काठमाडौं– यूईएफएले आयोजना गर्ने युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकप २०२० जुन ११ तारिख शुक्रबारबाट सुरु हुँदैछ।
इटालीको स्टेडियो ओलम्पिको रंगशालामा घरेलु टिम र टर्कीको खेलसँगै सुरु हुने युरोकप पहिलो पटक युरोपका विभिन्न ११ सहरमा हुँदैछन्। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका विभिन्न ११ सहरमा प्रतियोगिता आयोजना गरिएको छ।त्यसो त युईएफएले सुरुमा १२ ठाउँमा महादेशीय कप आयोजना गर्ने निर्णय गरेको थियो। तर डुब्लिन र बाल्बियोलाई हटाएर सेभिल्ली सहरलाई थप गरेपछि प्रतियोगिता ११ ठाउँमा आयोजना हुने निश्चित भयो।
युरो कपमा युरोपका विभिन्न २४ देशको सहभागिता रहने छ। यी सबै टिमलाई ४–४ टिमको ६ समूहमा विभाजन गरिएको छ। यो वर्ष युरोकपको रमाइलो पक्ष भनेकै विभिन्न ११ सहरमा प्रतियोगिता हुनु हो। तर आयोजक मध्येकै रोमानिया र अजरबैजान भने प्रतियोगितामा छनोट हुन सकेनन्।यद्यपि रोमानियाले आफ्नो राजधानी बुखारेस्ट र अजरबैजानले बाकूमा प्रतियोगिता सञ्चालन गर्दैछन्। यसबाहेक डेनमार्कको कोपनहेगन, इंग्ल्यान्डको लण्डन, जर्मनीको म्युनिख, हंगेरीको बुढापेस्टका समर्थकले पनि घरेलु मैदानमा युरोकप हेर्न पाउनेछन्। त्यति मात्र होइन युरो कपको मजा इटालीको रोम, नेदरल्यान्डको एम्सटरडम, रुसको सेन्ट पिटरसबर्ग, स्कटल्यान्डको ग्लास्गो र स्पेनको सेभिल्लीका समर्थकले पनि घरेलु मैदानमा लिनेछन्।
यो संस्करणको युरोकपअन्तर्गत समूह चरणको खेलले नै निकै रोमाञ्चकता दिनेछ। किनभने समूह एफमा छन् उपाधि दावेदार पोर्चुगल, फ्रान्स र जर्मनीसहित हंगेरी। यो समूहको पोर्चुगल साविक विजेता हो भने जर्मनी २०१४ को फिफा विश्वकप विजेता हो। यता अर्को बलियो टिम फ्रान्स त पछिल्लो संस्करणको विश्वकप विजेता हो। यो समूहको खेल निकै रोमाञ्चक हुनेछ।
अर्को महत्वपूर्ण कुरा के भने २०१६ को फाइनलमा प्रतिस्पर्धा गरेका फ्रान्स र पोर्चुगलले आउँदो युरोकपको समूह चरणमै प्रतिस्पर्धा गर्नेछन्। २००४ को उपाधि विजेता ग्रिस छनोट हुन नसकेको प्रतियोगितामा एक पटक उपाधि जितिसकेका रसिया, इटाली, चेकोस्लोभाकिया, नेदरल्यान्ड, डेनमार्क र पोर्चुगलले भने अर्को उपाधिका लागि भिड्नेछन्। यसो भन्दैमा दुई पटक उपाधि जितिसकेको फ्रान्सलाई कम आँक्न चाहिँ मिल्दैन। त्यस्तै, तीन पटक उपाधि आफ्नो बनाइसकेका स्पेन र जर्मनीको फुटबल बहादुरीबारे नाम नै काफी देखिन्छ।
विभिन्न १५ संस्करणमा १० फरकफरक विजेता पाएको युरोकप यो संस्कण भिन्न तरिकाले आयोजना हुँदै गर्दा नयाँ राष्ट्र विजेता नहोला भन्न सकिँदैन। उपाधि दावेदार इंग्ल्यान्डलगायतका निकै बलिया टिम युरो कपमा सहभागी छन्।
.gif)