पुराणमा मानसखण्डका नामले वर्णित भूमि मानव उत्पत्तिदेखि लिएर देवीदेवताहरुका पवित्र तीर्थस्थलहरुले शोभायमान छ । यस क्षेत्रमा विशेष गरी शिवशक्तिको पूजा अर्चना गर्ने गरिन्छ । प्राचीन कालदेखि पनि यस भूमिका शिव र शक्तिका मात्र मन्दिरहरु रहेको पाइन्छ । हिन्दुधर्ममा प्रकारका देवीदेवताहरुको पूजा अर्चना गरिने भए पनि यस भूमिका अन्य देवीदेवताका मन्दिर देखिदैनन् । आधुनिक कालमा आएर कही कतै राम, कृष्ण आदिका मन्दिर बनाइएको पाइए पनि प्रकृतिक रुपमा पहिलेदेखि नै मानिदै र पूजिदै आएका देवीदेवताहरुमा भने केवल शिव र शक्तिका स्वरुपहरुलाई मात्र मान्न प्रचलन रहेको पाइन्छ । प्राकृतिक एवम् स्वयम्भूका (फुटिलिङ्ग) रुपमा यस क्षेत्रमा केवल शिव र शक्तिका मन्दिर, झालताल, गुफा, तीर्थ आदि रहेका छन् भने पछि स्थापित (थापिलिङ्ग) का रुपमा पितृपिजासहरुका मन्दिर तथा देवालय रहेका पाइन्छन् । शिवका रुपमा परापूर्व कालदेखि नै प्राकृतिक एवम् स्वयम्भुका रुपमा यस क्षेत्रका थुप्रै केदार देवताहरु रहेका छन् । यिनीहरुमध्ये ग्वाल्लेक केदार, रौला केदार, धज केदार, सिद्ध केदार, असमी केदार, थागिल केदार, डोडर केदार, कनल्या केदार, सम्र केदार, दोगडा केदार, नङरउ केदार आदि थुप्रै केदार देवताहरु रहेका छन् । केदार देवताहरु कही कतैबाट शिला या मुर्ती ल्याएर स्थापित गरेका नभइ प्रकृतिक रुपमा स्यम्भुका रुपमा त्यही ठाउँमा भएका शिलाहरुलाई मान्ने गरिन्छ । अहिले कहीँ कतै मन्दिर बने पनि विगतमा उच्च पहाडी भाग, वनजंगल तथा विभिन्न गुफाहरुमा केदार देवता रहेको पाइन्छ । केदार देवताको गाथ विशेष गरी ठूलाठूला रुखका फेदहरुमा समेत रहेको पाइन्छ । केदार देवता कतै झाल, कतै गुफा, कतै आजभोलि मन्दिर समेत बनाइको पाइन्छ । केदार देवतालाई बढीजसो देवताहरुले आफ्नो गुरु मानेको पाइन्छ । केदार देवतालाई धज, बडो, फुसरो, छरफुको, ऋषि आदि नामले अन्य देवताहरुले सम्बोधन गर्ने गर्दछन् । समग्रमा भन्नुपर्दा यो पुरै क्षेत्र केदार देवताको मानिन्छ । बैतडी जिल्लामा यस्ता केदार देवताको थुप्रै झालताल र देवालय तथा मन्दिरहरु रहेको पाइन्छ । जसमध्ये बैतडी जिल्लाको सुरुकाल गाउँमा रहेका असमी केदार देवता पनि एक हुन् ।
बैतडी जिल्लाको श्वर्गका रुपमा मानिने ग्वाल्लेक वनको सुन्दर प्रकृतिमा अवस्थित असमी केदार देवतालाई विशेष गरी जल तथा अन्नपातका देवताका रुपमा मानिन्छ । असमी केदारको मन्दिर ग्वाल्लेकको खडेरी पर्दा भक्तिचित्तले असमी केदारसँग पानी मागे वर्षा हुने र वर्षाका कारण खेतीपाती नष्ट भए पानी रोक्ने तथा बिदो मागेपछि दिने हुनाले पनि असमी केदारलाई जलाधिदेवका रुपमा मानिन्छ । असमी केदार शिवको स्वरुपका रुपमा पजित हुँदै आइरहेकाले शिवकै रुपमा उहाँको परिचय दिन उपयुक्त हुन्छ । असमीकेदार सुरुमा ग्वाल्लेक र पछि ऐच्याकाडामा रहेको र कालान्तरमा ग्वाल्लेकको फेदमा सुर्काल गाउँमा आएको स्थानीय बुडापाकाहरुले बताउँछन् ।
