शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकसाहित्यमा भाइबहिनीका केही प्रसङ्ग


बिहीबार , कात्तिक १० २०७९
  • 1.4K
    Shares

  • images
    images
    डोट्याली लोकसाहित्यमा भाइबहिनीका केही प्रसङ्ग


    वर्तमान नेपालको सुदूरपश्चिम तथा तत्कालीन डोटी राज्यभित्र बोलिने भाषा डोट्याली भाषा हो ।  यो भाषा विचार विनिमयका रुपमा मात्रै नभएर लोक साहितयका दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । यस भाषामा थुप्रै लोकसाहित्य रहेको पाइन्छ । यस क्षेत्रको संस्कृतिसँग जोडिएर रहेको लोक साहित्यले यस भाषाको मौलिक पहिचान छुट्टै रहेको पाइन्छ । यस भाषामा रहेको लोक साहित्यले धर्म, संस्कृति, इतिहास लगायत लोकवार्ताका अन्य विविध विषयवस्तुलाई समेटेको पाइन्छ । यस क्षेत्रमा सांस्कृतिक अवसरमा प्रस्तुत गरिने  सगुन, फाग, ढुस्को, धमारी, भैन, बातइ, भड़ा आदि विभिन्न लोकसाहितयका विधाहरु रहेको पाइन्छ । उक्त लोक साहित्यले मानव जीवनका विविध पक्षहरुलाई समेटेको पाइन्छ । जसमध्ये भाइबहिनीको प्रसङ्ग पनि एक    हो । 
    हिन्दु वाङ्मयमा भाइबहिनीको सम्बन्धलाई एक पवित्र सम्बन्धका रुपमा लिने गरिन्छ । डोट्याली लोक समुदायमा पनि भाइबहिनीको विशेष सम्बन्ध रहेको हुनाले लोक जीवन तथा लोक संस्कारमा पनि भाइबहिनीको विशेष महत्व र उपस्तिथि हुने गर्दछ । डोट्याली लोक संस्कारमा जन्मदेखि नै भाइबहिनीको विशेष सम्बन्ध र भूमिका रहेको पाइन्छ । बालककालका साथीदेखि लिएर जीवनका विविध पक्षसँग भाइबहिनीको विभिन्न कर्तव्यहरुलाई समेट संस्कृतिसँग जोडेर निर्धारण गरिएको पाइन्छ । डोट्याली लोक समुदायमा बहिनीले भाइटिकाको अवसरमा भाइको टाउको पुज्ने तथा भाइटिका लगाउने प्रचलन रहेको छ । तिहारको अवसरमा बहिनीले चिउराले दाजुभाइको टाउको पुज्ने र हजारीको माला लगाइ आसिर्वाद दिने चलन रहेको छ भने दाजुभाइले दिदीको बिहेको दिन दिदीको खुट्टाधुने, बिहेको अवसरमा फेरा लगाउँदा लया (लाजा) हातमा दिने प्रचलन रहेको छ । त्यसैगरी दिदीबहिनीको विहेमा उनीहरुलाई घरसम्म पुगाउने प्रचलन पनि अनिवार्य रुपमा रहेको पाइन्छ । त्यसैगरी चैत्र महिनामा यस समुदायमा दिदीबहिनीलाई मिठामिठा पकवान लगेर उनीहरुको घरमा भेट्न जाने चलन समेत रहेको छ । दाजुभाइको ब्रतबन्धमा दिदीबहिनीले कपाल काट्दा छाया कपडाले छाया गर्ने प्रचलन रहेको छ भने विहेको अवसरमा जन्तमा भातबाकरो दिने चलन रहेको पाइन्छ । दिदी बिहनीको अटुट पवित्र प्रेम हुने हुनाले भावनात्मक रुपमा दिदी बहिनीको मृत्यु भएमा दाजुभाइले चितामा जलाएको हेर्नु हुँदैन भन्ने विश्वास यस समुदायमा हेको पाइन्छ । समग्रमा भन्नुपर्दा भाइबहिनीको सम्बन्ध जीवनका रहेक पक्षसँग जोडिएर रहेको पाइन्छ । यसै आधारमा यस क्षेत्रको संस्कृतिसँग जोडिएर आउने लोक साहित्यमा पनि भाइबहिनीको विशेष महत्व दर्साउने लोक साहित्य प्रसस्त रुपमा रहेको पाइन्छ, जसलाई यसरी देखाउन सकिन्छ । 
    १. संस्कार गीतहरुमा भाइबहिनीको प्रसङ्ग
