शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोट्याली लोक समुदायमा गाईभैँसीको कुलदेवता पुज्ने परम्परा


मंगलबार, फागुन ३ २०७८
  • 1.9K
    Shares

  • images
    images
    डोट्याली लोक समुदायमा गाईभैँसीको कुलदेवता  पुज्ने परम्परा

    मौलिक सँस्कृतिमा सम्पन्न सुदूरपश्चिम क्षेत्रमा गाईभैँसीको पनि कुल देवता हुने विश्वास गरिन्छ । गाईलाई कुनै देवताको मन्दिरमा गौदान गरेमा उक्त गाईको कूल देवता त्यसैलाई मान्ने गरिन्छ । मन्दिरमा विशेष कामना पुर्तिकालागि गरिने उक्त गाइदानलाई गाई कल्पिनु भन्ने गरिन्छ र जुन देवतामा  गाई कल्पेको हो त्यही देवताको केर मान्ने गरिन्छ । भैँसीको कूलदेवताको खास नामाकरण नभए पनि कुनै चोपिलो रुखको फेदमा सानो शीला स्थापित गरी पूजा गर्ने चलन रहेको छ ।  गरी गाई र भैँसी ब्याएपछि  नवौँ दिनमा न्वारन गरिन्छ । न्वारनमा चोखा मन्त्र गरेको सामग्रीलाई कपडामा बाधेर ताबिजका रुपमा गाईभैसी र तिनबाट जन्मेका बाच्छाबाच्छी, पाडापाडीको घाँटीमा झुण्ड्याइन्छ । न्वारनमा तिनीहरुलाई बत्ति आरती देखाउने र रातो टिका पनि लगाउने गरिन्छ । २२ दिन नहुन्जेल सम्म उक्त गाईभैसीको गोरस विशेष गरी बुढापाका, पूजारी पण्डित लगायतका मान्छेहरुले खाँदैनन् देवी देवताको पूजाआजामा पनि उक्त गोरस प्रयोग गरिदैन । गाईभैँसी ब्याएको २२ औँ दिनदेखि अगाडि गोरसमा प्रयोग गरिएका भाँडाकुडा (पारो, विण्णो, कुस्या, फु¥या, चौँठो आदि) धोइपखाली सुकाएर घिउँ लगाएको कुर्जो (तितेपाती) लाई कोइलामा राखि धुप्याउने गरिन्छ । त्यसपछि धुप्याइएको भाँडामा २२ दिन पछिको पहिलो दुध र पहिलो चोटी तताएको घिउँ गाईभैँसीको कुलदेवताको पूजामा हवनका लागि राखिन्छ, जसलाई डोट्याली भाषामा सेरौदो भनिन्छ । उक्त सेरौदो मन्दिरमा कल्पेको गाईको भए त्यसै मन्दिरमा पूजा लागेको दिन हवन गरिन्छ भने नकल्पेको गाई र भैँसीको भएमा चोपिलो रुखको मुनी शिला राखेर पूजन गरिन्छ । गाईभैँसीको कुल्या पुज्दा एउटा टपरीमा उक्त गाईभैसीको गोबर राखी त्यसैमा काठको सानो किलो गाडी सानो गलिउँ (दाम्लो) बाधेर पूजा गरी उक्त किलामा दुध चढाइन्छ, डोट्याली भाषामा त्यसलाई किला दुध हाल्ने भनिन्छ । गाईभैँसीको कुलया पुज्दा डोट्याली लोक परम्परामा प्राकृतिक शीला पूजनको विधि अनुसार गात स्नान, पञ्चपुर्वाङ्ग, हवन आदि गरेर कुल्या पूजन गरिन्छ । कुल्या पूजनका लागि गाईभैँसीको मालिकले बहमण बोलाएर आफू यजमान बनी पूजा गर्ने गर्दछन् ।




    प्रतिक्रिया दिनुहोस