असमी केदार देवताको स्थापनाका प्राकृतिक रुपमै ग्वाल्ेकमा भएको मानिदै आए पनि पूजा सुरु भएको भने समय मध्यकालतिर भएको र सुरुवातमा दिवाकर भट्टले पहिलो पटक पूजा गरेको स्थानीय डम्बर शर्मा बडूले बताए । यसरी पूजा हुन थालेपछि कालान्तरमा कुनै घटनाका कारण पूजा रोकिएको र पुनः मध्यकालतिरको समयमा कुमाउबाट त्रिपुरराज भट्ट नाम गरेका व्यक्ति बसाइ सर्न डोटी जान त्यही बाटो भएर आएर र त्यहाा पुग्दा दिउँसै अध्यारो भएर अगाडि जान नसकेको र उनले यसतो के भयो भनी देवीदेवताको ध्यान गर्दा एउटा नाग आएर मेरा गुसाई बाह्र वर्षदेखि भोकै रहेको र उनको पूजा अर्चना गर्नु , यसै ठाउँमा तिमीलाई फलाउने फूलाउने वचन भएको किंवदन्ती रहेको छ । तिनै त्रिपुरराजले खाँपर क्षेत्रमा रहेको ज्यार्तिलिङ्गमा पूज ागर्न थालेको र पछि त्रिपुरराजका छोरा श्यामराजले पूजा लाउन थालेको स्थानीयहरुले बताउँछन् । यसरी पूजा लाउने क्रममा पूजाको लागि जल ल्याउन तलपट्टीको ग्वाल्लेक गंगामा (गाड) आएर गडुवामा पानी भरे । पानी परेकाले एकछिन ओडारमा बसी उनी देवालय भएको ठाउँमा आएका र त्यहाँ पुग्दा गडुवा भेटाएनन् । उनकी श्रीमती स्याउला पात काट्न त्यस ठाउँमा पुग्दा गडुवा भेटाएको र गडुवा यो ठाउँमा छ भनी श्रीमानलाई बताइन् । यसरी उनी गडुवा त लगेको तर त्यस ठाउँमा कसरी पुग्यो भनी ग्वाल्लेकतिर हेरी नमन गरेर ध्यान गर्दा असमी केदार त्यही गडुवा भएको ठाउँमा सरेको भान भयो । त्यस ठाउँमा हेर्दा माथि पूजा गर्ने गरेकै शीला त्यस ठाउँमा देखिएको र पुजारलिे हातमा गडुवा समाती त्यही शीलाम स्नान गराए । पछि उनक िश्रीमतीले पिछौडाले उक्त गात छोपेको र त्यस दिन देखि त्यही ठाउँमा पूजा गर्न थालिएको डम्बर शर्माले बताए ।
कालान्तरमा यस देवताका पूजारी नुवाहाटी भट्ट रहेका र पछि उनको पूजारी धेरै ठाउँमा रहेकाले गुरुखोला पाली निवासी भट्टलाई हस्तान्तरण गरेको पाइन्छ । धेरै वर्षसम्म पाली निवासी कौडिण्य गोत्रीय भट्टहरुले पूजा गर्दै गर्दा कुनै समयमा एक जना पूजारी भट्टले तान्त्रिक पूजा गरेकाले उनलाई त्यहाँको पूजारी छुटाएर बडूथरी आफैले पूजा गर्न थालेको अघिल्लो पुस्ताका मानिसहरु बताउँछन् । बडूथरी आफैले पूजा गर्न थालेपछि दक्षिणा तथा सिदा उठाउने कार्यमा समगोत्रीय हुन थालेपछि त्यही स्थानमा रहेका पैतोला (पाण्डेय) हरुले पूजारीको कार्यभार सम्हाल्दै आइरहेको पाइन्छ । अहिले यस देवताका मूख्य कारिन्दाका रुपमा सुर्काल निवासी आत्रेय गोत्री बडूहरु रहेका छन् भने सोही गाउँमा रहेका पैंतोला (पाण्डेय) हरु पूजारीका रुपमा रहेको पाइन्छ । असमी केदार देवताको धामी पनि बडूहरु मध्येबाटै हुने गरेको पाइन्छ । बडुहरुमा देवता काम्नुअघि त्यसै ठाउँका बोहराहरुमा देवता काम्ने गरेको स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बडूथरीका घरमा एक जना जगते नाम गरेका बालक मूल नक्षेत्रमा जन्मेकाले ज्योतिष शास्त्र अनुसार मूलको पीडा हुने भएकाले उक्त बालकलाई देवताको काखमा सुरक्षाका लागि दिएको भन्दै धामीको घरमा पुगाएको र तिनै