बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

युवा पुस्ता विकासको बहसमा फर्कियोस् 


पश्चिम प्रेस
आइतबार, माघ २९ २०७९
  • 1.1K
    Shares

  • images
    images
    युवा पुस्ता विकासको बहसमा फर्कियोस् 


    लोकतन्त्रको मूल मर्म विकास हो । विगतको व्यवस्थाले देशको विकास गर्न सकेन भनेर आम नेपाली जनताले नयाँ व्यवस्थाको परिकल्पना गरेको हो । नयाँ व्यवस्थाका दर्जन वर्ष बित्न लाग्दा पनि आम नागरिकहरुमा व्यवस्थाप्रतिकै असन्तुष्टि हुनु नेपाल र नेपालीहरुको भविष्यको लागि दुःखद कुरा बन्न पुगेको छ । वर्तमान अवस्थामा जसरी नेपाली राजनीति अगाडि बढिरहेको छ त्यसबाट के अनुमान गर्न सकिन्छ भने व्यवस्था परिवर्तन नै विकास आधार होइन । विकासका लागि सर्वप्रथम हरेक नागरिकले अवस्था परिवर्तन गर्नु आवश्यक रहेको छ । नेपालमा सबैभन्दा नैराश्यता पोखिने ठाउँ विकासमा हो । नेपालमा विकास नै भएन भनेर देशलाई र राजनीतिलाई नसराप्ने न कुनै नेता छ न आम नागरिक नै । यसरी सबैको चिन्ताको विषय भएको विकास आँखिर गर्ने कसले त भन्ने कुरामा भने कसैले पनि सोच्न सकेको छैन । जसका लागि व्यवस्था परिवर्तन गरियो र जसले व्यवस्था परिवर्तन ग¥यो उक्त युवावर्ग पनि राजनीतिकै किचलोमा अलमल परेको देखिन्छ । वर्तमान राजनीति एकअर्काका टिकाटिप्पणीमै सीमित रहेको छ । मैले के गर्नुपर्छ र मेरो दायित्व के हो भन्ने कुरामा कसैको पनि ध्यान जान सकेको छैन् । वर्तमान राजनीतिमा आसा मानेको युवा पुस्ता पनि पुरानै बाटोको एकअर्काका टिकाटिप्पणीमा सीमित रहेको पाइन्छ । फलानो दल राम्रो, फलानो नेता राम्रो , फलानो नराम्रो, उसले यस्तो ग¥यो, उसले यस्तो गरेन जस्ता कुरामा टिप्पणीमै युवा पुस्ताले आफ्नो उर्जावान समय नष्ट गरिरहेको तितो यथार्थ हामीमाझ रहेको छ । लोकतन्त्र स्थापना भइसकेपछि सारोकारवाला बाहेकले राजनीतिकै खेलमा चासो लिएर कामतर्फ ध्यान नदिने हो भने कुनै अर्को व्यवस्था आए पनि देशको विकास सम्भव छैन । हामीले आफ्नो क्षेत्रबाट के गर्दैछौँ भन्ने कुरा महत्वपूर्ण हो । वर्तमान समयमा नेताहरुका पछाडि अन्धभक्त भएर आफूले समर्थन गरेको मान्छेलाई हाइहाइ र अन्य व्यक्तिलाई वाइवाइको खेलमा युवावर्ग अल्झिनु देशको सुखद भविष्यका लागि कदापि राम्रो होइन । 
    देशको राजनीतिले अहिले सत्ता र कुर्षीको खेलमा रस्साकसी गर्नुपर्ने समय होइन । अहिले दल तथा पार्टीहरुको बहसको सट्टा विकासको बहस हुनुपर्ने हो । कुन ठाउँमा कस्तो विकासको आवश्यकता छ ? त्यसलाई पुरा गर्ने आधार केके हुन ? भन्ने कुरामा बहष हुनुको सट्टा राजनीतिक दोहरीमा एकअर्काको टिकाटिप्पणीमा देशको राजनीति र युवाहरुको समय व्यतित हुनुपर्ने हो । विडम्बना हामी भएको कुराको पनि सदुपयोग गर्न सकिरहेका छैनौँ । युवावर्गले आफ्नो क्षमताको