शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

मानसी लोक साहित्यमा भलौलो र तत्कालीन समाजको चित्रण


बिहीबार , माघ १३ २०७८
  • 1.4K
    Shares

  • images
    images
    मानसी लोक साहित्यमा भलौलो र तत्कालीन समाजको चित्रण


     नेपालको कर्णाली काग हिमालदेखि पश्चिम र भारतको कुमाउ नन्दा हिमालसम्मको क्षेत्र पुराणहरूमा मानसखण्ड नामले बिख्यात छ । यही क्षेत्रमा पुर्खाहरूदेखि कथ्य परम्परामा हस्तान्तरण हुँदै आएको लोकसाहित्य नै मानसी लोकसाहित्य हो । मानसी लोकसाहित्यलाई पनि लोक गद्य र लोक पद्य दुई भागमा वर्गीकरण गर्न सकिन्छ । मानसी लोक गद्य अन्तर्गत बातै, भडा, नाटक, तथा विभिन्न संवादहरू पर्दछन् भने मानसी लोकपद्य अन्तर्गत सगुना, फाग, अठ्यावाली, धुमारी, चैत,  गरी यस क्षेत्रमा विभिन्न चाँडबाडहरू तथा शुभकार्यमा गाइने सगुना, फाग, गीत, भैन, भलौलो आदि पर्दछन् । भलौलो मानसी लोक साहित्यको लोक पद्य अन्तर्गत पर्ने विधा हो । यस क्षेत्रका नारीहरूले उज्यालो हुने बेलामा गाउँदै आइरहेको लोक पद्य नै भलौलो हो । भलौलोमा समयसित सम्बन्धित विभिन्न गीतहरू पर्दछन् । विभिन्न कथाहरूलाई आधार बनाएर कुन समयमा कुन काम गर्नु उचित हुन्छ भन्ने शिक्षा दिने भलौलोमा यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, तथा समग्र पहिचान झल्केको पाइन्छ । यस क्षेत्रको रहनसहन, सभ्यता, भेषभुषा, तथा समग्र पहिचान बोकेको भलौलो समग्र वाङ्मयकै लोक सम्पत्ति हो । 
     यस क्षेत्रमा प्रसिद्ध भलौलो मध्ये रामको कथामा आधारित भलौलो र रानी मौलालाई ब्रह्म महुर्तमा केके कामहरू गर्नुपर्छ भनी सोधिएका प्रश्न र तिनका उत्तरहरू भएको भलौलो हुन् । रामको कथामा आधारित भलौलोमा सासु कौशल्याले सीतालाई उज्यालो हुन लाग्यो ब्यूझेर पानी भर्न जानु भन्ने प्रसङ्गबाट सुरु हुन्छ भने रानी मौलको भलौलोमा रानी मौलालाई रात कसरी रात कती घडी बाँकी छ भन्ने प्रसङ्गबाट सुरु भएको पाइन्छ । भगवान रामको कथामा आधारित भलौलोको कथा केही मात्रमा रामायणसँग मिले पनि यसमा धेरैकुराहरू मौलिक रहेका छन् । यस भलौलोमा सासु कौशल्याले सितालाई बिहान हुन लाग्यो पानी भर्न जाऊ भनेको, सीता पानी भर्न गएको अवस्थामा श्वर्णमृग देखेको, सिता मृर्ग देखेर रमाएको र पानी भरेर घर आउन ढिला भएको, घरमा सबै रिसाउनु र अबेर हुनुको कारण सोधेको, सीताले मृगको बयान गरेको तथा राम र लक्ष्मण मृगको खोजिमा गएको कथा रहेको छ । यसबाट के प्रष्ट हुन्छ भने यसमा आएको रामायणको कथा वास्तविक रामायणको कथा नभएर काल्पनिक तथा  यस क्षेत्रसँग मेल खाने गरी बनाएको कथा हुन सक्छ । यस भलौलोमा यस क्षेत्रको सामाजिक चित्रण प्रष्टसँग गरेको पाइन्छ । भलौलोमा भएका विभिन्न पक्षहरूको चित्रण यसरी गर्न सकिन्छ । 
    क) तत्कालीन परिवेशमा समयको ज्ञान सम्बन्धी चित्रण
     आधुनिक घडीको आविस्कार हुनुपूर्व मानिसहरूले समयको जानकारीका लागि पनघडी (पानीघडी) को माध्यमबाट समयको जानकारी लिने कुरो सर्वविदित नै छ । पानीघडी तामाको पातलो कचौरा जस्तो भाडा हो जसको तलतिर मसिनो प्वाल हुन्छ र त्यसलाई पानीभएको भाडोमा राखिन्थ्यो र त्यो प्वालबाट पानी उक्त भाँडोमा आउने र भरिने बित्तिकै एक घडी समय भएको मानिन्थ्यो । वर्तमान आधुनिक घडीको एक घण्टा समय बराबर तत्कालीन घडीको अढाई घडी हुन्थ्यो । सबै ठाउँ र समयमा पानीघडीबाट समय हेर्न कठीन हुने भएकाले मानिसले समयको लक्षण अनुसार समयको जानकारी लिने गर्दथे । श्वार्सफेर्दा नाकको कुन प्वालबाट वायू ओहरदोहर हुँदैछ, तारा, तथा जून कहाँ पुगे, ब्यान तारो उदाएको, चिसो हावा चलेको आदि कुराबाट समयको जानकारी लिने चलन अझै पनि यस क्षेत्रमा चलिरहेकै छ । यसरी भलौलोमा पनि पानी घडीबाट समयको जानकारी लिने कुरा रानीमौलाको भलौलोबाट प्रष्ट हुन्छ । 
    ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
    पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
     
