बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

गौरापर्व बहस : भ्रम र यथार्थको विश्लेषण


बिहीबार , साउन १८ २०८०
  • 3.5K
    Shares

  • images
    images
    गौरापर्व बहस : भ्रम र यथार्थको विश्लेषण

    अगस्त्योदय र गौरापर्वका सन्दर्भमा व्यापक बहस र छलफल भयेको छ र हुदै गरेको छ।पहिले शास्त्रार्थ भनिन्थ्यो। यो स्वस्थ रूपमा हुनु पर्दछ, यथार्थ र उचित तथ्य खोज्न कै लागि त भनिएको छ - " वादेवादे जायते तत्वबोधः "
    विगतमा पनि यस्ता बहस हुन्थे, यसपालि अलि व्यापक भएको छ,

    यसै सन्दर्भमा थप कुराहरू
    यस बारेमा भास्वति तथा ग्रहलाघब गणितगत कुरा यस पुर्व नै उल्लेख गरि प्रकाशित छन। भाष्कराचार्यको सिद्धान्त शिरोमणि संगै ब्रह्म गुप्त प्रणीत गणित ग्रन्थ खण्डखाद्यक गणित पनि अत्यन्तै प्रचलित छ, सयौ वर्ष देखि यसका हस्त लिखित पुस्तकहरू सुदूरपश्चिममै पनि सयौ घरमा ऐतिहासिक सामग्रीका रूपमा रहेका छन भने यस सम्बन्धि  अन्य मान्यताहरू पनि स्थापित नै छन्।
    क ] " पलभयावसुसंगुण्या पृथकपलरूचेर्दल रामलबोनभा: (नवा:)।खनिधयो गज(वसु)षटसहिता युता , इहरबौ (रिहरवौवुद्यानुदितो मुने:। (बिभिन्न हस्त लिखित ग्रन्थहरूमा अलिकति फरक पाठ पाइए पनि अर्थमा भिन्नता पाइदैन)
    यस बहुप्रचलित अगस्त्योदय साधन बिधि अनुसार अगस्त्योदयको मध्यम भोग्यांश निकाल्न - सम्बन्धित स्थानको पलभालाई ८ ले गुणनगरि २ ठाउँमा राख्नु ,एक स्थानमा पलभाको गुणनफलमा ९० मा जोडनु, योगफलबाट प्राप्त राश्यादि फल    (सूर्यस्पष्ट समान ) मुनिको उदयकाल हुन्छ।
    अर्को ठाउँमा अष्ठगुणित पलभा फललाई ६८ मा हिनगरि  (घटाएर) आएको राश्यादि अगस्ति ताराको अस्तकाल हुन्छ। अगस्त्योदय र अस्तको मध्यम भोग्यांश  हिसाब गरेर हेरौ---
    १] ६।१८ पलभाका आधारमा---
          ६।१८×८=५०।२४
           ९०+५०।२४= १४०।२४
           =४।२०।२४।०
         भाद्र २०गते २४घड़िमा उदय
          ६८-५०।२४= ०।१७।३६।०
             बैसाख १७गते ३६घड़िमा अस्त
    २]६।४०पलभाका आधारमा---
          ६।४०×८=५३।२०
          ९०+५३।२०=१४३।२०
          =४।२३।२०।०
       भाद्र २३गते दिनको २०घड़िमा उदयकाल
       ६८-५३।२०=०।१४।४०
         बैसाख १४गते अस्तकाल (यो मध्यम भोग्यांश मात्रै हो ।)

