शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोक जीवनमा देवबोली


बुधबार, माघ १२ २०७८
  • 1.2K
    Shares

  • images
    images
    डोट्याली लोक जीवनमा देवबोली

    १. डोट्याली लोक जीवनमा देवबोली
    संसारमा विविध धर्म संस्कृतिका मानिसहरू बसोबास गर्दछन् । हरेक धर्मका आफ्ना छुट्टै आर्दश एवम् मूल्य मान्यताहरू हुने गर्दछन् । एउटै धर्मभित्र पनि समुदाय अनुसार फरक फरक चालचलन र मूल्यमान्यताहरू रहेका हुन्छन् । यिनै विविध धार्मिक समुदाय मध्ये डोट्याली समुदाय पनि अधिकांश हिन्दु धर्मावलम्वीहरु भएको समुदाय हो । परापूर्वकालदेखि डोटी क्षेत्रको आफ्नो छुट्टै विशेषता एवम मौलिकता रहेको पाइन्छ । यस क्षेत्रका मानिसले प्रयोग गर्ने भाषा डोट्याली हो भने यहाँका अधिकांश मानिसहरु हिन्दुधर्म मान्दै आइरहेको पाइन्छ । हिन्दु धर्ममा पनि ईश्वरको निराकार रुप शीला पूजन तथा प्रकृति पूजन यस क्षेत्रको यस क्षेत्रको मौलिकता एवम् विशेषता हो । डोटी भित्र पनि विभिन्न समुदायहरु छन् । एउटै हिन्दु धर्मावलम्वी हुँदाहुँदै पनि उनीहरुले पुज्ने देवताहरु फरकफरक रहेको पाइन्छ । यस क्षेत्रमा शिव शक्तिका स्वरुपका रुपमा विभिन्न देवताहरुलाई पूजा गर्ने प्रचलन छ । यस क्षेत्रका मुख्य देवताहरुमा भूमिराज, कैलपाल, केदार, भगवती, मसानी, भुम्या, पिजास, पिजासिनी, बटुल्या,, ग्वाली, मष्टो आदि विविध देवीदेवताहरुलाई पुज्ने चलन रहेको छ । यी देवताहरुको पनि फरक फरक नामाकरण गरिएको पाइन्छ । महारुद्र, निङ्लाशैनी, ग्वाल्लेक, समैजी, गणमेश्वर, भागेश्वर, समैजी, मालिकार्जुन, हंसकर, उदैदेउ, सैपाल, कैलपाल, दोगडो, अनर्साइ आदि ठाउँअनुसार फरक फरक नामले पूजा गर्ने चलन छ । यस क्षेत्रमा पूजिने देवताहरु विशेष गरी शिवरुपी, शक्तिरुपी, मसानी, भुम्या, पिजास, आदि विविध रुपमा वर्गीकरण गर्न सकिन्छ । स्वयम्भु (फुटिलिङ्ग) र स्थापित (थापीलिङ्ग) भनेर पनि वर्गीकरण गर्न सकिन्छ । यसरी हरेक समुदायका आफ्ना छुट्टै कूलदेवता हुने गर्दछन् । हरेक देवताको धामी (झाक्री) हुने गर्दछ । मानव जीवनका सुखदुःखमा धामीलाई सोध्ने परम्परा रहेको पाइन्छ । तिनै धामी तथा बगौलीहरुलाई सोध्ने बेला धामीले प्रयोग गर्ने बोलीलाई नै डोट्याली देवबोली भनिएको हो । 


     डोट्याली लोक जीवनमा देवी देवता पूजन गर्दा, मानिस शारीरिक तथा मानसिक रुपमा अस्वस्थ हुँदा, मानिस घर छोडेर टाँढा जाँदा, तीर्थयात्रा गर्दा, विभिन्न यज्ञ यज्ञादि, ब्रतबन्ध आदि लगाउँदा आफूले मान्दै आएका इष्टकूल तथा ग्रमबाशी, स्थानबासी एवम् पितृस्वरुप पिजास पिजासनीलाई सोध्ने प्रचलन रहेको पाइन्छ । धामीलाई सोध्दा सर्वप्रथम शुद्ध आसनका रुपमा रुखका हरिया पात भएका सौला तोडेर बस्नका लागि आसन बनाइन्छ । मन्दिरमा हुँदा भने कतै पथ्थरको विणो पनि राखिएको पाइन्छ । धामीको अगाडि थालमा चामल तथा जौँ राखेर आफ्ना इष्टकूललाई सम्झेर नमन गर्ने र विन्ती लगाउने गरिन्छ । विन्ती लगाउँदा देवताहरुका गाथा गाउने, आफ्ना दुःखहरु प्रकट गर्ने र आफूले नजानेका कुरा सोध्ने गरिन्छ । धामीहरुले हातमा चाँदीका बाला लगाउने गर्दछन्, जसलाई चिनो पनि भन्ने गरिन्छ । त्यसतै कानमा सुनका मुन्द्री पनि लगाएको पाइन्छ भने कतै कतै शिखालाई सुनले बेरेको पनि पाइन्छ । यसरी धामीमा देवता प्रवेश भएपछि सामान्य प्रयोगको भाषा भन्दा फरक शब्दावलीको प्रयोग गरी बोल्ने गरिन्छ । 

