मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दसैँका लागि घर सजाउँदै कञ्चनपुरका थारु समुदाय


पश्चिम प्रेस
बिहीबार , कात्तिक २ २०८०
  • 872
    Shares

  • images
    images
    दसैँका लागि घर सजाउँदै कञ्चनपुरका थारु समुदाय

    महेन्द्रनगर ।  यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन्। दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन्।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ। उनले थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घरआँगन सजाउन लागेको बताए। 'अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ', उनले भने, 'दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो।' उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए। थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिनाअघि देखि नै हुने गर्दछ।

    'दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ', उनले भने, 'पूजा सएिपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्ने गर्दछन्।' अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक् रहेको उनले बताए।

    पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि समस्या भएको उनले बताए। 'माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन्', उनले भने, 'सामुदायिक जङ्गलले माटो ल्याउन निषेध गरेपछि यी घरहरू हराउन थालेका छन्।'

    स्थानीय लक्ष्मीराम चौधरी दसैँका लागि सामान जुटाउन व्यस्त छन्। उनले केही दिनअघि देखि माछाको जोहो गर्न लागेका छन्। 'घरमा महिलाहरू घर लिपपोत गर्न लागेका छन्, म माछाको जोहो गर्दैछु', उनले भने, 'दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो।' उनले पछिल्लो समय पक्की घरहरू बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको बताए।

    स्थानीय सीता चौधरीले दसैँका बेला थारु समुदायमा सखिया नाच महत्त्वपूर्ण भएको बताए। 'दसैँको बेला सखिया नाच रातभरि हुने गर्दछ, यो नाचमा भगवानको मात्रै महिमा हुन्छ', उहाँले भन्नुभयो, 'पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ।' 

    टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया नाच नाच्ने चलन छ । पछिल्लो समय यो नाच लोप हुँदै गएको छ। 'पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसकेको छ', उनले भने, 'अहिले संस्कृति जोगाउनलाई भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ।' पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन्। रासस


  • सम्बन्धित विषय:

  • # थारु समुदाय
  • # घर सजाउँदै
  • प्रतिक्रिया दिनुहोस