मानव सभ्यताको विकास क्रमसँगसँगै मानवीय जीवनका विविध पक्षहरू समानान्तरित रूपमा विकसित भइरहेका हुन्छन् । सकारात्मक रूपले विकसित एवं स्थापित हुँदै गएका ती पक्षहरूलाई समाजले आत्मसात गर्दै समयानुकूल परिस्कृत गर्दै अघि बढ्छ भने त्यो नै ब्यापक अर्थमा संस्कृतिका रूपमा बुझ्नु पर्दछ । समाजका उत्तम कृतिहरूका विविध पक्षहरूलाई संस्कृतिभित्र समेटिने गर्दछ । सांस्कृतिक प्रवर्तनद्वारा त्यसमा निरन्तर परिवर्तन भई राखेको हुन्छ । प्रायः जसो संस्कृतिमा साँस्कृतिक पर्वले वर्तमानमा केही सीमित पक्षहरू लाई मात्रै समेटिने र बुझ्ने गरेको समेत पाइन्छ । भाषा, साहित्य, कला, र संस्कृतिले समाज, परिवार एवं व्यक्तिकै पहिचान गराउँदछ । विकासको सूचना दिन्छ, सभ्यताको संकेत दिन्छ । अझ लोक साहित्य र लोक संस्कृति त स्वत्स्फूर्त रूपमा सामाजिकता र व्यक्तिको अन्र्तमनमा भिजेको हुन्छ, आधुनिकताको आडम्बरी खोल र लेप लागेकोमा बाहेक लोक साहित्य र संस्कृति लोक जीवनमा तिनकै मात्र भाषामा कृत्रिमता भन्दा टाढा रही प्रकृति (ल्बतगचभरएगदष्अि) संगको अन्योन्याश्रित सम्बन्ध गाँस्दै लोक साहित्य सृजना भइ बाचेको हुन्छ । लोक मानसमा यो प्रायः जसो श्रुति कथ्य परम्परामा बाचेको हुन्छ लोक साहित्य र यसको संस्कृतिसित प्रगाढ सम्बन्ध रहेको हुन्छ । ग्रामीण जीवन मातृभाषी बाहुल्यता, परम्परा निर्देशित जीवन भित्र नै लोक साहित्य र संस्कृतिको जीवन्तता पाइने हुन्छ तापनि सभ्यताको विकाससँगै यिनको स्वरूप भेदमा फरकपन आउदै गरेको पाईन्छ ।
सास्कृतिक एंव सामाजिक महत्वको पर्व गौरा
गौरा डोटेली र कुमाउनी क्षेत्रको विशिष्ट पर्व मात्रै होइन सांस्कृतिक पहिचान पनि हो । यो पर्व यहाँको सबै जात जाति, सबै उमेर र क्षेत्रका बासिन्दाका लागि उत्तिकै महत्व राख्दछ । यो पर्व यहाँको मौलिक पर्व हो र समानता, सौम्यता, प्रवृति, प्रेम, हर्ष उल्लास, आध्यात्मिक सन्तुष्टि जस्ता विविध पक्षहरूको संगम हो । कुनै पनि चाडपर्व मेलमिलाप, मनोरञ्जन धार्मिक सांस्कृतिक आवश्यकता पूर्ति सहकार्य भेटघाट शुभकामना जस्ता उद्देश्य बोकेको हुन्छ, गौरा पर्व यस्ता पक्ष र उद्देश्यहरूबाट भरि भराउछ । यसले उत्कृष्ट सास्कृतिक महोत्सवको आभास दिन्छ । अतः यो पर्व सुदूरपश्चिम संस्कृतिसंग अविच्छिन रूपमा गाँसिएको छ महिला प्रधान चाड भए पनि समाजका सबैलाई उत्तिकै सहभागि बनाउदछ । यस पर्वले वर्षा ऋतुको हिलो र पानीमा रमाउन यसले उत्साहित गर्दछ । खेतिपातिको कामबाट फुर्सत पाएका किसानहरूलाई नौलो लुगा लाउने आफन्तहरू संग भेटघाट गरी खुसियालि मनाउने निको नौलो (मीठो) खाने, धार्मिक कृत्य शिव शक्ति उपासना पूरा गरी प्रसाद लिने महिलाबाट शुभकामना र आशिर्वाद प्राप्त गर्ने पवित्र र परिचायक