बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकवार्तामा महिला


मंगलबार, माघ १८ २०७८
  • 1.9K
    Shares

  • images
    images
    डोट्याली लोकवार्तामा महिला


    सार
     तत्कालीन डोटी क्षेत्रको लोक जीवनमा महिलाहरुको उल्लेख्य स्थिति रहेको पाइन्छ । यस क्षेत्रको भौतिक तथा अभौतिक लोकवार्ताका क्षेत्रमा महिलाहरुको उपस्थिति, भूमिका तथा लोक जीवनका विभिन्न पाटाहरुमा महिलाहरुको योगदानलाई यस अध्ययनमा देखाउन खोजिएको छ । यस समुदायको लोक पहिरन, आभुषण,  परिकार, लोक कृर्षि, हातहतियार, कला एवम् लोक साहित्य आदिमा महिलाहरुको सहभागिताको खोजी गर्ने कार्य यसमा गरिएको छ । 


    १. विषय प्रवेश
     मानवको उत्पत्ति पश्चात् नै समाज अस्तित्वमा आएको हो र सँगसँगै संस्कृतिको पनि उत्पत्ति भएको हो । मानिसले आफ्नो अस्तित्वका लागि समाजबाट स्वीकृत भएका केही सीमा र बन्धनलाई स्वीकार गर्नु पर्ने हुन्छ । समय, काल, परिस्थिति, प्राकृतिक नियम र आवश्यकता अनुसार गर्भावस्थादेखि मृत्युपर्यन्त मानिसले सामाजिक परिपाटी बसाल्दै जाँदा लोक संस्कृतिको निर्माण भएको हो । लोकवार्ता तथा लोकसंस्कृति शब्दका संरचनामा दुई–दुई शब्द रहेका छन् । लोक र वार्ता तथा लोक र संस्कृति । लोक शब्द तत्सम शब्द हो । शब्दकोशहरूमा लोक शब्दका मुख्य दुई सन्दर्भ अर्थ स्थान र जन दिइएको पाइन्छ भने अमर कोशमा ‘लोकस्तु भुवने जने’ भनेर यसका दुईओटै अर्थतर्फ सङ्केत गरेको पाइन्छ । पुराणमा उँभोका सात र उँधोका सात गरी चौध लोकको वर्णन पाइन्छ । मुख्य देवस्थानका हिसाबले शिव, विष्णु र ब्रह्मा लोकको चर्चा पाइन्छ । त्यसैगरी धर्मशास्त्रहरूमा जीवन हुँदा भोग गर्ने ठाउँ धर्तीलाई इहलोक र मरेपछि पुग्ने ठाउँलाई परलोक भनेर वर्णन गरेको पाइन्छ । लोकको अर्थ संसार, दुनियाँ, जगत, जन जे भने पनि निश्चित भूगोलमा बस्ने सर्वसाधारणलाई लोक शब्दले अभिहित गरेको पाइन्छ । डोट्याली लोकवार्ताको वर्गीकरण गर्नुपूर्व डोटी क्षेत्र वा प्रदेश र डोट्याली भाषा विषयमा दुई शब्द प्रस्तुत गर्न उपयुक्त लागेका छन् :


      नन्द पर्वतारभ्य यावत् काक गिरि समौ
      तावत् वै मानस खण्ड ख्यायते नृप सत्तमा ।। (स्कन्द पुराण)


     महाकाली पारीको काली कुमाउँदेखि कर्णाली नदीसम्मको सम्पूर्ण भू–खण्डलाई शास्त्रहरूमा मानसखण्ड भनिएको छ । यो कुरा यस क्षेत्रका विद्वान् वासुदेव भाइसाब, आत्माराम ओझा, पंचमराज भट्ट, घनश्याम लेखक लगायतले आफ्ना लेख रचनाहरूमा उल्लेख गरेका छन् । “अहिले सगरमाथा विश्वको सर्वोच्च शिखर बनेको भए पनि टेथिस सागरबाट हिमालय पर्वतको उत्पत्ति हुँदा मेरूपर्वत सर्वोच्च शिखर थियो । मेरु पर्वतको नजिकै रहेको मानसरोवरको छेउछाउमा सर्वप्रथम मानव बस्ती बसेको थियो । हाम्रो इतिहासको पूर्ण विन्दु पनि त्यही थियो, यसलाई मानसखण्ड भनिएको छ । पहाडी वर्गका भाषाहरूको मूल थलो यही हो (भट्टः२०६७) ।” यसै अभिमतलाई अगाडि बढाउँदै काली कुमाउँदेखि कर्णाली सम्मको भूभागलाई मानसखण्ड र सो क्षेत्रमा बोलिने भाषालाई मानसी भाषा तथा संस्कृतिलाई मानसी संस्कृति भनेर घनश्याम लेखकले उल्लेख गरेका छन् ।


     “उपर्युक्त मानसी भाषा वैदिक, प्राकृत, अपभ्रंसको रूपमा विकसित हुँदै आज आधुनिक पहाडी भाषा बनेको छ । सिंजाली (नेपाली), डोट्याली, कुमियाँ, गडवाली आदि भाषाहरूका रूपमा भनी यस क्षेत्रका अध्येताहरूले उल्लेख गरेको पाइन्छ । सुदूरपश्चिम क्षेत्रलाई डोटीक्षेत्र, डोटीप्रदेश, खप्तडप्रदेश भनेर उल्लेख गरे पनि ती नामहरूसँग दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाहरूको सम्बन्ध गाँसी पश्चिम कालीदेखि पूर्व बूढीगङ्गा बीचको क्षेत्र प्राचीन डोटीराज्यको भूभागभित्र पर्दै आएको कुरा विद्वान्हरूले स्वीकारेका छन् । वास्तविकता खोतल्दै जाँदा धार्मिक ग्रन्थमा उल्लिखित मानसखण्ड क्षेत्रभित्र सिंजाली, डोट्याली, कुमाउँनी र गढवाली भाषाहरू प्रमुख रूपमा रहेका छन् भनेर भन्न सकिन्छ । ‘डोटी क्षेत्रको इतिहास तथा संस्कृति’ नामक पुस्तकमा डा. देवीप्रसाद ओझाले डोटी राज्यको प्रमाणिक राज वंशावलीको वर्णन गरी डोटीका प्रथम कत्युरी राजा निरय पाल (शाके १२८४–१३०५) रहेको कुरा उल्लेख गरेका छन् । यसरी डोटी प्रदेशको (निरय पालको शासन अघिदेखि चलेको) संस्कृतिलाई डोट्याली लोकसंस्कृति भनिन्छ । इतिहासका पाना पल्टाउँदै जाने हो भने सिंजा, डोटी, कुमाउँ र गढवाल (भारत) बीच सदियौँदेखिको सांस्कृतिक सम्बन्ध देखिन्छ । गोःरा र दसैँ जस्ता सांस्कृतिक पर्व र डेउडा नृत्य, फाग, सगुन, चैत, भारत जस्ता परम्पराले ती क्षेत्रहरूलाई जोड्दै आएको छ । ती क्षेत्रहरूमा साझा संस्कृति रहेको पाइन्छ । विभिन्न विद्वान्हरूले डोटेली, डोट्याल्लि, डोट्याली जस्ता शब्द प्रचलनमा ल्याए पनि यहाँ डोट्याली शब्द नै उपयुक्त ठानी त्यही शब्द प्रयोग गरिएको छ ।


