बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

आफ्नो पहिचान आफैं धरापमा नपारौं


बुधबार, भदौ १३ २०८०
  • 1.5K
    Shares

  • images
    images
    आफ्नो पहिचान आफैं धरापमा नपारौं

    हजारौं वर्षअघिदेखि विना कुनै उपकरण  आकाशमा चम्कने ताराको प्रवृति पत्ता लगाउन सक्ने ज्योतिष विज्ञानले ग्रह, उपग्रह र तारामण्डलबाट पृथ्वीमा पर्ने प्रभावको खोज मात्र गरेको छैन,अपितु ज्योतिष विज्ञानले प्रयोग गर्दैआएको सूर्य,तारा,ग्रह,उपग्रहादिको पिण्ड,अर्धव्यास,चमक र ताप आधुनिक विज्ञानले पत्ता लगाएकोसँग फेल खादैन।हाम्रा पुर्वजले समतल सतहमा ठड्याएको १२ अङ्गुलको शंकुको आधारमा पत्ता लगाएको स्थान विशेषको पलभा/आक्षांश आधुनिक विज्ञानले केही वर्ष पहिला मात्र पत्ता लगाएका गुगल म्याप लगायतका प्रविधिबाट थाहा हुने पलभा/आक्षांशसँग ठ्याक्कै मिल्छ ।सूर्य चन्द्रमामा ग्रहण कहिले लाग्छ भनेर विज्ञान भन्दा पहिला ज्योतिषीले नै पत्ता लगाउँछ।अझ सत्य त यो हो कि आधुनिक विज्ञानले अन्तरीक्ष विज्ञानको क्षेत्रमा प्रगति गर्न ज्योतिष विज्ञानकै सहारा लिएको हो ।अल्प ज्ञान र ज्योतिषीको खोल ‌‍ओढेर ठग्ने सीप विकसित गरेका कुनै ज्योतिषले गर्ने भविश्यवाणी असत्य हुनसक्छ तर ज्योतिष सिद्धान्त पूर्णरुपमा वैज्ञानिक छ।ज्योतिषी स्वयं विज्ञान हो।

    वेदाङ्ग ज्योतिष प्रणालीमा आधारित हाम्रो पञ्चाङ्गको ग्रेगोरियन क्यालेण्डरसँग तुलना नै गर्न मिल्दैन।शुक्ष्म तरिकाले निर्मित हाम्रो पञ्चाङ्गमा सौरमान र चन्द्रमान दुवै प्रयोग गरिएको हुन्छ। 

    सूर्य सङ्क्रान्तिबाट सौरमासको आरम्भ हुन्छ। आकाशमा ८८ तारामण्डल छन् जसमा १२ राशि हुन।  नाडीवृत्तलाई आधारमानी आकाशलाई ३६०° निर्धारण गर्दा सो आभाषीय पथको हरेक ३०° मा पर्ने जुन निश्चित आकार भएका ताराहरूको समूह आउँछ ती राशि हुन। सूर्यले ३०° पार गर्दा अर्को राशिको क्षेत्र आइपुग्छ अर्थात अर्को महिना सुरु हुन्छ। सूर्यले ३०° पार गर्दा अर्को राशिको क्षेत्र आइपुग्छ अर्थात अर्को महिना सुरु हुन्छ।सूर्य एक राशिमा जति दिन रहन्छ, त्यो अवधि एक सौरमास हो।सौरमास न्युनतम् २९ दिन र अधिकतम ३२ दिनको हुन्छ।

    यसैगरी ३६०° को आभाषीय पथमा वरावर दूरी (१३° २०')मा राशि भन्दा साना २७ ओटा तारा समूह छन्।ती नक्षत्र  हुन। हरेक नक्षत्रका (३° २०') चार चरण हुन्छन्। एक राशिको क्षेत्रमा नक्षत्रका ९ चरण पर्दछन्।

    जसरी सूर्य १२ राशीमा भ्रमण गर्छ त्यसैगरी चन्द्रमा २७ नक्षत्रमा भ्रमण गर्छ। चन्द्रमा एक राशिमा २.२५ दिन रहन्छ। चन्द्रमास तिथिको घट-बढका अनुसार न्युनतम २७ दिनदेखि अधिकतम ३० दिनको पनि हुन्छ। सूर्यले एक दिनमा  १° पार गर्दा चन्द्रमाले १३° पार गर्दछ।यसरी एक सौरमासमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ भने चन्द्रमान अनुसार १ वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको हुन्छ ।किन भने सौर र चान्द्र दुवै महिनाको तादात्म्यता शास्त्रीय कार्यका निम्ति शुभ मानिन्छ । हाम्रा केही पर्व सौरमासानुसार पर्दछन् । सौरमास अनुसार पर्ने  पर्व बिसु, असार १५,श्रावण १५, ओल्के,बुढी पोल्ने संक्रान्ती, पुष १५ र मकर संक्रान्ती हुन्। हाम्रा अधिकांश पर्व चन्द्रमास अनुसार पर्दछन्। नाग पञ्चमी, रक्षाबन्धन,कृष्ण जन्माष्टमी,गौरा, तीज,दशैं,तिहार, छठ,श्रीपञ्चमी,होली जस्ता पर्व चन्द्रमास अनुसार पर्दछन्। चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण)मा तिथिको महत्त्व विशेष रहेको छ। तिथि अनुसार जीव तथा वातावरणमा भिन्न भिन्न उर्जाको सञ्चार हुन्छ भन्ने कुरा शास्त्रले मात्र भनेको छैन,हामी आफैं अनुभव पनि गर्न सक्छौं।

