शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकसमुदायमा बटुल्या पूजा


आइतबार, असार ३ २०८०
  • 967
    Shares

  • images
    images
    डोट्याली लोकसमुदायमा बटुल्या पूजा

    डोट्याली लोकसमुदाय सांस्कृतिक रुपमा आफ्नो छुट्टै विशिष्ट पहिचान बोकेको समुदाय हो । यस क्षेत्रको लोकजीवनको अध्ययन गर्ने हो भने बृहत् अध्ययनको आवश्यकता पर्दछ । यस क्षेत्रको लोक जीवन र लोकसंस्कृतिले आफ्नो छुट्टै मौलिक पहिचान बोकेको छ । यस क्षेत्रको खानपिन, भेषभुषा, रहनसहन, पेशाव्यवसाय, चाँडपर्व, संस्कार, लोकसाहित्य एवम् समग्र जीवनशैलीले यहाँको संस्कृतिलाई समृद्ध बनाएको पाइन्छ ।  यस समुदायमा जन्मदेखि मृत्यु प्रयन्तका विविध संस्कार, विभिन्न चाडपर्व, मेला जात्रा लगायत लोकवार्ताका विविध विषयमा आफ्नै विशिष्ट मौलिक परम्परा रहिआएको छ । त्यही लोकपरम्परा मध्ये देवताहरुको पूजा गर्ने परम्परा पनि एक हो । यस क्षेत्रमा फुटिलिङ्ग (स्वयम्भु अर्थात प्राकृतिक रुपमा त्यही अवस्थित शीला) र थापिलिङ्ग (स्थापना गरेका शीला) हरुलाई प्राकृतिक रुपमै पूजा गर्ने प्रचलन रहेको छ । देवताहरुमा पनि शिखरबासी (शिवस्वरुप केदार आदि देवताहरु) मसान बासी (शिवस्वरुप मसानबासी देवता) मसानी (ठूला देवताहरुका वीरबेतालादि देवता), भुम्या (भूमिका देवता) जलरुपी (विभिन्न नदी तथा जलयुक्त तीर्थस्थलमा रहेका देवता) पिजास (देवत्व रुप ग्रहण गरेका पितृदेवता) लगायत परम्परादेखि स्थापित देवीदेवताहरुको पूजा अर्चना गर्ने प्रचलन रहेको छ । यी देवताहरुको पूजा अर्चनाका लागि लोकप्रचलन अनुसार निर्धारण गरिएका पर्वहरुमा पूजा हुने गर्दछ । पूजन पद्दति पनि मौलिक प्रकृतिको हुने गर्दछ । यस्तै देवीदेवता पूज्ने परम्परामा बटुल्या पूजा पनि एक हो । 
    शाव्दिक रुपमा बटुल्याको अर्थ बाटाको देवता भन्ने हुन्छ । विवाह पश्चात् कर्मघरमा प्रवेश गरेकी बुहारीले बटुल्या देवता पुज्ने चलन यस समुदायमा रहेको पाइन्छ । यद्यपि विवाहकै दिन पनि माइतिघरबाट केटाको घरमा पुग्दासम्म बाटोमा परेका र नजर परेसम्मका सबै देवतालाई कन्याले माइतिघरबाट ल्याएको अक्षताले पूजा गर्दै आउने र वर पक्षबाट ल्याएको ध्वजा समेत चढाउँदै आउने परम्परा यस समुदायमा रहेको पाइन्छ । यति मात्र नभएर विवाह पश्चात् पनि छोरीले कुनै समय पनि माइतिघर आए घर फर्कीने बेला माइतिपक्षले देली (घरको मूल ढोका) पूजा गर्न लगाइ आँगनबाटै चारै तिरका देवी देवता पूजा गर्न लगाइ पठाउने गरिन्छ । रुमालमा बाटोमा परेका देवताहरुलाई पनि पुज्दै घर फर्किने चलन यश समुदायमा रहेको छ । बटुल्या पूजा चाहिँ  विवाह सम्पन्न भएपछि दोस्रो तेस्रो उपयुक्त दिन (शनि र मंगलबार बाहेक) पारी बिहे हिडेकै बाटो पारी घर नजिकैको बाटोमा रहेको कुनै एक रुखको फेदमा शीला स्थापना गरि पूजा गर्ने चलन छ । 
    बटुल्याका लागि शुद्ध स्थानमा रहेको रुखको फेदमा शीला स्थापना गरी अभिशेष, हवन, पूजन गरी भोजन बनाएर देवतालाई भोग लगाउने चलन रहेको छ । बटुल्या पूजामा विशेष गरी देवरलाई भोजन गराउने चलन रहेको छ । यसरी बटुल्या पुजन गरी तिलक प्रसाद लगाइ देवरलाई भोजन गराइ बटुल्या पूजा सम्पन्न हुने गर्दछ ।  बटुल्या पूजामा पकाएको भोजन बचेमा घर ल्याउनु नहुने र घर फर्किदा पछाडि फिर्ता नहेर्ने मान्यता यस समुदायमा रहेको छ । यसरी बटुल्या पूजा यस समुदायको मौलिक संस्कृति हो ।




    प्रतिक्रिया दिनुहोस