महेन्द्रनगर । स्टल नम्बर १२ “हा हु चाट एण्ड आर्ट” ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलाको आकर्षणको केन्द्र बन्यो ।
ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थीहरुले समुह बनाए सञ्चालन गरेको यो स्टल मेला अवधिभर चर्चामा रह्यो । दुई समुहमा विभाजित यो स्टलका विद्यार्थीहरु केही चाट बनाउनमा व्यस्त थिए भने तीन जना (ईशु जोशी,ममता क्षेत्री र स्नेहा लेखक) आफ्नो कला प्रदर्शन गरिरहेका थिए ।
मेला अवलोकन गर्न आउने हरेकलाई उनीहरुको कलाकारिताले लोभ्यायो । अधिकांश अवलोकनकर्ताको अनुहारमा उनीहरुले बनाएको चन्द्र सुर्य अंकित नेपालको झण्डा चम्किरहेको थियो । कलेजले मेला आयोजना गर्ने भएपछि आफुहरुले आर्ट बनाउने योजना बनाएको ईशु जोशी बताउँछीन । “हामीहरुलाई आर्ट बनाउन आउथ्यो थोरै लगानी र सहज हुने भएपछि हामीले आर्ट बनाउने योजना बनायौ ।” उनले भनिन–“यो मेला हाम्रा लागि उपलब्धी मुलक रह्यो ।” उनले सहकर्मी साथी ममता क्षेत्रीले कक्षा १२ मा पढ्ने बेला हरियाणा गएको बेला यो कला सिकेको बताए ।

“ममताले हरियाणामा सिकेको थियो हामीले पनि त्यसमा थप जुक्ति लगायौ ।” उनले भनिन–“एक हजार लगानी गरेका थियौ १० हजार जति कमाई भयो ।” स्टल सञ्चालनका लागि कलेजबाट एक हजार सहयोग भएको उनले बताए । मेलामा आम्दानी भएको रकमले सरकारी विद्यालयमा स्वानिटरी प्याडका लागि सहयोग गर्ने योजना बनाएको उनले सुनाए । “दश हजार आम्दानी भएको हाम्रो खर्च कटाएर बचेको नौ हजार सरकारी विद्यालयमा स्वानिटरी प्याड वितरण गछौ ।” उनले भनिन –“काम गर्दाखेरी केही चुनौती पनि देखिए केहीले छालामा समस्या हुन्छ भनेर पेन्ट गर्न रुचाएनन ।” उक्त मेलामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरेर केही मुनाफा आर्जन गर्न सफल भएका छन । थोरै लगानीमा पनि राम्रो आम्दानी र उत्कृष्ट व्यवस्थापन गर्न रोजगार मेलाले सिकाएको सहभागीहरु बताउँछन ।