    ख ] यति मात्रै होइन यसबारेको अर्को  मान्यता पनि छ नक्षत्र पादचालन सम्बन्धित मत -" प्रथम पादौ भरूणिर्गअगस्ति अप्रकाशिता । पुर्वायात्रयःपादेन उदयमेव च ।।" यस मतले पनि उदयास्तको स्पष्ट निर्देशन गरेको छ। भरूणी नक्षत्रको प्रथम चरणमा सूर्य जाने बेलामा अस्त र पुर्वाफाल्गुनी नक्षत्रको तेस्रो चरणमा सूर्य गये पछि अगस्ति उदय हुन्छ।(कुनै अभिलेखमा सूर्य पुर्वाफाल्गुनी ३चरण प्रवेश गर्नु भन्दा २०घड़ि पुर्व भन्ने पनि उल्लेख पाइन्छ)  यो पनि सहजतालागि मोटामोटी धारणा मानिन्छ ।यस वर्ष २०८०को पञ्चाङ्ग हेर्दा बैसाख--१५गते र भाद्र २१ गते पछि क्रमसः अस्त र उदय हुने देखिन्छ।
      यसै सम्बन्धमा यो पनि अत्यन्तै बिचारणीय कुरा हो कि "अगस्ति अस्त भयाका १३६ दिनमै उदय होलो। "
    ग] हाम्रो बृद्ध परम्परामा आमरूपमा सहजताको लागि  मोटामोटी धारणा पनि प्रचलित छ--'' उदये पञ्चमे लङ्का पञ्चमे हस्तिनापुरम्। पञ्च पञ्च पुनर्पञ्च अगस्ति सर्बत्र दृश्यते।।" यसको पाठमा  प्रश्न उठने गरेका छन भने पनि सिहार्कको ५ गते श्रीलङ्कामा अगस्ति देखिने कुरा स्विकार्य छ भने  डोटी प्रदेशमा अग्रज विज्ञ ज्योतिषीहरूका अनुसार " उदयकाल अन्तिम पञ्च "  नै हो र डोटी अजयमेरु तथा बझाङ उरैलेक देखि कैलास मानसरोवरसम्म अगस्त्योदय देखिने मिति भाद्र २५ हो। यहाँको ज्योतिषीय मान्यताले "सर्वत्र"को संकेत श्रीलंका कन्याकुमारीदेखि कैलाससम्म सीमा हो। बिगतमा यसैलाई सर्वमान्य चाहिँ मानिएको होइन ।
    घ ] गणित गणेर हिसाब गर्ने सन्दर्भमा यस्ता कुराहरू पनि हस्तलिखित कैयौ  ग्रन्थहरूमा उल्लेख पाइन्छन---- "
      #अहिले यस सन्दर्भमा चर्चा चुलिदै गये पछि  थुप्रैका     थन्किएका  पोथिपातडा खुलेका छन ,कमसेकम गौरापर्व कहिले मनाउने भन्ने सन्दर्भमाआ-आफ्नो मत पुष्टी गर्न  पुराना पञ्चाङ्गहरूका नजीर रूपमा पेश गर्ने होडबाजी चलेको छ  । हो बिगतका प्रमाण निर्णय गर्न पुराना अभिलेखको महत्वपूर्ण योगदान रहन्छ। पञ्चाङ्ग गणितगत कुरा हो त्यसलाई अहिले पनि जाच्न सकिन्छ। हिसाबै नगरि लेखेकै भरमा नजीर पेश गर्नु उपयुक्त होइन, यति पुरानो, यति पुरानो भनेर देखाउनु पुर्ब जाच्नै पर्दछ ।जस्तो कि  : सय बर्षभन्दा पहिले भदौ १६ मै अगस्त्योदय लेखेको छ यो ठिक हो भन्ने भ्रम छर्नु मूर्खता हो, तत्कालीन अवस्थामा प्रचलित कुनै पनि गणितीय बिधिले त्यो दिन  अगस्त्योदय साधन हुदैन। अहिले त्यहीँ पञ्चाङ्ग आधुनिक बेधशालाको मत अनुसार  १६ भदौमा अगस्त्योदय मान्दछ । बिगतमा त्यहीं पञ्चाङ्गलै १००वर्ष सम्म निर्णयसिन्धुको मत मान्दै आयो तथा अहिले गैरगणितीय मान्यता भनेर नकार्दै अहिले अक्षांश अनुसार बेधशालाको समय मान्दछ तर उहिले आधुनिक  बेधशालाको अगस्त्योदय समय  नै निर्धारण भयेको थिएन।