     विभिन्न विद्वान्हरूका विवेचना र विश्लेषणलाई मध्यनजर गरी लोकवार्ताका विषय क्षेत्रहरूलाई भौतिक र अभौतिक गरी दुई भागमा विभाजन गर्न सकिन्छ । भौतिक क्षेत्रभित्र स्पर्श गर्न सकिने विशाल वस्तुहरू ः मन्दिर, देवालय, स्मारक आदि तथा सूक्ष्म वस्तुहरू ः सिक्का, गरगहना, आभूषण, पहिरन लगायत वाद्य एवम् अन्य सामग्री, उपकरण, लोक कौशल आदि विषय वस्तु समेट्न सकिन्छ भने अभौतिक क्षेत्रभित्र लोकसाहित्य, लोकविश्वास, लोकसंस्कार, लोकअनुष्ठान, लोकरीति, लोकउत्सव, लोकोक्ति, लोककला आदि विषयवस्तुहरूलाई समेट्न सकिन्छ ।


    २. समस्या
     कुनै पनि अनुसन्धानको समस्या भनेको त्यसको शीर्षक नै हो । उक्त शीर्षकसँग सम्बन्धित भएर अनुसन्धानलाई पूर्णता दिन त्यसमा आउने मुख्य प्रश्न नै अनुसन्धान समस्या हो । अनुसन्धान परियोजनाको सार्थकता अनुसन्धानको लागि छनौट गरिएको समस्यामा निर्भर हुन्छ (निउरे : २०७५) । यो अनुसन्धान डोट्याली लोकवार्तामा महिला भन्ने शीर्षकमा रहेकाले यसलाई पूर्णता दिन निम्न कुराहरुलाई समस्याका रुपमा लिइएको :


    क) भौतिक लोक संस्कृतिमा महिलाहरुको सहभागिता केकसरी रहेको छ ?
    ख) अभौतिक लोक संस्कृतिमा महिलाहरुको सहभागिता केकस्तो रहेको छ ?


    ३. उद्देश्य
     कुनै पनि काम निश्चित उद्देश्य पर्तिका लागि गरिन्छ । अनुसन्धानको उद्देश्य भनेको त्यस अनुसन्धानका समस्याहरुको समाधानका लागि गरिन्छ । अनुसन्धानकर्ताले आफ्नो अध्ययनमार्फत प्राप्त गर्न चाहेका अपेक्षित उपलब्धीहरु नै अनुसन्धानका उद्देश्य हुन (निउरे : २०७५) । यस अध्ययनमा पनि उपयुक्र्त समस्या सामाधानका लागि निम्न उद्देश्यहरु रहेका छन् :
     क) भौतिक लोक संस्कृतिमा  महिलाहरुको सहभागिता बारे अध्ययन गर्न
     ख) अभौतिक लोक संस्कृतिमा महिलाहरुको सहभागिता बारे चर्चा गर्न ।

     
    ४. महत्व
     अनुसन्धान भनेको नयाँ कुराको खोजी हो । अर्को शव्दमा भन्नुपर्दा अनुत्तरित प्रश्नको जवाफ नै अनुसन्धान हो । यो अनुसन्धानमा पनि डोट्याली लोकवार्तामा महिलाहरुको भूमिका बारे प्रष्ट पार्न खोजिएको छ । डोट्याली लोकवार्ताका अध्ययनकर्ताहरुका लागि यस अध्ययनको विशेष महत्व रहने छ । भावी अध्येताहरुको अध्ययनका लागि पनि यसले मार्गनिर्देशन गर्ने कुरामा यसको विशेष महत्व छ । डोट्याली लोकवार्ताका बारेमा बुझ्न चाहाने व्यक्तिहरुका लागि पनि यसले खुराकको काम गर्ने छ । समग्रमा डोट्याली लोकवर्ताबारे बुझ्न, अध्ययन गर्न र यसको बारेमा अन्य व्यक्तिहरुलाई ज्ञान दिन र यसमा भएका महत्वपूर्ण पक्षहरुको बारेमा बुझेर व््रयवहारिक प्रयोगका लागि यसको महत्व छ । 


    ५. अध्ययन विधि
     कुनै पनि अध्ययनलाई पूर्णता दिन निश्चत विधि अवलम्वन गर्नुपर्छ । यस अध्ययनका लागि व्याख्यात्मक एवम् वर्णनात्मक विधिको उपयोग गरिएको छ । यसका लागि पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । लोकवार्ता तथा डोट्याली लोकवार्ता सम्बन्धी पूर्व प्रकासित सामग्रीलाई द्वितीयक सामग्रीका रुपमा उपयोग गरिएको छ । 


    ६. डोट्याली लोकवार्तामा महिला 
     डोट्याली लोकवार्ताको वर्गीकरण गर्नुपूर्व डोटी क्षेत्र वा प्रदेश र डोट्याली भाषा विषयमा दुई शब्द प्रस्तुत गर्न उपयुक्त लागेका छन् :
      नन्द पर्वतारभ्य यावत् काक गिरि समौ
      तावत् वै मानस खण्ड ख्यायते नृप सत्तमा ।। (स्कन्द पुराण)


     महाकाली पारीको काली कुमाउँदेखि कर्णाली नदीसम्मको सम्पूर्ण भू–खण्डलाई शास्त्रहरूमा मानसखण्ड भनिएको छ । यो कुरा यस क्षेत्रका विद्वान् वासुदेव भाइसाब, आत्माराम ओझा, पंचमराज भट्ट, घनश्याम लेखक लगायतले आफ्ना लेख रचनाहरूमा उल्लेख गरेका छन् । “अहिले सगरमाथा विश्वको सर्वोच्च शिखर बनेको भए पनि टेथिस सागरबाट हिमालय पर्वतको उत्पत्ति हुँदा मेरूपर्वत सर्वोच्च शिखर थियो । मेरु पर्वतको नजिकै रहेको मानसरोवरको छेउछाउमा सर्वप्रथम मानव बस्ती बसेको थियो । हाम्रो इतिहासको पूर्ण विन्दु पनि त्यही थियो, यसलाई मानसखण्ड भनिएको छ । पहाडी वर्गका भाषाहरूको मूल थलो यही हो (भट्टः२०७४)।” यसै अभिमतलाई अगाडि बढाउँदै काली कुमाउँदेखि कर्णाली सम्मको भूभागलाई मानसखण्ड र सो क्षेत्रमा बोलिने भाषालाई मानसी भाषा तथा संस्कृतिलाई मानसी संस्कृति भनेर घनश्याम लेखकले उल्लेख गरेका छन् ।


     “उपर्युक्त मानसी भाषा वैदिक, प्राकृत, अपभ्रंसको रूपमा विकसित हुँदै आज आधुनिक पहाडी भाषा बनेको छ । सिंजाली (नेपाली), डोट्याली, कुमियाँ, गडवाली आदि भाषाहरूका रूपमा भनी यस क्षेत्रका अध्येताहरूले उल्लेख गरेको पाइन्छ । सुदूरपश्चिम क्षेत्रलाई डोटीक्षेत्र, डोटीप्रदेश, खप्तडप्रदेश भनेर उल्लेख गरे पनि ती नामहरूसँग दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाहरूको सम्बन्ध गाँसी पश्चिम कालीदेखि पूर्व बूढीगङ्गा बीचको क्षेत्र प्राचीन डोटीराज्यको भूभागभित्र पर्दै आएको कुरा विद्वान्हरूले स्वीकारेका छन् । वास्तविकता खोतल्दै जाँदा धार्मिक ग्रन्थमा उल्लिखित मानसखण्ड क्षेत्रभित्र सिंजाली, डोट्याली, कुमाउँनी र गढवाली भाषाहरू प्रमुख रूपमा रहेका छन् भनेर भन्न सकिन्छ । ‘डोटी क्षेत्रको इतिहास तथा संस्कृति’ नामक पुस्तकमा डा. देवीप्रसाद ओझाले डोटी राज्यको प्रमाणिक राज वंशावलीको वर्णन गरी डोटीका प्रथम कत्युरी राजा निरय पाल (शाके १२८४–१३०५) रहेको कुरा उल्लेख गरेका छन् । यसरी डोटी प्रदेशको (निरय पालको शासन अघिदेखि चलेको) संस्कृतिलाई डोट्याली लोकसंस्कृति भनिन्छ । इतिहासका पाना पल्टाउँदै जाने हो भने सिंजा, डोटी, कुमाउँ र गढवाल (भारत) बीच सदियौँदेखिको सांस्कृतिक सम्बन्ध देखिन्छ । गोःरा र दसैँ जस्ता सांस्कृतिक पर्व र डेउडा नृत्य, फाग, सगुन, चैत, भारत जस्ता परम्पराले ती क्षेत्रहरूलाई जोड्दै आएको छ । ती क्षेत्रहरूमा साझा संस्कृति रहेको पाइन्छ । विभिन्न विद्वान्हरूले डोटेली, डोट्याल्लि, डोट्याली जस्ता शब्द प्रचलनमा ल्याए पनि यहाँ डोट्याली शब्द नै उपयुक्त ठानी त्यही शब्द प्रयोग गरिएको छ ।


