मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

न्याय र समानताका लागि स्रष्टा योगदान


बुधबार, फागुन ११ २०७८
  • 1.2K
    Shares

  • images
    images
    न्याय र समानताका लागि स्रष्टा योगदान




    मानवको उत्पत्तिकाल पश्चात जनसङ्ख्यावृद्धिसँगै विभिन्न समाजहरु निर्माण हुँदै गए । समयान्तसँगै विभिन्न देश र भुगोलहरुमा निर्मित समाजहरु सञ्चालन र परिचालनका लागि सामाजिक मूल्य मान्यता, कानुन तथा रीति सँस्कृतिहरु जुर्मुराउँदै गए । विस्तारै समाज गतिशील हुन खोज्दै जाँदा वर्गीय विभाजनका रेखाहरु कोरिदै गए । हुनेखानेहरुले हुँदाखानेहरुमाथि दमन शोषण गर्दै गए । यसरी पीडक र पीडितको वर्ग विभाजनसँगै न्याय र समानताका कुरा उठ्न थाले । एकातिर लामो समयसम्म चेतनास्तर सुसुप्त अवस्थामा भएसम्म पीडाहरु सहदै गएको समाजको एउटा वर्गले भने ठीक अर्कोतर्फ क्षणिक स्वार्थपुर्तीका लागि पिडकको पिडा दिने क्रम बढ्दै गयो । सुकरात, ग्यालिलियो लगायतका दार्सनिक वैज्ञानिकहरुमा पनि तत्कालिन पीडक समाजको पीडाबाट अछुत रहन सकेन ।
    यसरी व्यक्तिगत श्वार्थ तथा सामाजिक श्वार्थ तथा सामाजिक श्वर्थको पुर्तिका लागि एउटा व्यक्तिले अर्को व्यक्ति, एउटा समाजले अर्को समाज, एउटा वर्गले अर्को वर्ग शोषणको शृखला बन्दै जाँदा मानवता र समाजको पक्षमा आवाजहरु मुखारित हुन थाले । न्याय, मानवता र समानताको पक्षमा स्रष्टाहरु पनि आआफ्नो ठाउँबाट आवाजहरु बुलन्द गर्न थाले । सामाजिक दमन शोषण, उत्पिडनका काखबाट त्यसका विरुद्ध आवाज उठाउन वर्गीय चेतनाको अभिबृद्धि गरी समातामूलक, न्यायसँगत वैज्ञानिक सामाजिक व्यवस्था स्थापनाका लागि माक्र्स, एँगेल्स, लेनिन, माओ जस्ता दार्शनिक तथा नेताहरुको जन्म हुन गयो । म्याक्सिन गोर्की, लुसुन, पारिजात, भूपी शेरचन, युद्ध प्रसाद मिश्र, गोपाल प्रसाद रिमाल लगायतका श्रष्टाहरु पनि त्यही समाजबाट जन्मिए जहाँ दमन र शोषण व्याप्त थियो । ती स्रष्टाहरुले न्याय र समानताका लागि आवाज उठाए । श्यामप्रसाद, भैरव, देवकोटा लगायतले पनि आफ्ना सिर्जना मार्फत न्यायका पक्षमा आवाज बुलन्द पार्दै गए ।
    विभिन्न कालखण्डमा भएका विश्वयुद्ध हुन वा दिदेशीय युद्ध हुन अथवा देश भित्रकै आन्तरिक द्धन्द किन नहोस ती सबै प्रकारका युद्धहरुले कुनै न कुनै समाज र वर्गमाथि आफ्नो श्वार्थ प्रप्तिका लागि दमन तथा शोषणका बाछिटाहरु छाडेकै पाइन्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाली समाज एकातिर सामन्तवाद, पाखण्डी आडम्बरी व्यवहार, जातीय क्षेत्रीय विभेद एवम् भाषिक