सूत्रका रूपमा (सौभाग्यको प्रतिक) रातो रंगको दुवधागो लगाउने (विधवाहरूले परम्परागत प्रचलन अनुसार सेतो दुवधागो लाउछन्) अठेवाली गोराका फाग ठाडो खेल डेउडा जस्ता लोक साहित्यका (पद्य विधा) गायन एवं नृत्यबाट मनोरंजन मात्रै नलिई शिवशक्ति स्तुतिगान गर्ने शुभकामना व्यक्त गर्ने एक आपसका विचार साँट्ने ऐतिहासिक पौराणिक गाथा भन्ने सुन्ने कामबाट लोक जीवनलाई उल्लासमय पार्दै आएको गौरा पर्वले समाजलाई अलंकृत पारेको छ ।
प्रकृति सँगको सहसम्बन्ध
प्रकृतिसंग रमाउदै गौरामा प्रयुक्त गरिने विरूडाको प्राशन स्वास्थ्यका दृष्टिले अति उपयुक्त छ । भिजाएका दाल पौष्टिकताले भरपूर हुन्छन् भने उपवास बस्नु पनि स्वास्थ्यका लागि लाभदायक नै हुन्छ । विरुडाका पंचनाज मात्र होइन धान खेतको तुच्छ घाँस बल र साउँ, पवित्र मानिने तिल अनि मौसमी फलहरू लाई समेत समान महत्व दिँदै बोट विरुवा प्रतिको समान दृष्टिकोण यस पर्वले औल्याउछ । स्थिति अनुसार यस पर्वमा निराहार र फलाहार दुबै किसिमको व्रत बस्ने गरिन्छ । उल्लासमय वातावरणमा रही मनोरंजन गर्नु पनि स्वास्थ्यका लागि त्यतिकै महत्वपूर्ण छ । “दुत्याको टिको दशैको ज्वरा पंचमीको विरुडो भन्ने प्रसिद्ध लोकोक्तिले तिहारको टिका दशैँको जमरा र पंचमीको विस्डाको एकै महत्व भएको कुरा प्रष्ट्याउछ । गोरालाई नारी श्रृंगारिताको प्रतीकका रूपमा समेत स्थापित गरेको छ । भन्ने कुरा सिंगारिएकि महिलालाई भन्ने द कि हो बलि गौरा ब हनेरैछै, पारे गोरा आई जस्ता भनाईहरूले स्पष्ट पार्दछ ।
सबै महिलाले गोराको दुब्धागो लगाउछन् अठेवाली पाडदछन् तर डेउडा ठाडो खेलमा कसैको पनि सहभागिता लाई नकारिदैन । सवै उमेर समूहले उलसमय रुपमा विविध लय भाका र तालका डेउडा एवं गाथागानमा रमाउने अवसर यसले प्रदान गर्दछ । जसबाट भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरण समेत भै रहेको हुन्छ । गाउँको प्रचलन अनुसार लख्या खेल लगायत विविध नाच गान बाट समेत मनजोरंजन लिइन्छ ।
गौरा पर्व शाकाहारी महत्वको पर्व हो । गौराको अवसरमा बलि विधानको कुरै उठ्दैन । यसले अहिंसालाई सम्मान गर्नु पर्ने प्रेरणा दिन्छ भने दशै दिपावली जस्तो वाह्य तडकभडक एवं फजुल खर्च ब्यबहारले समेत यस पर्वलाई छुन सकेको छैन । सौभ्य शान्त वातावरणमा डेउडाको मन्त्रमुग्धता सामुहिक उत्सव ऐतिहासिक गाथाहरूको गायन परम्पराबाट विशुद्ध रूपले भाषा संस्कृति एवं लोक साहित्य को संरक्षण तथा स्वस्थ्य प्रेमगाथा वर्णनले पर्वको सास्कृतिक सामाजिक (क्यअष्यअगतिगचब)ि महत्वलाई अझै बढाएको छ । स्वस्थ प्रेम, श्रम गर्ने निर्देश र शोषणको विरोध गर्ने सन्देश दिन्छन् अठेवालिका गीतले हल्लोरी वाला हल्लोरीको गौरा खेलाउने नृत्यका लागि ८० वर्षीय वृद्धा पनि आतुर हुनछन् भने