बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

डोट्ली लोकसमुदायमा भेटाउलो र सहदेव बालाको भडामा भाइबहिनीको सम्बन्ध 


शनिबार, चैत ४ २०७९
  • 279
    Shares

  • images
    images
    डोट्ली लोकसमुदायमा भेटाउलो र सहदेव बालाको भडामा भाइबहिनीको सम्बन्ध 
    images
    images


    नेपालको वर्तमान सदूरपश्चिम तथा भारतको कुमायू गडवालका केही क्षेत्रलाई पुराणमा मानसखण्डका नामले वर्णन गरेको पाइन्छ । नेपाल र भारत फक देश भए पनि सांस्कृतिक रुपमा यस क्षेत्रमा सिङ्गो मानस संस्कृति मौलाएको पाइन्छ । यस क्षेत्रमा आफ्नो मौलिक संस्कृति र लोकसाहित्य रहेको पाइन्छ । यस क्षेत्रमा हिन्दु संस्कार बाहेक ऋतु र महिना अनुसार फरकफरक चाँडबाडका साथै विविध सांस्कृतिक उत्सवहरु मनाउने प्रचलन रहीआएको छ । चैत्र महिना पनि मानसी समुदायको एक महत्वपूर्ण महिनाका रुपमा रहीआएको पाइन्छ । यस क्षेत्रमा चैत्रको महिनालाई विशेष गरी दिदी बहिनी भेट्ने महिनाका रुपमा चिन्ने गरिन्छ भने यसै महिनामा यस क्षेत्रमा डोट्याली संस्कृतिको विशेष प्रस्तुति एवम् प्रचलनका रुपमा भड़ा (हुड्केली) प्रस्तुत गर्ने गरिन्छ । 
    यस समुदायमा भाइबहिनीको सम्बन्ध र महत्वलाई संस्कृतिसँग जोडेर महत्वपूर्ण बनाएको पाइन्छ । विशेष गरी यस महिनामा दिदीबहिनी भेट्ने गरिन्छ । खास गरी दाजुभाईले बहिनी भेट्ने चलन भए पनि यदि दाजुभाई नभएको अवस्थामा घरका अन्य सदस्यले पनि भेटघाट गर्ने पर्ने सांस्कृतिक अनिवार्यता यस समुदायमा रहेको पाइन्छ । विवाह भएर कर्मघरमा गएकी दिदीबहिनीहरुलाई मिठामिठा पकवान तथा लुगा कपडा लगेर दाजुभाइ तथा  घरका अन्य सदस्यले भेट्न जाने चलन यस समुदायमा रहेको पाइन्छ । विशेष गरी चैत्रको महिनामा पहिलेपहिले भोक हुने (अन्न) अभाव हुने भएकाले आमाले छोरीका लागि खाना सहित दिदीबहिनीलाई भेट्न दाजुभाइहरुलाई पठाउने गरेको हुनुपर्छ । डोट्याली लोकसमुदायमा आरुपाइ आरु फुलाई जन आया बाबा भन्ने उखानबाट पनि के प्रमाणित हुन्छ भने आरु लगायतका फलहरु फुल्ने समयमा अन्नको अभाव हुने हुँदा आफन्तले आएका उनीहरुको स्वागतका लागि के खान दिउला भनेर छोरीहरुले यसो भन्ने गरेको हुनुपर्दछ । यसकारण आमाहरुले आफ्नी छोरीहरुका लागि युस महिनामा मिठामिठा खानेकुरा तथा लुगाकपडा पठाउने चलन पहिलेदेखि नै रहीआएको छ । 
    यस महिनामा विशेष गरी परम्परागत रुपमा यस क्षेत्रमा पकाइने लोकपरिकार लौन, सेल, बटुक, माणा र भान्छा खानेहरुका लागि गहुँको पिठो घिउमा भुटेर गुड हाली बनाएको पिञ्जरी भेटाउलो (कोशेली) का रुपमा लग्ने प्रचलन रहेको पाइन्छ । यस महिनामा दिदी बहिनीहरु दाजुभाइ भेट्न आउलान भनेर आस मानी बसिरहने र भेट्न आउँदा ल्याएको कोशेली छिमेकी सबैले बाडेर खाने प्रचलन रहेको पाइन्छ । यो महिना दाजुभाइ नहुने बहिनीहरुका लागि अति नै हृदयविदारक हुने, उराठिलो हुने गर्दछ । यसकारण यदि आफ्नो सहोदर दाजुभाइ नभए पनि नजिकका दाजुभाइले बहिनीहरुलाई निराश नपार्नका लागि भेट्न जाने चलन रहेको छ । यस समुदायमा दिदी बिहिनी नभएको दाजुभाइलाई अभागीको रुपमा हेर्ने गरिन्छ ।  