    अगस्त्योदयकै कारण बिगतमा पनि विचार बिमर्श नचलेका होइन, तर अहिले अस्वस्थरूपमा बाँझाबाझ गर्ने मानसिकता देखियो त्यसले " मेरै ठिक हो भन्ने " दम्भ देखाउनु ,चुप लागेर अर्काको मुख ताक्नु, पतडानले जे लेख्यो त्यहीँ मान्छौ ,  भन्नु भन्दा पनि " सिद्धान्त के हो? विधि के हो ? त्यसलाई हिसाब गरौ जाचौ,  पुर्खाको सम्पतिको उपयोग गरौ भन्ने बाटोमा धेरै छैनन। हिसाब निकालेर यो तिथिमिति ठिक हो भनेर ठहर्याइ अबलम्बन नगर्ने प्रवृति हाबि भयेको छ। पात्रोमा लेखेकै भर पर्ने हो भने त त्यहाँ उल्लेख नभयेका कुरामा के गर्ने छोडने हो त? पञ्चाङ्गहरू मा विविध प्रकारका त्रुटिहरू छताछुल्ल छन ती सबै नजाँची ,लेखेकै छन भनेर मानि हाल्नु महागलति हो। बिगतमा पनि यो मतभेद थियो र बिभिन्न वर्षहरूमा गौरा विवाद भयेका थिए, आ-आफ्नो मत अनुसार गौरा मनाए। थुप्रै कुलक्रमागत ज्योतिषी घरहरूमा संरक्षित पञ्चाङ्गहरूको अभिलेखहरू अनुसार पछिल्ला २००वर्ष यता २२पटकका गौरा भाद्र २०देखि २३गते बिचमा  परेका देखिन्छन। कुनै वर्षहरूमा पञ्चाङ्गहरूमा फरक मत देखाएर२।४पटक एकै वर्ष २।२गौरा नभयेका पनि होइनन्
    त्यही नजिर देखाएर अहिले पनि बहस चलेको छ।
    हालैका  पतडाहरूमा कैयौ ठाउँमा त्रुटीहरू भेटिन्छन तिनै मानि रहने त ? यस्तै भन्ने हो भने त  धेरैले जन्म कुण्डलि गलत बनाइ रहेका छन , कुलग्नमा लगन गर्ने र कुतिथिहरूमा पर्व मनाउने   त्यसको दोषी को ?

    ज्योतिषी गणित भास्वति, खण्डखाद्यक, ग्रहलाघव या सिद्धान्त शिरोमणि ,सिद्धान्त सारणी  र  बृहत संहितामा  समेत कसैको पनि हिंसाबले सुदूरपश्चिममा २० गते राती अगस्त्योदय हुदैन। २० गते राती जुन हिसाबले निकालिएको छ त्यसै फर्मूलाले पनि सुदूर पश्चिममा अगस्त्योदय हुदैन होला, अगस्त्योदय स्थानीय मानिने हो।  " देशे देशे या स्थिति--- सैवकार्या " भने जस्तै बराहमिहिरले पनि भनेका छन।
    # एक ठाउँको अगस्त्योदय सबैले मान्ने भनिन्छ भने भदौ ५ को किन नमान्ने?
    #लौ ; त्यो टाढाको भयो भने १८ गतेको किन नमान्ने?

    #त्यै पनि नमान्ने हो भने भारतीय पञ्चाङ्गहरू धेरैले १६ भदौ (३१°सम्ममा अगस्त्योदय  1सेप्टेम्बरमा हुन्छ) भनेका छन भने उताको पातडाको हवाला दिएर गौरा मानौ भन्ने अनि १६ भदौको अगस्त्योदय किन नमान्ने ? आधुनिक विज्ञानकै मान्ने हो भने ती पौराणिक कथा कुथुङ्ग्रीका चाडपर्व   कपोलकल्पित  हुन् भन्दै छोडि दिए भयेन र  ?