     यसमा आएको कति घडी रात भन्ने कुराले रात कती समय बाँकी छ भन्न खोजेको पाइन्छ । घडी नभएको अवस्थामा पनि विभिन्न लक्षणहरूबाट समयको जानकारी लिने कुरालाई रामको कथामा आधारित भलौलोका केही पङ्तिहरूलाई लिन सकिन्छ । 
    रातीका कति पहर हन्ना लछे राम हरी
    रातीका चार पहर हन्ना लछे राम हरी
    पैल्ला पहर केउकाम लछे राम हरी 
    पैला पहर सङ्काधुनी लछे राम हरी
    दोसरा पहर खानी धानी लछे राम हरी
    तेसरा पहर सिझानी लछे राम हरी
    चौथा पहर भोल ब्यानी लछे राम हरी
    भोल बेइ उजालो भैछ लछे राम हरी
    पत्ताल बिउज्या काली नाग लछे राम हरी
    शिखर बिउज्या महादेव लछे राम हरी
    धन्य विजोइखानी कोसेडी लछे राम हरी
    कि जाणेइ रातकी बात हो लछे राम हरी
    नाककी नथिया मेरा ठण्ण लागि लछे राम हरी
    तब जाण्या रातकी बात हो लछे राम हरी
    बौलीका खडुवा डण्ण लाग्या ....
    तब जाण्या रातकी बात .....
    सपुर पिछौडी मेरा ठण्ण लागी ...
    तब जाण्या रातकी बात .....
     उपर्युक्त पङ्तिहरूमा रात सकिनलागेको कसरी थाहा पायौ भन्ने प्रश्नको उत्तरमा आफूले लागाएका गहना नाकमा लगाएको नथु, हातमा लगाएका खडुवा, पछ्यौरी आदि चिसो हुन लागेका छन्, यिनै लक्षणहरूको आधारमा अब रात धेरै छैन, उज्यालो हुन लागेको सङ्केत पाए भन्ने कुरालाई प्रष्ट्याउन खोजेको पाइन्छ । 
     यसै गरी भलौलोमा पूर्वीय दर्शनले भनेअनुसार ब्रह्म महुर्तमा उठेर सरसफाइ, धर्मकर्म पूजापाठ आदि गर्नुपर्छ भन्ने कुराको साथै तत्कालीन समयको धार्मिक अनुसानको चित्रण रानी मौलाको भलौलोमा यसरी गरेको पाइन्छ । 
    ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
    पानी भरन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
    ओ रानी मौला तमुइ बोल भाइर कती घडी रात
    लिपन्या घसन्याकी सेवा मानेइ गुसाइ बेइझाली रात
     यसैगरी फूल टिपन्याकी सेवा मानेइ, पात टिपन्याकी सेवा मानेइ, पुजारी पण्णाकी सेवा मानेइ, आदि पङ्तिहरूले ब्रह्म महुर्तमा गर्नुपर्ने कामहरूको समेत जानकारी दिएको पाइन्छ ।  यसरी भलौलोभित्र तत्कालीन परिवेशमा हाम्रा पूर्खाहरूले समयको जानकारी कसरी पाउथे तथा कुन समयमा कुन काम गर्नु उचित हुन्छ र ब्रह्म महुर्तको महत्वको समेत चित्रण गरिएको पाइन्छ । 

