सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

डोट्याली लोकसमुदायमा नवरात्री


मंगलबार, असोज ३० २०८०
  • 771
    Shares

  • images
    images
    डोट्याली लोकसमुदायमा नवरात्री
    images
    images
    images
    images

    हिन्दु धर्मसम्प्रदायमा मनाइने चाँडपर्व मध्ये विजयादशमी एक महत्वपूर्ण चाँड हो । असत् माथि सत्यको विजय उत्सवमा मनाइने विजायादशमीमा विशेष गरी दानवीय शक्तिहरुमाथि विजय गरेर देवता तथा मनुष्यहरुका लागि भयमुक्त वातावरण सिर्जना गर्ने आद्यशक्तिको पूजा अर्चना गर्ने प्रचलन रहेको छ । दुर्गाका विभिन्न नौओटा स्वरुपहरुलाई स्मरण गर्दै हरेक दिन अलग अलग देवीका नामले पूजन गरिने भएकाले प्रतिपदादेखि दशमीसम्मको समयावधिलाई नवरात्रीका रुपमा मान्ने प्रचलन रहेको छ । प्रतिपदा देखि दशमीसम्म हरेक दिन तिथिका आधारमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री देवीको पूजा अर्चना गरिने भएकाले यसलाई नवरात्री भनिन्छ भने यिनै देवीका नौओटा रुपहरु हुने भएकाले दुर्गालाई नवदुर्गा भनिन्छ । हेरक वर्ष दुईओटा खुल्ला नवरात्री र दुईओटा गुप्त नवरात्री गरी चारओटा नवरात्री मनाइदै आएको पाइन्छ । असोज र चैत्रमा खुल्ला नवरात्री मनाइन्छ भने असार र माघमा गुप्त नवरात्री मनाउने गरिन्छ । नवरात्रीमा घर तथा देवालयहरुमा देवीको पूजाआजा गर्ने, विभिन्न किसिमका अनुष्ठान यज्ञयज्ञादि गर्ने र ब्रत बस्ने प्रचलन रहेको छ । नवरात्री पूजनमा देवीको पूजाआजा गरिने भए पनि विभिन्न समुदाय र ठाउँमा केही मौलिकता सहित नवरात्री पूजन गर्ने प्रचलन रहेको पाइन्छ । यसरी फरक फरक तरिकाले नवरात्री मनाइने ठाउँहरुमध्ये सुदूरपश्चिम पनि एक हो । प्राकृतिक पूजन गर्दै आइरहेको यो लोकसमुदायमा देवीदेवताको पूजा अर्चना गर्ने आफ्नो मौलिक शैली रहेको पाइन्छ । यस क्षेत्रमा वैदिक तथा शास्त्रीय पूजन पद्दति भन्दा पनि लौलिक पद्दतिबाट देवी देवता पूजा गर्ने प्रचलन रहेको पाइन्छ । यस क्षेत्रलाई पौराणिक नाम अनुसार मानसखण्ड पनि भन्ने गरेको पाइन्छ । मानसखण्डमा प्राकृतिक रुपमा शिव र शक्तिको पूजाअर्चना गर्ने गरिन्छ । यहाँ शिव, शक्ति र पितृपूजनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । यहाँ रहेका देवालयहरुमा पनि शिवरुपी, देवीरुपी र पितृपिजासका मन्दिरहरु रहेका छन् । यस्ता मन्दिरहरुमा पनि फुटिलिङ्ग र स्थापित लिङ्ग गरी  दुई किसिमका देवताहरुको पूजा गर्ने गरिन्छ । विभिन्न ठाउँमा अहिले मन्दिर बनाए पनि परम्परागत रुमा हेर्ने हो भने प्रकृतिमै त्यही ठाउँमा रहेका शीलाहरुलाई देवताको स्वरुप मानी पूजा गर्ने प्रचलन छ । मन्दिरहरुमा गर्भगृहमा रहेको मुख्य गाथ शीला नै हुने गर्दछ ।