लैंगिक विभेदको शिकार छ भने अर्कोतिर नेपालको हरेकजस्तो दलका मुख्य प्रभावशाली र महत्वपूर्ण मानिने नेतृत्वपंतिमा सत्ता श्वार्थ वा प्रलोभनको कारणले अस्थिर सत्ता चलिरहेको र सो कारणले भारतीय विस्तारवादले समय समयमा सीमानामा अन्याय गरिरहेकै हुन्छ । राजनीतिमा श्वार्थी, दलाली, चाकरी, चाप्लुसी प्रवृत्ति हावी हुनु र नेतृत्व जनता र देशप्रति गैर जिम्मेवार हुनको कारणबाट पनि यो वैदशिक विभेदको शिकार नेपालीले हुनुपरेको कुरा घामझैँ छर्लंग  छ  । 

    नेपालमा न्याय र समानताको अवस्था
    प्राचीन समयदेखि नै नेपाली समाज अन्याय र असमानताको जाँतोमा पिल्सिदै आएको छ।  पछिल्लो समयमा आएर नेतृत्वले रुढीवादी सँस्कृति, सामाजिक असमानता विभिन्न प्रकारका विभेद हटाइ समतामूलक सुसँस्कृत समाज निर्माण गर्नुपर्ने ठाउँमा आफ्नो श्वार्थपुर्तिका लागि देशलाई जातीयतामा विभाजन गरेर जनता लडाउने र आफू मोटाउने प्रवृति हावी भएको प्रतित हुन्छ । सत्ता र शक्ति हातमा लिन जे पनि गर्ने र सत्ता शक्ति प्राप्ति पछि जनतालाई उही दास बनाउने मनोवृत्ति हावी भएको पाइन्छ । वर्गीय मुक्तिका लागि लड्नुपर्ने बेला नव शोषितवर्गको पृष्ठपोषण गर्ने प्रवृत्ति पनि हावी हुँदै गएको छ । सत्तापक्षका खराब क्रियाकलापका बिरुद्ध आवाज उठाउनेहरुका मुख बन्द गरिदिने न्यायका लागि उठेका हातहरु माथि हत्गडी लगाउने तथा स्तुतिकार र तथाकथित बुद्धिजीविहरुको गैर प्रगतिशील मनोदशाले गर्दा प्रगतवादी श्रष्टाहरु ओझेलमा पर्ने परिस्थिति सिर्जना भइरहेको संकेत गर्दछ । समयमा न्याय नहुनु अपराधीको संरक्षण हुँदै जानु सत्ता र शक्तिको आडमा जे गरे पनि हुने प्रवृत्तिले नेपालको कानुन भगवानले जानुन भन्ने पुरानै स्थितिमा पुगिरहेको त छैन भनेर प्रश्न गर्ने प्रसस्त ठाउँहरु भेटिन्छन् । 
    यस २१ औँ शताव्दीमा पनि कयौ स्थान र परिस्थितिमा विभिन्न वाहानामा माथिको आदेशमा अन्याय हुन छाडेको छैन । परिणामस्वरुप सरकारी तथा गैरसरकारी जनताका सरोकारवाल निकायहरुमा दिनानुदिन भष्टाचार र अत्यचार मौलाउँदै गइरहेको अवस्था सिर्जना हुनमा राजनैतिक दलाली, माफियाकरण र दण्डहीनता नै हो भनेर भन्न सकिन्छ । समाजवाद र साम्यवादको सिद्धान्त बोक्नेहरुबाटै गैरजिम्मेवारीपूर्ण व्यवहार हुनु, सबैका लागि कानुनी व्यवस्था गर्न नसक्नु, निम्न पूँजीवादी सोच र नव सामन्तवादी व्यवहारको उपज नै हो भन्दा अतिसयोक्ति नहोला । इतिहासका विभिन्न कालखण्ड मल्लकाल, लिच्छिवीकाल तथा अन्य कालहरुमा पनि समाजमा न्याय र समानताको अभाव नै थियो । तर जहानीया राणाशासनबाट तिव्रतर