     विभिन्न विद्वान्हरूका विवेचना र विश्लेषणलाई मध्यनजर गरी लोकवार्ताका विषय क्षेत्रहरूलाई भौतिक र अभौतिक गरी दुई भागमा विभाजन गर्न सकिन्छ । भौतिक क्षेत्रभित्र स्पर्श गर्न सकिने विशाल वस्तुहरू ः मन्दिर, देवालय, स्मारक आदि तथा सूक्ष्म वस्तुहरू : सिक्का, गरगहना, आभूषण, पहिरन लगायत वाद्य एवम् अन्य सामग्री, उपकरण, लोक कौशल आदि विषय वस्तु समेट्न सकिन्छ भने अभौतिक क्षेत्रभित्र लोकसाहित्य, लोकविश्वास, लोकसंस्कार, लोकअनुष्ठान, लोकरीति, लोकउत्सव, लोकोक्ति, लोककला आदि विषयवस्तुहरूलाई समेट्न सकिन्छ ।


    ६.१ भौतिक लोकवार्तामा महिला 
     डोट्याली भौतिक संस्कृतिले परापूर्व कालदेखि नै आफ्नो विशिष्ट मौलिकता झल्काउँदै आइरहेको छ । मौलिक र परम्परागत पत्थरले छाएका तथा माटो र कमेरोले पोतेका घरहरू, कलात्मकताले भरिपूर्ण मन्दिरहरू, मन्दिरका गातहरू, शीलापत्र, ताम्रपत्र, डोको, डालो, सुप्पो, खोका, मोट्टो, हलो, जुँवा, भोकर लगायतका अन्य घरेलु तथा कृषि सामग्रीहरू भौतिक संस्कृतिका उत्कृष्ट नमुनाहरू हुन् ।


    क) लोकपहिरन र आभूषणमा महिला :
     डोट्याली समाजमा पहिरनले पनि मौलिक पहिचान कायम राखेको छ । यस क्षेत्रका नारीहरू नाकमा सुनको नाथु, किलो, बुँलाकी, कानमा सुनका मुन्द्री, मुनडा, झुम्का, तेपल्या घाँटीमा चाँदीको सुता, सुनको गलेबन्द, छेको, जन्तरजोडी, हार र चाँदीको हाइकल माला लगाउँछन् । त्यसैगरी नाडीमा चाँदीको बाला, ठोका, पौँजी, खुट्टामा चाँदीका कल्ली, पैडा र पाइजब लगाउँछन् भने हातको औँलामा औँठी र खुट्टाका औँलामा बिच्छु लगाउँछन् । चाडपर्वमा नाकको टुप्पोदेखि निधारसम्म लामो चन्दन टीका र सामान्यतया निधारमा बिन्दी लगाउने  गर्दछन् । त्यसैगरी शिरमा कानसम्म लत्रने गरी चाँदीका झुमझुमी लगाउने गर्छन् । आर्थिक परिस्थिति अनुसार सुन, चाँदी वा अन्य धातुको प्रयोग पनि गरगहनामा गरिएको हुन्छ । भेषभूषा अथवा पहिरनमा गाउँठाउँ अनुसार माथिल्लो आङमा आङडो (अङिया), तल्लो आङमा घागरो, गादो, शिरमा पिछौरा र कम्मरमा पटुकाको प्रयोग गर्दछन् । घागरो लगाउने भएकाले डोट्याली समाजमा महिलाहरूलाई घगरिया भन्ने चलन रहेको छ । यसैगरी बौसो खन्ने भएकाले पुरुषलाई बौस्या र खेतमा रोपाइँ गर्ने भएकाले महिलालाई रोप्नारी अथवा पुत जन्माउने हुनाले पुतारी भन्ने गरेको पाइन्छ । अविवाहिता कन्या चेलीबेटीहरूले जामा जस्तो झकुलो वा झम्पर लगाउने गर्दछन् । श्रृङ्गार गर्दा कपाल बीचबाट सिउँर निकाली लुँडो बनाउने र लुँडोमा फूल सजाउने वा धागाहरूले बनेको सुन्दर डोरी लगाउने चलन रहेको छ ।


    ख) लोककौशल, प्रविधि र खानपानमा महिला 
     यस सुदूरपश्चिम क्षेत्रमा सदियौँदेखि परम्परागत रूपमा प्रयोगमा आइरहेका लोक उपकरण, औजार, घरेलुसामग्री, बाजागाजाहरू आदिको कौशलता र प्रविधि विशिष्ट किसिमको रहेको छ । जसलाई सङ्क्षिप्त रूपमा निम्नानुसार वर्णन गर्न सकिन्छ :
    अ) लोकबाजाहरू 
     डोट्याली लोकजीवनको अभिन्न अङ्गको रूपमा रहेका लोकसंस्कृति र परम्पराहरूलाई लोकबाजाहरूले अझ सिंगारेका छन् । लोकजीवनमा गाइने लोकगीत, संस्कारगीत, भक्तिगीत, लोकगाथा, लोकनृत्य, लोकनाटक एवम् गेयात्मक लोककाव्यहरूमा लोकबाजाहरूको मौलिक प्रयोग गरेको पाइन्छ । दमौ (दमाहा), निसान, झ्याली, बिगुल, पैपर, रनसिङो, बासुली, भोकर, मिजुरा, मोरिङ्यो, ढोलङा, तुरइ, सनइ, हुड्को, मादल, खाँकर आदि यस क्षेत्रका बाजाहरू हुन् । देवीदेवताका मन्दिर र अन्य पूजास्थलमा शङ्ख, घन्ट, करताल, डमरु, भोकर आदि विशेष प्रयोग हुन्छन् । उल्लिखित बाजाहरूमध्ये विणै, खाँकर, घन्ट आदि बाजाहरू मात्र महिलाहरूले बजाउने गरेको पाइन्छ । दलित समुदायका जाति विशेष केही महिलाहरूले हुड्को तथा झ्याली बजाउने गरेको भने पाइन्छ ।


    आ) उपकरण, हतियार तथा घरेलु सामग्री 
    धातुबाट निर्मित हतियार तथा सामग्रीहरू : खोतला आँसी (फलामबाट बनेको फलामकै बिंड भएको मध्यम आकारको हँसिया), खुकुरी, ताउलो, चर (ठूलो ताउलो), ताप्के, भत्यालो, फोलो (गाग्री), तम्पारो (तामाको सानो गाग्री), डाडु, पन्यू आदि ।
    काठबाट निर्मित सामग्रीहरू : पारो, विण्नो, कुस्या, मनानी, चौकी, थेल्वा, दाबलो आदि । धातु र काठबाट निर्मित सामग्रीहरू : तिखौन (बञ्चरो), आँसी, वनास (ठूलो हँसिया), वासुलो, पलि, गिन्यासो, खुँडो आदि ।