    ख) तत्कालीन समाजका सासुबुहारीको सम्बन्धको चित्रण
     सानै उमेरमा विवाह भएपछि बुहारीलाई उचित शिक्षा दिने काम सासुद्वारा हुने गर्दथ्यो । बुहारीले सासु ससुरा, श्रीमान तथा घरपरिवारका सदस्यहरूको सेवा कसरी गर्नुपर्दछ, पाहुनाको सत्कार कसरी गर्ने तथा समाजमा कसरी बस्ने भन्ने कुराको ज्ञान सासुहरूले दिने गरेको पाइन्छ । भलौलोमा पनि सासु र बुहारीको सम्बन्धलाई प्रष्टसँग चित्रण गरेको पाइन्छ । सानै उमेरमा विवाह हुँदा बुहारीहरूले भोग्नुपरेका पीडा, सासुबाट बुहारीहरू शासित भएको कुरा पनि यसबाट प्रष्टसँग थाहा पाउन सकिन्छ । केही नकारात्मक पक्षहरू भए पनि यसमा तत्कालीन समयका लागि उपयुक्त हुने किसिमले बुहारीलाई धर्म, नीति, अनुशासन, तथा घर चलाउने कला सिकाउने गुरुका रुपमा सासुको भूमिकालाई लिन सकिन्छ । बुहारीलाई समयमा उठ्न, उचित समयमा उचित काम गर्न शिक्षा दिएको पाइन्छ । त्यसै गरी नारीहरूले भोग्नुपरेका पीडाहरू र कष्टकर जीवनको समेत चित्रण यसभित्र गरेको पाइन्छ । भलौलो भित्र सासुले बुहारीलाई कसरी काममा खटाउथे र केही काम बिग्रन गए कसरी गुनासो गर्दथे भन्ने कुराको चित्रणलाई रामको कथामा आधारित भलौलोमा यसरी चित्रण गरिएको पाइन्छ । 
    पत्ताल बिउज्या काली नाग लछे राम हरी
    शिखर बिउजया महादेव लछे राम हरी
    भोल बेइ उजालो होइग्यो लछे राम हरी
    पानी भरनी बेला हाइरैछ लछे राम हरी
    यसैगरी लिपनी घसनी बेला होइरैछ, फुल टिपनी बेला होइगैछ,सन्या गरनी बेला होइरैछ आदि भनेर सासुले सुतिरहेकी बुहारीलाई बिउझाएर काममा लगाएको चित्रण यहाँ पाइन्छ । 
    सपकी बुहारी चेली पानी नावा लछे राम हरी
    हमरी बुहारीको जागो नाइभयो लछे राम हरी
    उगाड उगाड सीता दारजोलो लछे राम हरी
     यसरी घरका सदस्यहरूको निद्रा खराब हुने डर तथा सानो घरमा ठाउँठाउँमा घरका अन्य सदस्य सुतिरहेका र बाहिर निस्कनेबाटो नभएको एवम् के भन्ने हुन भन्ने डर तथा लाजले बुहारीहरूलाई बाहिर निस्कन समेत मुस्किल परेको कुरालाई यहाँ यसरी देखाएको पाइन्छ ।  
    दसरथ सौर सिताइ छन लछे राम हरी
    कसीकाइ उगाडौ मुइत दार जोलो लछे राम हरी
     यसैगरी राम भतार सिताइ छन, लछेमन देउर सिताइ छन, कसीकाइ उगाडु मैत दारजोलो भनेर बुहारीले भन्ने गरेको कुरा यहाँ देखाइएको छ । तत्कालीन समयमा घरको सुरक्षाका लागि कुकुर पाल्ने गरेको र घरको मूल ढोका खोलादेलिमा कुकुर सुत्ने गरेको र बुहारीले कुकुरको डर मान्ने कुरालाई समेत यहाँ यसरी देखाइएको पाइन्छ । 
