शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

निर्वाचनमा नेता होइन नागरिक विजयी बन्नुपर्छ


बुधबार, कात्तिक १६ २०७९
  • 837
    Shares

  • images
    images
    निर्वाचनमा नेता होइन नागरिक विजयी बन्नुपर्छ

    संघ तथा प्रदेशको चुनाव मुखैनिर पुग्न लाग्दा उम्मेदवारहरुको भ्याइ नभ्याइ चलिरहेको छ । घरदैलो तथा सभासमारोहमा व्यस्त उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्न आम नागरिकहरुसँग आफ्ना घोषणपत्रसँगै बाचा कसमहरु पस्किदै गरिरहेका छन् । आजभोलि शहर बजार मात्रै नभएर गाउँहरुमा पनि भिडभाड निकै बढिरहेको छ । गाउँमा बाहिरका मानिस नदेख्ने र प्रायः सुनसान रुपमा बसिरहेका नागरिकहरुको घरमा पनि चहलपहल निकै बढिरहेको देखिन्छ । गाउँमा उम्मेदवार भन्दा पनि कार्यकर्ताहरु बढी सक्रिय भएको सहजै देख्न सकिन्छ । टाढाटाढाका कहिले जिउँदाको जन्ति र मर्दाको मलामीमा समेत नदेखिने इष्टमित्रहरु समेत नजिकैको साइनो जुराइ आफ्नो पक्षका उम्मेदवारलाई मतका लागि सिफारिस गरिरहेको देख्न सकिन्छ । आम नागरिकहरु भने विगतका राजनीतिक क्रियाकलाप र नेताहरुको व्यवहारहरुको समीक्षा गर्न थालेका छन् । विगतको चुनावभन्दा यसपालीको चुनाव केही फरक हुने आम नागरिकहरुको बुझाइ रहेको छ । एकातिर सिद्धान्तको वलिदानी गरेर अगाडिबढिरहेका विभिन्न पार्टीहरुबीचको गठबन्धन अर्कोतिर स्वतन्त्र उम्मेदवारहरुको बृद्धिले गर्दा आम नागरिक कता जाने भन्ने कुराको निक्र्यौल गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा आम नागरिकले आफ्नो मतको शक्तिका बारेमा राम्रोसँग बुझ्नु जरुरी छ । आम नागरिकको मत नै राष्ट्रलाई विकासको गतिमा अगाडि बढाउने मुख्य अस्त्र भएकाले स्वविवेकपूर्ण रुपमा यसको सदुपयोग गर्न सक्नुपर्दछ । यो समयमा उपयुक्त व्यक्ति तथा दललाई छान्न सकिएन भने भोलि पछुताउनुको कुनै विकल्प रहदैन । यस अवस्थामा श्वार्थ, नातावाद, कृपावाद जस्ता कुरामा भुल्यौ भने यसको असर राष्ट्रको तत्कालीन विकासमा मात्रै नभएर पछिललो पुस्तासम्म पर्नेगर्दछ । यसकारण मतलाई राष्ट्र निर्माणको महायुद्धमा अस्त्रको रुपमा प्रयोग गरी नेतालाई भन्दा पनि आम नागरिकलाई जिताउनुको कुनै विकल्प छैन । समग्रमा भन्नुपर्दा यसपटकको निर्वाचनमा नेता होइन नागरिक विजयी बन्नुपर्छ । 




    प्रतिक्रिया दिनुहोस