    डोटेली लोकसाहित्य एवम् आधुनिक साहित्यमा पनि चैतको महिना भेटाउलोसँग सम्बन्धित थुप्रै कथा, गीत एवम् प्रसङ्गहरु रहेको पाइन्छ । विशेष गरी डोटेली लोकसाहित्यमा सदेउबालाको भडामा पनि भाइबहिनीको सम्बन्धलाई बडो मार्मिकताका साथ प्रस्तुत गरेको पाइन्छ । गोरीधाना र सदेउ बालाको जीवनमा घटेका घटनाहरुलाई डोट्याली लोकसाहित्यको भडा र बातइका रुपमा पनि प्रस्तुत गर्ने गरिन्छ । भानदेव नामका राजाले आफ्नी रानी रत्नालाई गर्भवती अवस्थामा नारिङ (सुन्तला) खान मन लागेको र रानीको इच्छा पुरा गर्न उनी नागवंशको राज्यमा गएर राजाको बगैचामा गइ सुन्तला टिप्न लाग्दा राजाका पहरेदारहरुले उनलाई पक्रेर राजाकहाँ लगेका र राजाले आफ्नी रानी गर्भवती भएकाले उनको इच्छाच पुरा गर्न धेरै टाढाबाट फल लिन आएको कुरा सुनाए । यसरी दुबै राजा भएकाले उनीहरुमा मित्रता भयो । ती दुबै राजाका रानी एकै समयमा गर्भवती अवस्थामा रहेकाले यदि तिम्रो छोरी भए मेरो छोरासँग विवाह गर्ने र मेरो छोरी तिम्रो छोरा भए तिम्रो छोरासँग विवाह गर्ने, यदि दुबै छोरा या छोरी जन्मे एकआपसमा मित्रता गास्ने भन्ने वचनबद्धता गरी घर फर्केको कथा आउँछ । घर फर्केपछि यता राजाको घरमा कन्या (गोरीधना) र उता नागवंशका राजाको घरमा छोरा जन्मेको र पुरानो वाचा अनुसार उनीहरुको विवाह भएको पाइन्छ । यता राजा भानदेवको घरमा उक्त छोरीको विवाह पश्चात् १४ वर्षपछि अर्को छोरो जन्मिछ र छोरालाई आफ्नी बहिनी छ भन्ने कुरो बताइएको हुँदैन । नागवंशमा बहिनीको विवाह भएको थाहा पाए भेट्न जाँदा नागहरुले मारिदेलान भन्ने डरले उक्त कुरो सहदेवबालालाई बताएको थिएन । सहदेउ बालो ठूलो भएपछि गाईवस्तु चराउन जान्थ्यो, साथीहरुले उसलाई बिना दिदीबहिनीको भनेर जिस्क्याउने गर्दथे । यसरी चैतको महिनामा दिदीबहिनी नभएको भनेर जिस्क्याउँदा उसको मनमा चोट प¥यो र घर आएर आमालाई सोध्न थाल्यो । धेरैबेरसम्म त उनले बताएनन जब उसले खानपिन समेत छोड्ने कुरा ग¥यो तब आमाले उसलाई तिम्री दिदी छिन्, तिमी जन्मिनुभन्दा पहिले नै उसलाई नागवशंमा विहे गरेर पठाएको भनी सबै वृत्तान्त सुनाउँछन् । यसरी सबै कुरा थाहा पाएपछि खुसी हुँदै चैत्रको महनिामा दिदी भेट्न जाने भन्दै ऊ नागराजाको राज्यमा जान्छ । कोट नजिक पुगेपछि मिठो स्वरमा बासुरी बजाउँछ । उसले बजाएको बासुरी गोरीधना र उसकी नन्दु भागाले सुन्छिन् ।  गोरीधनाले माइती देशमा बजाउने बासुरीको स्वर सुन्दा मेरो कुनै माइती मलाई भेट्न आएको हुनुपर्छ भनी अनुमान लगाइन र आफ्नी नन्दु भागालाई पनि सो कुरा सुनाइन । उनी बासुरीको स्वर नजिक पुगेपछि सुकुमार कलिलो केटो आफ्नो भाइ भएको थाहा पाउँछिन् र दिदीभाइको भेट हुन्छ । उनले भाइलाई नागबाट बचाएर घरभित्र लुकाएर राखिन । कालीनागले मान्छेको जस्तो बास्ना आयो को छ घरभित्र भनेर सोध्दा उसलाई नमार्ने वचन बद्धता सहित सबै घटना सुनाएर भाइ भेट्न आएको कुरा सुनाउँछिन् । उनले भिनाजुसँग भेटाउँछिन् । सहदेउ बालाले दिदी बोलाउन आएको भनी अनुनय गर्दा दिदीलाई लग्न भने । उता उसकी नन्दु भागाले नागलाई एकातिर लगी भाइ हो कि होइन खाली विश्वास गर्नुहुन्छ भनी अनेक कुरा लगाएर राजालाई क्रेधित बनाइ घरभन्दा पर बाटामा तलवार हानी दुबै दिदीभाइलाई मारेको कथा यसमा आउने गर्दछ । 
    यसरी यस कथामा भाइबहिनीको सम्बन्धलाई देखाउन खोजेको छ । यसै गरी दिदीको बिहेमा पनि यस समुदायमा भाइले दिदीलाई पुगाउन जाने चलन रहेको पाइन्छ । डोट्याली भाषाको लोकसाहितय र आधुनिक साहित्यमा पनि भाइबहिनीका प्रसङ्ग तथा सम्बन्ध भएका थुप्रै सात्यिको रचना भएको पाइन्छ । यसरी चैतको महिना यस लोकसमुदायमा विशेष महत्वको रहेको पाइन्छ ।   


  • सम्बन्धित विषय:

  • # भेटाउलो
  • # सहदेव


  • प्रतिक्रिया दिनुहोस
    images