महेश्वर खेलाउनु जवान लालायित, ढोलकको “भम्पम्पा ध्वनी ले ठाडो खेलका चाल्ली धुमारी जस्ता असजिला पाद रहाते इसारा लाई समेत कति सहज तुल्याई दिन्छ । लोक नृत्यमा डेउडाको पादचालन र ढप (लय) अनुसारका पादचालन मा युवा युवति सबै रमेका हुन्छन् । भने गायन कलाको विकासमा समेत यसको महत्व छ । सवै भन्दा महत्वपूर्ण त डेउडिया गिदाराहरुको आँशु कवित्व हुन्छ ।
यस पर्वमा गाइने गाथाहरूले इतिहासका घटनाहरू स्मरण गराउछन् धर्म युद्धको झझल्को प्रस्तुत गर्दछन् अनि शिव शक्ति पीठको उत्पत्ति र महिमाका गाथा गाउछन् जुम्ली राज्यका अठौती मल्लको तराई पुर्णागिरी नन्दादेवी अल्मोड़ा कुमाउं सोर हुँदै डोटेली भेगमा तहल्का मचाएको वृत्तान्त कम महत्व को छैन ढिक कि पंचनी ऐतिहासिक वृत्तान्त न हो पौराणिक कालका गाथाहरूको सगै भगालिङ्ग गान समेत कम्ती प्रचालित छैन । नागिमल्लकि रानिले समेत सन्तान पाउन गौरा महेश्वरको पूजा गरेको प्रसंग लौक कथामा प्रचलित छ ।
यसप्रकार हरेक सांस्कृतिक विशिष्टताहरू लाई समेटदै गौरा पर्वले सुदूरपश्मिको संस्कृति निर्माणमा कोशेढुङ्गा स्थापना गरेको मात्रै होइन त्यसलाई रखवारी गर्न समेत सकेको छ । तापनि वर्तमानमा आधुनिकताको प्रभावबाट मौलिकता माथि पर्न सक्ने नकारात्मक प्रभाव वारे सामूहिक सचेतनाको अपरिहार्यता रहेको छ ।
लोक साहित्यको सन्दर्भमा गौरा पर्व
लोक जीवनको ढुकढुकि प्रसारित गर्दछ लोक साहित्यले जनजीब्रोमा बाचेको जनसाहित्यमा सांस्कृतिक मात्रै होइन लोक साहित्यिक दृष्टिले समेत गौरा पर्वको विशिष्टता स्थापित हुन पुगेको छ, पुराना साहित्यक गाथा मात्रै होइन आँशुकविहरूका सृजनाका नौला नौला रूप देख्न सकिन्छ यस पर्वको अवसरमा खेलिने डेउडामा । गौरा पर्व लोक साहित्य प्रदर्शनको रंग मञ्चका रूपमा स्थापित भएको छ । यसपर्वले निम्न लोक साहित्यिक काव्यात्मक र कथानक उपविधाहरू समेटेको पाइन्छ ।
१) गौराका फाग – विरूडा भिजाउने, विरूडा धुने गोरा भित्रयाउने, गौरा सेलाउने (पद्य)
२) अठेवाली– आठ अध्याय र दण्डक (पद्य)
(३) ठाडोखेल – घुमारी चाल्ली ढुस्को विभिन्न ढप (लय) मा (पद्य)
(४) डेउडा – विभिन्न ढप (लय) मा (पद्य)
५) गोरÞ्या कथा – लोक कथा का रूपमा प्रचलित पूजाका व्रतकथा (पद्य) र पौराणिक कथा
६) आशिर्वादका आँखर विरूडा टाउको पुज्दाको आशिकीका शब्द (पद्य)
गौरा सम्बद्ध उक्त फाग, अठेवली डेउडा आदि कव्यात्मक लोक कथनहरू विशुद्ध डोट्याली भाषाका रचना हुन श्रुती एवं कथ्य परम्परामा बाँच्ने लोक साहित्यका अपबाद यी लोकरचनाहरू हुन सक्दैनन् स्थानीय प्रभाव अनुरूप व्यवहारिक लोक भाषा र लयको प्रभाव यिनमा परेको हुन सक्छ तापनि कथानक एवं सार कुरा एउटै पाइन्छ ।
