बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

चर्चित लोकपात्र मेख्या र सैमल्या


मंगलबार, साउन १७ २०७९
  • 1.2K
    Shares

  • images
    images
    चर्चित लोकपात्र मेख्या र सैमल्या

    मानसखण्डीय सभ्यता  र संस्कृतिको संवाहक तत्कालीन डोटी राज्य अन्तर्गतको हालको सुदूरपश्चिम प्रदेश मौलिक भाषा साहित्य र संस्कृतिको समृद्ध क्षेत्र हो । प्रत्येक लोक समुदायका आआफ्नै विशिष्ट मौलिकता हुन्छन् । डोट्याली लोक समुदायका पनि आफ्नै मौलिक विशिष्टता हुनु स्वभाविकै हो । लोक समुदायहरुमा समस्या उजागर गर्ने, विकृति र विसङ्गति औँल्याउने प्रयोग र परिपाटी हुन्छन् । लोककथा एवम् गीतका माध्यमबाट आफ्ना अभिव्यक्तिहरु अभिव्यक्त गर्ने क्रममा कतिपय अवस्थामा लोकपात्रहरुकै प्रयोग कुशलता पुर्वक गरिएको देखिन्छ। कुनै समस्या अथवा घटना प्रतिविम्बित गर्न ती लोकपात्रहरुको प्रयोग गर्ने गरिएको पाइन्छ । डोट्याली लोककथा र लोकगीतमा प्रचलित थुप्रै पात्रहरु जस्तै फेत्वा, फेतुली, ठेक्वा, ठेकुली, खेट्या, खेट्टी आदि लोकपात्रहरु मध्ये मेख्या र सैमल्या चर्चित लोकपात्रका रुपमा प्रस्तुत गरिएको पाइन्छ । मेख्यउा र सैमल्या समस्या उजागर गर्न प्रयोग गरिने तटस्थ रुपमा चित्रण गरिने पात्र हुन ।
    यहाँको लोकवार्ता, लोकगीत तथा लोकनृत्यको रपमा लिइने डेउडामा यी पात्रहरुको अधिकतम प्रयोग गर्ने गरिएको पाइन्छ । लोकसाहित्य तथा संस्कृतिलाई विशिष्ट पार्न लोकपात्रहरुको महत्वपूर्ण भूमिका रहने गरेको पाइन्छ । मेख्या र सैमल्या लोकपात्रहरुमा मेख्या बलियो र सैमल्या कमजोरको रुपमा लोकगीतहरुमा         यसरी वर्णन गरिएको पाइन्छ ः
    मेख्याले सैमल्या हाण्यो, नौनीका डल्लाले
    जिनहाणै जिन हाणै भण्यो, पुइ हाण्यो थेल्वाले (धनाडी)
    मेख्याले सैमल्या हाण्यो हलाका कौवाले
    झकडाको मेसोइन पायो, सैमल्या भौवाले (बर्तोलो)
    डेउडा परिसंवादात्मक गीतहरु हुन् । डेउडागीतमा दुई पाउ हुन्छन् । प्रत्येक पाउहरुमा चौधचौध अक्षर हुने तथा प्रत्येक पाउको पहिलो आठ पछि र अन्तिम ६ पछि विश्राम लिइ विभिन्न भाकामा गायन गरिन्छन् । एकल भन्दा पनि युगल र सामुहिक रुपमा गाइने गीतहरुमा बढी नाटकीयता हुन्छ । डेउडा खेलमा रमायलो थप्न तथा अकर्षण भर्न नाटकका पात्रहरुको प्रयोग प्रचुर मात्रामा गर्ने गरेको पाइन्छ । ती संवादात्मक गीतहरुका नाटकीय पात्रहरुमध्ये मेख्या र सैमल्या डोट्याली लोकपात्रका रुपमा प्राचीन कालदेखि नै प्रयोगमा रहदै आएको पाइन्छ । एउटा डेउडियाले प्रश्न गरेपछि अर्कोले उत्तर नदिएर पन्छिन खोजेपछि वा प्रसङ्ग अर्कैतिर मोड्न खोजेपछि पहिलो डेउडियाले मेख्या र सैमल्याको प्रयोग गरी यसरी घोचेको पाइन्छ ः  
    सैमल्या कुरडि गच्छ मेख्याकि जोइसित 
    इथ भण्या उथ झान्या कि भणौँ तोइसित (धनाडी)
    डेउडामा वक्रोक्तिको प्रयोग प्रचुर मात्रमा गर्ने गरेको पाइन्छ । एउटा डेउडियाले अर्को डेउडियालाई घोचपेच गर्न,कटाक्ष हान्न, खिल्लि उडाउन तथा हेला गर्न वक्रोक्तिहरको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी होच्याउने पात्रको रुपमा पनि मेख्या र सैमलया जस्ता पात्रहरुको प्रयोग गर्ने गरेको देखिन्छ । डेउडा खेल चलिरहेको बखत बिचमा तेस्रो डेउडिया उत्ताउलो भएर डेउडा हाल्न आयो भने पहिलेको डेउडियाले घोच्नका लागि यसो भन्ने गरेको पाइन्छ ः