    खोलादेलि झपुवाकी चौखी लछे राम हरी
    कसीकाई उगाडु मुइत दारजोलो लक्षे राम हरी
    यसरी विभिन्न सम्स्याहरूका बाबजुत पनि बुहारीले सासुले अह्राएको काम समयमा गर्नेपर्ने बाध्यताको चित्रण यसभित्र पाइन्छ ।
    हात समाइछ रुपा घडुली लछे राम हरी
    कोखीमुणी शिर सिरौणी लछे राम हरी
    सीतारानी पानीनाव गैन लछे राम हरी
    ग) नारीहरूले भोग्नु परेका पीडाहरूको चित्रण
     तत्कालीन परिवेशमा नारीहरूले नुहाउनका लागि बन्द कोठाहरूको व्यवस्था नभएकाले पानीका मुहानहरूमै खुल्ला रुपमा नुहाउनु परेको अवस्थाको चित्रण यहाँ पाइन्छ । कसैले नदेखुन भनेर अध्यारोमै पानीका मुहानमा गएर चिसो पानीले नुहाउनुपर्ने बाध्यता हुन्थ्यो । पुसमाघको ठण्डीमा समेत चिसै पानीले नुहाउनु, तुसारोमा नाङ्गै खुट्टाले हिड्नु र विभिन्न किसिमका रोगले च्याप्नु एकातिर आफैमा समस्या थियो भने अर्कोतिर पानीका मुहानहरूमा नुहाउँदा भोगी पुरुषहरूबाट असुरक्षित हुनु अर्को समस्या हुने गर्दथ्यो । युवतीहरूको नाङ्गो शरीर हेर्ने लालसा भएका दुष्ट पुरुषहरू लुकेर नुहान हेर्ने तथा नारीहरूप्रति आकर्षित भएर विभिन्न किसिमका जाल रच्ने पुरुषहरूको चरित्रलाई पनि यसमा यसरी देखाएको पाइन्छ । 
    नाइधोइ सितारानी सूर्ज ज्वार लछे राम हरी
    अइतिर धेक्यो सुनामृग लछे राम हरी
    मृग धेक्यो अचम्मको लछे राम हरी
    तामाले बादेकी पिठ थिइ लछे राम हरी
     यसैगरी सुनाले बादेका दन्त थिया, चाँदीले बादेकी पुछ थिइ, लुवाले बादेका खुर थिया, सीतारानी अचम्म पडी, सीतारानी मृगैका ख्याल, सीतारानी घर लौटी आइन..... यसरी रावले मृगको रुप धारण गरी सीतालाई आकर्षि गर्न खोजेको प्रसङ्गबाट तत्कालीन समाजका पुरुषहरूको भोगी चरित्र तथा विभिन्न प्रलोभनमा पारेर आफ्नो श्वार्थ सिद्ध गर्न खोज्ने प्रवृतिको चित्रण एकातिर पाइन्छ भने युवा युवतीहरूको प्रेमलाई अपराध सम्झने समाजको समेत यसमा चित्रण गरिएको पाइन्छ । बुहारीले कामबाट समयमा घर फर्कन नसके विभिन्न किसिमका सङ्का उपङ्का गर्ने, रिसाउने, गाली गर्ने तथा विभिन्न शारीरिक तथा मनोवैज्ञानिक दवाब दिने गरेको कुरालाई पनि प्रष्टसँग थाहा पाउन सकिन्छ । बुहारीले समयमा पानी नल्याएकाले घरका सदस्यहरू अगाडीदेखि नै रिसले चुर भैरहेको करालाई यसरी देखाइएको छ । 
