डोट्याली लोक समुदायमा श्रावण सङ्क्रान्तिलाई विशेष महत्व र मौलिकताका साथ हेर्ने गरिन्छ । यसै दिन सूर्य कर्कट रासीमा प्रवेश गर्ने गर्दछ । आजकै दिनबाट उत्तरायण पनि लाग्ने भएकाले यस सङ्क्रान्तिलाई उत्तरायणी पनि भन्ने गरिन्छ । डोट्याली लोकसमुदायमा यस सङ्क्रन्तिलाई हरेली सगराँत भन्ने गरिन्छ । यस दिनमा आँसुरी शक्तिको प्रभावबाट बच्न खेतबारी तथा घरका झ्यालढोकाहरुमा हरेलो हाल्ने गर्दछन् । यसकारण यस सङ्क्रन्तिलाई हरेली सगराँत भनिएको हो । यो दिनमा खेतबारीमा मेलका हाँगा काटेर हरेलोको रुपमा गाड्ने गरिन्छ भने घरका झ्यालढोकामा झिजराइन नामक काँडेदार वनस्पतिको हाँगा लगाउने चलन छ । हरेलो लगाउँदा बालबालिकाहरुले ठूलठूला गणि खेत नान्नाना खउँ, माल झिजरकाणी कैबाटा झौँ भन्ने लोकगीत पनि गाएर रमाउने गरिएको पाइन्छ । खासगरी खेतमा गाडेको हरेलोले अन्नबालीको रक्षा गर्ने र झिजराइनीको हरेलोले घरभित्र आँसुरी शक्तिको प्रवेश नहुने लोकविश्वास यस समुदायमा रहेको पाइन्छ । उपयुक्त लोकगीतले पनि घरका झ्यालढोकामा झिजिरकाणी लगाएको भएर कहाँबाट प्रवेश गरु भन्ने हुन्छ । झिजराइनीलाई यस लोकसमुदायमा आयुर्वेदिक औषधी र झारफुक तथा टुनामुनामा पनि प्रयोग गर्ने गरिएको पाइन्छ। विशेष गरी चोखा मन्त्र गर्दा यसको पनि मिसावट हुने गर्दछ । यस समुदायमा श्रावणको महिनामा देवीदेवता सबै कैलाशमा जाने र आँसुरी शक्तिको प्रभाव बढ्ने भएकाले यस महिनालाई कालो महिनाका रुपमा पनि मान्ने चलन छ । वर्षाको समयमा पानी पर्ने र हौलो (हुस्सु) लागेर यताउती नदेखिने र दिउँसै अध्यारो हुने भएकाले पनि यस महिनालाई कालो महिना भनेको हुनुपर्दछ । डोट्याली लोकसमुदायमा यस महिनामा घर तथा मन्दिरहरुमा बत्ती जगाउने चलन रहेको पाइन्छ । विशेष गरी यस क्षेत्रमा रहेका शिवालय तथा शक्तिपीठहरुमा यो महिनाभरी बत्ती बाल्ने, मन्दिरमा बसेर भजन किर्तन गर्ने गरेको पाइन्छ । विशेष गरी श्रावण पुरै महिना मद्यिनरका कर्मचारी तथा भक्तजनहरु देवालयमै बसेर बत्ती जगाइ पूजापाठ गर्ने गरे पनि कुनैकुनै देवालयमा भने साउन १५ सम्म मात्र बत्ती जगाइन्छ । त्यसैगरी केदार देवता तथा वानजंगल नजिक रहेका देवताहरुके स्थान नजिक वस्ति भएको गाउँमा यो महिना बसाइ सर्ने समेत गरिन्छ । बैतडी जिल्लाको सुर्काल गाउँबाट डोको डालो र घरपालुवा पशु समेत ल्याएर अर्को गाउँमा बसाइ सर्ने पुरानो प्रचलन रहेको छ भने त्यसैगरी ग्वाल्लेक केदार छेउछाउको वस्ति त्यसठाउँबाट बसाइ सरेर अर्को घरमा जाने चलन छ । कालो महिनामा गाडपारी नबस्ने भनेर देहीमाण्डौको रजाड तथा ग्वानी क्षेत्रबाट अहिले पनि केही दिनका लागि बसाइ सरेको पाइन्छ । खास गरी वर्षत र अध्यारो समय हुने भएकाले सुरक्षाका दृष्टिले समेत यो महिनामा जंगल नजिक को वस्ती सर्ने गरेको हुनुपर्दछ । कालान्तरमा त्यो एक संस्कारका रुपमा विकशित भएको हुनुपर्दछ । नवविवाहिता महिलाहरुले पनि विहे भएको पहिलो श्रावण महिनामा श्रीमानसँग नबस्ने भन्ने मान्यता यस समुदायमा रहेको पाइन्छ । नववधुहरु या महिनाभरी माइतीघरमै बस्ने प्रचलन यस समुदायमा रहेको पाइन्छ । यो महिनाभरी माइतीघरमै बसेपछि भाद्र सङ्क्रान्तिको दिन केटापक्षले माइतीहरुलाई ओल्को (पुरानो प्रचलन अनुसार केरा) ल्याउने र पछि मात्र छोरीलाई बिदाइ गर्ने प्रचलन यस समुदायमा रहेको पाइन्छ । यसरी यो सङ्क्रान्तिलाई यस समुदायमा विशेष महत्वका साथ मानाइने गरिन्छ । यो सङ्क्रन्तिमा दिनमा उपबास गरी मन्दिरहरुमा बत्ती जगाइ साँझ मिठा मिठा स्थानीय परिकारहरु पकाएर खाने गरिन्छ । यो सङ्क्रान्तिमा विशेष गरी विवाहिता दिलदीबहिनी माइतीघरमा आउने हुनाले पनि रमाइलोका साथ भोज गरी मनाइन्छ । यो सङ्क्रान्ति डोट्याली समुदायमा विशेष मौलिकताका साथ मनाइन्छ । हिजोआज पर्वहरुमा बजारीकरणको प्रभाव परेका कारण महिलाहरुले हरियो चुरा, हरियो कपडा तथा हरियो रङका श्रृङ्गार गर्ने प्रलन पनि बढ्दै गएको छ । यद्यपि यो लोकप्रचलन पनि होइन । सामान्यतया यसलाई आयातित संस्कृतिका रुपमा माने पनि मौलिकतामाथिको प्रहार र पर्वहरुको बजारीकरण बाहेक अरु केही होइन । यसले गर्दा हुनेखानेले नयाँलुगा गहना किनन सकेपनि मध्यम तथा निम्न वर्गलाई भने समस्यामा पारेको र देखासिकीका कारण आर्थिक चाप बढ्ने समस्या बढ्दै गएको पाइन्छ । यसकारण हाम्रा पर्वहरुलाई बजारीकरणको प्रभावबाट बचाएर विशुद्ध मौलिक परम्परा अनुसार मनाउनु नै उपयुक्त हुन्छ ।
.gif)