    इ) कृषिकर्मका सामग्री 
     हलो, बौसो, कुटो, आँसी, वनास, तिखौन आदि धातु र काठबाट बनेका, लमेलो, जेउणो (डोरी), गलिउँ (दाम्लो) आदि वनस्पतिका रेसाबाट निर्मित तथा गिरेठो, मुङ्ग्रो, जुँवा, मइ आदि काठबाट निर्मित सामग्रीहरू हुन् ।


     उल्लिखित लोक उपकरण, हतियार तथा घरेलु सामग्री एवम् कृषिकर्मका सामग्रीहरू मध्ये  खुकुरी खुँडो र हलोमा बाहेक सम्पूर्ण सर सामग्रीहरूको प्रयोगमा महिलाहरूको सहभागिता उच्च र निर्माणमा सहभागिता न्यून रहेको हुन्छ ।


     लोक कौशलका विषयवस्तुभित्र चित्रकला र हस्तनिर्मित वस्तुहरूलाई समाविष्ट गर्न सकिन्छ । त्यसैगरी लोक प्रविधि र सीपका विषयवस्तुहरूभित्र खाद्य तथा पेय पदार्थ बनाउने, पहिरन र आभूषण निर्माण गर्ने, घर र घर व्यवहारका सामग्रीहरू निर्माण गर्ने, खेल मनोरञ्जन र कृषि कर्मका सामग्रीहरू, वाद्यवादनका सामग्रीहरूका साथै अन्य सामग्रीहरू बनाउने कार्य पर्दछन् । जुन परम्परागत लोक प्रविधिमा आधारित हुन्छन् । जाँतो, ओखल, दलनी र घट्ट निर्माण यहाँका विशिष्ट प्रविधि हुन् । ओखलमा अन्न तथा अन्य वस्तु कुट्ने र जाँतो र दलनीमा अन्नका गेडाहरू पिसेर वा दलेर पीठो वा दाल दलिया पार्ने काम अपवादमा बाहेक महिलाहरूले नै गर्ने गर्दछन् । यसरी लोक कौशल र लोक प्रविधिका क्षेत्रमा समेत महिलाहरूको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।


    घर सजाउने, स्वादिष्ट भोजन एवम् परिकारहरू माडा, सेल, बटुक, पर्थन्या, फुल्क्या, फाँडो, जाउलो, मैरि, अखाडी, डुब्का, भात, दाल, पल्याउ, भट्या, गालिउँ, खिरखाजा, रोट, लौन पतौला, तेतल्या, झुनमुन्या जस्ता परिकारहरू बनाउने कार्यमा महिला सहभागिता उच्च छ । थेल्वा (वेलन), चौका नारी भान्साका साथी नै हुन् । चुलो चौकोमा बढीभन्दा बढी महिलाहरू सीमित रहे पनि भौतिक संस्कृति निर्माणमा यिनीहरूको स्थानलाई बिर्सन सकिँदैन । यस क्षेत्रमा प्रायः गहुँ, धान, कोदो, मकै र विभिन्न प्रकारका दालहरूको उत्पादन हुने भए पनि गहुँ, मकैको उत्पादन बढी हुने भएकाले दिउँसो भात र राति रोटी खाने चलन छ । यस क्षेत्रका प्रमुख भोजन गोरस अन्तर्गत दूध र दूधबाट बनेका परिकारहरू पर्दछन् भने खाजाको रूपमा उमा, खःजा, सिरौला, गेडा, सैय्या (भिजाएका चामल), बाड़ी, कुमास आदि पनि लिने गरेको छ । यसैगरी घरका ढोकाहरूमा ज्यौँती र आँगनमा ऐपण बनाउने कार्य तथा विवाहमा वर र कन्याका अनुहारमा कुरुन छेड्ने काम पनि महिलाले गरेको पाइन्छ ।


    ६.२  अभौतिक लोकवार्तामा महिला 
     प्राचीन काल (वैदिक काल), मध्य काल (चौधौँ शताब्दी देखि एकीकरण पूर्व) र आधुनिक काल (एकीकरण पछि) जुनसुकै कालमा भए पनि डोट्याली भौतिक र अभौतिक संस्कृति निर्माणमा महिलाहरूको भूमिका, सहभागिता र योगदान उच्च रहँदै आएको कुरा इतिहासका पानाहरूमा प्रष्ट हुन्छ । यस क्षेत्रका लोकगाथा, लोकपर्व तथा उत्सव, लोककला, लोकसंस्कार, लोकगीत आदि निर्माण, संरक्षण, सम्बर्धन एवम् परिष्कृत गर्न महिलाहरूले महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । मङ्गलगीत, फाग, सगुन, भगन्यौला, ककौला, प्रेमगीत आदि निर्माण, परिष्कार, परिमार्जन गर्नेदेखि वनमा गाइने गीत, विरह पोख्ने वा वैराग्यता प्रकट गर्ने बैरा आदि संरक्षण र सम्बर्धनमा महिलाहरू नै सक्रिय रहेका छन् । लोकउत्सव र पर्वमा परम्परागत गीत, लोकगीत, लोकसङ्गीत, लोकनाटकहरू तथा लोकनृत्यहरू प्रस्तुत गरी लोककला प्रदर्शनमा नारीहरूको स्थान अवर्णनीय, योगदान अतुलनीय, भूमिका विशिष्ट र सहभागिता व्यापक रहेको पाइन्छ ।


