शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोकसमुदायमा औराद


सोमबार, असार ४ २०८०
  • 1.2K
    Shares

  • images
    images
    डोट्याली लोकसमुदायमा औराद

    डोट्याली लोकसमुदायमा स्थानीय देवीदेवतालाई प्रसन्न पार्न धुनी जगाएर दिनरात मन्दिरमा देवताको ध्यान गर्दै बस्ने कार्यलाई औराद भनिन्छ । औराद शव्द अहोरात्रबाट बनेको हो जसको अर्थ पुरा रात्री भन्ने हुन्छ । यसरी हेर्दा रातभरी धुनी जगाएर देवताको ध्यान गर्दै मन्दिरमा बस्नुलाई औराद बस्नु भनिन्छ । एक रात बसे औराद, तिन रात बसे तेराद भनिए पनि कालान्तरमा देवीदेवताहरुर्ला प्रसन्न पार्न ब्रत बसेर मन्दिरमा बस्नुलाई औराद भनिन्छ । औराद जुनसुकै समयमा बस्न मिल्ने भए पनि पुषको औराद र माघको स्नान भन्ने उक्ति अनुसार पुस महिनाकै औरादलाई विशेष महत्वका साथ लिने गरिन्छ । 
    औराद बस्नका लागि सबैभन्दा पहिले पाँच सात दिन अघिबाट नै बह्मचर्य धारण गरी सात्विक भोजन गर्नुपर्ने मान्यता रहेको छ । औराद बस्ने दिन स्नानशुद्धि भएर शुद्ध परिधानमा मन्दिरमा जाने र सर्बप्रथम मन्दिरमा देवताको दर्शन गरी बत्ती जगाइन्छ । उक्त बत्तिको पूजा गरी धुनी जगाएर धुनी पूजा गरी जुन देवताको मन्दिरमा औराद बसेको हो उनै देवताको ध्यान गरी दिनरात बसिरहनु पर्दछ । जति दिन पनि औरादका लागि बसियो उक्त दिनसम्म निराहार बस्नु पर्दछ । दैनिक बह्म मुहुर्तमा उठेर शौचादि स्नान शुद्धि भइ धुनी नजिक देवताको ध्यान गरी बस्नु पर्दछ । औरादमा पहिलेपहिलेका हाम्रा पुर्खाहरुले पानी समेत नपिएर बसेका कुरा पनि सुन्नमा आउँछन् तर हाल आएर जल तथा सामान्य फलाहार गर्ने गरेको पाइन्छ । औरादमा कुनै शास्त्रयि विधि र कर्मकाण्डीय प्रचलन नरहेको केवल मनमा भगवानको ध्यान गरी बस्ने गरिन्छ । पहिले पहिले औराद बस्दा जबसम्म देवताले सपना वा अन्य कुनै लक्षणद्वारा दर्शन दिदैनन् तबसम्म त्यहाँबाट नउठ्ने भन्ने पनि मान्यता राखिन्थ्यो । औराद किन बस्ने भन्ने सन्दर्भमा सबैभन्दा पहिलो कुरो त देवतालाई खुसी पार्न नै हो । विभिनन कामना पुरा गर्न र पुराना गल्तिहरुको प्रायश्चित्तका लागि पनि औराद बस्ने गरिन्छ । कुनै देवीदेवताबाट केही बर माग्नका लागि औराद बस्ने प्रचलन यस क्षेत्रमा धेरै पहिलेदेख चल्दै आएको हो ।
     हिन्दुमान्यतामा सन्तानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । पहिलेपहिले कुनै दम्पत्तकिा सन्तान भएनन् भने सन्तानको वर माग्न देवताहरुको मन्दिरमा औराद बस्ने गरिन्थ्यो । त्यसैगरी अन्य विविध मनोकामना पुरा होस् भन्नका लागि पनि औराद गर्ने गरेको पाइन्छ । यदि आफ्ना जीवनकालका तथा पितृहरुका दोषको निवारण, गर्नका लागि पनि औराद बस्ने प्रचलन रहेको छ । यसका लागि देवताका धामीले बताए अनुसार फलानो देवताको मन्दिरमा यति दिन औराद बस्नु भनेपछि यसरी औराद बस्ने गरिन्छ । त्यसैगरी घरमा अशान्ति मच्चिएमा, कुनै देवीदेवताको दोष देखिएमा यदि कतैबाट बाटो मिलेन भने त्यतिबेला पनि आफ्ना इष्टकुल देवताको मन्दिरमा औराद बस्ने गरेको पाइन्छ । औराद बस्दा प्राप्त सपना आदिका लक्षण अनुसार कार्य गरे उक्त कार्य सफल हुने लोकविश्वास यस समुदायमा रहेको पाइन्छ ।  विशेष गरी ठूला देवता र आफ्ना इष्टकूल देवताको मन्दिरमा मात्र औराद तथा धुनी जगाउनु पर्छ भन्ने मान्यता यस समुदायमा रहेको छ । धुनी दिनुलाई यस समुदायमा सबैभन्दा ठूलो भक्ति वा स्या गरेको मान्ने प्रचलन रहेको छ । औराद समाप्त भएको दिन सम्भव भए त्यस देवताको धामीबाट वाणी माग्ने र आर्षिवाद लिने गरिन्छ भने यदि त्यसो सम्भव नभए आफैले चढाएका फूलअक्षतालाई प्रसादका रुपमा ग्रहण गर्नुपर्दछ ।  
    औराद एक प्रकारको ध्यान योग हो । सांसारिक कोलाहलबाट टाढा भएर शान्त वातावरणमा धुनी ताप्दै आफ्ना इष्टकुलको ध्यानमा बसेर मनको शान्ति लिने प्रक्रिया भएकाले यसलाई योगकै एक रुपमा मान्न सकिन्छ । औरादलाई एक मनोवौनिक शान्तिको रुपमा पनि लिन सकिन्छ । त्यसैगरी पुसको चिसो महिनामा धुनी तापेर त्यसले शरीरलाई गर्ने फाइदा पनि एक महत्वपूर्ण कुरा नै हो । हाम्रा ऋषिमुनीहरुले अमृतम् शिषिरो वहनी भनेर पुस माघ महिनाको आगोलाई अमृतका रुपमा लिएको पाइन्छ । अग्निको सेकाले शरीरका विभिनन रोगहरु निको हुने कुरा पनि आयुर्वेदिक चिकित्षामा वर्णन गरेको पाइन्छ ।  कतिपय परम्परागत प्रचलनहरुमा आजको आँखाले रुढीवाद देखेपनि तिनीहरुको राम्रोसँग अध्ययन गर्ने हो भने तिनमा  कुनै न कुनै वैज्ञानिकता छुपेको हुन्छ । यसकारण हाम्रा यस्ता संस्कृति र मौलिकताको खोज अनुसन्धान तथा तिनीहरुको संरक्षण र प्रचारप्रसार गर्नु र हाम्रा पुर्खाहरुले लोककल्याणका लागि स्थापित गरेका मान्यताहरुलाई आत्मसात गर्न सके सबैको कल्याण हुने कुरामा दुईमत रहदैन । 




    प्रतिक्रिया दिनुहोस