रुपमा बढ्दै गएको असमानता, दमन शोषण २००७ साल, ४६ साल तथा २०६२ ६३ पछि पनि निष्तेजीकरण हुनपर्नेमा नयाँ रंग र रुपमा अन्याय अत्यचार भ्रष्टाचार, महंगी, घुषखोरी, कमिसनतन्त्र, दलाली, चाकरी, चाप्लुसी बढ्दै गएको देखिन्छ । सुधारका पक्षमा थुप्रै आवाजहरु उठे, थुप्रै प्रयाशहरु भए तर ती आवाज र प्रयासहरु दमित र असफल बनाइदै गए । आज देशमा अन्याय यहाँसम्म बढेको छ कि भुमाफियाहरु गाउँशहर हुँदै सिहदरवार र बालुवाटारै पुगिसके । मानव तस्करहरु अनेकन भेषमा बढ्दै गइरहेका छन् । भ्रष्टाचार यतिसम्म मौलाएको छ की अख्तियारको कार्यलय नजिकै रहेको मालपोत कार्यालयमा लालपुर्जामा छाप हानेकै १०० रुपैया तिर्नुपर्ने अवस्था छ । बजारमा वस्तुको मूल्यको ठेगानै छैन । यस्ता उदाहरणहरु खोज्दै जाने हो भने महाभारतै सिर्जना होला जस्तो छ । 


    नेपालमा अन्याय बढ्नुका कारणहरु
    १. सत्तासिनका वरिपरी अयोग्य र श्वार्थी जमातको बोलवाला वातावरण हावी हुनु,
    २. राष्ट र जनसेवा गर्ने भनेर तोकिएका सेवकहरुमा मानवीय संवेदना र सेवाभावको कमी हुनु,
    ३. विउझिएर पनि सुतेजस्तै गर्ने प्रवृत्तिको विकास हुनु,
    ४. सामन्तवादको विरोध गर्ने नवसामन्ती भएर निस्कनु,
    ५. शोशित र पीडितहरुको पक्षमा वकालत गर्नेहरु नै नवशोशक पथमा अगाडि लम्कनु,
    ६. कर्मचारी सेवकहरुप्रति सरकारी विभेद, असमान वेतन तथा व्यवहार,
    ७. इमानदारिता, नैतिकता, कर्तव्य परायणता एवम् सत् चरित्रताको अभाव हुँदै जानु,
    ८. चाकरी चापलुसी, दलाली एवम् माफियातन्त्र मौलाउँदै जानु,
    ९. कानुनी राज्यको अवधारणा कागजमा मात्रै सीमित हुनु,
    १०. विभिन्न किसिमका राजनीतिक एवम् सामाजिक भेदभाव बढ्दै जानु आदि
    अन्याय विरुद्ध स्रष्टा योगदान
    नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल भन्दा अगाडि बाट नै अन्याय र अत्यचार बिरुद्ध स्रष्टाहरुले विभिन्न कालखण्डमा न्याय र समानताका लागि आवाज मुखरित गरेको पाइन्छ । नेपाली समाजलाई विभेद दमन र शेषणका बिरुद्ध तत्पश्चातका समयमा विभिन्न स्रष्टाहरु जस्तै युद्धप्रसाद, श्यामप्रसाद, देवकोटा, युगकवि, गोपालप्रसाद, भुपी, पारिजात, कृष्णशेन लगायत आदिले आआफ्नो सिर्जनाका माध्यबाट ठूलो संघर्ष गरेको इतिहास विभिन्न सात्यिक आन्दोलनहरुबाट प्रष्ट हुन्छ । केन्द्र वा मोफसलबाट थुप्रै स्रष्टाहरुले न्याय र समानताका लागि लैंगिक विभेद र छुवाछुतका बिरुद्ध जातीय र क्षेत्रीय विभेदका बिरुद्ध थुप्रै कविता कोरे एवम् अन्य विधाहरुमा कलम चलाए । रामेश रायन, जीवन शर्मा, जेवी टुहुरे