    भोलबेइ उजालो होइग्यो लछे राम हरी
    नाइ आयो सिताको पानी लछे राम हरी
    घाम दडिइ वर आयो लछे राम हरी
    नाइ आयो सिताको पानी लछे राम हरी
    बासी तुसी पानीले सन्या ग¥यो लछे राम हरी
    नाइ आयो सिताको पानी लछे राम हरी
    बासीतुसी पानीले कोट लायो लछे राम हरी
    नाइ आयो सिताको पानी लछे राम हरी
     कोट चिणी चिणी पैतोली, कोट चिणी चिणी गोडी गाठा, घुणजोला, जाङ जोला, आदि गरी घर पुरै बनाइसक्दा पनि पानी नपुगेको र एकातिर सबै जना बुहारीदेखि रिसाइरहेको र अर्कातिर कतै दुर्घटना त भएनकी भन्ने चिन्ताले आकुल व्याकुल हुने गरेको कुरा यहाँ देखाउन खोजिएको छ । त्यसैर गरी अबेर घर बुहारीसित कोही पनि नबोल्ने काममा नसघाउने कुरालाई यसरी देखाएको छ ।
    सीता रानी घर लौटी आइन लछे राम हरी
    कौसिला सासु तमुइ बोल लछे राम हरी
    घडुली बिसोइ हम दिय लछे राम हरी
    जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरी
    राम भतार तमुइ बोल लछे राम हरी
    घडुली उचाइ हम दिय लछे राम हरी
    जैकी उचाइ घडु सोइ बिसोलो लछे राम हरी
     यसरी घरका सबै सदस्यहरूलाई आग्रह गर्दा पनि टाउकोमा राखेर ल्याएको भरिएको पानीको गाग्री जमिनमा राख्न कसैले सहयोग नगरेको हुँदा आफैले बलजफत पूर्वक भाडो बिसाएको कुरालाई यसरी देखाएको पाइन्छ । 
    शिर है  उचायो घडु कुमजोला लछे राम हरी
    कुमु है उचायो घडु छाती जोला लछे राम हरी
    छाती है उचायो घडु काखी जोला लछे राम हरी
    काखी है उचायो घडु बाइर खाख्यो लछे राम हरी
    यसरी बुहारीले पानी भर्न अबेर गरेकाले विभिन्न कुरा सुनाएर उसमाथि प्रश्न गर्दछन् । 
    ओ रानी सिता तमुइ बोल लछे राम हरी
    पनिया इतनी क्या बेर लछे राम हरी
    बुहारीले काममा ढिला भएको कारण यसरी बताइएको छ ।
    पानिया भरना मुइले मृग धेक्या लछे
    मृग धेक्या मुइले अचम्मको लछे राम हरी
    तामाले बादेकी पिठ थिइ, सुनाले बादेका दन्त थिया, सुनाले बादेका सिङ्ङु थिया, ...
    मुइ भुल्यो मृगका खेल लछे राम हरी
    तब भैछ पनिया बेर लछे राम हरी
     यस किसिमले मृर्गको ख्यालमा पानी ल्याउन अबेर भएको कुरा बुहारीले बताएको पाइन्छ । यसरी तत्कालीन समाजमा बुहारीले गरेका हरेक कामको बारेमा जानकारी लिने र बिभिन्न कमजोरीका कारण बताउनुपर्ने पविशेषको चित्रण भलौलोमा पाइन्छ । 