    २. विविध सन्दर्भमा देवबोली
     डोट्याली लोक जीवनमा परापूर्व कालदेखि नै धामी कमाउने प्रचलन रहेको पाइन्छ । जतिबेला बिरामीहरुका लागि अस्पताल थिएनन्, शिक्षा, स्वस्थ्य आदिको व्यवस्था थिएन सर्व साधारण मानिसको कानुन सम्म पहुँच थिएन त्यतिबेला मानिसहरु केवल देवतामा विश्वास गर्थे । देवतालाई नै सबै थोक डाक्टर, वैद्य, राजा, कानुन, सबै थोक मान्ने गरिन्थ्यो । हालाकी यो विश्वासमा अझै पनि कमी भएको पाइदैछ । मानिसहरुलाई कानुन भन्दा पनि देवताको डर हुने हुनाले मानिसहरु आफ्ना गुनासा हरु देवीदेवतालाई पोख्ने र उनीहरुको समस्या समाधान हुन्छ भन्ने विश्वास पनि राख्दथे । कसैले एक अर्कालाई हानी गर्न डराउथे । त्यसै गरी मानिस बिरामी पर्दा या दुःखमा पर्दा पनि देवताले सबै ठि पार्छ भन्ने विश्वास रहेको पाइन्थ्यो । यसलाई एक अर्थमा भन्ने हो भने समाजलाई चलाउने परिपाटी सबै देवीदेवताकै विश्वासका आधारमा अगाडि बढेको पाइन्छ । मानिस खुशीमा होस अथवा दुःखमा एकपटक देवता अवश्य सोध्ने गर्दथे । यिनै विविध सन्दर्भहरुलाई हेर्दा सामान्यतया डोट्याली समुदायमा निम्न सन्दर्भहरुमा देवत सोध्ने प्रचलन रहेको पाइन्छ । 


    क). देवता पूजन गर्दा
     हरेक समुदायले आफूलाई अनुकुल हुने गरी पूर्वजहरुले मान्दै आएका देवताहरुलाई पूज्ने प्रचलन हरेको छ । यस क्षेत्रमा दैनिक देवताहरको पूजा हुँदैन । विविध पर्वहरुको अवसर पारी पहिले देखि जुन पर्वमा पूजा हुँदै आएको छ त्यही पर्वको दिन त्यही विधिले मात्र देवता पुज्ने गरिन्छ । देवता पूजनका अवसरमा देवतालाई सोध्ने गरिन्छ । मानिसहरुले विविध खुशी तथा प्रायश्चित्तका निमित्त मन्दिरहरुमा त्रिशुल, नेजा, ध्वजा, बाँजा गाँजा, घण्टी आदि चढाउँने गर्दछन्, जसलाई स्या गर्नु भन्निछ । यस अवसरमा धामीले प्रसन्न भएर सबैलाई टिका प्रसाद लगाउँदै सबैले गरेको पूजा र चढाएका चिनाबाना प्रति खुशी भए, सबैको मनोकामना पूर्ण गरौँला भनि देवताले भन्ने गरेको पाइन्छ ।   


    ख). यज्ञ लगाउँदा
     मानिसहरुले घरमा कथा, पुराण आदि यज्ञ लगाउँदा तथा विवाह, ब्रतबन्ध आदिमा पनि धामी सोध्ने प्रचनल रहेको छ । यसमा पनि यज्ञ सम्पन्न गर्ने बेला (पूर्णहुती हुने बेला) अग्नि पूजा गरिसकेपछि धामी कामेर यज्ञ सुफल गरिदिउँला भनेर आषिर्वाद दिने टिका लगाउने प्रचलन रहेको पाइन्छ । 