     

    p1.jpg

    तिथि,करण,मुण्डनादि जातक कर्म र व्रत उपवास कार्य चन्द्रमान अनुसार सम्पादन हुन्छन्।भनिन्छ धर्मो रक्षति: रक्षित:, अर्थात धर्मको रक्षा गरेमा धर्मले पनि हामरो रक्षा गर्छ । त्यसैले वेदादि धर्म शास्त्राको उपेक्षा गरी अशुद्ध समयमा गरे गराएको कर्मले फल नदिने भएकाले सबै पर्व शुद्ध पक्षमा मनाउनु पर्छ।

     

    p2.jpg

    यो भचक्रमा २०८० भाद्र ७ गतेको खगोलीय स्थिति हेरौं: सूर्य सिंह राशिमा १२५ डिग्री नजिक छ र चन्द्र अनुराधा नक्षत्रमा छ।जब चन्द्र ज्येष्ठा, मूल  हुदै शतभिषामा पुग्दा सूर्य र चन्द्रबीचको १८०° हुनेछ तब श्रावण शुक्ल पूर्णिमा हुनेछ। त्यसपछि चन्द्रमासको भाद्र सुरु हुनेछ। गौरा पर्वको कुरा गर्दा यो भाद्र शुक्लपक्षको पर्व हो ।

     

    p3.jpg

            तर यदि भाद्र शुक्लाषटमी भन्दा अघि अगस्त्योदय भएमा भाद्र कृष्णाष्टमीमा मनाउनू भनेर शास्त्रले स्पष्ट भनेकोले कहिलेकाँही भाद्र कृष्ण अष्टमीमा पनि पर्न सक्छ।

    p4.jpg

    शास्त्रले कुनै पनि कुरा अनिर्णित छोड्दैन। भाद्र शुक्लाष्टमी भन्दा अघि अगस्त्योदय भएमा भाद्र कृष्णाष्टमीमा मनाउनू भनेको छ ।भाद्र कृष्णाष्टमी भन्दा अघि अगस्त्योदय भए के गर्ने भन्ने पनि प्रश्न उठ्थ्यो होला तर शास्त्रले त्यो प्रश्न उठान गरेको छैन। यसको अर्थ उपरोक्त निर्णय लेख्नेलाई अगस्त्योदय भाद्र कृष्णाष्टमी भन्दा अघि हुदैन भन्ने लागेको हो। अर्को कुरा जुन शास्त्रले अगस्त्योदयपछि दुर्वाष्टमी मनाए पुत्र शोक हुन्छ भनेको छ उसैले अगस्त्योदयको समय पनि तोकि दिएको छ।भविष्य पुराण उत्तरपर्व अध्याय ११८, मत्स्य पुराण अध्याय ६१,समास संहिता,वृहत्संहिता लगायतका ग्रन्थले सूर्य सिंह राशिको २३ अंशमा प्रवेश गरेपछि अगस्त्योदय हुन्छ भनेको छ। त्यै अगस्त्योदय भन्दा अघि मनाउनू भनेको होला ।फेरि हाम्रा पञङ्चाग र वैदिक कर्म ग्रहलाघव,सूर्य सिद्धान्त,खंडखाद्य लगायतका गणितमा आधारित छन् ।ती सिद्धान्त र शास्त्र अनुसारको अगस्त्योदय मान्ने कि हरेकका पुस्तक खोज्दै हिंड्ने भन्ने सवाल उठ्छ। फेरि यी पुस्तक र सिद्धान्त पनि कस्ता भने हरेकको फरक फरक समय आउने । केतकरीय सिद्धान्तको ज्योतिर्गणितमा एक संस्करणमा क्षेत्रांशमा ७२ जोड्नु भनेको छ भने सोही पुस्तकको अर्को संस्करणमा क्षेत्रांशमा ७६ जोड्नु भनेको छ । 

    p5.jpg

    एकै पुस्तकका २ यी २ फरक संस्करणले पनि अगस्त्योदयमा ४ दिन फरक पर्छ (दुवै पुस्तक मसँग छन्)। आधुनिक वेदशालाले ३१° भन्दा कम आक्षांश भएका स्थानमा भाद्र १६ गते अगस्त्योदय हुन्छ भनिदियो जबकि १° आक्षांशकै फरकमा पनि लगभग २ दिनको फरकमा अगस्त्योदय हुन्छ। भोलि उत्तर आाधुनिक कुनै सिद्धान्त आउला र भाद्र ५ मैं अगस्त्योदय हुन्छ भनिदियो भने के गर्ने ?