    क) लोक विश्वास एवम् लोक व्यवहारमा महिला 
     कुनै पनि समाजमा आ–आफ्नै मौलिक किसिमका परम्परादेखि मान्दै आएका धर्म, विश्वास, अन्धविश्वास, रीतिरिवाज, चालचलन, मूल्यमान्यता र आस्थाहरू प्रचलनमा रहेका हुन्छन् । समाजमा प्रचलित लोकधर्मको सम्बन्ध लोकविश्वास, मान्यता र व्यवहारहरूसँग रहेको हुन्छ । विश्वव्यापी रूपमा प्रचलनमा रहेका लोक–विश्वासहरू अन्तर्गत विश्व ब्रह्माण्ड, प्रकृति, पशुपक्षी, रुखपात, दिन, महिना, वर्ष, सपना, सकुन, अपसकुन आदिलाई समाविष्ट गर्न सकिन्छ । लोकसाहित्य र लोककलाहरूमा पनि लोकविश्वास र आस्थाको अभिव्यक्ति पाइन्छ । चाडपर्वहरू, व्रतपूजा, उपवास, मानसम्मान, अभिवादनका परम्परागत विधिहरू एवम् धर्म, विश्वास, चालचलन र मान्यताका अभिव्यक्तिहरू लोकविश्वास एवम् लोकव्यवहार अन्तर्गत पर्दछन् । शाब्दिक तथा कलात्मक रूपमा प्रकट गरिने यस्ता अभिव्यक्तिहरू डोट्याली समाजमा प्रशस्त मात्रामा प्रचलनमा रहेका छन् । यस डोटी प्रदेशमा प्रचलित लोक विश्वासहरू अन्तर्गत देवीदेवता, धामी, बगौली, भूतप्रेत, वनदेवी, आछरी, व्रत, उपवास आदि तथा धर्म र संस्कार प्रतिका विभिन्न किसिमका लोक व्यवहारहरू ः औराद बस्ने, उचाइनो राख्ने, ओल्को जाने, कलइ लगाउने, जोतिषी गणना गर्ने, कौवालाई रोटी दिने, गाईको पूजा गर्ने, गाई कल्पने, बिन्ती गर्ने, हेराली गर्ने, धामी कमाएर छलछिद्दुर भगाउने, खली लगाउने लगायत समाविष्ट गर्न सकिन्छ । चाडपर्वहरू र विभिन्न बारहरूमा व्रत बस्ने तथा सामाजिक, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै देवीदेवताको पूजा गर्ने प्रचलन यस क्षेत्रका महिलाहरूमा पौराणिक कालदेखि रहँदै आएको पाइन्छ । पराइघर गएकी चेलीले आफ्नो माइती घरको देली (ढोका) पुज्ने र कर्मघर जानेबेला बाटामा पर्ने देवस्थल वा देवस्थल रहेको दिशातिर अक्षताले पुज्ने चलन समाजमा व्याप्त छ । जन्ती आउँदा वा फर्कदा बाटामा केटाकेटी र ग्वालाहरूद्वारा घाँसपात काटेर निश्चित स्थानमा सौलो (स्याउला) हाल्ने तथा कसैकसैले धार्मिक पुस्तक र विद्यार्थीहरूले कापीकिताब राख्ने चलन रहेको र त्यसरी हालिएको सौला र राखिएको पुस्तकमा केही न केही उपहार, खानेकुरा वा पैसा राखेर मात्रै जन्ती अघि बढ्छ । त्यसैगरी जन्ति आउँदा जाँदा कन्याहरूले बाटामा कलश राख्ने र विवाहित महिलाहरूले सगुन गाउने चलन रहेको र तिनीहरूलाई दक्षिणा स्वरूप पैसा दिने चलन रहेको छ । यसो गर्दा शुभ हुने मान्यता डोट्याली समाजमा रहेको छ । यसैगरी विवाहमा दुलहीका साथीहरूको साथ (सङ्ङ) छुटाए वापत दुलाहाका तर्फबाट बेउलीका सङ्ङीहरू (साथी) लाई सङ्ङीनी पोको (कोशेली विशेष) दिने चलन रहेको छ । त्यसैगरी ग्वालाहरूले मनोरञ्जनका लागि वनमा गोल्या देवताको स्थापना गरी पूजा गर्ने चलन पनि छ ।
     दसैँमा कलै लगाउने (धान र गहुँको बाला ढोकामाथि, भरिएको डालो वा भकारी र मही पार्ने ठाउँमा गाईको गोबरमाथि सिन्दूर र अक्षताले पूजन गरी लगाउने चलन), विसु पर्वमा बितेका वर्षहरूमा अन्जानले गरिएका दोषहरूबाट मुक्त हुन वा विष झार्न सिस्नो लगाउने, शुभ साइत पारी नयाँ अनाज चाख्ने, मन्दिरमा घोगा (मकै) चढाउने, देली (ढोका) र मन्दिर पुज्ने लगायतका चलनहरू पनि डोट्याली लोकचलनभित्र पर्दछन् ।


    ख) लोक उत्सव र चाडपर्वमा महिला 
     डोट्याली लोकउत्सव र चाडपर्वहरू अन्तर्गत गोःरा, विसु (विसपति), हरेली सँक्रात, वल्काइ सँक्रात, बुँणी गाड्ने सँक्रात, बुँणी पोल्ने सँक्रात, नवरात्री (दसैँ), भैलो (तिहार), तीजव्रत, विभिन्न देवीदेवताका जाँत (जात्रा), ऋषितर्पणी, घाँसे सँक्रात, पुसे पन्नर, कौवा रोटो दिन्या सँक्रात (माघी), भेटौलोचैतालो, वसन्त गायन, अनन्त्या, होली आदि मुख्य रूपमा रहेका छन् । त्यस्तै अन्य उत्सवहरूमा विवाह, व्रतबन्ध, छटी, नन्न (न्वारन), भोज, वनभोज आदिलाई लिन सकिन्छ । लोकसंस्कृतिको सम्बन्ध विज्ञानसँग पनि जोडिएको हुन्छ । नारी सृष्टिकर्ता भएकाले नारीको उपस्थिति बिनाको संस्कृतिको परिकल्पना गर्न सकिँदैन । यसर्थ समाज र संस्कृति निर्माणमा नारीको भूमिका र योगदान अति महŒवपूर्ण र स्थान अति उच्च रहेको छ । यस क्षेत्रका चाडपर्वहरूमा कहिँकतै नारी र पुरुषको सहभागिता मात्रात्मक रूपमा तलमाथि देखिएजस्तो लागे पनि दुबै पक्षले एक आसपमा सद्भाव, प्रेम, हर्ष, पीडा आदान प्रदान गरी सामाजिक सम्बन्ध प्रगाढ पार्ने र सामाजिक एकता प्रदर्शन गर्ने कुरा सर्वस्वीकार्य छ ।


     चाडपर्वहरूमा विशेष रूपमा परिकारहरू बनाउने, घर सिँगार्ने आदि काम महिलाहरूकै काँधमा रहेको हुन्छ । पुसे पन्ध्र, दसैँ, होली लगायतका चाडपर्वहरूमा महिलाहरूको सहभागिता रहे पनि सु.प. को सांस्कृतिक धरोहर गोःरा पर्व, तीजव्रत नारीहरूकै पर्व हो । त्यसैगरी भैलो खेल्ने कार्य पनि हाल आएर पुरुषहरूले बढी खेल्ने र महिलाहरूले कम खेल्ने देखिए तापनि पुरुषहरूले महिलाहरूबाटै ग्रहण गरेको पाइन्छ । तीजव्रतमा नारीहरू व्रत बसी आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दछन् ।


     गोःरा पर्व यस क्षेत्रको मुख्य सांस्कृतिक धरोहर हो । यो पर्वलाई नेपालको सु.प. क्षेत्र (प्राचीन डोटी राज्य) र भारतको कुमाउँ, हिमाञ्चल प्रदेशमा गौरा वा गौरी (पार्वती) को पूजा गरी मनाउने विशिष्ट परम्परा रहँदै आएको छ । “शक्ति पूजनको प्रक्रिया सृष्टिको अनादि कालदेखि रहँदै आएको छ । कतै योगमायाका नामले, कतै शक्तिका नामले सृष्टिको सृजना र संहारको क्रममा ब्रह्मा, विष्णु र महेश्वरले तिनै शक्तिको आराधना गरेका छन् ।” (जोशीः२०५९)


     “गोःरा यस क्षेत्रको सांस्कृतिक झलक हो । गोःरा महिलाहरूले पौराणिक कथाहरूका आधारमा आफै कथेको शिव–पार्वतीको गीति गाथा हो । नारीहरूले गोःराका खेल र नृत्यहरूबाट यस भेगको सामाजिक जीवनका सुख, दुःख, हाँसो, रोदन तथा नारी जातिलाई कुण्ठित पार्ने रुढी र अन्धविश्वास प्रति व्यङ्ग्य पनि हो ।”(भाइसाब : २०६१) 


     गोःरामा नारीले नारीशक्ति कै पूजा गरेको पाइन्छ । “नारीले वेद पढ्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै नारीले नारीलाई नै गुरु बनाएर वैदिक मन्त्र ‘श्री सते लक्ष्मी सपत्याम् बहुरात्रे..........’ (ऋग्वेद) लिनु र गोरियाहरूले आफूभन्दा जेठा ससुरा, पति आदिलाई समेत विरुणा (गहुँ, केराउ, गहत, मास, गुरुँस) ले टाउको पूजन गरी दुबाइ जनि चौडिरया, गुवाइँ जनि फूलिरया............ भनी आशीर्वाद प्रकट गर्नु नारीलाई दिएको सम्मान हो । (लेखक२०६२)


