बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :
महिला सहभागिता

जाँडरक्सी नियन्त्रणमा सक्रिय बन्दै गाउँका महिला


पश्चिम प्रेस
बिहीबार , मंसिर २२ २०७९
  • 580
    Shares

  • images
    images
    जाँडरक्सी नियन्त्रणमा सक्रिय बन्दै गाउँका महिला

    मान्म, २२ मङ्सिर

     चुलोचौकामा सीमित रहने कालीकोटका महिला अहिले विकास निर्माण र सामाजिक काममा अग्रसर हुनु थालेका छन् ।

    कालीकोटमा अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिलाहरू विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैँ अग्रसर हुन थालेका हुन् । प्रायः पुरुषहरू रोजगारीका लागि भारत, खाडी मुलुक तथा नेपालका अन्य सहरमा जाने भएकाले गाउँमा महिलामात्र रहेकाले सबै काम महिलाले गर्नुपर्ने अवस्था रहेको कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह (संज्याल) बताउनुहुन्छ । “पुरुषहरू घरमा भए पनि काम गर्नलाई अग्रसर हुँदैनन्”, उहाँ भन्नुहुन्छ, “चुलोचौकादेखि अन्य सबै काम महिलाले नै गर्नुपरेको छ ।”

    पुरुषहरु घरमा भए पनि जुवातास, रक्सीमा व्यस्त हुने गरेका कारणले सबै काम आफूहरूले नै गर्नुपरेको रास्कोट नगरपालिका पूर्व उपप्रमुख मिमसरा शाही बताउनुहुन्छ । घरमा रहेका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएका कारणले महिलाले नै सबै काममा अग्रसर हुने गरेको उहाँको भनाइ छ । सबै प्रकारका कामको बोझ हुने भएकाले यहाँका महिलालाई मेलापात, भान्सा, भारी बोक्नेदेखि हाटबजारसम्मका काम गर्ने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका राजनीतिककर्मी सीता रावल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँका महिलालाई कामको बोझ धेरै हुने गर्दछ । त्यसैले यहाँका महिला बढी काम व्यस्त हुने गर्छन् ।” गाउँमा पुरुष नहुँदा स्थानीय विकास निर्माण तथा अन्य रोजगारीका काममा महिला सहभागिता हुने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित विकास निर्माणका कामसँगै स्थानीयरूपमा हुने अन्य विकास निर्माणका काममा पनि महिला नै सहभागी भएको रास्कोट नगरपालिका–८ कलसा विकले बताउनुभयो । “हामीले स्थानीय विकास निर्माणका काममा पनि सक्रिय सहभागिता जनाउने गरेका छौँ”, उहाँले भन्नुभयो । गाउँघरमा हुने धारा, पधेँरा, सडक, खानेपानी, विद्युत्, भवन निर्माणका काममा पनि महिलाको विशेष सहभागिता रहने गरेको पचालझरना गाउँपालिका–५ का मनपुरा बमले बताउनुभयो ।

    “हामी गाउँमा नै बसेर विकास निर्माणका काम गरेर आम्दानी गर्ने गरेका छौँ ।” जाँडरक्सी नियन्त्रणमा गाउँका महिला महिला सामाजिक काम पनि त्यत्तिकै सक्रिय रहेका छन् । जिल्लाको महावै गाउँपालिका–६ गेला गाउँका महिलाले अवैध मदिरा बन्द गर्ने अभियान सञ्चालन गरेका छन् । यहाँका महिलाले गाउँमा मदिराकै कारण घरेलु हिंसा बढेको भन्दै मदिरा रोक्ने अभियान थालेका हुन् । मदिराले अर्थावस्था कमजोर हुँदै जाने, सामाजिक मान–प्रतिष्ठामा आँच आउने, घरेलु हिंसाका घटना र सामाजिक विकृति बढ्ने भएकाले यो अभियान थालेको महावै गाउँपालिका–६ गेलाका स्थानीय जलसा परियार बताउनुहुन्छ । “मदिराले पैसाका नास गर्नुका साथै सामाजिक विकृति पनि व्यापक हुन थाल्यो”, उहाँले भन्नुभयो, “यसलाई रोक्न अभियान थालेका हौँ ।”

    नरहरिनाथ गाउँपालिका–८ का महिलाले आमा समूह गठन गरेर सामाजिक विकृति फैलाउने जाँडरक्सी नियन्त्रण गर्न अभियान चलाएका छन् । गाउँमा विकृतिविरुद्ध जनचेतना जगाउन आमा समूह गठन गरेर गाउँमा जाँडरक्सी नियन्त्रण गर्ने अभियान थालिएको स्थानीय आमा समूहका सचिव मनकला विष्टले बताउनुभयो । आमा समूहलाई स्थानीय सरकारले सहयोग गर्ने गरेको बताउँदै सचिव विष्ट भन्नुहुन्छ, “जाडरक्सी खाएर गाउँमा होहल्ला गरेर जरिवाना गर्ने गरिएको, बनाएर बेच्नेलाई पनि चेतावनी दिने गरिएको छ ।” महिला एकजुट भएको देख्दा अहिले गाउँका राजनीतिक दल र अन्य समाजसेवीले पनि सहयोग गर्न थालेका स्थानीयवासी रामपुरा भण्डाराले बताउनुभयो । “अभियानले समुदायमा मेलमिलाप र एकताको सन्देश दिएको र घरपरिवारमा हुने फजुल खर्च पनि नियन्त्रण भएको छ”, उहाँले भन्नुभयो, “यो गाउँमा अहिले कोही पनि जाँडरक्सी खाएर होहल्ला गर्ने र सामाजिक विकृति फैलाउने काम बन्द भएको छ ।” गाउँघरमा कच्ची अवैध मदिरा उत्पादन गर्नेको पहिचान गरेर पहिला घरेलु मदिरा उत्पादन नगर्न र आग्रह गर्दै अभियान सञ्चालन गरिएको छ भने कसैले मदिरा पिएमा कारबाही गर्नेसम्मको अभियान सुरु गरिएको स्थानीयवासी कमला शाही बताउनुहुन्छ ।

    उहाँका अनुसार एक सय घरधुरीमा अवैध मदिरा उत्पादन हुने गरेको पाइएको थियो । “पहिले प्रहरी चौकी पाद्मगाडमा महिलाले अवैध मदिरा बन्द गरी पाउँ भनेर उजुरीसमेत दिएको त्यसले नियन्त्रण हुन नसकेपछि अभियान थालेका हौँ”, उहाँले भन्नुभयो । गाउँ–गाउँमा अवैध मदिरा नियन्त्रण गर्न महिलाले सक्रिय अभियान थालेका र त्यसमा प्रहरीले सहयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताउनुभयो । “अहिले गाउँका महिला मदिरा नियन्त्रणमा लागेका छन्”, उहाँले भन्नुभयोे, “प्रहरीले महिलाहरूको अभियानलाई सहयोग गर्दै आएको छ ।” (रासस) 


  • सम्बन्धित विषय:

  • # womeninleadership
  • प्रतिक्रिया दिनुहोस