    #२०गते काठमाडौँका ले मानौ सुदूरपश्चिमकाले अगस्त्योदय २१पछि मान्नु होला भन्न किन नसक्नु ?
    #आधिकारिक निकायहरू आफ्नै निर्णयको रटमा छन । राज्य सत्ताको हो वा अन्य कुनै कुनै दम्भ हो या निर्णय फेल भयेर जनमानसमा जाने गलत सन्देशको डर ? थाहा भयेन  ।तर खण्डखाद्यक ,ग्रहलाघव  ,सिद्धान्त शिरोमणि, सिद्धान्त  सारणिका जानकार थुप्रै ज्योतिषी हरूलाईहरू थाहा छ गौरा पर्व मनाइने मूल क्षेत्रमा अगस्त्योदय २१ गते पुर्ब हुदै हुदैन।ज्योतिषी गणितज्ञ गोविन्द सापकोटा समेतले सारणी सिद्धान्तकै सुत्र अनुसार  हिसाब गरेरै सार्बजनिक रूपमा भनेका छन् --
    १]नेपालमा सबैभन्दा कम अक्षांश भयेको झापामा भदौ १८ गते राति ९:१२ बजेमा अगस्त्योदय हुन्छ।( पलभा ५।५८)
    २]काठमाडौंमा भाद्र २०गते राति ४:३५बजे अगस्त्योदय हुन्छ। (पलभा ६।१८)
    ३]कैलालीमा(अक्षांस २८°४१") भदौ २२गते २९:१७बजे अर्थात २३गते बिहान ५।१७बजे अगस्त्योदय हुन्छा।
    अब हिसाब गरौ ६।४०पलभामा अगस्त्योदय २३ गतेहुन्छ भने   "-- सार्धत्रयो बिंसतिमे अगस्त्योदय भवति   " भनेर लेख्ने पुर्बज मूर्ख थिए कि अहिले २० गते कै मान भन्ने अहिलेका निर्णायक  ? आफै विचार गरौ । सुदूरपश्चिम र कुमाउँमा  पौराणिक तथा स्थानीय गणितागत अगस्त्योदय २३गते हुन्छ भने २१गतेको गौरापर्वमा  दोष हुन्छ भन्नु औचित्यहीन कुरा हो।
    #धेरैले " उदेतियाम्यां हरिसंक्रमातरवे रेकाधिके बिशतिमे अगत्स्य। स सप्तमेतत् बृष सङ्क्रमाच्च प्रयाति गर्गादिभि रप्यपाणी  " निर्माण सिन्धुको मतलाइ खुबै रटेका छन  ।एक पक्ष त्यो गणित होइन भनेर  नमान्ने र आधुनिक विज्ञानमान्ने  अर्को पक्ष पुराण नमान्ने र गणित भन्ने  । तर दुबैले यस वर्षको भदौ २१अगस्ति उदयको दोष मान्ने । २१गते भनेको २४घण्टा/६०घड़िको समय हो, अगस्त्योदय कतिबेला, कुन समयमा हुने ? यकिन नगरि दिन नै दुषित हुदैन ।  नउदाएको समय सम्म गौरा मान्दा दोष हुदैन ।उदयकाल प्रष्ट हुन त गणित नै गर्नु पर्ला।  समास संहिता, वृहतसंहिता ,भविष्य पुराण, पद्मपुराणमा, मत्स्य पुराण, हेमाद्रिदिपिका  लगायतका ग्रन्थहरूमा अगस्ति उदय कन्या सङ्क्रान्ति भन्दा ७दिन पुर्व मान्छन र अगस्तिलाई अर्घ अर्पण गर्ने भन्छन भने। काठमाडौंको स्थानीय अगस्त्योदय अनुसार  सुदूरपश्चिममा गौरा पर्व मनाउनु पर्छ भन्नु काठमाडौंमा पानी पर्दा यता पानी नपरेको भये पनि छाता ओढनु पर्छ भने जस्तै हो । त्यस दिन नमनाएमा अनिष्ठ हुन्छ हाम्रो संस्कृति मासिन्छ भन्ने कुतर्क हुन  । कहिकतै शास्त्रीय प्रमाण नै नभयेको तिथिमा पर्ब अपकर्ष गर्नु  सास्कृतिक बिकृति ल्याउदैन त ।
    #दृक पनि मान भनेर भन्ने अनि न आधुनिक बेधशालाको मान्ने न स्थानीय उदय मान्ने ? १९?२०?२१?मा बिचको लिइएको हो कि ?