     विभिन्न विद्वान्हरूका उद्गारहरूबाट, गोःराको प्रत्यक्ष दर्शनबाट डोटी प्रदेशमा महिलाहरूको स्थान अति उच्च रहेको कुरा प्रमाणित हुन्छ । भेटाउलो÷चैतालो पर्वमा चैत्र महिनामा दाजु वा भाइले पराइघर गएकी दिदी वा बहिनीलाई भेट्न लुगा, खाजा आदि कोसेली लगेर जाने चलन छ । सेती अञ्चलतिर माघ महिनामा र भारतको कुमाउँतिर चैत्र महिनामै भेटौलो दिने चलन रहेको छ साथै चैतालो पर्वमा जाति विशेषका हुड्केलीहरूले तत्कालीन समाजमा दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय सम्बन्ध दर्शाउने तथा दुःख, कष्ट, पीडा, सङ्घर्ष एवम् देवगाथा र वीरगाथाले भरिपूर्ण भडा (भारत) गायन गर्ने गरिन्छ । उदाहरणका रूपमा सदेउवाला र गोरीधाना भाइ र दिदीको चैत्र गायन र कथानकमा उल्लिखित अर्की नारी खलपात्र भगानन्दुको चरित्र चित्रणलाई लिन सकिन्छ । भडामा भडाका नायक पुरुषले गायन र नृत्य प्रस्तुत गर्ने र नारीहरूले त्यसमा सघाउने गरेको हुन्छ ।


    ग) लोकगाथामा महिला 
     पौराणिक कालदेखि चलिआएका परम्परागत देवगाथाहरूमा देवीदेवताहरूलाई जागृत गराउन प्रशंसायुक्त जागरगान, देवीदेवताका महिमागान भएका फाग, मन्दिरमा गाइने करुणरस युक्त झोडा गाथा र वैसुन्नरको फाग प्रसिद्ध छन् । त्यस्तै चारणगाथामा विवाह, व्रतबन्ध, पास्नीजस्ता शुभ अवसरमा हुड्के, दमाई, औजी आदि जाति विशेषद्वारा गाइने वीररस प्रधान भडा एवम् राइभाटहरूद्वारा गाइने सवाइ, आदि पर्दछन् । चरित्र गाथामा लोकजीवनमा सदाचार, शिष्टाचार र मर्यादालाई कायम राख्न असल आचरण निर्माण गर्ने अभिप्रायले धर्मशास्त्रमा आधारित आफ्नै लोकलय र शैलीमा जागर गायन, उत्सवहरूमा गाइने ढुस्को, धुमारी, चाली अन्तर्गतका सीताराम चैत, कृष्णको चैत आदि र प्रेमगाथा अन्तर्गत प्रेम प्रसङ्ग भएका रतेडा (रात्रि गीत) पर्दछन् । प्रेमगाथामा सरु–समेरुको प्रेमगाथा लोक प्रसिद्ध छ ।
    नारी सहभागिता सहितका लोकगाथाका केही उदाहरणहरू :


    को रे गैछ माताजीको डोरियाकी घाट
    को रे ल्यौँथ्यो पोटली (रातो कपडा)
    को रे ल्यालो घाँट तमरो
    को रे ल्यालो गाथ तमरो
    को रे ल्यालो कपडा तमरो
    माता तमरो कपडा प्रजाइ ल्याउलो
    माता तमरो गाथ प्रजाइ ल्याउलो  (त्रिपुरा सुन्दरी माताको सवार हुँदाका मागल)


     सुन्दर सुदूरपश्चिम क्षेत्र लोकसंस्कृतिको सागर हो । सागरको सम्पूर्ण पानी सानो भाँडोमा अटाउने प्रयास गर्नु असम्भव छ । देवगाथाका रूपमा नारीलाई गरिएको वर्णन अवर्णनीय छ । सीताको चैतमा रावणले सीताहरण गरे पश्चात् सीताले गरेको विलौना यस प्रकार रहेको छ ।


      हरि दैव हरि हौ नारायन
      पारीझा कुइडी काला लेक
      धेकन दे रामको देश
      धेकन दे दशरथ सौरा
      फाटिझा उकला धुरा


     सरु समेरुको प्रेमगाथा अनुसार भ्युँपाली ठाकुरकी छोरी सरु र जय बम्मको छोरा समेरुबीचको शुद्ध र पवित्र प्रेम कथा वासुदेव भाइसाबले ‘सुदूरपश्चिममा डोटी प्रदेशको लोकगाथा अवलोकन’ नामक कृतिमा संग्रहित गरेका छन् । कथा अनुसार सरुका काकाले चेवा गर्न पठाएका दूतहरूले समेरुलाई पिट्दै गणपति ठाकुरका घरमा बन्धक पारेपछि सरु विलाप गर्दै रुन्छे –


    जै वन काफल पाक्या उसैवन न्यौली । मन मेरो उदासिन्छ जन फूलै प्यौली ।।
    तन सरु झ्याल बसि वनतिर हेरी । आँखाबठे आँसु झारी गीत गौनी फिरी ।।


     गणपति ठाकुरको षड्यन्त्रमूलक चालमा फसेका सरु र समेरुको प्रेमगाथामा आधारित कथानुसार गणपति ठाकुर धनसम्पत्ति लिएर सरुलाई सुनपति सौकारसित विहे गर्ने धुनमा लागेको र सो कुरा सरुको चिठीबाट समेरुलाई थाहा भएपछि ऊ सिन्दुर, साडो लिएर तुरुन्तै घर फर्किन्छ र यसरी हृदय रस पोख्छ :


    वनचरीले घोल लायो तै लेकका धुरा । बलेको हृदय मेरो चक्कु लौ कि छुरा ।
    पनिउकी चन्द्रमा जसी तम रानी सरु । बैरी मेरा पाछा पड्या आब कसो गरु ।।


    घ) लोकगीत, नाटक र नृत्यमा महिला 
     डोटी प्रदेश लोकगीतको धनी हो, खानी हो । पूजाआजा, मेलापर्व, जात्रा, विवाह, व्रतबन्ध, घरखेत, वनवेत आदि विभिन्न ठाउँमा गाइने यी गीतहरूमा आफ्नै विशिष्ट मौलिकता रहेको पाइन्छ । यहाँका लोकगीतहरूमा भक्तिभाव र उल्लास पीडा लगायतका नवरस पाइन्छन् साथै ऐतिहासिक कथा कहानीलाई सुन्दर गेयात्मक लयमा वर्णन गरेर इतिहासका कुराहरू समेत खोतलेको पाइन्छ । यहाँका लोकनाटक र नृत्यहरूमा ऐतिहासिक विषयवस्तु र कलाको उपस्थिति रहेको पाइन्छ ।


     डोट्याली लोकगीतहरू अन्तर्गत डेउडा, ठाडोखेलका ढुस्को र धुमारी, वीरह गीत (वैरा), संस्कार गीत (फाग, सगुन), भक्तिगीत, कृषि गीत (भैनी, खेडी गीत), सँझेवाली गीत (भलौलो), सवाई गीत, छलीया गीत (ठोक, छेउटो), अँठेवाली गीत, भग्नेउला, बालगीत÷लोरी गीत, होरी गीत, चाँचरी गीत, भर्सो गीत, भुवा गीत, भैली गीत, रतेणा, सङ्गिनी गीत र विभिन्न लोक नृत्यहरूमा गाइने गीतहरूलाई समाविष्ट गर्न सकिन्छ । यी लोकगीतहरूमध्ये रतेडा, भग्नेउला, सवाई, वैरा आदि एकल रूपमा गाइन्छन् । लोकनृत्यहरूमा छलिया, पातर, किरपी, हुड्केली, ठाडोखेल, डेउडा, भुवा, सङ्गिनी, गोःरा (अठेवाली नृत्य), रनपुतला, बालो, धामी, धुलौटे, भैचम्पा, आदि नृत्यहरू पर्दछन् । त्यसैगरी लोकनाटकहरूमा भडा (भारत), बर्मो आदि प्रमुख रूपमा रहेका छन् ।
     उपर्युक्त गीत तथा नृत्यहरूमध्ये सङ्गिनी गीत र नृत्य, गौःरा नृत्य र अँठेवाली गीत, फाग÷सगुन (माङल गीत), रनपुतला नृत्य, भैचम्पा नृत्यहरूमा महिलाहरूको मात्र सहभागिता रहेको पाइन्छ । त्यसैगरी पातर नृत्यमा जाति विशेषकी महिलाले नृत्य प्रस्तुत गर्ने र समाजमा पातर शब्दलाई हेय दृष्टिले हेरिने तर नृत्यबाट मनोरञ्जन लिने परम्परा यस क्षेत्रमा व्याप्त छ । वास्तवमा पातर नृत्य प्रस्तुत गर्ने महिला एक उत्कृष्ट नर्तकी हो जाति विशेषकी महिला नाच्दैमा ऊ पातर होइन दोष दृष्टिमा छ, दोष सोचाइमा छ, दृष्टि र सोचाइमा परिवर्तन हुन आवश्यक छ । उ पातर होइन नाँच्ने पात्र हो ।


