बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

मानसी लोकसंस्कृतिको निमन्त्रणा वाहक पंक्षी सुगा   


शनिबार, पुस २३ २०७९
  • 229
    Shares

  • images
    images
    मानसी लोकसंस्कृतिको निमन्त्रणा वाहक पंक्षी सुगा   
    images
    images


    नेपालको वर्तमान सुदूरपश्चिम तथा मित्रराष्ट्र भारतको कुमायू क्षेत्रलाई पुराणहरुमा मानसखण्डका नामले चिनाएको पाइन्छ । बढीजसो पहाड तथा केही हिमाल र तराई भुभागमा फैलिएको यो क्षेत्र प्राकृतिक सुन्दरताले अत्यन्तै भरिपूर्ण छ । विभिन्न तीर्थ तथा देवस्थल रहेको यस भूमिलाई देवभूमिका नामले पनि चिन्ने गरिन्छ । हिन्दु धर्मसंस्कृतिको बाहुल्यता रहेको यस क्षेत्रमा डोट्याली तथा कुमाउनी भाषालाई मातृभाषाको रुपमा ग्रहण गरिदै आएको पाइन्छ । डोट्याली तथा कुमाउनी भाषा अत्यन्तै नजिकको सम्बन्ध राख्ने भाषा हुन । यी भाषी समुदायमा भाषासँगै संस्कृतिमा पनि समानता रहेको पाइन्छ । यी भाषा लोकसाहित्यका दृष्टिले पनि अत्यन्तै समृद्ध रहेको पाइन्छ । यी क्षेत्रमा रहेको समग्र लोक साहित्यलाई मानसी लोकसाहित्यका नामले पनि चिन्न सकिन्छ । मानसखण्डमा क्षेत्रमा रहेको लोक साहित्यले समग्र मानसखण्डको लोकजीवनको झल्को दिने गर्दछ । यस क्षेत्रमा रहेको लोक साहित्य मध्ये सुगुन र फाग महत्वपूर्ण विधा हुन । सगुन वा फागलाई संस्कारगीत वा माङलका नामले पनि चिन्ने गरिन्छ । सगुन भनेको शुभकार्यका लागि गाइने गीत तथा दिइने कोशेली, भेट तथा आर्षिवचन हो । फाग सगुन भन्दा संरचनाका हिसाबले ठूलो कथानक समेत समावेश भएको संस्कारगीत हो ।  विशेष गरी जन्मदेखि मृत्युप्रयन्तका विभिन्न संस्कारहरमा गाइने मंगलगीतहरुलाई सगुन वा फाग भनिन्छ । विशेष गरी मानसी नारीहरुले शुभकार्यमा गाउने गीत सगुन फाग हुन । यस क्षेत्रमा गाइने सगुन फागहरुमध्ये शुभकार्यहरुमा यज्ञ स्थापना गर्दा गाइने देप्ता निउत्ताको फाग पनि एक प्रसिद्ध फाग हो । विभिन्न यज्ञ सुरुवात गर्दा महिलाहरुले सगुनका माध्यमले भावनात्मक रुपमा गायनका माध्यमले विभिन्न देवीदेवता, ब्रहामण, सगुनारी, इष्टमित्र आदिको नाम पुकारेर यज्ञमा निमन्त्रण दिने गरिन्छ । 
    यज्ञ स्थापना गर्दै गर्दा सर्वप्रथम मंगलामुखी (सगुनारी) हरुलाई सगुन उच्चारण गर्न भनेर सरस्वती सीता पार्वती आदि आद्ययशक्ति नारीहरुको नाम उच्चारण गरी यस्तो सगुन गाउने गरिन्छः
    सगुना दिउरे निका बोल
    सगुन दे सरस्वती लगन दे बिरस्पति
    शुभ मंगल सीता पारभती
    कसु घर सरस्वती कसु घर पारभती
    कसु घर सीता रानी हुन्नी
    सरु घर सरस्वती, ईश्वर घर पारवती
    रामुइ घर सीताइ रानी हुन्नी
    रामुइ घर सीता रानी राज रे तपन्नी त
    बोल रानीउ सगुन बोल
