बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

डोट्याली लोक जीवनमा राम र रामायण


सोमबार, माघ १० २०७८
  • 1.0K
    Shares

  • images
    images
    डोट्याली लोक जीवनमा राम र रामायण
     
    सामान्यतया आम सर्वसाधारण मानिसहरुको जीवन सन्दर्भसंग जोडिएका व्यवहारहरुको समग्र स्वरुप नै लोक जीवन हो । लोक शब्दले ‘लोकस्तु भुवन जन’ अर्थात मानिस र भुगोलको सम्बन्ध जनाउछ, निश्चित भूगोलका आम मानिसका क्रियाकलापहरुको समग्र स्वरुप लोक जीवन हो, जुन लोक संस्कृतिसंग सापेक्षित भइ बसेको हुन्छ ।
     
    वर्तमान डोट्याली लोक संस्कृतिको उदगम विक्रम सम्वतको आठौं देखि वाह्रो सताब्दि सम्मको अवधिमा भएको पाइन्छ । डोटी राज्यको तत्कालिन भू–राजनैतिक क्षेत्र जसले गौरा, नौरता होरी जस्ता पर्वहरुको सांस्कृतिक क्षेत्र समेत निर्धारण गरेको पाइन्छ । ऐतिहासिक कालिन डोटी अजयमेरु केन्द्रको राज्य व्यवस्थाको क्षेत्रमा सांस्कृतिक रुपमा जुन लोक जीवनको विकास भयो । त्यसैको निरन्तरता या क्रमिकता को विकसित अवस्था अहिलेको डोट्याली लोक जीवन हो ।
     
    समयक्रम र जीवनका विविध पक्षमा भएको विकास वाट लोक जीवन र लोक संस्कृतिमा परिवर्तन आउने भए पनि सारभूत रुपमा निश्चित भूगोल र सांस्कृतिक जीवनका साझा पक्षमा प्रमुख समानताहरुले निरन्तरता पाइरहेका हुन्छन् । जसले एक समुदाय र अर्को समुदाय, एक संस्कृति र अर्को संस्कृति तथा एक क्षेत्रीय लोक जीवन र अर्को क्षेत्रीय लोक जीवनमा फरकपन देखाउछ ।
     
    डोट्याली लोक जीवन र संस्कृति मूलत २ वटा पक्ष बाट निर्देशित भइ स्थापित एवं विकसित भएको पाइन्छ । १) वैदिक आर्य संस्कृति र सभ्यताको अनुशिलन, २) स्थानिय प्रकृति, भुगोल एवं जीवन भोगाइको व्यवस्थापन, यस सन्दर्भमा पौराणिक रुपमा मानसखण्डका रुपमा परिचित यस क्षेत्रमा वैदिक आर्य संस्कृतिको महत्वपूर्ण प्रभाव रहेको छ । पौराणिक मानसी क्षेत्रमा हालको अवस्थामा विभिन्न लोक संस्कृतिले ठुलो जनसंख्या र भूगोल कायम गरेको छ । वेद, पुराण, रामायण, महाभारत जस्ता हिन्दु धार्मिक रचनाहरुले यस क्षेत्रको लोक जीवन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको सन्दर्भमा यस क्षेत्रको लोक जीवनसंग रामायण अर्थात रामकथाको सम्बन्ध पनि प्रगाढ रुपमा रहेको छ ।
     
