एजेन्सी । १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति सम्पन्न खेलमा गत विजेता गुजरात टाइटन्सलाई डक वर्थ लुईस (डिएलएस) पद्धतिमा ५ विकेटले हराउँदै पाँचौंपटक आइपिएल उपाधि जितेको छ ।
योसँगै चेन्नईले मुम्बई इण्डियन्सको रेकर्ड बराबरी गरेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । मुम्बईले पनि हालसम्म पाँचपटक आइपिएल ट्रफी उचालेको छ ।
उपाधिसँगै चेन्नईले २० करोड भारु पुरस्कार जितेको छ । यस्तै, उपविजेता गुजरातले १३ करोड भारुमा चित्त बुझाएको छ । घरेलु टोली गुजरातले लगातार दोस्रोपटक उपाधि जित्ने मौका गुमायो । फाइनलमा नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो ।
पहिलो इनिङ सकिनेबित्तिकै पानी पर्दा चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य प्राप्त गर्यो । उसले यो लक्ष्य १५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि डेभन कन्वेले ४७, अजिंक्य रहाणेले २७, शिव दुबेले अविजित ३२, ऋतुराज गायकवाडले २६, अम्बाती रायडूले १९ र रवीन्द्र जडेजाले अविजित १५ रन बनाए । गुजरातका लागि मोहित शर्माले ३ र नूर अहमदले २ विकेट लिए । त्यसअघि गुजरातका लागि ब्याटिङमा साई सुदर्शनले उत्कृष्ट पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए ।
यस्तै, ऋद्धिमान साहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको इनिङ खेले । शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्ड्याले अविजित २१ रन जोडे । चेन्नईका लागि मथीशा पाथिरानाले २, रवीन्द्र जडेजा र दीपक चाहरले १र१ विकेट लिए ।
.gif)