असमी केदारका धामीको घरमा उक्त बालक हुर्केबढेको पुराना पुस्ताका मानिसहरुले बताउँछन् । एक दिन ती धामी उक्त बालकलाई सँगै लिएर एकजनाको घरमा जान लागेका थिए । त्यतिबेला धमीसँग आफ्नै चिलम हुने र त्यसमा तमाखु खाने गर्दथे । उक्त चिलममा पानी पनी केवल पवित्र स्थानको हाल्ने गरिन्थ्यो । बिचबाटोमा धामीलाई तमाखु खान मन लागेको हुनाले देवताकै न्वालो नजिक बसेर उक्त बालकलाई चिलमोमा पानी भरेर ल्याउन लगाए । चिलममा ठिक मात्रामा पानी हाल्नु पर्ने हुन्छ । उक्त बालकले ठिक्क पानी हालेर ल्याएकाले धामीले कतै तिमीले चिलमो मुखमा हालेर त विचार गरेनौ ? नत्र कसरी ठिक्क पानी भरेको भन्दा उक्त बालकले होइन मैले त्यसो गरेको छैन भने । धामीले फेरी उनलाई हकार्दै पुनः पानी भरेर ल्याउन पठाए । त्यसपछि पनी पानी ठिक्क परेकाले फेरी धामीले उक्त बालकलाई तिमीले चिलममा मुख लगायौ होला नत्र पानी कसरी ठिकक हुँदैछ भनेर आरोप लगाइ नानाथरी कुरा सुनाउँदा उक्त बालकको मन दुख्छ । तमाखु खाएर त्यहाँबाट गएपछि राती एकजनाको घरमा बिन्तिका लागि बसेछन् । त्यहाँ पुगेपछि बालक जगतेलाई बाहिरपट्टको कोठामा सुताएर भित्र धामी लगायत घरका सदस्यहर बिन्ती गर्न लागेको र रातको तिन पहर पुग्दा पनि देवता नकामेको स्थानीयहरु बताउँछन् । यसरी धेरै रोइ कराइ गर्दा पनि देवता नकाम्दा बिहान हुने बेलामा बाहिरपट्टी सुतथेका जगते काम्न लागेका र पुरै घर हल्लिन लाग्दा यो के भयो भनी सोध्दा धामीले नै देवता जगतेमा सरेको र अब उसैलाई सोध्नु भनेको र पछि जगतेमा नै देवता कामी बिन्ति भएको र त्यही दिनदेखि असमी केदार बडूमा काम्ने गरेको डम्बर शर्मा बडूले बताए । यस मन्दिरमा हरेक महिनाको सङ्क्रान्ति, औँशी र पूर्णीमामा पूजा लाग्ने गर्दछ । त्यसैगरी वसन्त पंचमी, शिवचतुर्दशी, नवरात्री आदिमा पनि विशेष पूजा लाग्ने गर्दछ । यस मन्दिरका मुख्य कारिन्दा बडू रहे पनि अन्य जातजातीका मान्छे पनि असमी केदारलाई मान्ने गर्दछन् । विशेष गरी भारतको कुमायु देखि नेपालको सुदूरपश्चिमका सबै मानिसले असमी केदारलाई माने पनि विशेष गरी यस क्षेत्रका चन्द, भट्ट, जोशी, पन्त, बोहरा, लुहार, लावड, दमाइ, पुजारा आदि जातीले मुख्य देवताका रुपमा असमी केदारको पूजा गर्ने तथा जात्रा लग्ने गर्दछन् । यस मन्दिरमा विभिन्न ठाउँबाट जात्रा ल्याए पानी माग्नका लागि पनि आउने गर्दछन् । मानिसहरुले पानी बाहेक पनि अन्य मनोकामनाका लागि समेत असमी केदार देवतामा पूजा गर्ने, त्रिशुल, घण्ट, नेजा, ध्वजा आदि चडाउने तथा गाई कल्पिने आदि कार्य गर्दछन् । यस मन्दिरको छेउमा ग्वाल्लेकको पवित्र जल बग्ने गंगा भएकाले यहाँ श्रावण, एवम् माघ महिनामा स्थान गर्ने, ब्रतबन्ध गर्ने गर्दछन् ।
सुदूरपश्चिमका पवित्र तीर्थस्थलहरु मध्ये असमी केदार तीर्थ पनि एक महत्वपूर्ण हो । अहिले यस मन्दिरको नव निर्माण गरी ताम्रपत्रले छाएको पाइन्छ । प्रकृतिक तथा धार्मिक पर्यटकका दृष्टिले पनि यो मन्दिर एकदमै महत्वपूर्ण रहेको छ ।
.gif)