    ग) मानिस बिरामी पर्दा
     जतिबेला बिरामीहरुका लागि अस्पताल थिएनन्, शिक्षा, स्वस्थ्य आदिको व्यवस्था थिएन सर्व साधारण मानिसको कानुन सम्म पहुँच थिएन त्यतिबेला मानिसहरु केवल देवतामा विश्वास गर्थे । देवतालाई नै सबै थोक डाक्टर, वैद्य सबै थोक मान्ने गरिन्थ्यो, हालाकी यो विश्वासमा अझै पनि कमी भएको पाइदैछ । यस्तो अवस्थामा देबता सोध्ने प्रचलन रहेको छ । व्यथा लाग्दा, शारीरिक तथा मानसिक रुपमा अस्वस्थ हुँदा देबता सोध्ने र देवतामा पूर्ण विश्वासका कारण बिरामी तथा घरपरिवारका सदश्यहरुको मनोबल बढ्ने गर्दथ्यो । कतिपय अवस्थामा धामीले नै दिएको जलबाट पनि बिरामी राम्रा भएका किंवदन्तीहरु सुन्नमा आउँछन भने कतिपय अवस्थामा औषधीमा जस दिउला भनेर ढाडस बढाउने जस्ता कार्य हुने गरेको पाइन्छ । मानसिक रुपका बिरामीका लागि भने त यो प्रक्रिया अझै पनि धेरै प्रयोगमा आउने गर्दछ । 

    घ) जाँगर तथा खली लगाउँदा
     देवताको नयाँ धामी खोज्नका लागि तथा विविभन्न प्रयोजनका लागि चारपाँच दिनसम्म मन्दिरमा धुनी जगाएर बस्ने चलन रहेको छ । यसमा गाउँका प्रायजसो सबै मानिस उपस्थित हुने गर्दछ । सबै झाक्रिहरु र काम्ने मानिसहरु त्यसमा सहभागी गराइन्छ । यसका लागि बजागाँजा सहित विशेष जाँगर गीत प्रस्तुत गर्ने गरिन्छ । यसमा गाउँभरीका काम्ने मानिसहरु के कारणले कामेको, कुन देवता कामेको भन्ने निष्कर्षमा पुग्ने कार्य गरिन्छ । जाँगर विशेष गरी पुष माघ महिनामा लगाउने गरिन्छ । खली भनेको जाँगरकै सानो रुप हो । यो मन्दिरमा मात्रै नभएर गाउँघरमै पनि काम्ने मानिसहरुमा देवता खोज्नका लागि लगाइने गर्दछ ।

      
    ङ) मानिस तीर्थब्रत अथवा यात्रा गर्दा
     मानिस घरबाहिर टाँढा जाँदा वा तीर्थब्रत गर्न जाँदा पनि देबताबाट टिका प्रसाद र यात्रा मंगलमय होस भन्नका निम्ति आर्षिवचन माग्ने गरिन्छ । देवता ले देश मेरो परदेश मेरो आघा मुइ झौलो पाछा तुइझालै भन्ने गर्दछन् ।  


    ३. भाषिक दृष्टिले देवबोलीका भेदहरू
     भाषिक रूपले देवबोलीलाई गद्य, पद्य र मिश्रीत गरेर तिन भागमा वर्गीकरण गरिन्छ । डोटी क्षेत्रमा धामी काम्दा गद्य भाषाको मात्रै नभएर कतिपय अवस्थामा पद्य भाषाको पनि प्रयोग गरेको पइन्छ । धामीकमाउँदाको गाथा जाँगर गीत र धामीले सङ्गीतको लयमा बोल्दाको भाषालाई पद्य र सामान्य रुपमा प्रयोग गरेको भाषालाई गद्य अन्तर्गत राख्न सकिन्छ । त्यसै गरी धामी काम्दा आवश्यकता अनुसार गद्य र पद्य मिश्रण गरेर बोल्दाको अवस्थाको भाषालाई मिश्रीत भेद भन्न सकिन्छ । 
    क) गद्य
     सामान्य रुपमा प्रयोग गर्न सकिने भाषालाई गद्य भनिन्छ । अर्को शब्दमा भन्दा लयका विविध नियमहरूबाट स्वतन्त्र भाषा नै गद्य हो । डोटेली देवबोलीमा बढीजसो भाषाको गद्य स्वरुप प्रयोग भएको पाइन्छ । धामीमा देवता प्रवेश हुँदा तथा धामी कमाउन बिन्ती लगाउँदा गद्य भाषाको प्रयोग हुन्छ । उहादरणका लागि बिन्ती लगाउँदा र धामीले काम्दा बोल्ने गद्य रुप यस प्रकार रहेको छ । 
                                 बिन्ती लगाउँदा 
    हे माटी ! परमेश्वर, चलाइ होइझौ, हम त गोठन बाद्यया पाण हौँ रे । तुइ त सतीजुगको शीला है, तै धेका हम अधेका हौ । हे माटी यो मेरी वेदना सुणिहाल, कैबाटा लागु ? कि गरु ? श्वर्ग हाल नर्कहाल, म¥या तेरा जिउना तेरा एक दशृन दिहाल परमेश्वर !