लगायतका थुप्रै स्रष्टाहरुले गीतका माध्यमबाट अन्याय बिरुद्ध लड्दै आएका छन् । भैरव, लक्ष्मण, मनोज, विमल आदि व्यंग्यकारहरुले तिखो व्यंग्यवाणप्रहार गर्दै अन्याय विरुद्ध आवाज बुलन्द गर्दै गए । महजोडी लगायतका विभिन्न कलाकारहरुले कला र प्रहशनका माध्यमबाट सामाजिक न्यायका लागि अनुकरणीय योगदान पुर्याइरहेका छन् । सुदूपश्चिममै पनि विभिन्न समयका कालखण्डमा विभिन्न स्रष्टाहरुले आआफ्नो क्षमताले भ्याएसम्म न्याय र समानताका लागि आवाज उठाउँदै आएका छन् । कि त जोत हलो कि त छोड थलो यदि हैन भने अब छैन भलो भन्दै भीमदत्त पन्तहरुले कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी क्षेत्र लगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा धावा बोलेको इतिहासको साक्षी बेलौरी स्वयम् छ । यसरी स्रष्टाहरुले कविता कोरेर, गजल फोरेर, कथा उनेर, निबन्ध बुनेर अन्य विधाका माध्यमबाट सिर्जनामूल फोरेर न्याय र समातनताका लागि आवाज उठाइरहे र उठाउँदै छन् । बुझ्नुपर्ने कुरा के छ भने एकदुई कविता वा रचनाहरु सिर्जना गर्दैमा कवि र साहित्यकार भइदैन । त्यो सिर्जनाले समाजलाई के दिन खोजेको छ ? समाजलाई सकारात्म वा नकारात्मक कस्तो सन्देश प्रभाव गरेको छ त्यो नै महत्वपूर्ण हुन्छ । यसरी प्रगतिशील भन्न सजिलो भए पनि प्रगतिवादी सोच र चिन्तनबाट ओतप्रोत भइ सिर्जना गर्न र प्रगतिशीलतालाई व्यवहारमा उतार्न त्यति सजिलो भने छैन । प्रलेश कै कुरा गर्दाखेरी अन्याय बिरुद्ध लड्दालड्दै यसको जन्म भएको हो । स्थापनाकालदेखि हालसम्म प्रलेशले न्याय र समानताका लागि थुप्रो लडाइ लडेको र लडिरहेको छ । यसमा आबद्ध स्रष्टाहरु आआफ्नो क्षेत्रबाट आफूसक्दो योगदान बोलेर वा लेखेर दिइरहेकै छन् । कविता,कथा, निबन्ध, उपन्यास आदि कोरेर जनसरोकार र सामान्य मान्छेका आर्थिक सामाजिक सम्बन्धसँग जोडिएर साहित्यमा नयाँ परम्पराको सुत्रपात गर्दै वर्गीय रुपमा पछि पारिएको थिचिएको वर्गको प्रश्न होस अथवा जातीय भेदभाव र क्षेत्रीय रुपका विभेदमा पारिएको समुदायको पक्षधरताको प्रश्न होस प्रगतिशील वा यथार्थतासँग जोडिएर प्रलेशले सिर्जना गरेको साहित्य अग्रगामी रहेको पाइन्छ र छ पनि । सम्पूर्ण योगदानको चर्चा र परिचर्चा गर्न यहाँ असम्भव छ । नेपाल एकीकरणदेखि वर्तमान अवस्थासम्म आइपुग्दा स्रष्टाहरुले न्यय र समानताका लागि व्यक्त गरेका अभिव्यक्तिहरुमा  निम्नानुसारको प्रवृत्ति रहेको पाइन्छ। 
    १. राष्टियता र सामाजिक एकताको आह्वान गर्नु
    २. प्राकृतिक सौन्दर्य एवम् पर्यटन साहित्यका माध्यमबाट राष्टप्रेम दर्शाइ भौगोलिक एकता र राष्टिय अखण्डतामा जोड दिनु,
