डोटेली वन माणुँ, बाँस निङला, चाया बटोलीबर
सुप्पामी कुटुरो फुकाइ भरियो, डूरो भकारी घर
मोटो एक निको किताब बुनियो, पान्ना भरी शब्द छन्
हिट्टै मुस्किलको पथै असजिको सब् मान्छ को ? सक्दछन् ।
कुरडी २०६८ सालकी हो, स्नातक पैल्लिका वर्षमी घण्टेश्वर से.म. क्याम्पस, जोरायलमी पढन्थेँ । तिसै बेला भ्रमणो कुरा आयो । हाम लक भ्रमण जाने भए, नैनितालतिर । नानोबडो खर्च लक जम्मा अर्यौँ । भ्रमण सकिए पछ्यारी थोडाभौत रुप्पे बचे । सरले बच्या रुप्पेले ‘डोटेली शब्दकोश’ किन्यो । खासै त्यै शब्दकोशा बारेमी न चाँसोइ थ्यो न महत्त्व नै बुझ्या थे भणूँ । मनमी एक्कै कुरडी मात्तरै आई नेपाली बृहत् शब्दकोशै जति बाकलो ब रै छ । इसो एकफर हातम्भो सुमाए । लेखकसेखक खासै केइन हेरेँ, एकदुई शब्द तकेँ ।आफनाइ घरम्भा रे गाउँम्भा बोल्ले शब्द थे । उच्चारण अद्द नसकिने भयो । आफनी भाषा थी नबुझ्झे कुारोइन्थ्यो । बुझ्झलाई त पैल्लि पढ्ढु पड्यो । पढ्ढ भौत असजी लाग्यो । यै बबालापछा को लागन्छ भणे र सरा हातमी दिदिए । सोच्या, सजी कुरडी त लेख्या रैछ । यो कतनि बात हो रे ।
म भाषाको विद्यार्थी । भाषाविज्ञान पढ्ढे क्रममी शब्दकोश निर्माण भण्णे पाठ पढ्ढु पड्यो । त्यैमी एक विद्वानको भणाइथ्यो, “कसैलाई जेल हाल्लु भण्णा शब्दकोश लेख्द दिनू, त्यै है ठुलो सजाय केइ हुन नैसक्दो ।”नेपाली भाषाको शब्दकोश निर्माणो इतिहास धेकि लिबर निर्माण प्रक्रिया रे वर्तमान अवस्थासम्मा कुरडी पढे । केइ पैल्लि लक पढे केइ अझै पढ्ढै लाछु । साँच्ची शब्दकोश लेख्द त ‘बुवा व्या धेकिने’ जसा माणे।विकास भैसक्या भाषामी त शब्दकोश लेख्द इसि आपत छ भणे, एकरूपता नभया, ठाउँइपिच्छे, गाउँइपिच्छे, मान्छेइपिच्छे न्यान्न्यारोइ बोलिने भाषा, भाषिका रे उपभाषिकाका शब्दकोश लेख्द कति आपत भैहो, कति समय गैहो, कति मुन्टो चड्काउनु पडिहो !हुन त लेख्देले लेखिहाल्यो म सुदै असजी माण्णो ।जे जसेरी भए लक यितनो शब्दकोश हामरा मुखैनो राखिदिया यैमी भौतै सम्मान छ, आर डी प्रभाष चटौतज्यू !
क्वै खुम्च्याउनु नाक, लाज भइलो, क्वै बोल्ल लाग्दू कणी
भाषा आफनु बोल्लु ता सरम हो, के बाँच्चु नानो बनी !
डोटेली लक बोल्लु के यिति पढी त्यै सोच्च ला थे म नि
यी आर् डी त प्रभाष खास निकलेभाषा लिई आफनी ।
समाजमी पढेगुण्या मान्छो भौतै महत्त्व छ । ऐल साइत, पढ्या त भौतै छन् गुण्या भणे मुस्किलै होलो । त्यै पढ्यामध्येको एक मलकै हुँ । पढ्ढ जानुभण्णा अगाडि या पढ्ढेबेला मैले सिकेइ महत्त्वपूर्ण एक कुरडी हो स्कुलमी आफनी भाषा नैबोल्ला, बोले लाज हुन्छ । म पढ्ढा¥या मान्छे लाज त बचाउनै पड्यो । म अझ लक सम्झिन्छु, स्कुलमी डोटेली बोल्या निउँमी साथीलाई गिजेया रे गिजिया । जो डोटेली बोल्योउइकीइसी लाज भैजान्थी कुराइ छाडिदिउँ । काँइल्लाइ डोटेली मुखबटाहै निकल्यो भणे खुब हाँसन्थे । आफू, घर डोटेली बोल्ले म स्कुल कसैले डोटेली बोले हाँसन्थे । यो मैले आफुइलाई आफुइले गिज्याया लक था नै थ्यो । मेरा समाजले यिसोइ सिकाया थ्यो । यैमी बडी प्रभाव पढेलेख्या मान्छो थ्यो । भाउँ आफू पढ्या हुँ भण्णे जनाउनाइ ब नेपाली बोल्लु पडन्थ्यो कि ! त्यै हामले लक सिके । पढेगुण्या भए ब म बुझन्थे आफनी भाषाकी महत्त्व । म त पढ्या मात्रै थे गुण्या नैथे । ऐलका हामरा समाजा नजरमी आफनो भाषा हेलाको जसो बन्या बेलमी आर डी प्रभाषज्यूले भाषाको उन्नयनका लागि अ¥या शब्दकोश लेखनको प्रयास भौतै गजब छ, भौत सम्मानयोग्य छ रे अजम्बरी काम भया छ ।
नै हुन्थ्यो तमुले त आँट नअरे, भौतै पछा पड्डथ्यो
खेतीमी अझ गोडमेल नभयै, काँ फल्लथ्यो बड्डथ्यो
एकैले कति फाम चेत अरलो, कानी लकै थाकलो
भाषा बाँचिबरै ब हामु सबको, अस्तित्व लक बाँचलो ।
शब्दकोश लेख्दे कुरडी केइ ख्याल ठट्टाइ कुरडी नैहो । दश शब्द छ्यासम्यास अरिबर क्रम मिलाउन दिए त कतनो समय लागन्छ भणे शब्दकोश सम्पादन अद्दु सुदै काँ होलो । क्याम्पसमी सरले तोक्या अनुसन्धानात्मक लेख लेख्दा सन्दर्भ सूचीमी वर्णानुक्रम मिलाउन आपत मण्णे मजसापुत यिसो काम हुने कुरोइ नैथ्यो ।
स्वाडो होइन खेत हो अति ठुलो भाषा, कला चाल हो
नैहो यो कछुवा हिटाइ म बुझूँ, उये चडा ताल हो
थोपाले भरियो नदी हिमनदी, थोपाइ थोपा छाल हो
शब्दै शब्द छ शब्दकोश भरिमी यो शब्दकै खाल हो ।
.gif)