शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान सन्दर्भ


मंगलबार, पुस २७ २०७८
  • 2.2K
    Shares

  • images
    images
    पृथ्वीनारायण शाहका दिव्योपदेश र वर्तमान सन्दर्भ


    वि.सं. १७९९ मा गोरखाका राजा नरभूपाल शाहको मृत्युपछि शासन सत्ता सम्हालेका पृथ्वीनारायण शाहमा एउटा विसाल राज्यको राजा हुने चाहाना पलाएपछि बाइसे चौबिसे राज्यहरुको एकीकरण गर्नतिर लागे । स–साना टुक्राहरुमा  बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको जग बसाल्ने पृथ्वीनारायण शाह आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् ।  एउटा असल राजामा हुनपर्ने राजनीति, कुटनीति, युद्धनीति लगायत राज्य व्यवस्था सञ्चालनका हरेक कलामा कुशल पृथ्वीनारायण शाहले विभिन्न समय सन्दर्भमा भाई भारदार तथा राज्यका विभिन्न कर्मचारीहरुलाई दिएका सरसल्लाह तथा वाणीहरुलाई नेपाली समुदायले दिव्योपदेशका रुपमा ग्रहण गर्दै आएको पाइन्छ । उनले आफ्नो राष्ट्र, धर्म, कला–सँस्कृति, शैन्य तथा सुरक्षा, सुशासन, अर्थव्यवस्था आदि विविध विषयमा राज्य तथा जनतालाई दिएका दिव्य उपदेशहरु वर्तमान समयमा पनि अति महत्वपूर्ण रहेका छन् । एउटा विशाल, स्वतन्त्र तथा समृद्ध राष्ट्रको सपना साकार पार्न राजा, कर्मचारी तथा जनताले कसरी प्रस्तुत हुने ? केकस्ता कार्यहरु गर्ने ? कसरी राज्य सञ्चालन गर्ने ? जस्ता विविध विषयमा दिएका थुप्रै कालजयी उपदेशहरु ग्रहण गर्न योग्य रहेका छन् ।  


    राष्ट्र सम्पन्न बन्नका लागि  त्यस देशका जनता सम्पन्न हुनु पर्दछ, आफूलाई आवश्यक पर्ने सामग्री सकेसम्म आफैले उत्पादन गर्नुपर्दछ । आफ्नो देशमा उत्पादन भएका सामग्रीहरु अन्य देशमा बेचेर विदेशी मुद्रा आर्जन गर्नुपर्दछ । विदेशी व्यापारीहरुलाई स्वदेशमा भित्रिन दिनु हुँदैन भन्नेजस्ता आशय बोकेका महत्वपूर्ण अर्थनीति सम्बन्धी उपदेशहरु आज पनि त्यति नै महत्वपूर्ण छन् । पथ्वीनारायण शाहले विदेशी व्यापारीहरुलाई देशभित्र बोलाए देशलाई कंगाल पार्न बेर लगाउदैनन् भन्ने सन्दर्भमा दिएको दिव्योपदेश यस्तो छ  :


    देसका महाजनलाई गोड प्रसाह देषि उभ आउन न दिनु । देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनिञा कंगाल गरि छाड्दछन् । – दिव्योपदेश बाट साभार


    पृथ्वीनारायण शाहको उक्त दिव्योपदेश आजका दिनमा पनि उत्तिकै महत्वपूर्ण छ । वर्तमान समयमा नेपालमा चलिरहेको एमसिसीको सन्दर्भमा पनि यो उपदेश लागु हुन जान्छ । यदि नेपालमा एमसिसी पारित भयो भने उहाँले भनेजस्तै देश कंगाल हुनुका साथै रणभूमि बन्ने खतरा अनुमान गर्न सकिन्छ । 


    पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुलका रुपमा देखाएका छन् । भारत र चीन दुई बलिया राष्ट्रहरुबीच रहेको नेपाल हरेक समयमा असुरक्षित भएकाले दुबै राज्यसँग कुटनीतिक मित्रता गरी अगाडि बढ्नुपर्ने र आफ्ना सीमाहरुको सुरक्षाका लागि विभिन्न ठाउँमा किल्लाहरु स्थापित गर्नु पर्ने सम्बन्धमा दिएको दिव्योपदेश यसप्रकार रहेको छ :