पहिचान गर्न छोडेर नेताहरुले केही गरिदेलान् र गरौँला भन्ने आसमा दल तथा नेताहरुको पछाडी लागिराख्नुले देशको भविष्य अन्यौलमा पर्दै गइरहेको छ । हामी राज्यलाई एक खेलौनाका रुपमा खेलाइरहेका छौँ । राजनीतिजस्तो संवेदनशील विषयलाई सामाजिक सञ्जालमा सस्तो लोकप्रियता बटुल्ने भाइरल सामग्रीका रुपमा प्रयोग गरिरहेका छौँ । जबसम्म युवावर्ग आफै हरेक कुरामा अग्रसर हुँदैन तबसम्म जुनसुकै व्यवस्था आए पनि विकास सम्भव हुन सक्दैन । वर्तमान समयमा राजनीतिक खबरदारीका साथै हरेक विकासका कार्यमा अग्रसर हुनु युवाहरुको दायित्व हुन आउँछ । कुनै पनि देशको विकास कुराले मात्र भएको होइन त्यस देशको इतिहास हेर्ने हो भने त्यहाँका युवाहरुले निभाएको भूमिका महत्वपूर्ण छ । हालको जापान विकसित जापान बनाउनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको छ । तब मात्रै विकास सम्भव छ । समग्रमा भन्नुपर्दा अहिले सामाजिक ससञ्जालमा टिकाटिप्पणी र कसैलाई भाइरल बनाउने र कसैलाईे खाल्टामा हाल्ने कुसंस्कारलाई छोडेर विकासका मुद्दामा बहस गर्ने समय हो । 
    कुनै पनि राष्ट्र अथवा उक्त राष्ट्रमा रहेको शासन व्यवस्थाको मूल्याङ्कन गर्ने मुख्य आधार विकास हो । राष्ट्रको विकासले नै कुनै पनि शासन व्यवस्था सफल वा असफल के हो भन्ने कुरा निक्र्यौल गर्दछ । विकास भनेको आम नागरिकको सन्तुष्टिसित सम्बन्धित विषय हो । नागरिकहरुको सन्तुष्टिले विकासको आँकलन गर्न सकिन्छ । नागरिकहरुका आधारभूत आवश्यकताहरुदेखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सुरक्षा, विद्युत, रोजगारी लगायतका सम्पूर्ण कुराहरु पुग्नु भनेको नै विकास हो । विकासको मापन ठाउँ अनुसार हुने गर्दछ । वर्तमान परिपेक्षमा विकशित राष्ट्रले मान्ने विकास र अल्पविकशित राष्ट्रहरुले मान्ने विकास फरक हुन सक्छ । 
    नेपाल पनि विकासतिर उन्मुख हुँदै गरेको राष्ट्र हो । वर्तमान सन्दर्भमा नेपालका लागि विकास भनेको आधारभूत आवश्यकताका साथसाथै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, यातायात, विद्युत लगायतका कुरामा सबैको पहुँच हुनु विकास हो । हाम्रो देशको सन्दर्भमा भन्ने हो भने केही शहरी क्षेत्र र तराइँका भूभागबाहेक विकासको स्वरुपलाई अवलोकन गर्न नपाइने स्थिति रहेको छ । कतिपय दुर्गभ भेगका नागरिकहरुलाई गास, बास तथा कपासकै लागि पनि धौ धौ परिरहेको छ भने कतिपय ठाउँहरुमा सिटामोल नपाएर मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको तितो यथार्थ हामीमाझ रहेको छ । थुप्रै ठाउँमा गाडीमोटरको त कुरै छोडौँ हिड्ने बाटो समेत राम्रो नभएर बिरामीहरुलाई अस्पतालसम्म पुगाउनै मुस्किल हुँदा अकालमै ज्यान गुमाउन बाध्य छन् । थुप्रै दुर्भम ठाउँका मानिसहरुले अझै पनि घाम र जूनको प्राकृतिक उज्यालो