                             धामी कामेर बोल्दा 
    दुनियाँ ! निच्चा साङा कान हो ला, राणीमुल्यानको देऊ हुँ । बागका स्याल, स्यालका बाग बनुन्या हुँ धेकेइ, धान्यालाई पार गद्या हुँ रे द झा पुइ तेरा मनकी वेदना काटी दिउलो, तेरा मनको सुचयो ग¥या मात्तरी मुइ धालै धेकेइ न त किधालै गोठ पाण थिति मति दिउँलो, नवग्रहमा लै बस्सेइ हुँ रे द झा अदिन अरिष्ट काटिदिउलो ।


    ख) पद्य
     गति, यति र लयको संयोजन भएको भाषिक रुपलाई पद्य रुप भनिन्छ । डोटली समुदायमा बिन्ती लगाउँदा तथा धामी काम्दा पद्य रुपको पनि प्रयोग भएको पाइन्छ । बिन्ति लगाउँदा गाइने देवगाथा एवम् फागहरु पद्यमा हुन्छन् भने कति बेला धामीले कामेर पनि बैरा तथा गीत गाएर बोल्ने गरेको पाइन्छ । उदाहरणका लागि बिन्ति लगाउँदाको यो फागलाइ लिन सकिन्छ :


    बिन्ति लगाउँदा
    चारै कुना चारै खाम सुनाइ दियो जल
    दियोका उज्याला बालो ठुमुठुमु खेल
    तुइत भन्थेइ कौसिला मेरो बालो खेल
    इन त हन्ना कौसिला भूमिराज देवा


    धामी काम्दा
    मुइ आयो वेदना सुणी छिम्टीका आँस खड्या
    इन्साप गरिदिएइ भण्नी मेरा थान पड्या


    यसबाहेक कतिपय अवस्थामा गदय पद्य मिश्रण गरेर बोलेको पनि पाइन्छ । 

    ४. देवबोलीमा प्रयोग हुने केही शव्द र तिनको नेपाली अर्थ 
    भाषा विचार विनिमयको साधन हो । यस अध्ययनमा पनि धामी झाक्रीले आफूमा देवता प्रवेश भएको अवस्थामा प्रयोग हुने देवबोलीका माध्यमबाट भाषिक आदानप्रदान गर्ने गरिन्छ । डोट्याली भाषिक वाङ्मयमा प्रयुक्त देवबोली डोट्याली भाषामै भए पनि यसमा प्रयोग हुने शब्दहरु छ्ट्टै किसिमका छन् । देवबोलीमा प्रयोग हुने केही शब्द र तिनको नेपाली अर्थलाई यसरी देखाउन सकिन्छ ः
     

     

    शब्द                                       नेपाली अर्थ
    नर                                         पुरुष मानिस
    छिम्टी                                         महिला
    कुक्र्या                                   ज्योतिष, पण्डित
    गन्धुवा                           हात तथा दाना हेर्ने मानिस (बगौली)
    दुनियाँ                       मानिसहरुलाई सम्बोधन गर्दा बोलिने शब्द
    घडी                                     एक दिन को समय
    कुट्का                               एक महिनाको समय
    थुम                                              एक वर्ष
    खनखन्या                                         घण्टी
    चिचो                                               बोका
    सुर                                         घर पालुवा जनावर
    डाँसी                                    अक्षता , अन्नका दाना
    आल                                                 क्षेत्र 
    हाक                                           धम्की, बोली
    वान                                            देवताको बीर
    भुबुरी                                             आगो
    फिका                                             जल