    यो राजे दुई ढुङ्गा बीचको तरुल जस्तो रहेछ । चीन वादसाह सित ठूलो घाहा राष्नु । दषिनको वादसाह सित घाहा ता राष्नु तर त्यो महा चतुर छ । हिन्दुस्थाना दवाई राषे छ । सरजिमीमा परि रहेछ । हिन्दुस्थाना जाम्यो भन्या कठिन पर्ला भनि किल्ला खोज्न आउन्या छ । सन्धी सर्पन् हेरि गढि तुल्याइ राष्नु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्या छ । – दिव्योपदेश बाट साभार


    पृथ्वीनारायण शाहका दिव्योपदेशमा प्रजातान्त्रिक शासन व्यवस्थाको वकालत पाइन्छ । शासन व्यवस्था जनताहरुले चाहे अनुसारको हुनपर्दछ । जनताले जसलाई चाहान्छन् त्यसैलाई राज्यका प्रमुख कर्मचारी नियुक्त गर्नुपर्दछ । राजा अथवा राज्य व्यवस्थाले आफ्नो भन्दा पनि जनताले चाहेको व्यक्तिलाई विशेष पद दिनुपर्छ भन्ने सन्दर्भमा आएको दिव्योपदेश यसप्रकार रहेको छ :


    दुनिञा जष् देष देषी राजि रहन्छन् उसैलाई कजाई दिनु भन्ने शास्त्रमा पनि कहेको छ । दुनिञामा बुझि हेरु भनि बुझि हेर्दा दुनिञाबाट  पनि कालु पाडेको चाहा रहेछ र कालु पाडेलाई कजाई दिनु भया हामी दुनियादारमा छहारि रहँदो हो भन्या सल्लाह दिया र अब बाइसि चौविसिले क्या भन्दाछन् भनि बुझ्नु हुदा बाइसि चौविसि वाट पनि कालु पाडे कै चाहा रहेछ र कालु पाडेलाई कजाई भया घाहा घराईस् बलियो राषन्याइ छ भन्ने सल्लाह दिया । मेरा मनमा त विराज वषेतिलाई कजाई दिन आटेको थियो तर ज्यादा बुद्धि कालु पाडेकै ठह¥यो र कालु पाडेलाई कजाई भयाको हो ।  – दिव्योपदेश बाट साभार


    पृथ्वीनारायण स्वयम्लाई विराज बखेतिलाई कजाई पद दिने इच्छा भए पनि जनताको चाहाना रे बुद्धि विवेक कालु पाडेसित भएकाले उनलाई नै काजी पदमा राखेको र शास्त्रमा पनि जनमत र विद्या बुद्धिको  कदर गर्नुपर्ने उल्लेख भएकाले शास्त्र तथा जनमतको कदर गर्नुपर्ने र त्यसै अनुरुप गरिएको कुरा उपयुक्त दिव्योपदेशबाट थाहा हुन्छ । 


    यसरी विभिन्न समय सन्दर्भमा पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशहरुले वर्तमान नेपाली राजनीतिमा मार्गदर्शनको काम गरेको पाइन्छ । वर्तमान समयमा चलेको राजनैतिक विकृति,  वैदेशिक हस्तक्षेप, परराष्ट्रनीति आदिको अवस्था अध्ययन गर्ने हो भने यी  दिव्योपदेशको ठिक विपरित भइरहेको पाइन्छ । नातासम्बन्ध, घुषखोरी आदिका माध्यमबाट अयोग्य तथा जनताले नरुचाएको व्यक्ति पनि विभिन्न पद तथा ओहोदामा पुग्ने, आफ्नो स्वार्थ पुर्तिका लागि अन्य देशसँग जस्तोसुकै सम्झौता गर्न पनि पछि नहट्ने तथा सीमा सुरक्षा गर्नुको साटो केवल आफ्नो श्वार्थपुर्तिमा लागिरहने वर्तमान राजनीतिक सन्दर्भका लागि पृथ्वी नारायण शाहका दिव्योपदेशको अध्ययन तथा मनन गर्नु आजको आवश्यकता बनेको छ । राष्टहितका लागि उनका सम्पूर्ण दिव्योपदेशहरु महत्त्वपूर्ण रहेका र तिनको अध्ययन र मनन गरी राज्यको नीति बनाउन सके नेपाल विश्वमा एक स्वतन्त्र र सम्पन्न राष्ट बन्न सक्ने कुरामा दुईमत छैन ।  
     

     




    प्रतिक्रिया दिनुहोस