उत्तम साहित्यिक गुण एवं मानकहरुको कसौटीमा जोख्दा गौराको सन्दर्भका गीतहरू खरोरूपमा प्रष्टिन्छन् । प्रस्तुत आलेखमा गौरा सम्बन्ध लोक साहित्यको संक्षिप्त विवेचना गर्ने प्रयास गरिएको छ ।
फाग या सगुनहरू मांगलिक कार्यहरू सम्पन्न गर्दा मंगलाचरण क्रियाकलाप एवं स्थितिको विवेचनाका रूपमा गाइने गीतहरू हुन्, फागमा मुख्य बाचक र सहायक गरी सामुहिक रूपमा अनुकरण वाचन तथा सस्वर वाचन गर्ने मांगलिक मन्त्र नै हुन । जसलाई नारी बेदको संज्ञा दिन सकिन्छ । सामान्य त सबै जसा फागहरू को सुरूआत यसरी भएको पाइन्छ,
सगुना दयु रे निका बोल
सगुना दे सरस्वति लगन दे विरस्पति
इन सगुनका मन चित्त काज
मंगलाचरणमै स्थानीय देव, पितर इष्ट मित्र भाइबन्धुलाई निम्त्याउने गरिन्छ । गौराको प्रथम फाग विरुडा खोजी भिजाउदा,
हमरी घरी मयासर गुसाइ त पंच बिरूडी नाइथिन
जानः जान महेश्वर गुसाई त पंच बिरूडी खोजि ल्यान ।
यस्तै गीत गाउदै पार्वतीले महेश्वरलाई विरूडा खोजी ल्याउने र लोली गमराले कलौ लगाएको कथा छ । बिरूडा धुदा (षष्ठमी)पाण कि दिदि मज्यलाकि भौव्वा हिट हो विरुडी धुन जानौ यस्तै सगुन गाउदै ’पाँच पाण्डु केदार चल्या छोटी बैना लागिन पछेट यो फाग गाइन्छ । अनि गोरा स्वर्गबाट पृथ्वीमा आएको कुरालाई यसरी गाइन्छ ।
काँ है त चाली आइन लोली गमरा करि छ उजालो
सर्कलोक है चलिआइन चलि आइन गमरा मन्तालोक भइछ उजालो
त्यस्तै सप्तमीमा गौरा देवीलाई निम्त्याउदै –
आस बस लोली गौरा तम लोली दुध कुण्ड बस दुध कुण्ड शिव लिङ्गदेवा तनरा ऐतिर कस्या वसु गौरा देवीलाई दुध कुण्डमा बसाइन्छ ।
अष्टमीका दिन देवताहरू लाई नमस्कार गर्दै (ज्वारदै अठेवालीका गीत गाइन्छन् –
नविजी धम धमकार
धम धमकार भया अवतार
बेतकोट उपजिया वैजनाथ देवा
आठ खण्डमा विभक्त भएकै हुदा र अष्टमीका दिन गाइने गीत भएर होला अठेवाली भनिएको हात अठ्याएर समाइ गाइने या अठोयो ( रचेको) गीत भएको अठेवाली भनियो सुललित पदावलीहरू मा खण्डकाव्यात्माशैलीक गीती कथानक अठेबालीमा रहेको छ । अष्ट आवलीबाट अठेवाली शब्द व्युत्पन्न भएको छ ।
दशैँ मैना भया रानी गात पीडा भैछ
अमरिका रूख गुणि कन्या जरमिन
(अठेबालीमा मैनावती कि छोरीका रूपमा गौरीको जन्म हुँदा)
कुम्भ रासि देवगुण मयासर जोग
लोली गौरा नाउँ राख्यो मयासर जोग
अनि गौरा ठुली हुदै जानु, बडु भाटको रूपमा शिवजी संग प्रेम विवाह भएको कुरा वर्णन गरिएको छ ।
वारी वटा लोली गोरा बिणइ बजाउछे
पारि वटा मयासर बुल्बुली छेकन्छ
बासुलि बजौन्या को है तइ बेटा
लोली गोरा मयासर बियो रचि हाल्यो
साल्लीका कोकडा त सिन्दुर बनायो
गाईका गोबर का त लौन जाइ पकया
गोरा मयासरको प्रेम विवाह पछि, बहुभाटले गौराका बुबा कहाँ गौरी माग्न जान्छ बडुभाट रूपी महेश्वर
एक मेरि वाली कन्या तप बसि रेछ
तमरी तो वालि कन्या मेरा दिइहाल
