शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा सात हजार मतदाता र छ मतदान केन्द्र थपिए


पश्चिम प्रेस
बिहीबार , असोज ६ २०७९
  • 636
    Shares

  • images
    images
    कञ्चनपुरमा सात हजार मतदाता र छ मतदान केन्द्र थपिए

    महेन्द्रनगर । कञ्चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन् । 
     
     मतदाता बढेपछि छ वटा मतदानस्थलसमेत थप भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, नवज्योति आधारभूत विद्यालय रामघाट, भीमदत्त नगरपालिका–१ स्थित प्रगति युवा आधारभूत विद्यालय बाराकुन्डा, भीमदत्त–६ स्थित शान्ती निकेतन एठिपुर, पुर्नवासको गौरीशङ्कर पुर्नवासकै सरस्वती आधारभूत विद्यालय बीचफाटा मतदानस्थल थप भएको छ ।
      
     आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले  कञ्चनपुरमा पुरुष मतदाता एक लाख ४६ हजार आठ सय ४८ र महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ तथा एक जना तेस्रोलिङ्गी गरी कूल तीन लाख दुई हजार पाँच सय नौ मतदाता पुगेको बताउनुभयो ।
     
     कञ्चनपुरमा पुरुषभन्दा आठ हजार आठ सय १४ महिला मतदाताको सङ्ख्या बढी रहेको उहाँले जानकारी दिनुभयो । “स्थानीय तह निर्वाचनको भन्दा अहिले सात हजार मतदाता थपिएका छन्”, उहाँले भन्नुभयो, “हामी निर्वाचनको तयारीमा जुटेका छौँ ।”
      कञ्चनपुरमा निर्वाचनका लागि ७६ मतदानस्थल र एक सय ३२ मतदान केन्द्र निर्धारण गरिएको छ भने तीन सय ४६ मतदानस्थल कायम गरिएको उहाँले बताउनुभयो । “निर्वाचत अधिकृतहरुले नियुक्ति पाएलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुन्छ”, उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम र अन्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्रमा स्थापना हुन्छ ।” कञ्चनपुरका सङ्घीय तीन वटा निर्वाचन क्षेत्र रहेका छन् भने छ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # मतदाता
  • # मतदान केन्द्र
  • प्रतिक्रिया दिनुहोस