    (एक दिन बाउछोराले मेलाबाट एक गधा किनेछन्। बुवा पछीपछि अछोरो अघिअघि गधा डोर्याउदै जाँदा बाटोमा कसैले भनेछ" कस्ता मूर्ख रहेछन् , गधा भएर पनि नचढी हिडेर जादैछन् ।" कुरा ठिकै लाग्यो। छोरालाई गधामा चढाएर बुवा गधा डोर्याउन लागे। केही पर पुगेपछि एक महिलाले भनिन् "कस्तो छोरा होला है, बुवालाई गधा खेद्न लगाएर आफू गधामा सवारी हुने..।" कुरा ठिकै लागेर छोरो ओर्लियो।बुवालाई गधामा चढायो । केही पर पुगेपछि फेरि कसैले भन्यो " कली युग आएकै रहेछ । बुवा मस्तीमा छ, छोरा सास्तीमा ।" कुरा त्यो पनि ठिकै लागेर बाउछोरा दुवै गधामा चढे । केही पर पुगेपछि एक बृद्धा फत्फताइन्, शिव !शिव! दुईदुई जना चढेर विचरा गधाको के हालत वनाएका हुन्..।" कुरा यो त झन सत्य नै थियो । दुवै जना ओर्ले। एउटा बाँसमा गधा बाँधेर गधा बोकी हिंडे ।बुवाछोरामाथि जग हाँस्यो।)

    आफ्नो परम्परा र पुस्ताबाट हस्तांतरण हुँदै आएको ज्योतिष ज्ञान भुल्दै परालम्बी हुँदै गएमा भोलि हामीमाथि पनि जग हास्नेछ र हाम् पहिचान सकिनेछ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा. माधवप्रसाद भट्टराईको भनाइ हेरौं- 'सबैभन्दा ठुलो भनेको शास्त्र हो। तर शास्त्र भन्दा ठुलो परम्परा हो। फेरि पात्रोमा यसो लेखिएको पाइन्छ -" बिभिन्न समुदायहरुले आ-आफ्नो पर्व आफ्नै मौलिक परम्परा अनुसार आफूलाई सजिलो हुनेगरी मनाउन सकिन्छ।" त्यसैले हामीले आफ्नो परम्परालाई नजीरको रुपमा लिने हो ।हाम्रा सबै पर्वका धेरै कुरा शास्त्रानुसार छन् भने धेरै कुरा चलनानुसार ।हामीले शास्त्र र हाम्रो परम्परा दुवैलाई मान्दै अघि बढ्नुपर्छ।

    अनि अगस्त्योदय जस्ता विषयमा एक मत हुनुपर्छ। यसपाली दुई गौराले सुदूरपश्चिम बाहिर के सन्देश गयो भने गौरा खास पर्व नै नरहेछ,जसले जहिले मनाए पनि हुने..मनोरञ्जनको लागि मात्र. ..।एकताबद्ध हुन नसकेर हामीले आफ्नै खुट्टामा बञ्चरो हानेनौं र ?यस पटक सबैले १६ गतेदेखि दक्षिणी आकाशमा हेरौं र कुन गणितको अगस्त्योदय सूत्र हाम्रो क्षेत्रमा मिल्छ त्यसैलाई कायम गरौं भन्ने मेरो अनुरोध छ।त्यत्तिकै एक सिद्धान्त राम्रो भन्न गाह्रो छ । ग्रहलाघव मूल गणित हो तर त्यसलाई मोटो गणित पनि भनिन्छ(मोटामोटी)। सूर्य सिद्धान्त धेरै प्रयोग भइरहेको सिद्धान्त हो जुन नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि प्राथमिकतामा राखेको छ।केतकरीय सिद्धान्त आधुनिक विज्ञानको पनि नजिक छ।सबैका आफ्नै विशेषता छन्।

    हाम्रा पूर्वजले ज्योतिषी ज्ञानलाई लोकहितमा प्रयोग गरे।हामी आज शास्त्रको डर देखाएर सोझासाझालाई झुक्याउदै आफ्नो फोस्रो अहंकार र इगोको रक्षा गर्न हत्केलाले सूर्य छेक्छौं भने धिक्कार छ हामीलाई। अस्तु !

     

     

     

     

     

     

     

     




    प्रतिक्रिया दिनुहोस