    ङ) गोःरा नृत्य र अँठेवाली गीत 
     गौराष्टमीका दिन गाइने भएर यस गीतलाई अँठेवाली गीत भनिएको र गीत सँगसँगै गोःरामा गौरी महेश्वरको प्रतीकलाई शिरमा राखेर सामूहिक रूपमा महिलाद्वारा प्रदर्शन गरिने नृत्य भएकाले गोःरा नृत्य भनिएको हुन सक्छ । शिव पार्वतीको लोकगाथामा आधारित गोःरापर्वमा अँठेवाली गीत गाउनु अघि महिलाहरू शिव ब्रह्मा, वेद, ब्राह्मण, गाई लगायत प्रमुख देवीदेवताहरूको उत्पत्ति र गौराको उत्पत्ति बारे फागहरू गाउँछन् । त्यसपछि मात्र गौराको प्रतीक पुतली वरिपरि घेरामा उभिएर विवाहित ब्रतालु महिलाहरू अँठेवाली गीत गाउँछन् । यस गीतमा गौराको जन्म रूपनारायणका घरमा हुनु, वडुभाटरूपी शिव गौरीलाई माग्न रूपनारायणको घरमा पुग्नु, उमा–महेश्वरको विवाह हुनु र त्यसपछि बालकको जन्म हुनु अनि बालकलाई खेलाउनु जस्ता रोचक प्रसङ्गहरूलाई लोकलय र सुमधुर स्वर प्रदान गर्दै आफ्नै विशिष्ट मौलिकता र परिवेश झल्किने गरी प्रस्तुत गरिएको पाइन्छ ।
     गौराको प्रतीक पुतली र महेश्वरको प्रतीक चौकाको वरिपरि कहिले उभिएर, कहिले झुकेर, कहिले गौरी महेश्वरका प्रतीकहरूलाई शिरमा राखेर महिलाहरू सामूहिक नृत्य गर्दै अँठेवालीगीत गाउँछन् :


    पैल्ला मास मैनारानी फूल भलो फुल्यो
    एकै दिन भइन रानी दुबै दिन भया ।
    (भाइसाबः२०६१)


    च) फागसगुन 
     कुनै पनि शुभ कार्य वा डोट्याली समाजमा विभिन्न समयमा हुने संस्कारहरू, पूजा–आजा, मेला–जात्रा, विवाह–व्रतबन्ध आदिका शुभ अवसरमा ती कार्यहरू सु–सम्पन्न गर्न गाइने माङ्गल गीतहरू नै फागसगुन हुन् । वैदिकमन्त्रको सेरोफेरोमा अभिव्यक्त यी फाग सगुन नारी–वेदका अंश हुन्, यिनीहरूमा लोकसाहित्यका अजर अमर गाथाहरू गाइनुका साथै जनजीवनका व्यवहारहरू, हर्ष र पीडाका हृदयस्पर्शी एवम् मार्मिक स्वरहरू प्रतिध्वनित भएका हुन्छन् । फाग नारी कोमल हृदयका मौलिक अन्तरवेदनाका स्वरलहरी हुन् । समग्रमा फाग सगुन नारीहरूद्वारा नारीहरूकै लागि सुख दुःख प्रतिध्वनित हुने गरि सिर्जना गरिएका वेदांश हुन् ।


    सगुन दिय सगुनाइका सराइ नीका बोल
    सुगन दे सरस्वती लगन दे बिरस्पति
    बोल नारिउँ सगुन बोल ।
    अघि चल्या गणपति पछा चल्या बिरस्पति
    चलि आया तेत्तिसकोटि देवा
    दाइनतिर सरस्वती बाउँतिर भागिरथी
    बोल नारिउँ सगुन बोल ।।   (भट्टः२०६७)
    विरुडा धुने बेलाको फाग –
    आजको पानी ब्वारि कति मोल पाइछै
    नबालिका पाट ज्यू हो कोव लोग्यानि बसिरैछ ।
    पाँचै पाण्डौ केदार चल्या
    छोटि छोटि वैना लागिन पछेट
     (घुगुति अंक ३)


     विवाह सु–सम्पन्न पश्चात् दुलही माइतीघरमा विदा हुँदा विछोड र एक्लोपनाको अनुभव वर्णन गरी भाव विह्वल पारिदिने फागहरू गाइन्छन् :


    काला लेक काला धुरा नाइझानु एकली 
    लाइ दे इजु पीठको भयालु साथ


    रनपुतला नृत्य 
     यस सु.प. क्षेत्रको अछाम बाजुरा जिल्लामा खेलिने यो नृत्यमा आइमाईहरू दुई समूहमा भएर कम्मरमा सेतो पटुका, छाती र कुमसम्म पहेँलो पोतिका झालर भएका कपडा लगाएर खेल्छन् । यसमा चेली पराई घर जाँदाका कारुणिक गाथा प्रतिबिम्बित भएका पाइन्छन् :


    रनपुतला हामी पोइल नैरे जाँदा
    रनपुतला तमले पोइल झनै पड्यो
     (पण्डितः२०६३)


    डेउडा गीत तथा नृत्य 
     घुमाउरो पाराका सवाल जवाफयुक्त देवगाथा, वीरगाथा एवम् सामाजिक अवस्थाको चित्रण गर्ने प्रेम सद्भाव र दुःख पीडा मुखरित गर्ने गीतहरूनै ड्यौडा गीत हुन् । डेउडा गीत हाल्ने नायक डेउडिया हुन् । एक जनाको हात अर्कोको हातसित जोडेर गोलो घेरामा डेउडा गीतलाई खेलिने खेल डेउडा नृत्य हो । चाडपर्व, विवाह, व्रतबन्ध जस्ता विभिन्न उत्सवहरूमा काली–कर्णाली खण्डको पहाडी भागमा प्रदर्शन गरिने यो संस्कृतिको साइनो भारतको कुमाउँ गढवालसम्म जोडिएको छ । देउडा खेलमा महिला डेउडिया (गिदारु) ले जोश जाँगरका साथ अनेकौँ हाउभाग प्रदर्शन गरी आफू पनि रमाउने र अरु खेलकाराहरू (डेउडा खेल्ने समूह) लाई पनि खेल्न र रमाउन प्रेरित गरिरहेका हुन्छन् ।


     समाजका प्रत्येक पक्षसँग डेउडाले मितेरी गाँसेको छ । एकातिर केटाकेटी, युवायुवती, बुढापाखा सम्पूर्ण उमेर समूहका नारी पुरुषहरू सामूहिक रूपमा डेउडामा झुमिरहेका पाइन्छन् भने अर्कोतिर वनपाखा, चौतारीहरूमा यहाँका युवतीहरू एकल रूपमा डेउडा गीतको माध्यमबाट मनका वहहरू पोखिरहेका हुन्छन् । साथसाथै डेउडा नृत्यमा सामाजिक असमानता, राजनीतिक पूर्वाग्रहिता एवम् विकृति र विसङ्गतिहरू विरुद्ध शब्दजालहरूबाट तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ । सुदूरपश्चिमका ग्रामिण जनजीवनमा भारी बोक्ने बाध्यता रहेको सहरतिर मोटर सुविधा पाउनुलाई डेउडा मार्फत यसरी व्यक्त गर्दछन् .