बाहेक बिजुली बत्ती देख्न समेत पाएका छैनन् । शिक्षाको कुरा गर्ने हो भने टाढाटाढा विद्यालय भए पनि शिक्षक र पाठ्यसामग्री नै नपाएर शिक्षाको उज्यालोबाट बञ्चित हुनुपरेको छ । नागरिकहरुको आर्थिक स्तर न्यून रहेको र रोजगारीका सम्भावनाहरु नहुँदा आफै लगानी गरेर स्वरोजगार बन्न सक्ने अवस्था छैन् । आर्थिक स्थिति मजबुद नभएकै कारण हजारौँ मानिसहरु आत्महत्या गर्न बाध्य छन् । देश विकासको मेरुदण्ड मानिने युवाजमात स्वदेशमा रोजगारी र लगानीको वातावरण नपाउँदा विदेशिन बाध्य छन् । केही सुगम ठाउँका नागरिकहरुले देशमै केही गरौँ भन्दा पनि विचौलियाहरुको मारमा लगानी गर्ने वातावरण मिलेको छैन् । स्थानीय उत्पादनका लागि बजार नहुँदा कृषि, पशुपालन लगायतका पेशाव्यवसायमा लाग्न सकिरहेका छैनन् । राज्यले नागरिकहरुबाट उठाएको कर र विदेशी दातृराष्ट्रहरुबाट निकालेको ऋणले विनियोजित बजेटमा पनि भ्रष्ट्राचारजस्ता जघन्य अपराधका कारण विकास निर्माणका कामहरु हुन सकेका छैनन् । फितलो राज्य र कानुनले जताततै हत्याहिंसाका घटनाहरु बढ्दै गइरहेका छन् र शहरबजारका केही कलेजहरुले दिने महंगो शिक्षाले पनि स्वदेशमै रोजगारी दिन सकेको छैन् । राजनीतिमा सबैको पहुँच नहुँदा रोजगारीका क्षेत्रमा पनि लाग्न कठीयन अवस्था सिर्जना भएको छ । पढेलेखेका क्षमतावान युवाहरु राजनीतिक निकटता नभएकै कारण आफूमा भएको दक्षता पर्दशन गर्न नसक्ने स्थितिमा छन् । रोजगारीका क्षेत्रहरु पुरै राजनीतिको भागबण्डामा सीमित भएका छन् र यस्तो अवस्थामा आम नागरिकले राज्यबाट पाउनुपर्ने अभिभावकत्व र संरक्षण पाउन सकेका छैनन् । २१ औँ शताव्दीमा पुगिसक्दा पनि विज्ञान र प्रविधिको विकास हुनु त परको कुरा छ भोको पेट कसरी भर्ने भन्ने चिन्ता आम मानिसको रहेको छ । 
    समग्रमा भन्नुपर्दा देशमा समयानुकुल विकासको त कुरै छोडौँ आम नागरिकले सामान्य रुपमा पाउनुपर्ने विकास पनि मिल्न नसकेको अवस्थामा नेपाली राजनीति, विद्वतवर्ग तथा वर्तमानले महत्वपूर्ण ठानेको युवा जमात सबै झिना मसिना कुरामा बहस गरेर बस्नु दुःखद बनेको छ । वर्तमान युवाहरुबाट राष्ट्रले खोजेको विचार र भूमिका सायदै यस्तो नहुनुपर्ने हो तर विडम्बना हामी राज्य र नेताहरुलाई मात्र दोष दिएर आफ्नो विकासका लागि खर्च गर्नुपर्ने समय पुरानै शैलीमा कुनै एक चर्चित पात्रका राम्रा नराम्रा पक्षहरुमा बहस गरेर बित्न थालेको हो । यदि हामी साँच्चिकै विकासका पक्षधर हौँ भने अब प्रत्येक युवाले विकासमा बहस गर्नुपर्दछ । बहष मात्रै होइन प्रत्यक्ष रुपमा भूमिका पनि निभाउनु पर्छ । युवाहरुले राज्यलाई खबरदारी गर्ने, विकासका आवश्यकता र सम्भावना अध्ययन गर्ने कार्यदेखि लिएर उक्त विकास कार्यमा आफूले सक्ने भूमिका निभाउनु नै आजको आवश्यकता हो । 

     


    प्रतिक्रिया दिनुहोस