    डोट्याली लोक समुदायमा परम्परादेखि चल्दै आइरहेका लोक संस्कारहरमा प्रस्तुत गरिने गीतहरुलाई संस्कार गीत (सगुन फाग) भनिन्छ । यस समुदायमा गाइने सगुनफागहरुमा भाइबहिनीको सन्दर्भ बोकेका थुप्रै प्रसङ्गहरु आउने गर्दछन । कन्याको विवाहका अवसरमा गाइने सगुनमा दाजुभाइलाई कन्याका खुट्टा धुने बेलामा दाजुभाइलाई खुट्टा धुन आग्रह गर्दै कन्याको खट्टा धोएको फलको बारेमा आउने प्रसङ्ग यसरी आउने गर्दछ ः
    छाल दादा छाल दादा कन्याइका पाउ छाल
    पउइ छाली शिर मथि ढाल
    देवता दाइना हुन्ना पितर खुलास
    तमरो दादा पल्लव बडलो
    तमरो दादा जय होइब रलो 
    त्यसैगरी कन्या दानकै अवसरमा गौदानका बेलामा पनि ब्रतबन्ध गरेका दाजुभाइले गौदानमा सहभागी हुनुपर्ने प्रचलन रहेको छ । गौदानका अवसरमा पनि दाजुभाइका प्रसङ्ग यसरी आउने गर्दछन् ः
    गर दादा गर भउजु कैलुको दान गर
    कैलु गाइको दान बडो होलो
    सात कुल आघा कैलु सात कुल पाछा
    दादा बउजुको वैकुण्ठ बास
    त्यसैगरी विवाहकै अवसरमा गाइने कृष्ण रुक्मिणीको फागमा कन्याको घरमा विवाह सम्पन्न भइसकेपछि कृष्णले रुक्मिणीलाई घर जाउँ भन्दा दाजु भाईकी प्रिय बहिनी म कसरी उनीहरलाई छोडेर जाउा भन्ने प्रसङ्ग आउने गर्दछ । उक्त बेलामा पनि भाइबहिनीको महत्व बुझाउने प्रसङ्ग यसरी आउने गर्दछ ः
    चल रानीउ रुखबिना अफना मण्णल चल रानीउ अफना मण्णल
    दादाकी रे बउजु कि मुइ लडेली रुखबिना कसो गरी मण्णल चलउँ 
    यसैगरी विवाहकै अवसरमा जन्त बिदाइ हुन लाग्दा कन्याका तर्फबाट प्रस्तुत हुने ककौलामा जन्मघर छोडेर कहिल्यै नदेखेको बिरानो ठाउँमा एक्लै कसरी जानु भाइलाई साथमा पठइदिनु भन्ने प्रसङ्गमा बडो मार्मिक प्रस्तुति पाइन्छ, जसको केही अंश यसप्रकार रहेको छ ः 
    कालालेक कालाधुरा एकली नाइ झानु, लाइदे इजु पिठीको भयालु
    पिठीको भयालु बाली सपैका नाइ पुग लाइरे दिनौ काकु चेलु भाइ 
    यसरी विवाहसंस्कार जस्तै अन्य संस्कारहरमा पनि भाइबहिनीको प्रसङ्गका थुप्रै गीतहर आउने गर्दछन् । यसबाहेक सहदेउ बालाको बातइ विसुद्ध रुपमा दिदीबहिनीको आदर्श प्रेम र महत्वलाई झल्काउनजे बातइ लोक साहितत्यमा प्रसिद्ध रहेको छ । चैत्रको महिना सहदेउ बालो गोठालो जाँदा तेरी दिदी बहिनी छैन भनेर साथीभाइहरले हेप्दा आमालाई आफ्नो दिदीको बारेमा सोधेर  जोखिम मोल गरी कहिल्यै नदेखेकी दिदीलाई भेट्न गएको र भेटपछि दिदीको नन्दले गरेको षडयन्त्रमना परी ज्यान समेत गुमाउनु परेको कथा डोट्याली लोक समुदायमा प्रचलित रहेको छ । यस कथालाई लोक नाट्यका रुपमा भडामा पनि प्रस्तुत गर्ने गरिन्छ । यसबाट दिदबिहिनीको सम्बन्धलाई बुझाउने गर्दछ । दिदी बहिनी नभएको भाइलाई नराम्रो तथा अशुभ दृष्किोणले हेर्ने प्रचलन यस समुदायमा रहेको पाइन्छ । 
    यी बाहेक पनि विभिन्न बातइ, ढुसको, धमारी, भैन तथा लोक डेउडाहरुमा भाइबहिनीका थुप्रै पसङ्गहरु आउने गर्दछन् । अर्को शब्दमा भन्नुपर्दा यस लोक समुदायमा प्रस्तुत हुने थुप्रै लोकसाहित्यमा भाइबहिनीको पवित्र सम्बन्ध, महत्व तथा पवित्र प्रेम आदि विविध प्रसङ्गहरु भाइबहिनीको विशेष उपस्थिति हुने गर्दछ ।   


  • सम्बन्धित विषय:

  • # dipawali
  • # brother
  • # sister
  • # भाइबहिनी


  • प्रतिक्रिया दिनुहोस