    ३. विदेशी हस्तक्षेप, भारतीय अतिक्रमण र हेपाहा प्रवृत्तिको विरोध गर्नु,
    ४. राष्टिय स्वाभीमानको विकास गर्नु र चेतना बिस्तार गर्नु,
    ५. सामन्तवाद, प्रभुत्ववाद, शोषण, दमनको विरोध गर्नु,
    ६. दलाली , चाकरी, चाप्लुसीको बिरोध गर्नु,
    ७. बलात्कार, हत्या, हिंसा जस्ता जघन्य अपराध विरुद्ध मानवताको सन्देश प्रवाहित गर्नु,
    ८. लैंगिक समानता, जातीय समानता तथा सामाजिक समृद्धिका लागि सिर्जना गर्नु,
    ९. आफ्नो भाषा, साहित्य, कला र संस्कृतिप्रति माया जगाउनु,
    १०. नेपालको विकास, समृद्धि र प्रगतिको चाहाना प्रकट गर्नु ।
    यसरी विभिन्न विधाका साहित्यकर्मीहरुले कलमका माध्यमबाट माथि उल्लेखित प्रवृत्तिहरु र भावहरु आफ्ना रचना प्रवाहमा प्रवाहित गरेका छन् । यसले स्रष्टाहरु राष्ट र समाज निर्माणका लागि कति दायित्वबोध गर्दछन् तथा न्याय र समानताका लागि जस्तोसुकै विपद, घात र प्रहार सहदै भावप्रवाहित गर्ने कार्यमा भूमिका निर्वाह गर्छन्, गर्न सम्छन् भन्ने प्रष्ट हुन्छ । 


    वर्तमानमा नेपाली समाजमा समानता र न्याय व्याप्त होला भन्ने आसामा नेपाली हुँदाहुँदै तथा न्याय र समानताका लागि थुप्रै संघर्ष गर्दागर्दै पनि कतिपय समस्या र चुनौतिहरु थपिदै गएका छन् । माथि उल्लेख गरिए वमोजिम समाजमा नवसामन्तवादी सोच हावी हुनु, नवशोसकहरु नयाँ नयाँ रुपमा अवतरित हुनु दलाली र चाकरी चाप्लुसी तथा आसेपासे पोस्ने प्रवृत्तिबाट नेपाली राजनीति मौलाउँदै जानु, राजनीतिक विचारधारा प्रगतिवादी सोच र चिन्तनमा स्खलन आउँनु आदिको कारणबाट समाजमा असमानता, विभेद अन्याय, अत्यचार, हत्या, हिंसा बलात्कार जस्ता अपराधिक घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । गणतन्त्र प्राप्तिपछि पनि सत्तको चरित्तमा तात्विक परिवर्तन आउन नसक्नुले पनि अन्याय मौलाउँदै गएको छ । शब्दले होइन कर्मले न्याय र समानता ल्याउनुपर्छ, दण्डहीनताको अन्त्य हुनुपर्छ, सबैका लागि समान न्याय र कानुनी व्यवस्था हुनुपर्दछ भन्ने दिशामा अझ बढी चेतना जागृत गर्न आवश्यक देखिन्छ । अबको दिशा भनेको सहीलाई ठीक र गलतलाई बेठीक भन्ने सोचको विकास गर्ने त्यसका लागि संघर्ष गर्ने, वलिदान नै दिनुपर्ने अवस्था आए त्यसका लागि तयार रहदै समाज र राष्टमा न्याय र समानताको लडाइ लड्नुपर्ने आवश्यकता देखिन्छ । तसर्थ न्याय र समानताका लागि सबै स्रष्टाहरुले अझ सशक्त रुपमा आवाज उठाउदै लेखकीय धर्म निर्वाह गर्नु आवश्यक देखिन्छ । 
     




    प्रतिक्रिया दिनुहोस