    #लोकाचार छाडदै गयेकाहरूलाई केही भन्नु छैन तर लोकाचार मान्नेहरू गोर्या एकादशी (श्रावणशुक्ल ११पुत्रदा ) र रक्षाबन्धन उपाकर्म बिना कसरि अमुक्ताभरण सप्तमी र दुर्बाष्टमी मनाउँछन् ?
    गौराका ब्रतालुहरूका लागि  मात्रै होइन शास्त्रीय र लोक मान्यताबाट स्थापित नाग पञ्चमी देखि अनन्त चतुर्दशी सम्मको चाडपर्वहरूको क्रमभंग गर्नु ठिक कदापि होइन। श्राबण शुक्लका सन्दर्भ "उजाली गौरा "भन्ने भ्रमको खेती गर्ने हरूको सामान्यज्ञान कस्तो हो ? उजाली गौरा भाद्र शुक्ल पक्षको हो र अनारि गौरा भाद्र कृष्णमा पर्छ। पछि मलमास छन ।हरिशयनीलाई नै गोर्या एकादशी मान भनेर भन्ने ,पुत्रदा एकादशी त पुषमा पनि हुन्छ त्यै ब्रत गरे भै हाल्छ भन्ने पनि नभयेका होइनन्। अनि कसैले भन्लान यो एकादशी र श्रावणी पुर्व गौरा नगर्नु कहाँ छ भन्लान ? मान्नेका लागि देशाचार कुलाचार आफैमा शास्त्रको श्रेणीमा पर्दछन, शास्त्रीय निर्देश नभयेको अवस्थामा  " समाचारात्, देशाचारात्, कुलाचारात् "भनिएको पनि बुझ्नु पर्दछ।  नमान्नेका त्यो केही होइन, गौरापर्व मान्नेका लागि ती कुरा आङ्गिक हुन भन्ने कुरा   " एकादशी ब्रतं बिना गौरीब्रतं तु नाचरेत  ; श्रावणी पुर्णिमा पुर्वा न तु दुर्बाष्टमी---" जस्ता आप्त वचनहरूले पनि संकेत गर्दछन।
    अनर्थका कुतर्क गर्नेले त बिरूडा भिजाउने , धुने , गौरा बनाउने, चौकाको मयासर बनाउने कुराको पनि शास्त्र खोज्लान।
    घर भित्र साँझ बिहान पिजासको धूपवत्ति गर्ने / पुज्नेले आफ्नै  शास्त्र नखोज्ने  अनि एकादशी र श्रावणी पुर्व नगर्नु भन्ने शास्त्र खोज्छन ।तिनको मति के हो स्पष्ट छ। हो गौरा नबनाउने/ नमान्ने तर दुर्बाष्टमीमात्रै मान्नेले त्यो क्रम नमानेको हुन सक्छ ।
    #अहिले खुब प्रश्न गर्छन् श्राबण शुक्लाष्टमीमा गौरा नमनाउने कुरा कहाँ छ ?
    त्यो बुझक्कडहरूको मात्रै प्रश्न हो ?
