जानकारहरुका अनुसार लगभग चौधौँ – पन्ध्रौँ शताब्दीतिरको कुरो हो, कत्युरी राज्यको मुख्य तीर्थस्थलको रुपमा रहेको कत्युरकै बाहुन पण्डितले पूजाआजा गर्ने, तल्लादेही मेलौली तिर जाने बाटोको उत्तरपट्टिको गाड़को छेउ अर्थात् तोली क्षेत्रमा ग्वाल्लेक केदारको मन्दिर रहेको भन्ने किंवदन्ती पाइन्छ । उति बेला ग्वाल्लेक केदारको जाँत (जात्रा) साउन महिनाको पूर्णिमामा हुने गर्दथ्यो । भारतको कत्युरबाट आएका ब्राह्मणहरुलाई यो ठाउँका मान्छेहरु कत्युरा ब्राह्मण भनि सम्बोधन गर्ने गर्दथे । केदारको जाँतमा महिला, पुरुष सबै चोखा भोका जति सहभागी हुन्थे ।
एकपटक कत्युरी ब्राह्मीणी धुप, पोखल लगि जाँतमा सहभागी भएर ‘द्यार’ बसेकी रहेछन् । तोलीमा वर्षायामका जुका लाग्ने त्यसमाथि पनि साउनको कुरो उनलाई जुकाले काटेर रगत बगेको रहेछ । केदार देवतालाई रातो टिका समेत बर्जित रहेको अवस्थामा रगत बगेको देखेर जाँतमा गएका कतिपय मान्छेहरुले तिमी भाइर भएकी (रजस्वला भएकी) यो पवित्र धाममा किन आयौँ भनेछन् । उनले ‘हैन म छुई (नछुने) भएकी हैन, जुकाले खाएकी हुँ’ भन्दा कसैले पनि पत्याएनछन् । आमाले सत्य बोल्दा पनि कतिपयले ‘तेरो चरित्र ठीक छैन, तँ छुई भएकी होस्, तेरा कपडामा लागेको त्यही रगत हो’ भनेर आरोप लगाएछन् । आमा चोखो भोको रहेर बर माग्न गएकी तर निर्दोष हुँदाहुँदै पनि झुट्ठा आरोप सुन्दा उनको मन टुटेछ, छाती चिरिएछ अनि उनले सराप्दै भनिछन् – ‘मै जुकाले काटी हनि हौ त यो जाँत टुटिझौँ (आज बठेइ एइ तोली जाँत जन हौँ) नाइँ नाइँ म छुई भइ हनि हौ त यो जाँत होइझौँ । यै तोलीका जुका उजडिझौन, तमरो उठ्ठुबास होइझौँ, तमरा घर विथिति होइझौँ । यसरी सराप्दै आमाले त्यही आसपासको रुखमा पासो लगाएर (झुण्डिएर) आत्महत्या गरिछन् । अपसकुन भयो, जुठो पर्यो र जाँत टुटिहाल्यो ।
जँतेरुहरुको भागाभाग प¥यो । सबै फर्केर घरतिर आएछन् । ठीक अर्को वर्ष साउने पूर्णिमामा जाँत बनाउन भनेर जाँदा मन्दिर नै भेटिएन । तोलीका जुका पनि कहिकतै देखिएनन् । मन्दिर त्यै बेला देखि अदृश्य भएको भन्ने भनाई छ । आजसम्म पनि अदृश्यै छ । कत्युरी ब्राह्मीणी सत्य सवित भइन् ।
पासो लगाएर आत्महत्या गरेकी हुनाले उनी पासा आमाको नामले अमर भईन् । वास्तविक नाम अनुसन्धानकै विषय छ । त्यो वर्ष मन्दिरै नभेटिएको हुनाले पूजाआजा कहाँ गर्ने ? अनि जाँत पनि भएन । यसरी धेरै वर्षसम्म जाँड कत्युरवालाहरुले जति प्रयास गर्दा पनि केही सीप चलेन । तिनीहरुले केदार देवताको पूजा आजा गर्नै पाएनन् । धेरै वर्ष सम्म देवता अपुजो रह्यो ।
जाँड कत्युरी कहाँ गए कहाँ, त्यहाँबाट छाडेर गए । उनीहरुको विचल्ली पर्यो । त्यहाँबाट उठीबास भए । कोही हालको डडेल्धुरा आसपास गएका र थर परिवर्तन गरि बसेको अनुमान गरिन्छ भने कतिपय कुमाऊँ कत्युर तिरै फर्केको भन्ने भनाई छ । डडेल्धुराको भागेश्वरको आगो कुमाऊँ, कत्युर देखिन्छ भन्ने भनाई यतातिर रहेको पाइन्छ ।
त्यसपछि सोराडी (चन्द), जोशी र पन्तहरु जाँत बनाउँछौँ भनेर तोली तिर लागेछन् तर तिनीहरुले पनि बाटो र मन्दिर पाएनछन् । त्यसैबेला आकाशवाणी भएछ र ग्वाल्लेक केदारले यस्तो भनेछन् –
म यहीँ छु, सिम भन्ने ठाउँमा गएर बसेको छु, त्यै गएर पूजाआजा गर्नु । (कोही सपना भएको पनि भन्ने गर्दछन् ।
आकाशवाणी अनुसार ग्वाल्लेक केदार खोज्ने कार्य गर्न थालियो । सिम गाउँमा रहेको पौराणिक जङ्गल क्षेत्रभित्र जोशी र पन्त मिलेर खोज्दै जाँदा शङ्ख र घण्ट (शाँक–घाँट) मिलेछ, हालसम्म पनि शङ्ख र घण्ट भराड़मा (देव भण्डारमा) सुरक्षित रहेको मान्यता छ । यसरी कत्युरीले तोलीमा पुज्दै आएको ग्वाल्लेक केदार १४–१५ शताब्दीतिर सिम गाउँको शिरमा स्थापित भएको पाइन्छ । स्थापना पश्चात् तोलीमा पासो लगाएर मरेकी पासाआमा सपना विपनामा आउन, देखिन थालिन, खै के वाचा र वरदान रहेछ, (म सत्यकी भए केदारसँगै पूज्य होऊँ भन्ने वाचा थियो भन्छन् जानकारहरु) पासाआमालाई पूजा नगरुन्जेल केदार देवताले पूजा नखाने भयो । यसरी पासाआमा जुन कुडि़का अक्षताले ग्वाल्लेक केदारको पूजा गरिन्छ, त्यही कुडि़का अक्षताले केदार देवतासँगै बसेर पूजा खाने गरि पिजास भईन । सत्य कि पासाआमा अमर भएको तथा ग्वाल्लेक केदारले शरणमा राखेको यस्तै किम्बदन्ती यहाँ पाइन्छ ।
.gif)