    यस क्षेत्रमा विभिन्न समयमा हरेक मन्दिरमा आआफ्नै पर्वका आधारमा देवता पूज्ने प्रचलन रहेको छ । नवरात्रीमा पनि यस क्षेत्रमा भएका सबै मन्दिरमा पूजा लाग्दैन । त्यसमा पुरै नवरात्रीमा पूजा लाग्ने मन्दिरहरु पनि थोरै मात्र छन् । केही मन्दिरहरुमा पुरै नवरात्री हुन्छ भने केही मन्दिरहरुमा परम्परादेखि कुनै एक विशेष दिनमा मात्रै पूजा लाग्ने गर्दछ । सामान्य रुपमा सबै मन्दिरमा पूजा अर्चना गरे पनि नवरात्री नै हुने गरी केही मन्दिरहरुमा मात्र पूजा लाग्ने गर्दछ । नवरात्रीमा मन्दिरका मुख्य कर्मचारीहरु मन्दिरमै बस्ने गर्दछन् । आठदस दिन अघिदेखि नै शुद्धशाकाहार र बह्मचर्यको पालन गरेर नवरात्र िउपासना गर्ने चलन यस क्षेत्रमा रहेको पाइन्छ । घटस्थापनाका दिन कर्मचारीहरु मन्दिरमा भणार लगेर जान्छन् । ब्रतालुहरु धुप पोखलका रुपमा चामल, जौतिल, घिउँर फूलपाती तथा धुपबत्ती लगेर मन्दिर जाने गर्दछन् । यस क्षेत्रमा सामुहिक रुपमा मात्र देवीदेवताको पूजा हुनेगर्दछ । सामान्य मन्दिरमा चढाउने वस्तु व्यक्तिगत रुपमा लगे पनि पूजा भने सामुहिक रुपमा हुन्छ । परम्परागत रीति अनुसार सबैको सहमतिमा भएका मन्दिरका कर्मचारी पण्णा, भण¥या, धामी, मुख्या लगायतका मानिसहरुले सबैको प्रतिनिधि पात्रका रुपमा पूजा गर्ने प्रचलन रहेको पाइन्छ । घटस्थापनाको दिन लौकिक पद्दति अनुसार पूजा अर्चना गर्ने र मन्दिरमै सबैको घरबाट लगेका जौँ मिसाएर जमरा छर्ने गरिन्छ । यस क्षेत्रमा घरमा जमरा थप्ने प्रचलन रहेको पाइदैन । लोकाचार अनुसार दैनिक पूजा गरी हरेक दिन जमराहरुमा अभिशेष गर्ने गरिन्छ । नवरात्रीको उपासना गर्नेहरुले दिनमा ब्रत बसी देवता पूजा लागिसकेपछि तिलक प्रसाद लगाएर बेलुका एक छाक मात्र शुद्ध शाकाहार भोजनगर्ने गर्दछन् । यस क्षेत्रमा वली हुने र वली नहुने दुई किसिमका मन्दिरहरु हुने गर्दछन् । विशेष गरी शिवालयमा वली गर्ने प्रचलन हुँदैन भने देवी तथा केही अन्य मन्दिरहरुमा वली दिने प्रचलन रहेको छ । ठाडी वलीका रुपमा बोका काट्दा हरेक दिन काट्ने गरे पनि विशेष वली महाअष्ठमीमा हुने गर्दछ । सप्तमीको दिन राँगा तथा बोकामा पन्धार हाली मन्दिर लग्ने र महाअष्ठमीमा वली दिने प्रचलन रहेको छ । वलीको प्रचलन र जात्रा केही मन्दिरहरुमा मात्रै रहेको छ । महाअष्ठमीको दिन शिवालयहरुमा पूजा लाग्दैन । वलीपछि गोदान गरेर पूजा लगाइ दशमीको दिन पूजा सहित जमरा काट्ने गरिन्छ । विशेष गरी जमरा प्रसाद र टिका मन्दिरमै पूजारी तथा धामी झाक्रीबाट लगाउने गरिन्छ ।

    यस क्षेत्रमा दशैको दिन रातोटिका थपी जमरा हाल्ने प्रचलन छैन् । हाल आएर पुर्वी नेपालको परम्परा चलेपछि कोहीकोहीले घरमा पनि जमरा थप्ने र टिका लाउने चलन चल्न थाले पनि यो अनविार्यता भने यस क्षेत्रमा रहेको पाइदैन । कुनै कारण मृतसुतकादि जुठो परेमा सुतक समाप्तिकोदिन जमारा हाल्ने प्रचलन रहे पनि यसलाई त्यति महत्वका साथ हेर्ने गरेको पाइदैन । आफ्नै इष्टकुल देवताको मन्दिरमा छरेका जमरा हालेर विजयादशमी मनाउने गरिन्छ ।

    images

    पुर्वी नेपालको जस्तै पूर्णीमासम्म घरघरमा गएरवा इष्टमित्र बोलाएर जमरा टिका थपने प्रचलन भने यस क्षेत्रमा रहेको पाइदैन ।  मन्दिरमा पनि केवल पानीमा भिगाएका सेता अक्षतकै टिका लगाउने गरिन्छ । यो क्षेत्रका विभिन्न मन्दिरहरुमा महाअष्ठमीको मेला लाग्ने गर्दछ । केही व्यक्तिहरुको व्यक्तिगत भाकल अनुसर वली दिने चलन भए पनि सबैले अनिवार्यताका रुपमा वली दिने चलन यस क्षेत्रमा रहेको पाइदैन । दशैमा सामान्य रुपमा कसैले मांसहार गरे पनि दशैकै लागि प्रचलन अनुसार खसी काट्नुपर्ने चलन पनियस क्षेत्रमा रहेको पाइदैन । मन्दिरमा पूजाका लागि त झन् नवरात्री सुरुहुनुदेखि आठदस दिन पहिलेबाट शुद्ध शाकाहार भोजन गर्नुपर्ने भएकाले नवरात्रीको समयमा मांसहारको त परिकल्पना सम्म पनि गरिदैन । यसरी यस क्षेत्रमा नवरात्रीमा देवीको मात्र पूजा नगरिएर हरेक मन्दिरहरुमा लौकि पद्दति अनुसार नवरात्रीको पूजा अर्चना हुने गर्दछ ।    


  • सम्बन्धित विषय:

  • # नवरात्री


  • प्रतिक्रिया दिनुहोस