     
    भाग्यि चेला मदुराश गाडी घुईकौनन्
    अभागी पहाडका कुना बोजा चुइँकौनान् ।
    वैरा (विरह गीत) 


     वैरा गीतको माध्यमबाट महिलाहरू वनपाखा गएका बेला एक्लै गीत गाएर प्रदेशी पतिको सम्झना, प्रेम प्रसङ्ग, घरेलु पीडा, दुःख वेदना, जस्ता विषयवस्तुहरू समेटी आफ्ना मनका भावनाहरू अभिव्यक्त गर्दछन् ।


    साननैको हलो भाँडो, साननैका सैला 
    दुःख त संसार छन, मेरा दुःख गैला 


    सँझेवाली : साँझपख घरघरमा महिलाहरूले गाउने यस सँझेवाली गीतका माध्यमबाट समाजमा शुद्धता, सरसफाइ, मधूरवाणी र शीलस्वभावको महŒव बोध गराइएको हुन्छ । यसका रचियता र प्रस्तोता महिलाहरू नै हुन् ।


    साँझ सँझेवाली कैकि दुवार ?
    जै घर लिपनि घसनी तै घर लेलि अवतार


    भैनी (कृषि गीत) : खेतमा श्रम गर्दा कोदो धान रोप्ने बेला यस क्षेत्रका महिलाहरू भैनी गीत गाउँछन् ।


    ए तितरीका खोला मुण तिता सौनानी, खुदीका बगड मुण लछु पणार
    आँखीरे कटक देलो लछु पणार, पिछोडी सपुको देली तिता सौनानी
    .......................................................


    भगनेउला : डोटी प्रदेशको एउटा प्रमुख गायन पद्धति जसमा गायकले बीच–बीचमा साना–साना लघुकथाहरू भन्ने अनि सिंगारिकताले भरिपूर्ण तर हाँस्यरस भएका महिला वा पुरुषले फुर्सदका बेला मनोरञ्जनका लागि गाउने गीत नै भगनेउला वा भगन्यौला गीत हुन् । उदाहरण :


    वासि झालो ग्यूँलो
    मुखडि की वलाई ल्यूँलो
    गाली क्याई द्यूँलो  (भाइसाब : २०६५)


    बाल गीत र लोरी गीत : साना बालबालिकाहरूलाई फकाउन वा बालबालिकाले खेल्ने क्रममा नाच्दै उफ्रिदै गाउने गीतहरू बाल गीत हुन् भने साना शिशुहरूलाई फकाउन र सुताउन महिलाहरूले लोरी गीत गाउने गर्दछन् । डोटी क्षेत्रका आफ्नै मौलिक किसिमका बाल गीतहरू अन्तर्गत च्यूँ मुसि च्यूँ, धम्मर धुस्सी, हा चडी हा, धन पुतली धान दे, का कौवा का, धिरधिर पत्ता लगायत आदि पर्दछन् ।


    बाल गीत : 

    च्यूँ मुसी च्यूँ
    घट्ट को ब्यूँ
    बाडी बुकौछ ।
    चाल्लो लौटौछ 
    सिन्टोल्या ढाडीको ढाडी कोत्या .............. कोत्या


    लोरी गीत :

    खेल दरी दरीको दरी
    खेल खेलौला बरिखा भरि
    बाँची रेइ मैना वर्ष भरि
    खेल दरी दरीको दरी


     यसैगरी गोःरामा महिलाहरू उमा महेश्वरको विवाह पश्चात् बालक गणेशको जन्म भएको कुरा स्मरण गर्दै बालकको पुतला बनाई यस प्रकारको लोरी गीत गाउँछन् ।


    हल्लोरि वाला कल्लोरी
    यो मेरो वालो लिसिनी लोट्यो
    ज्यू हौ लिसिनी लोट्यो
     
    वसन्त गायन र चाँचरी : वसन्त ऋतुको आगमनसँगै चैत्र महिनामा जात विशेषका पुरुषहरूले चैत, भडा र ऋतु वर्णन तथा वर्मो गाउने गर्दछन् र महिलाहरूले गायनमा साथ दिँदै नृत्य प्रदर्शन गर्दछन् । मेला पर्व र उत्सवहरूमा महिला–महिला, पुरुष–पुरुष वा महिला–पुरुष अर्धवृत्तमा समूह बनाएर चरित्र चित्रण हुने गरी चाँचरी गीत गाउँने गर्दछन् ।


    ७. निष्कर्ष
     जसरी नारी र पुरुष बिना जीवन सम्भव छैन त्यसै गरी लोकवार्ताको क्षेत्र पनि नारी बिना अधुरो मात्र होइन असम्भव पनि छ । यस क्षेत्रको भौतिक लोकवार्ता अन्तर्गत लोक जीवनका विविध पक्षमा महिलाहरुको उल्लेख्य भूमिका रहेको पाइन्छ । यस क्षेत्रको कृर्षि कर्म, धर्म, संस्कृति, परम्परा, ज्ञानविज्ञान एवम् समाजका विविध क्षेत्रमा महिलाहरुको उल्लेख्य योगदान रहेको छ । यस क्षेत्रको लोक साहित्यमा पनि महिलाहरुको विशेष भूमिका रहेको छ । तत्कालीन समयका लागि बनाइएका नियम कानुन एवम् लोक संस्कार अहिलेका लागि रुढी भए पनि त्यसमा भएका सकारात्मक पक्षको खोजी गर्न सके वर्तमान आधुनिक समाजका लागि पथपर्दशक बन्ने कुरामा दुईमत छैन । 


    सन्दर्भ सामग्री
    अधिकारी, रेशमराज र हरिहर घिमिरे, (२०६५) नेपाली समाज र संस्कृति, भोटाहिटी, काठमाडौँ, विद्यार्थी पुस्तक भण्डार 
    अमात्य, डा. साफल्य(२०५४) राजसत्ता र नेपाली संस्कृति, साझा प्रकाशन 
    ओझा, आत्माराम (२०६५) सु.प. को इतिहास परिचय
    जोशी, पद्मराज (२०५९) गौरा पर्व एक परिचय (पूजा–पद्धति–सहित) धनगढी, प्रशंसा संरक्षण
    निउरे ध्रुवप्रसाद (२०७५) अनुसन्धान पद्दति, क्वेष्ट पव्लिकेशन
    पण्डित, तुलसीप्रसाद (२०६३) सेतीमहाकालीका चाडपर्व र लोकसाहित्य, लेखक स्वयम् 
    भट्ट, पंचमराज, (२०६७) पुख्र्यौली, ईश्वरीदत्त भट्ट 
    भाइसाब, बासुदेव (२०६१) डोट्याली लोकसंस्कृति र लोकसाहित्य, कर्णाली बुकडिपो 
    भाइसाब, बासुदेव (२०६३)सुदूरपश्चिम, डोटी प्रदेशका लोक गाथा अवलोकन,महाकाली साहित्य सङ्गम 
    भाइसाब, बासुदेव (२०६५) डोटी प्रदेशको लोकवाङ्मय कोश, साझा प्रकाशन ।
    घुगुति, गोःरा विशेषाङ्क, अङ्क ३ 

     

     

     




    प्रतिक्रिया दिनुहोस