    ५. लोक जीवनमा देवबोलीको महत्व
     हरेक कुराका सकारात्मक र नकारात्मक दुबै पक्षहरु रहेका हुन्छन् । डोट्याली लोक जीवनमा प्रयोग हुँदै आइरहेको देवबोलीका पनि आफ्नै विशेषताहरु रहेको पाइन्छ । सबै भन्दा पहिले त देवबोली हाम्रो लोक वाङ्मयको साँझा सम्पत्ति हो । यसले हाम्रो धर्म, संस्कृति, भाषा, साहित्य, इतिहास तथा हाम्रो सग्र पहिचान झल्काउने हुनाले यसको महत्वका सन्दर्भमा धेरै भन्नु आवश्यक नहोला । यति मात्र नभएर सुदूरपश्चिम भौगोलिक विकटता र विकासका दृष्टिले पिछडिएको ठाउँ हो । यहाँ शिक्षा, स्वस्थ्य तथा सुरक्षा जस्ता राज्यले दिनुपर्नेकुराहरु अझै पनि पुगिसकेका छैनन् । यस्तो अवस्थामा मानिस बिरामी पर्दा धामी झाक्रीको सहायता लिनु बाहेक अर्को विकल्प पनि नरहेको भन्न सकिन्छ । देवतामा विश्वास गर्ने समुदाय भएकाले बिरामीलाई केही मात्रामा सन्चो पु¥याउन र मनोवैज्ञानिक रूपमा उसलाई जीवनप्रति आस जगाइराख्न यसको मनोवैज्ञानिक महत्व प्रष्ट हुन आउँछ । घरहर टाढा टाढाँ हुने र एक्लै बिरामीले बसिराख्दा पनि उसमा मनोबल घट्ने गर्दछ । यस अवस्थामा देवता सोध्ने निहुमा पनि बिरामी परेको घरमा मानिसहरु आउँदा घरपरिवार तथा बिरामीमा साहस बढ्ने गर्दछ । यसलेसामाजिक एकता तथा भाइचाराको पनि विकास भएको पाइन्छ । कानुनको पहुँच नभएका व्यक्तिले पनि देवताले न्याय गर्ने कुरामा विश्वास गर्ने तथा अन्य मानिसले पनि देवताको डरले गल्ती नगर्ने सम्भावना पनि रहेको पाइन्छ । देवबोली भित्र  मानवतावादी दर्शन तथा माक्सवादी चिन्तन पनि पाउन सकिन्छ । निच्चा साङा कान हो, राणी मूल्यानकी दया, रानी बाहुनीको ओलो हो, हलियाकी हाक मणकी डाड नसुन्या हुँ, कपटको खपट गद्यया हुँ, गाइ है लै लाड माण्या हुुँ भन्ने जस्ता देवबोलीका भनाइहरुको अध्ययन गर्ने हो भने यसले समाजमा शासित वर्ग तथा गरीब र निमुखाको पक्षमा बोलेको कुरो झल्काउँछ र मानवतावादी भाव व्यक्तभएको पाइन्छ । विश्वास नै सबैभन्दा ठूलो कुरो हो । यसले मानिसमा आत्मविश्वास जगाउने कार्य गरेको पाइन्छ । कतिपय अस्पतालमा ठिक नभएका मानसिक बिमारी हरु पनि धामीप्रथाले नै राम्रा भएका प्रशस्त उदाहरणहरु देख्न सकिन्छ ।  कतिपय अवस्थामा अर्ति उपदेश दिने, गलत कार्यको प्रायश्चित गर्न लगाउने, र सामुहिक एकताका पक्षमा रहेको हुनाले यसको थुप्रै महत्व रहेको इपष्ट हुन्छ ।


    ६. केही  सुधारात्मक पक्षहरु
     देवबोली तथा धामीझाक्री प्रथाका थुप्रै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसमा अशिक्षा तथा लापरवाही र केही व्यक्ति विशेषका कारण कतिपय अवश्थामा यसले नोक्सान पनि गरेको पाइन्छ । रोग तथा दोष निको पार्न पशुवली दिनुपर्ने सल्लाह, रोग लागेको अवस्थामा पनि दोष भनेर अल्झाइरहने, बोक्सी आदिका नाममा महिला हिंसा गर्ने, देवीदेवताका नाममा सम्पत्ति थुपार्ने आदि कार्यहरुले देवबोली तथा धामीझाक्री प्रथालाई प्रयोग गर्दा यसले हिंसात्मक स्वरुप लिइरहेको र सम्बन्धीत व्यक्तिहरुले फाइदा लिइरहेको पनि पाइन्छ । यस्था कुराहरुलाई सुधार गर्नुपर्ने देखिन्छ । 
      

     




    प्रतिक्रिया दिनुहोस