        गौरा पर्व बिभिन्न तबरले संयोजित पर्व हो ।भविष्यपुराणको उत्तर पर्वका आधारमा दुर्बाष्टमी र अगस्त्योदयको सम्बन्ध स्पष्ट त निर्देशित छ। अन्य पुराण एवम् धर्मग्रन्थहरूमा तथा बिभिन्न मनिषिहरूले निर्देश गरेर मात्रै होइन् गौरापर्व त लोक मान्यताबाट पनि निर्दिष्ट छ। गौराकि अठेवाली आफैमा लोक पुराण हो।
    निर्लज्जतापूर्वक दुर्बाष्टमीमात्रै पुराणमा छ गौराको पुराण छैन,  दुर्बाष्टमीमा गौराको कुरा छैन, एकादशी रक्षाबन्धनको सम्बन्ध छैन भनेर लोक संस्कार र संस्कृतिको दुत्कार गर्नेले सस्कृति मास्दै छन कि पर्वहरूको क्रम मिच्नु हुदैन भन्नेले भ्रम छर्दैछन ? सचेतजनले बेलैमा सोच्नु पर्दछ। झनै नयाँ नयाँ फण्डा बढी रहेछन् ।कहिलै नसुनिएको र कहीँ नदेखिएको कुरा -अगस्त्योदय पुर्व " ३ दिन बालत्वको दोष " हुने तर अस्त पछि बृद्धत्वको दोष नमानेर लगन लगाउने पनि विज्ञ भेटिन्छन्, बिगतमा यो दोष देखाउने शास्त्र थिएन कि? यो भन्दा ठूलो भ्रम छर्ने कुरा अरू के हुन सक्छ? त्यति मात्रै होइन गौरापर्व त कुमाउँ डोटीको लोकल हो दुर्बाष्टमी पो राष्ट्रिय अन्तराष्ट्रिय पर्व हो रे। सामान्य लाटो वुद्धिले पनि बुझ्ने कुरा बिरूडा, पञ्चमी देखि अष्टमीसम्मको संयोजित नारी प्रधान पर्व गौरा हो, यसका विशेष लौकिक विधान छन। यस्ता कुरामा सु प कै जान्नेहरूले दुर्बाष्टमीको मात्रै रट लगाइरहेको देख्दा गौरापर्वको मौलिकता माथि प्रहार गर्ने षडयन्त्रको गन्ध आइरेको छ।
    लोक मान्यता छोडेका र नमान्नेहरूले यस बिषयमा बोलेर भ्रम छर्ने र पतडामा लेखेकै  अनुसार मान्नु पर्छ भन्नु नवसामन्तीय सोच हो ।
         ज्योतिषीय मान्यताका आधारमा यसमा सौरमान तथा चान्द्रमान दुबै मान्नु पर्ने हो। "  --  सिहार्क एव कर्तव्या---" भनेको सिंह राशीमा सूर्य भयेको समयमा नै गर्नु पर्छ भनेको हो,  ठिक छ । सबैले बुझेका छन  तर त्यसै सन्दर्भमा चान्द्रमास पनि किटान गरिएको छ, त्यसको अपब्याख्या गरिदैछ।  "---कृष्णाष्टम्यामेव कुर्यात " भनेको भाद्र कृष्ण अष्टमीमा नै गर " भनेको हो । सिहस्थ सूर्य भयेको भाद्र शुक्लको बिकल्प भनेको भाद्र कृष्ण अष्टमी नै हो ।हो यदि मलमास या अन्य कुनै कारणले पर्व अगाडी सार्नु पर्ने बाध्यात्मक अबस्था सिर्जना हुन गयेमा के गर्ने भन्ने  सोच्नु पर्दछ र सौर भाद्र या चान्द्र भाद्रमास  मध्ये कुनै एउटा अनिबार्य लिनु पर्ने देखिन्छ ।