    घ) पति पत्नीको प्रेम र नारी हठको चित्रण 
     हिन्दु सभ्यता अनुसार नारी र पुरुषमा हुने प्रेम केवल पति र पत्नीबीच मात्र हुनुपर्छ भन्ने मान्यता अनुसरण गरेको पाइन्छ । नारी पुरुषले एकआपसमा असाध्य प्रेम गर्ने र पुरुषहरूले पनि नारीको प्रेमका लागि ज्यानै जोखिममा राखेर पनि पत्नीले भनेको कुरा पु¥याउने कुरालाई पनि यसमा देखाएको छ । सीताले देखेको मृग सुन्दर भएको र उक्त मृगलाई उपहारको रुपमा मलाई ल्याइदिनु भनेर रामलाई आग्रह गरेको अनि रामले मृग ल्याउने बाचा गरी धनुष लगेर वनतिर गएको कुराबाट पति पत्नीको प्रेमलाई एकातिर झल्काएको छ भने यस्तो मृग प्रकृतिमा सम्भव छैन यो कुनै छल हुन सक्छ यसमा जिद्दी नगर यसले विनास ल्याउन सक्छ, पछि दुःख पर्न सक्छ भन्दा पनि सीताले उक्त मृग जसरी पनि ल्याउनै पर्ने कुराले नारीहरूमा हुने हठ र त्यसले निम्त्याउने सङ्कटलाई पनि यहाँ यसरी देखाउन खोजिएको छ । 
    राम भतार तमुइ बोल लछे राम हरी
    मृग लेइ हम दिय लछे राम हरी
    ओ रानी सीता तमुइ बोल लछे राम हरी
    जन पडै मृगका पाछा लछे राम हरी
    तैबात होलो विनास लछे राम हरी
    जती भन्दा पनि सीताले नमानेपनि राम र लक्ष्मण जङ्गलतिर गएको प्रसङ्ग यसरी दिएको पाइन्छ
    हिट भौल्या मृगका खोज लछे राम रही
    एकन डडेली काटी दोसरीका छिना
    नाइ पायो मृगको खोज लछे राम हरी
     यसरी जति गर्दा पनि मृग नमिलेको, वनमा असुभ सङ्केतहरू देखिएको र घरमा सीताको अपहरण भएको कुरालाई लिएर पति पत्नीको प्रेम र नारीहठले निम्त्याएको पीडालाई यहाँ प्रष्ठरुपमा देखाउँन खोजिएको छ । 
    ङ) भलौलो भित्रको जीवन दर्शन
     भलौलो भित्र हिन्दु दर्शन र मानसी लोकाचारका कुराहरूलाई देखाउन खोजिएको छ । बह्म महुर्तमा उठेर नित्यकर्म गरी पूजापाठ गर्नु, अनुशासित जीवन बिताउनु, ठूलाबडाले भनेको मान्नु आदि कुराहरूलाई यसमा देखाएको पाइन्छ । भगवान रामका आदर्श गुणहरूको अनुसरण गर्नु पर्ने, पति पत्नीवत धर्मका कुराहरूलाई राम्रोसँग चित्रण गरिएको पाइन्छ । यसै गरी कुनै कुरामा गम्भीर भएर बिचार गरी अघी बढ्नु पर्दछ, हठ गर्नु हुँदैन, विचार नपु¥याइ काम गरेमा त्यसले पश्चाताप मात्र हुन्छ, दुःख मात्र भोग्नु पर्दछ भन्ने कुरालाई देखाउन खोजिएको छ भने समयको महत्व यसभित्रको मुख्य दर्शन हो । यसरी समग्रमा वर्तमान नेपालको सुदूरपश्चिमी तथा भारतको चम्पावत जिल्ला लगायत कुमायू गडवाल क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक आदि समग्र पहिचान भलौलोले बोकेको पाइन्छ ।  

     

     

     

     




    प्रतिक्रिया दिनुहोस