पहिले
नेपाली राजनीतिमा चर्चित शब्द हो “सामन्त”
यो ज्यादै पुरानो शब्द हो । शब्दकोशहरूमा जे अर्थ होला त्यो आम रूपमा प्रचलित र बुझिएकै अर्थ होला । पौराणिक कालमै यस शब्दको व्याख्या भएको पाइन्छ । नीतिग्रन्थ शुक्रनीतिमा यसलाई यसरी वर्णन गरिएको छ –
सामन्तादिसमायेतु भृत्या अधिकृता भूविस् ।
तेन सामन्त संज्ञास्यु राज भाग हतक्रमात् ।।९१।१८८०
सामन्तादि पद भ्रष्टास्ततुल्यं भृति पोषिता ।
महाराजादिभिस्तेषु हीन सामन्त संज्ञका ।।९१।१८९०
सतग्रामाधिपो यस्तु सोऽपि सामन्त संज्ञक ।
शतग्रामेचाधिकृतोऽनु सामन्तोनृपेबस ।।९१।१९००
तत्कालीन अवस्थामा राजाका अधिनस्थ जमिन्दारहरू सामन्त हुन्थे । हरूवा चरूवा लठैत किसानको टाउकोमा कमाइ खान्थे । काम गर्नेहरू माथि शोषण गरेर राजकर थोरै तिरी आफू मोटाउथे । यसलाइ सामन्तवादी प्रवृति भनिन्थ्यो । राजनीति गर्नेहरू माक्र्सले बताएको ज्ञानको खुब उफ्रन्छन तर ती माक्र्सभन्दा कम्तिमा पनि १५००–२००० बर्ष पहिल्यै शुक्रनीतिमा यो भनिएको छ । शुक्रको (भृगु) को नामै बिर्से ।
अहिले
समय सापेक्ष अहिलेको अवस्थाको कुरा गर्ने हो भने सामन्तका रूप छन् । एउटा पुरानै स्वरूप जसको संख्यात्मक स्थिति कम छ । दोस्रो रूप फेरिएको सामन्तवादी अवस्था व्यापक छ । क्रान्तिकारी वा साम्यवादीका चर्का भाषण पुरानो स्वरूप प्रति लक्षित हुन्छन् तर सारमा अहिले नव सामन्तवादी प्रवृति बढदो छ । पुरानो विस्थापन होला तर नयाँ रूपमा यो स्वरूप बदल्दै गै राखेको हुन्छ । जसले सामन्तवादलाई आफ्नो राजनैतिक मुद्दा बनाइ रहेका हुन्छन्, तिनै आफू नव सामन्त बनी रहेका छन् । दल र तिनका नेता, पूँजीपतिहरू, नयाँ सामन्त हुन् । ती राज्यको दोहन पनि गरिरहने, हरूवा चरूवा, हली गोठाला (कार्यकर्ता) को टाउकामा टेकेर आफ्नो वर्चस्व बनाइ रहन्छन् ।
नीतिका केही कुरा
नीति र विधिका चर्का कुरा गर्नेहरू धेरै छन् । वास्तवमा आफैँ नीति र विधिबाट भ्रष्टहरू आफ्ना कालादागहरू छोप्न नैतिकवान बन्न खोज्छन । भनिन्छ – “सर्वलोक व्यवहार स्थितिर्नित्या बिना नहि । यथाशनैर्बिना देह स्थितिर्नस्याद्धि देहिनाम् । (शुक्रनीति) । ११०
लोक र जन व्यवहार नीति बिना चल्दैन । दुर्योधनको पनि नीति थियो – धर्म जान्ने तर त्यसमा प्रवृत हुन नसक्ने । यस्तै अहिलेका नीति र विधिवाला पनि वैयक्तिक स्वार्थका लागि महाभारत गर्ने । पढेलेखेका नीतिज्ञ “शास्त्रम् विनय बृद्धये” का विपरित गैरहेका जमात “भृत्य वृति”मा लीन हुँदा सहि र गलत छुट्याउने विवेक मार्दै “तामसिक” बनिरहेका छन् । जसको धर्म अर्थात् स्वाभाविक कर्म जे हो त्यसबाट विचलितहरू अराजकता सिकाउँछन् । यस्ता को हुन त –
“अग्नि गरदोश्चैव शस्त्रोन्मत्तोधनापह । क्षेत्रदार हरश्चैव षडविध आततायिन” आगो लगाउने उधुम मचाउने, ढुंगा मुढा हातहतियार चलाउने, लुटपाट मचाउने वैध बाटो भन्दा धम्की र त्रासबाट प्रभुत्व जमाउने “आततायी” हुन् । राज्यको तहमा पनि आततायी पुगेपछि त्यहाँ शोषक प्रवृति जन्मन्छ । राज्य शोषण गर्न पल्केकाहरू अर्काको सत्कर्ममा पनि दोष देखाउँदै आफ्नै हाली–मुहाली कायम गर्न चाहन्छन र प्राप्त पद आफ्नो आजीवन बपौति ठान्दछन् । तिनका लागि नीति र विधि केवल देखावटी हुन्छ । यस्ता क्षुद्र विचार भएकाले के गर्दछन् – “घातयितुमेव निचःपरकार्य वेति न प्रसादयितुम ।
पातयितुमेव शक्तिर्नारवो रूद्धर्तु अन पिटकम्” यस्तो मुसा प्रवृति हुन्छ, आफ्नो स्वार्थका लागि भण्डार गिराउन सक्छन् तर उठाउन सक्दैनन् । पद लोलुपहरूमा पनि नीति र विधि आफ्नो स्वार्थका लागि प्रयोग गर्दछन किन भने ती पदबाट हटे पछि महत्त्वहीन हुन्छन् अतः उनको प्रयास हर तरहले पदीय दम्भ बचाइ राख्न चाहन्छन् ।
.gif)