मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

१३ वर्षिय मौषमको विश्वकप खेल्ने सपना (भिडियो सहित)


पश्चिम प्रेस
बुधबार, माघ १२ २०७८
  • 790
    Shares

  • images
    images
    १३ वर्षिय मौषमको विश्वकप खेल्ने सपना (भिडियो सहित)

    महेन्द्रनगर । सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे। सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा महेन्द्रनगरमा अध्ययनसँगै फुटबल खेल्न थालेका रोकायाले नामजस्तै खेल जीवनमा निकै परिवर्तन ल्याएका छन ।
    धनगढीमा केही महिनाअघि सम्पन्न प्रदेशस्तरीय छनोटमा यहाँबाट यु–१३ फुटबलका लागि छनोट भएका मौसम यतिबेला नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमिमा प्रशिक्षणरत छन । “एकेडेमीले विभिन्न विद्यालयसित गरेको सम्झौता अनरुप मौसम अहिले नेपाली सेनाको त्रिभुवन युथ क्लबमा आवद्ध भएर खेलसँगै अध्ययनलाई निरन्तरता दिइरहेका छन”, जिल्ला फुटबल सङ्घ कञ्चनपुरका महासचिव रमेश चन्दले भने, “यो हाम्रो लागि गौरवको विषय हो।”

    यहाँ ग्रामीण भेग कञ्चनपुरको पुर्नबासदेखि दोधारा चादँनीसम्म फुटबलको क्रेज निकै बढ्दै गइरहेको महासचिव चन्दको भनाइ छ। महेन्द्रनगरस्थित एन्फा फुटबल प्रशिक्षक पुष्कर शाहीले मौसमलाई क्षमतावान खेलाडीका रुपमा हेरिएको बताउँछन । “म कहाँ प्रशिक्षणमा आउँदादेखि नै निकै मेहनती र क्षमतावान खेलाडीमा आउछन् मौसम”, प्रशिक्षक शाहीले भने, “मौसमले फुटबलमा राम्रै नतिजा दिन्छन् भन्नेमा आशावादी पनि छु।” प्रशिक्षणमा दिनरात नभनी यहाँ सक्रिय रुपले लागेका शाहीले यसअघि पनि एन्फाको छनोटमा यहाँबाट खेलाडी परेको बताए।

    “यु–१३ मा ६ महिनाअघि गरेको छनोटमा मौसम र धनगढीका अर्का एक गरी दुई जना खेलाडी यहाँबाट परेका हुन”, उनले भने, “सेना, प्रहरी र एन्फाको सम्झौता अनुसार गोलाप्रथा गर्दा मौसम आर्मी युथ क्लबमा परे, जहाँ एउटा टिमको नेतृत्व सम्हालेका छन्।”

    शाहीका अनुसार यसअघि यु–१४ मा कञ्चनपुरबाट अर्पण कार्की छनोट भएका थिए। अपर्णले नेतृत्व गरेको यु–१८ को नेपाली फुटबल टिमले सन् २०१७ मा दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा स्वर्णसमेत जितेको प्रशिक्षक शाहीले बताए। 

    “यहाँबाट थुप्रै खेलाडी एन्फाको छनोटमा परेका छन”, उनले भने, “अहिले पनि १३÷१४ वर्ष मुनिका ३० जना बालबालिका प्रशिक्षणरत छन्।” यु–१३ मा छनोटमा परेका मौसम यसअघि महेन्द्रनगर युनाइटेड क्बलमा जुनियर टिमका कप्तान थिए। उनले यहाँ हुँदा पनि जिल्ला लिगलगायतका प्रतियोगितामा सफल नेतृत्व गर्दै टिमलाई जिताएका छन्।

    “बझाङमा हुँदा भलिबललाई फुटबल बनाएर साथीसित खेल्थे”, विगत सम्झिँदै मौसमले भने, “महेन्द्रनगर आएर प्रशिक्षण सुरु गरेको छोटो समयमै जुनियर टिममा छनोट भएर जिम्मेवारी पाउँदा खुसीको सीमा नै छैन्।” मौसमका बुबाआमा बझाङको तमैलमै होटल व्यवसाय गरी जीविका चलाउँदै आउनुभएको छ । “यहाँ मामासित बसेर स्कुलको पढाइदेखि नियमित फुटबल प्रशिक्षणका लागि समय दिएको थिएँ”, उनले भने, “काठमाडाँैमा पनि पढाइ र खेललाईसँगै अगाडि बढाएको छु।”


    प्रतिक्रिया दिनुहोस