    रामायण रामको जीवन चरित्र गाथामा आधारित हिन्दुहरुको प्रमुख धर्म ग्रन्थ हो । हिन्दुइतर संस्कृतिका अध्पेताहरु माझ पनि रामायण विश्वस्तरको पाठ्यग्रन्थ हो । संसारमा रामायणको प्रभाव कति छ भन्ने कुरा त दर्जनौं भाषामा यो कृति प्रकाशन पुन: प्रकाशन अनुवाद तथा व्याख्या विश्लेषणवाट प्रष्टिन्छनै । यो वहु आयामिक ग्रन्थ विभिन्न समुदाय, संस्कृति र परिवेशमा जन जन सम्म विभिन्न विधा र माध्यमले पुगेको छ । अर्थात लोक जीवन संग रामायण जोडिएको छ । लोक जीवनका भाषा, साहित्य संस्कृति, कला, धर्म इतिहास, नीति र परम्परा जस्ता विविध पक्षको सम्वन्ध रामायणसंग जोडिएको पाइन्छ । संसारमा वाल्मिकी हुदै अहिले सम्म रामकथा संगै सयौ साहित्यकार व्याख्याता जन्मिएका छन । चाहे त्यो जुन सुकै भाषाको राम साहित्य होस त्यसले ‘सत्यम् शिवम् सुन्दरम्’ को परम आदर्श आत्मसात गरेको छ । त्रेता युगको भनिएको विषय वस्तु समाजमा विविध प्रकारले वाच्दै आएको छ । र भारतवर्ष को घेरा वाहिर संसार भर फैलिएको छ ।
     
    विष्णुका अवतार स्वरुप मानिने रामलाई कुनै न कुनै रुपमा सवै जात जाति र सम्प्रदाय (हिन्दु) हरुले राम तथा उनको चरित्र लाई आदर्शको रुपमा लिएका हुन्छन् । स्वभाविक रुपमा डोट्याली लोक जीवनमा पनि राम र रामायणको सम्बन्ध दरिलो रुपमा रहि आएको छ ।
     
    सामान्यत: शैव, शाक्त तथा प्रकृति पुजक अवस्थाको यस समाजमा विष्णुलाई पनि उत्तिकै श्रद्धा र सम्मान दिइएकोमा बहुदेवबादी लोक जीवनका रुपमा यहाँको लोक जीवन विद्यमान छ । आर्ष पद्धति अनुरुप देव पूजा विधान मा यथा समय श्रीरामको पूजा अर्चना गरिन्छ । प्राचिन अवस्थाका नभए पनि पछिल्लो काल खण्डमा राम मन्दिरहरु स्थापना भइ रहेका छन् । भानुभक्तिय रामायण, तुलसीदासकृत रामायण, हनुमान चालिसा पढ्ने र पढाउने कार्यले परम्पराकै रुप धारण गरेको छ भने विभिन्न पर्व र जात्राका अवसरहरुमा गाइने राम–सीताका गाथाहरु लोक रामायणका रुपमा स्थापित भइ सकेको छ ।
     
    डोटी तथा कुमाउँ क्षेत्रमा ‘लोक रामायण’ राम–सीताको चैत प्रसिद्ध छ । रामायणको सम्पूर्णतालाई लौकिक (स्थानिय) भाषामा गीति रुपमा यो चैत गायन गरिन्छ । गौ:रा, जाँत, पर्वका अवसरमा ‘ठाडोखेल’ का रुपमा गाइन्छ र खेलिन्छ पनि, डोट्याली लोक संस्कृतिका विद्वान वाशुदेव भाइसाप लेख्छन् – “लोकले रामायणको सुगन्ध मात्र लिएको छ वाँकी सवै आºनै भाषा, शैली र आºनै धुनले लोक कल्पनाको श्रृगारद्वारा सृष्टि गरेका छन् ।”
     
    लोकगीतका रुपमा मात्रै ‘राम सीताको चैत’ रहेको छैन, यो गाथा हो साहित्य हो र लोक कला (अभिनय) का रुपमा पनि रहेको छ । ठाडो खेल, ढुस्को घुमारी, चाल्ली, डेउडाका चाल, ताल र लयमा गायन हुन्छ । स्थानिय भेद अनुरुप यसको प्रस्तुति भाषा, शैली र गायनमा अन्तर देखिन्छन तापनी मूल ध्येय मा भिन्नता छैन ।
    राम रामायण कै जुग होली
    राम रामायण त्रेता जुग होली
    .................................
    राजा दशरथ कति रानी
    राजा दशरथ तीन तीन रानाी
    .................................
    रामज्यु ऐडोली ग्यान
    लछिमन पछि लागी ग्यान
    ...................................
    लंका मदोदरी घुत घुत हासनि
    क्याउ छ मदोदरी हँसाको बात
    सीता रानी साथ राखि, रामज्यू अयोध्या चल्या
    राममाइ औसेक पड्यो प्रजा सवै खुसी भया ।
     