    # यहाँ त  हरेक हरेक भूखण्डको अलग पलभा हुन्छ भन्नै  सबैलाई ज्ञात भयेकै कुरा हो     ।स्थानीय अगस्त्योदय  मान्नु पर्ने बराहमिहिरको मत - " संख्या विधानात् प्रतिदेशमस्य विज्ञाय संन्दर्शन मादिशेज्ञ मादिशेज्ञ:। ततोज्जयिन्यामगतस्य कन्यां भागै स्वराख्यै स्फूट भाष्करस्य।।" ( उज्जैनमा सिंह राशीको २३अंशमा अगस्त्योदय हुन्छ, विद्वानहरूले प्रत्येक देशमा दृश्योदय ज्ञान गरेर उदय निर्धारण गर्नु पर्छ। ) पनि सर्वसाधारणलाई थाहा नहोला तर यस विषयसंग सरोकारवाला धेरैलाई थाहा छ ।   सोही अनुसार स्थानीय  अगस्त्योदय   गणितको दृक नक्षत्र  स्थानीयता समेत मान्यता नरहने गरी लादन खोजेको देखिन्छ र चोखिनका लागि परम्पराहरू आ-आफ्ना हुन्छन भनिन्छ । पराम्पराहरू कुनै पनि समुदायका आ-आफ्ना हुन्छन र आ-आफ्नो रितिस्थिति अनुसार मनाउने, संरक्षण सम्बर्धन गर्ने कुरालाई सार्बजनिक निकायले कि त स्वतन्त्र रहन दिनु पर्दछ कि अपनत्व स्वीकार गरी संरक्षण गर्नु पर्छ। शासकीय  हस्तक्षेपकारी नीतिले बिद्रोह निम्त्याउछ।
    ज्योतिषी गणितका सूर्य सिद्धान्त ,मकरन्द, केतकी, लगध, खण्डखाद्यक, ग्रहलाघव लगायतका विभिन्न पद्धति समाजमा   प्रचलनमा हुँदा हुदै पनि राज्यका निकायहरूले तिनको संरक्षण र प्रबर्धन गर्नुको साटो एकद्वार प्रणाली अपनाउदै  अन्य गणितीय  मत  निषेध गर्नु नेपालको संविधानको समेत भावना बिपरित हो ।  बहुसांस्कृतिक समाजमा सबैका सास्कृतिक मूल्यमान्यता र परम्परागत ज्ञान र प्रविधि आधुनिकताका नाममा निषेध  गर्यौ भने यो समाजको सास्कृतिक अपनत्व र पहिचान गुम्दै जानेछ ।पहिचान मेटाउने एकत्व र आधुनिकता खोज्ने हो कि ?  त्यसको प्रबर्धनात्मक समायोजन खोज्नु सबैको दायित्व हो। हुँदा हुँदा अब्बल(?)भनिकै हरू गौराको पुराण संग सम्बन्ध छैन त्यो त दुर्बाष्टमीको हो पनि भन्न भ्याउछन, पचासौ वर्षसम्म  "युधिष्ठिर उवाच: गौरीब्रतं समाचक्ष्व किम् फलम् तेन लभ्यते। ब्रतास्यास्य विधिम् ब्रुहि तुष्टोदसिमे प्रभो "  देख्दैनन ।भविष्य पुराण, व्रतराज, वर्षकृत्य दिपक, वार्षिक व्रत रत्नावलि, गौराब्रतपुजा विधिका प्रकाशित तथा हस्तलिखित ग्रन्थ ,सयौको संख्यामा संकलित/प्रकाशित गोर्याकथा, अठेवाली, लोकसाहित्य संकलन, अनुसन्धानात्मक लेख, हजारौ  लोकगायकले गोऽराको पुराण त के महापुराण बनाएको छ यस कुराको पनि हेक्का रहोस् । 
    यस सन्दर्भमा सुदूरपश्चिममा ज्योतिषीय गणितागत आधारमा यस वर्ष (२०८०)अगस्त्योदय कृष्ण अष्टमी पछि मात्रै हुन्छ भन्ने कुरा थाहा हुँदा हुदै  बुझ पचाएर श्रावण शुक्लाष्टमीमा गौरापर्व मनाउने कुरा गर्नु लोकसास्कृतिक मान्यता, शास्त्रीय मत, अनि ज्योतिषीय गणितको समेत अवमानना हो। 


  • सम्बन्धित विषय:

  • # गौरा पर्व


  • प्रतिक्रिया दिनुहोस