र गौराको विवाह हुन्छ । बडुभाट विहा गरी घर फर्कन्छ गौरा महेश्वरको बालों (वालक) जन्मन्छ अनि बालो खेलाइन्छ यसरी अठेवालीको कथा वस्तु सकिन्छ त्यस भित्र थुप्रै उपकथा र घटना वर्णन उच्च साहित्यिक शैलीमा गरिएको पाइन्छ ।
अठेवाली संगै आठ वटा छेउटा (दण्डक) हरूको पनि गान गरिन्छ, भने
हल्लोरी वला कल्लोरी २
यो मेरो वालो लिसिनी लोट्यो
ज्यू हो लिसनि लोट्यो
यस्तै लोरी गीत गाउदै बालो खेलाइन्छ ।
आठै अठ्यावाली पाड्यावरे क्यौ बर देला निरधन धन दिउलो, अपुता पुतः आठै अठ्यावाली पाड्या चेली को दुध कुण्डवास आठै अठेवाली सुण्या चेलीको बैकुण्ड वास भुल विसर माफ दिया लोली गमरा भन्दै अठ्याबलीको महत्व (फल) बारेमा गाउदै भुल विसरको लागि माफि मानिन्छ । तत्पश्चात बालो खेलाउने र नाच्ने काम गरिन्छ । नाँचहो खेलहो लोली गमरा धै तेरो कसो नाच – यसप्रकार अठेवाली एक गीति कथाका रुपमा रहेको छ र जसलाई संयोगान्त मान्नु पर्दछ लोक छन्दका रूपमा अठेवाली छन्द कै रूपमा यसलाई परिभाषित गर्ने काम भएमा गौरा प्रतिको श्रद्धा हुनेछ । छन्द रस अलंकार, शब्द चयन एवं संयोजन अर्थ बोधका दृष्टिले अठेवाली लोक साहित्यमा उच्च स्थान ओगटन पुगेको छ ।
गौरा पर्बमा ठाडो खेल र डेउडाको आफ्नै अन्तर सम्बन्ध छ । ठाडो खेल लोक गाथा गान हो जो खुट्टा तथा हातको चाल, ढोलकको तालमा, ढुस्को, धुमारी लय (ढप) रहेको हुन्छन् । विभिन्न देवी देवता सम्बद्ध गाथाहरूको गान ठाडोखेलमा गाइन्छ कृष्णलीला, रामलीला, भूमिराजको फाग, भागेश्वरको गाथा, पंचायन देव उत्पति, अठौति मल्ल, खपड्या दानोंकी कथा, ढिकगढकि पंचनी दीपया जस्या रानीको फाग जस्ता गाथा गान ठाडो खेलमा गाईन्छ ।
डोटेली गीत गानको पर्याय जस्तो डेउडा गौरा पर्वको मुख्य आकर्षण हो । आबाल वृद्ध सबै डेउडा प्राप्ति लालायित हुन्छन् डेउडा यहाको सामूहिक लोक दोहरी हो, डेउडा खेल्ने गिदारा र दर्शक श्रोता सबै उत्तिकै हर्षित हुन्छन डेउडामा जीवनका र जगतका अनेक पक्ष उजागर हुन्छन गीतको माध्यमले गिदारा आँशुकवि हुन तर ती गीत मौखिक परम्परा मैं बाँच्छन ।
जंगल फुल्याका फूल जंगलै रनान
जै फूल लाई बास औछे मौरा मः खनान
कम्ती साहित्यिक ओजले भरिएको छैन डेउडाको यो उद्गार जीवन र जगत्का विविध पक्षहरू समेट्दै विभिन्न लय हुनु, सस्वर एकल तथा सामूहिक बाचन गरिनु, आँशुकवित्वका संग संगै मनका भावहरू विस्तार गर्न सक्नु अलंकृत, छन्दबद्ध अनि रसयुक्त भाषिक कौशलका साथै अर्थान्तर र अर्थ गंभीरताको संयोजनको यथार्थताका कारण डेउडा उत्कृष्ट कविता नै हो । सबै उमेरका मानिसहरूले डेउडा खेल्न सक्छन् र चाहे अनुसारका लोकलय (ढप) हरू पनि विकास भएको पाइन्छ ।‘वाक्य रसात्मक काव्यम्’ भनिन्छ अठेवाली कम्ति रस युक्त छैन । बडुभाट र गमराको प्रेम प्रसंग कम श्रृंगारिक छैन ।