    यसरी सरस्वती र देवगुरु वृहस्पतिले यज्ञ शुभारम्भमा सगुन प्रदान गरुन, सीता तथा पर्वतीले शुभ सगुन दिउन । विद्याकी देवी सरस्वती, ईश्वरकी प्राणवल्लभा पार्वती तथा रामचन्द्र भगवानकी रानी सीता छन् । उनै देवीहरुको स्मरण गर्दै यज्ञमा सगुनको सुरुवात गर्ने गरिन्छ । यो सगुनपछि यज्ञमा देवीदेवता, ब्रहमण तथा इष्टमित्रहरुलाई निमन्त्रण गर्दा प्रतीकात्मक रुपमा सुगालाई आग्रह गरिएको पाइन्छ । सुगालाई वनपङ्खी वा वानखण्डी सुवा भनेर पुकार्ने गरिन्छ । सुगालाई देवीदेवता, पितृदेव, ब्रहमण तथा अन्य इष्टमित्रहरुलाई निमन्त्रण दिएर आउन भनी यसरी आग्रह गरिन्छ ः 
    सुवा न सुवा वनै पङ्खी सुवा, झान सुवा निउतोइ जगाइ आइन 
    यसरी सुगालाई निमन्त्रण दिएर आऊ भन्दा सुगाले न म कसैलाई चिन्दछु, न कसैको नाम थाहा छ, कुन गाउँठाउँमा गएर कसलाई निम्तो दिउ भनेर सोध्ने गरेको प्रसङ्ग सगुनमा यसरी आउने गर्दछ ः
    नउ लै न जाण्णो मुइ त देउरोइ नाइ पछ्याण्णो 
    कैका घरी निउतो जगाइ औँ मुइ
    यसरी सुगाले कसलाई निम्तो दिने भन्ने कुरा सोधेपछि  फलानो गाउँमा गएर फलानो नामका देवीदेवता, ब्रहमण, इष्टमित्रलाई निम्तो दिएर आऊ भनेको सगुनमा यसरी आउँछ ः
    भूमिजति नाउँ होलो भूमिराज नाउँ
    उनरी घरी निउतो जगाइ आइन 
    सुवा न सुवा वनै पङ्खी सुवा, 
    झान सुवा निउतोइ जगाइ आइन 
    यसरी सबैभन्दा पहिले भूमिराज त्यसपछि त्यस ठाउँका स्थानीय देवीदेवता सबैको नाम र देवालयको स्थान बताएर निमन्त्रण दिने गरिन्छ । त्यसपछि ब्रहमणको नाम र गाउँ बताएर निमन्त्रण देऊ भनिन्छ । यसैगरी संस्कृतिका संवाहक तथा अभिन्न अंगका रुपमा रहेका तत्पश्चात् सगुनारी, वाद्यवादक, नर्तक, कपडा सिउने, भाडाकुडा बनाउने लगायत दिदीबहिनी, इष्टमित्र सबैको ना र ठाउँ बताएर निमन्त्रण दिन सुगालाई आग्रह गर्ने गरिन्छ । 
    यसरी कुनै पनि शुभकार्यका लागि समाजमा रहेर विभिन्न भूमिका निर्वाह गरिरहेका सम्पूर्णलाई निमन्त्रण दिने चलन डोट्याली लोकसाहित्यमा रहेको पाइन्छ । संस्कृति कुनै एक व्यक्ति परिवार वा जातजातीको मात्रै नहुने भएर एउटा सिङ्गो संस्कृतिको निर्माणका लागि विभिन्न जातजाति तथा व्यक्तिहरको महत्वपूर्ण भूमिका हुने र सबैले मिलेर मात्र एक सुन्दर संस्कृतिको सिर्जना हुने कुरा यस सगुनबाट प्रष्ट हुन्छ । 
    डोट्याली समुदायमा रहेका हरेक जातजातीको आफ्नो भूमिका हुने र कुनै एक व्यक्ति वा जातिको अभावमा संस्कृतिको प्रस्तुतिकरण हुन नसक्ने कुरा यस फागमा उल्लेख गरिएको पाइन्छ । डोट्याली संस्कृति पूर्ण हुनका लागि देवीदेवतादेखि समुदायमा रहेका सम्पूर्ण जातजाति आवश्यकता समान रुपमा पर्ने गर्दछ । यज्ञ आरम्भमा ब्रहमणले शङ्ख फुक्नु, सगुनारीले सगुन गाउँनु, वाद्यवादकले दमाहा, विगुल र झ्याली बजाउनु सबै एकै साथ गरिने भएकाले कुनै एउटा जाति वा व्यक्तिको भूमिका बिना कुनै पनि संस्कारलाई पूर्णता दिन नसकिने अवस्था यस समुदायमा रहेको छ । मानिस मात्र नभएर पशुपन्छी तथा अन्य निजीव वस्तुहरुको समेत समान सहभागिता र भूमिका रहने कुरा नै यस संस्कृतिको विशेष पहिचान हो । यसरी सबैको समान सहभागीता र सांस्कृतिक अनिवार्यता रहने भएकाले सुगाका माध्यमबाट सबैलाई यज्ञको सुरुवातीमा निमन्त्रण दिने चलन यस समुदायमा रहेको पाइन्छ ।  




    प्रतिक्रिया दिनुहोस
    images