हिङलो देवीलाई मन पर्ने खेलको साधन हो । नेपालीमा पिङका नामले चिनिने हिङलो विशेष गरी काठका दुई लामा खम्बा गाडेर फलामको मोटो साङल (चेन) द्वारा निर्माण गरिएको हुन्छ । विशेष गरी सुदूरपश्चिममा अवस्थित देवीका मन्दिरहरुमा हुने गर्दछ । साल, तथा देवद्यारका काटबाट बनाइने हिङलो विशेष गरी केटाकेटीहरुले खेल्ने गर्दछन् । परापूर्वकालमा देवी गौराले हिङलो खेल्ने गरेको कुरा यस क्षेत्रमा गौरा पर्वको अवसरमा प्रस्तुत गरिने अठ्यावालीमा पनि आउने गर्दछ । देवी गौराले आफ्नो बाल्यावस्था एवम् किशोरवस्थामा हिङलो खेलेको प्रसङ्ग अठ्यावालीमा आउने गर्दछ । उक्त प्रसङ्गमा देवीलाई खुसी पार्न उनको बाल्यकाल एवमे किशोरावस्थामा उनले खेल्ने गरेको हिङलो र हिङलोमा झुल्दाझुल्दै आफ्ना पनपर्ने परिकारहरु समेत खाने गरेको प्रसङ्ग अठ्यावालीमा यसरी आयउने गर्दछ ः
भाइर भितर लोली हिङलो खेलन्नी
पाटकी पटोलो पैरी हिङलो खेलन्नी
दही दुध खान्नी लोली हिङलो खेलन्नी
मही फल खान्नी लोली हिङलो खेलन्नी
यसै गरी गौरादेवीले कुनकुन देवताको हिङलो खेल्ने भन्ने प्रसङ्गमा पनि आफ्ना इष्टकुल देवता लगायत स्थानीय शिवरुपी देवताहरुको हिङलो खेल्ने गरेको कुरालाई पनि अठ्यावालीमा यसरी प्रस्तुत गरिएको पाइन्छ ः
हिङलो खेलन्नी माय हिङलो खेलन्नी
कसु न देवताइको हिङलो खेलन्नी
निङलाशैनी मायको हिङलो खेलन्नी
महारुद्र देवताइको हिङलो खेलन्नी
ससीलिङ्ग देवताइको हिङलो खेलन्नी
यसरी आफ्नो स्थानीय देवता तथा आलकेरभित्रका शिवशक्ति स्वरुप देवताहरुको हिङलो खेलन्नी भनेर अठ्यावालीमा गौराले खेल्ने हिङलोका बारेमा सुन्दर तरिकाले प्रस्तुत गरिएको पाइन्छ ।
डोट्याली लोकसाहित्य अन्तर्गत रहेको लोकपद्य अठ्यावालीमा गाइने गाथाहरुबाट के प्रष्ट हुन्छ भने हिङलो देवीले खेल्ने महत्वपूर्ण साधन हो र यो लोकपरम्पराबाटै हाम्रो समाजमा रहेको पाइन्छ ।
बैतडीको देहिमाण्डौँ स्थित सातबहिनी भगवतीमध्ये जेठी बहिनीका रुपमा मानिदै आएकी निङलाशैनी मन्दिरमा पनि धेरै पहिलेदेखि नै हिङलो राखिएको पाइन्छ । यस मन्दिरको अगाडिपट्टिको चौरमा धेरै अगाडिदेखि नै हिङलो स्थापना गरिदै आएकोे पुराना पुस्ताका मानिसहरु बताउने गर्दछन् । यस मन्दिरमा अवस्थित हिङालो देवीको खेलसाधनका रुपमा प्रचलित भएकाले जुताचप्पल लगाइ त्यसमा कसैले पनि चढ्न नहुने लोकविश्वास रहेको पाइन्छ । धरै पहिलेदेखि रहेको हिङालोको केटाकेटी तथा युवायुवतीहरुले खेलेर मनोरञ्जन गरिदै आएको पाइन्छ । यस मन्दिरमा अवस्थित हिङालोमा एकल वा जोडीमा खेल्न सकिन्छ । एक जनाले हुइचाउने र एक वा दुई जनाले हिङालो खेल्ने गर्दछन् । हिङालोलाई ढिक्कीका रुपमा पनि खेल्न सकिन्छ । खुट्टाको सहायताले ढिक्कीजस्तै सानो रुपमा तलको भाग मात्त झट्का दिएर हल्लाइ मनोरञ्जन गरि खेल्नुलाई हिक्की लाउनु भनिन्छ । यस मन्दिरमा रहेको प्राचीन हिङालो विगत केही वर्ष यता खम्बाहरु बर्षादको पानीले सड्न थालेको र फलामो बस्ने भाग पनि बिग्रएकाले बन्द अवस्थामा रहेको थियो । उक्त हिङलोलाई पुनः सञ्चालनमा ल्याउन स्थानीय युवाहरुले अनलाईन अभियान सञ्चालन गरी सबैको आर्थिक सहयोगबाट आज चैत्र घटस्थापनाको दिन पुनः स्थापना गरेको छ । यस हिङालोले एकातिर यस क्षेत्रको प्राचीनतालाई जीवित राख्नेछ भने अर्कोतिर केटाकेटी तथा युवायुवतीहरुले खेलेर समेत मनोरञ्जन गर्न पाउने छन् । यो एक खेलको साधन मात्रै नभएर देवीको खेल्ने साधको प्रतीकका रुपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसैगरी यस क्षेत्रको पर्यटकीय सुन्दरता बढाउनुका साथै पर्यटकहरुलाई आकर्षण गर्नमा समेत यसले महत्वपूर्ण योगदान गर्ने स्थानीयहरु बताउँछन् ।