लौडीका वाहन चडि़ तरि मयासर अया
मयासर लोली गोरा एकै ढुङी बस्या
उपमा, अनुप्रास अलंकारको छेलो खेलो छ । काव्यमा हुने अभिधा, लक्षणा र व्यञ्जना मूलक अर्थहरू यथास्थान प्राप्त छन् भने प्रकृति चित्रण संगै डोटेली जन जीवनको झलक दिने पदावली समेतको संयोजनले पौराणिक कथानकलाई मौलिक रूप दिन खोजिएको आभास हुन्छ, रूपनारायण, हरि जोइसि बहुभाट आरोपित पात्र हुन ।
गौरा पर्वको साहित्यिक सन्दर्भ केलाउदा यस प्रसंगका नागी मल्लकी कहानी, भाटकी ब्वारीका सन्दर्भ कि गोरÞ्या कथा, कुकुडी माकुड़ी कथा जस्ता लोक तथा पौराणिक कथा प्राचलित छन् भने अमुक्ताभरण सप्तमी र दुर्वाष्टमी व्रतकथाहरूलाई संस्कृतबाट अनुदित नेपाली वा डोटेली भाषामा भन्ने गरिन्छ ।
गौराको अन्तमा उपमा र प्रत्तीकहरूले भरिपूर्ण आर्शिबादका यस्ता आँखरलाई पनि साहित्य भित्रै समेटिनु पर्दछ ।
भलो होउ कल्याण होउ
रक्षा गर्यो भगवान
वाग जति बलियो, स्थाल जति मोटो
स्याप जति लामु.......
दुबाइ जनि चोडिएइ,
ऐरइ जनि झालताल भयै ......
यस प्रकार यस संक्षिप्त चर्चामा सम्पूर्ण साहित्यिक विवेचना गर्नु संभव नभए पनि संकेत गर्न खोजिएको छ र गौरा पर्व लोक संस्कृतिक पर्व मात्रै नभई लोक साहित्यिक पर्वका रूपमा समेत स्थापित भएको छ, यस पर्वमा गाइने लोक साहित्यले मनोरंजन, ज्ञान, दिशा निर्देश मात्रै गर्दैन कि मानिसहरूलाई साहित्यको गहिराइमा चुर्लुम्म डुबाउन समेत सक्षम छ ।
झल पडि अन्यारो हुन्या बादल फट्या घाम
मन उजालो पड्ड्या थ्यू रे कति होलो दाम
र अन्तमा
चीन खेत चीनु बोया चिनु झाँकुरी
जनलाइ वाला मेरा हिया काकुरी
(भूमिराजको फाग)
यस्तै भाकुरीएर (फैलिएर) हिय (हृदय) काँकुरी लाउने गौरा पर्व डोटेली समाजको दर्पण हो, लोक जीवनको चरम संगम र उत्कर्षका साथ चाड मनाउनुको सार्थकता यसले बाकेको छ ।
परिवटा बैरन्छ, छुरी छटकौछ
फरि फटकाउछ बुल्बुली छेकन्छ
सेति कटारी छ
सोइ मेरा मनको पियारो महेश्वर (अठेवाली)
लोलीको प्यारो जति महेश्वर त्यतिकै प्यारो छ यो पर्व यहाँको लोक संस्कृति र साहित्यसंग अटुट र अन्योन्यास्रित सम्बन्ध गाँस्दै झागिएको गौरा पर्व बुझे हुन्छ । यहाको संस्कृति, भाषा, साहित्य र कला बारे बुझ्न सांस्कृतिक सद्भावना क्षेत्रीय एकता, परम्परा संरक्षणका लागि यस पर्वले संरक्षण गर्दछ, अहिले डेउडाले मात्रै सु.प. चिनाएको छ देश भरीमा गौरा पर्वको व्यापकता बुझ्न र बुझाउन सके यो क्षेत्रीय होइन राष्ट्रिय अन्तराष्ट्रिय पर्व बन्न सक्दछ ।
ताँ भात खान्छै त याँ बौली चुठ
ताँ चोली लौन्छौ त याँ तुना वाद
ताँ पाग बादन्छै त याँ मेसा ढाल (ढिकगढको ठाडो खेल)
यस पर्वको महत्व बुझी यसको संरक्षण सम्बर्द्धनका लागि यस्तै गर्न सकेमात्र डोटेली मौलिक पहिचान कायम रहन सक्दछ ।