    यो चैतको लामो वर्णन छ जसमा लोक कविहरुले स्थानिय मौलिकताहरुलाई पनि सान्दार्भिक रुपमा प्रस्तुत गरेको पाइन्छ ।
     
    राम नवमी र विवाह पंचमीको व्रत पूजा पनि लोकमा अभिन्न कृत्यका रुपमा स्थापित भएको छ भने धार्मिक अनुष्ठानका रुपमा रामपूजन तथा रामायण पाठ विशेष रुपमा प्रचलित छ । संकटमोचन प्रयोजनार्थ हनुमान चालिसा पाठ तथा पूजनले पनि व्यापकता पाएको पाइन्छ भने राम–लक्ष्मण–सीता एवं हनुमानका लकेट लगाउने, घरमा मुर्ति प्रतिमा तथा टायल प्रयोग गर्ने गरेको पाइन्छ । केही वर्ष अघि सम्म भानुभक्तिय रामायण पनि लोक प्रिय रहेको थियो र पढन लेख्न सक्ने सवै जसोले रामायण, गीता, महाभारत देवी भागवत कृष्ण चरित्र जस्ता पुस्तकहरु घरमा राख्ने पढने, सुन्ने, सुनाउने परम्परामा चाहिं हाल कमि आएको छ ।
    रामलाई आर्दश पुरुष, लक्ष्मणलाई भ्रातृत्वका पर्याय, सीतालाई आदर्श नारी, हनुमानलाई ठुला भगवत्भक्तका रुपमा चिनेको लोकले रावणलाई खलपात्रका रुपमा चिनाउने गरिन्छ ।
     
    परम्परामा रहेको ‘भोलाउलो’ जुन गीत देव प्रार्थना हो । मन्दिर एवं जागरहरुमा विहानी पख गाइन्थ्यो । यहा सम्म कि हाम्रै आमा बज्यैहरुले विहानै जाँतरा पिस्दै “पूरब उजालो हाइव गयो–लछि राम हरि, सुरिजलै दरशन दियो– लछिराम हरी” गाउने गरेको प्रसंग सीताले राम लक्ष्मणलाई बिहानै जगाउने या देव जागरणको मौलिक परम्परा थियो ।
     
    डोट्याली लोकगीतको प्रमुख र महत्वपूर्ण पाटो डेउडा गीत हो, जसमा डेउडीथा या गिदाराले रामायण को प्रसङ्ग नकोट्याइ छाडदैनन् ।
     
    चौकीमा चाखुडा कति, मालमा साल कति
    यै देश रजाको राजकति, रमाइणको पाठ कति,
    त्यसै गरी भारी खेलमा –
    भाइलौ, जस्या विजया कि भेटुभैछ
    भाइलौ, राम नवमी कि भेटु मैछ
    चैतका लोक गीतमा –
    सीता रानी घाँस काटली देउलका फगला
    मुइत इजु भोक लागली चैतका छकला ।
    डेउडा मा –
    रामज्यूले बान्याका धारा पानि खाइजेइ सीता
    ...............................................
    रामै हुन सीता का पति, मै हुँ उनकी सीता
    सीताकै चाकरी अरन्या हनुमान हुन किता
    पानी खाइ झाउ सैत मारीझाउ वसि झाउ घाम भयो
    पञ्चभाइ बस्याका ठौर राम भयो राम भयो ।
     