    न्यौलाकि घोलिउनी कौवा उडि आया जसो
    मेख्या हो कि सैमल्या हो को हो यो अनकसो 
    यसरी माथिल्ला हरफहरुमा मेख्या र सैमल्या पात्रहरुको प्रवृत्ति उचित नभएको वा नलागेको अवस्थामा प्रयोग गरिएको पाइन्छ । सामाजिक राजनैतिक पात्र प्रवृत्ति चित्रणमा पनि व्यङ्ग्य प्रहार गर्न मेख्या र सैमल्या जस्ता लोकपात्रहरुको प्रयोग   गरेको पाइन्छ ः
    सैमल्या निकोइ थ्यो पैल्लि नेता होइ बिगड्यो
    निकोइ गर्लो जिता भन्थ्थ्यो आज बिगाइ गर्यो (पल्याल)
    मेख्या जिति मन्त्री होइग्यो सैमल्या जंगल
    जनतान निचोडि खायो दुएइकि मंगल (सिमाल)
    मेख्या दाई मन्तरी भयो मन्तर आथिन
    सैमल्याले ले लुटि खायो जनता पड्यो रिन (पल्याल)
    विशेषतः सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको लोकसंस्कृति भित्रको बलयो पक्ष 
    डेउडा संस्कृतिले सामाजिक विवेध नगरी समाजमा भए गरेका र हुने गरेका विभेदहरुर्ला संवाद र खेलको माध्यमबाट प्रतिविम्बित गर्ने गरेको पाइन्छ । मेख्या र सैमल्या जस्ता जातविहीन तटस्थ पात्रहरुको माध्यमबाट समाजमा घटित हुने घटनाहरुर्ला जाहेर गर्न महत्वपूर्ण सहयोग गर्ने गरेकाले ती पात्रहरु सहजता पूर्वक परापूर्व कालदेखि हालसम्म पनि डेउडियाले बोक्दै आएका भेटिन्छन् । राजनिितमा विद्यमान विकृति र विसङ्गतिलाई समेत मेख्या र सैमलया पात्रको प्रयोग गरी यसरी प्रतिविम्बित गरेको पाइन्छ ः
    सैमल्या सिकार गयो मारिलियो भेकुडो
    मेख्याले भुटिबर खायो घरैको कुकुडो
    डाडुपुण्यो मेख्याका हात गरिहाली बिथिति 
    सैमल्याकि बाप्ति होइ गै अइलकि राजनीति 
    गरीपका हात पड्यो खुचडिको दुनो 
    सैमल्याले बेची खायो देशो उनोकुनो
    समाजमा विद्यमान विकृति र विसङ्गतिहरुलाई प्रतिविम्बित गर्न मेख्या सैमल्या संवादका रुपमा लोककथा तथा लोकगीतहरु सिर्जना गरेको समेत पाइन्छ । जनमथलो छोडेर राजधानी छिरेका तथा आफ्नो संस्कृति बिर्सेकाहरुलाई व्यङ्ग्य गर्दै यसरी प्रस्तुत गरेको पाइन्छ ः
    सैमल्या ः माटो भुलेइ कुल्या भुलेइ, भुलि गएइ अर्ति
              भुइसा खान तथै बसेइ छाडि आफनि धर्ति
    मेख्या ः माटो कुल्या काा भुलिउँला न त भुइसा खाया
            झट्टै औँलो जन डरइ औन्या बेला भया (सन्देश)
    लोककथा र लोकगीतमा मात्रै होइन कि लोकोक्ति तथा लोक व्यवहारका रुपमा पनि खराब प्रवृत्ति झल्काउन यी पात्रहरुको प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । कसैको सन्तान भनेको नमान्ने र दुष्ट चरित्रको रहेछ भने फलानोको सन्तान सैमल्या झो (सैमल्या जस्तो) छ भन्ने गरेको पाइन्छ । आफ्नै सन्तानले ख्याल नगरी काम गरेमा पनि सैमल्या झो हुन्या त नाइ है (सैमल्या जस्तो त हुने होइन) भनेर सचेत गर्ने गरेको पनि पाइन्छ । कही होच्याउन, कही रहस्य उद्घाटित गर्न त कही कटाक्ष प्रहार गर्न मेख्या र सैमल्या लोकपात्रहरुको प्रयोग डोट्याली लोकवार्तामा गर्ने गरको पाइन्छ । मेख्या र सैमल्याको चित्रण विशेष गरी तटस्थ रुपमा पात्रभन्दा पनि प्रवृत्तिको रुपमा चित्रण गर्ने गरी प्रयोग गर्ने प्रचलन रहँदै आएको देखिन्छ । मेख्या र सैमल्याभित्रको रहस्य पनि यी लोकपात्रहरु जस्तै अनौठो रहेको देखिन्छ ।
    सैमल्या सुक्यारो छै कि कत्तेइ दुःख पाएइ 
    आइगैछ गोःराकि बेला डेउडा खेल्ल आएइ (पल्याल) 


      




    प्रतिक्रिया दिनुहोस