छ । हल्दीको लेपले छालालाई चम्किलो र मजबुद बनाउने कार्य गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछ । यसकारण राती हल्दीको लेप लगाएर सुत्दा छालामा देखिने फुस्रोपन हटाएर सुन्दरता बढाउनमा महत्वपूर्ण भूमिका खेल्दछ ।
३. हप्तामा एक दिन दहीको लेप लगाएर अनुहार सफा गर्ने
दहीमा हुने अम्लियपन र चिल्लो पदार्थले छालामा भएको फोहोर तथा बिकार पदार्थहरु हटाएर छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । यसको प्रयोग आयूर्वेद तथा विभिन्न देवीदेवताहरुको मुर्ति स्नानमा पनि गरिन्छ ।
४. हप्तामा एक दिन कागतिले मुख धुने
कागतिमा भएको अमिलोपनले छालामा भएको चिल्लो् पदर्थ हटाउनमा मद्दत गर्छ र यसले डण्डीफोर तथा दुबीहरु आउनमा रोक लगाउन मद्दत गर्दछ । साथै यसले छालालाई चम्किलो बनाउने गर्दछ ।
यी बाहेक पनि थुप्रै घरेलु सामग्रीको प्रयोगले सुन्दरता बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन् । तनाव कम गर्नु , हसिँलो अनुहार प्रदर्शन गर्नु, विभिन्न किसिमका व्ययामहरु गर्नु, रसायन युक्त कस्मेटिक सामग्रीहरुको प्रयोग कम गर्नु, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनु, आफूलाई सधैँ काममा व्यस्त गराइराख्नु, समयमा सुत्नु, समयमा खानु, बह्मचर्यको पालना गर्नु, नित्यकर्ममा विशेष ध्यान दिनु आदि विविध कुराले पनि मानव सुन्दरता बढाउनमा महत्वपूर्ण भूमिका खेल्दछन् ।
.gif)