    यसरी लोक साहित्यका गीत, कथा कहानी, चरित्र गाथा, होरी गीत, जागर, आदिमा राम र रामायणका प्रसंगले ठाँउ पाएका छन् । यहाँ गाउँ ठाउँका वोली भाषा र अन्य विधामा सृजित साहित्यमा समेत राम र रामायणले स्थान लिएको छ । धर्म मनोरञ्जन अभिनयकला (नाटक) तथा संगितका फाँटमा रामलिला मंचनको पुरानो परम्परा छ । परम्परागत रुपमा लामो समय देखि रामलीला प्रदर्शन आम मानिसहरुले चासोको विषयका रुपमा रहेको छ भने आरती भजन किर्तनहरुमा पनि राम चरित्र र महात्म्यले अहम् स्थान लिएको छ ।
     
    जन वोली व्यवहारमा उद्धरण, उपमा प्रतिक तुलना आदि प्रयोजनका लागी रामायणका विषयवस्तु र पात्रहरु प्रयुक्त हुन्छन् ।
    जस्तो कि – उठ, कुम्भकर्णै जनि सिन्छै ।
     
    रामधेक्दु (हालत देख्नु), पारे उत हनुमानै पर्वत उठयाइ गरन्छ ।
    रामहेद्दु (मेला हेर्न), याँ त राम राज्य नाइ थि ।
    रामायण माइ भणि राइछ – “हौइ है सोइ जो राम रचि राखा”
     
    लोक जीवनका अन्य विविध प्रसङ्ग नियाल्दा – राम राम ढोग (अभिवादन) का रुपमा प्रयोग गरिन्छ । दु:खद घटना देख्दा उदगारका रुपमा राम १ राम १ राम १ पुकारिन्छ । “राम नाम सत्य है, सत्य वोलो गत्य है” मृत्यु संस्कार का वेला प्रयुक्त हुन्छ । रामायणका तथा अन्य रामस्तुतिहरु विभिन्न प्रसंगमा प्रयोग गरिन्छन । प्यार पूर्वक छोरा छोरी हरुको नामाकरण राम लक्ष्मण, सीता राखिन्छ । नामको विचमा –राम प्रयोग गरिन्छ । असल जोडी लाई रामसीता को जोडीको संज्ञा दिइन्छ भने खराब काम गर्ने हरुलाई रामायण का खल पात्रका नामले पुकारिन्छ । तीर्थ यात्राका सन्दर्भमा जनकपुर, अयोध्या, सेतुवन्ध रामेश्वर महत्वपूर्ण गन्तव्यका रुपमा लिइन्छन् । मानस खण्ड पुराणले सेती नदी लाई सीता (सीता नद्या वाम भागे खेचरो नाम पर्वत) उल्लेख गरिएको छ ।
    यस प्रकार राम र रामायणको सम्बन्ध डोटयाली लोक जीवन संग प्रगाढ रहेको पाइन्छ । राम जस्तै चरित्र निर्माण, रामायणको नीतिको व्यवहारमा प्रयोग, रामराज्यको राजनीति वन्धुत्व, सत्चरित्रता, गलत प्रवृति माथी विजय गर्न सकेमा उन्नत समाज निर्माणमा योगदान पुग्ने देखिन्छ ।
     
    धार्मिक, सांस्कृतिक एवं लौकिक जुनसुकै दृष्टिबाट पनि उच्चतम आदर्श ग्रहण गर्ने विगतको परम्परामा वर्तमानमा केही विचलन र स्खलन आएको छ । रामायण सामाजिक सांस्कृतिक मूल्य मान्यताको सम्बद्र्धनमा योगदान दिन सक्तछ । यसमा जीवनका आवश्यक सवै मूल्य मान्यताका पक्ष समाविष्ट छन् जसलाई हामीले ग्रहण, स्वीकार र व्यवहारमा प्रयोग गर्न सक्नु पर्दछ ।




    प्रतिक्रिया दिनुहोस