आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

जनमानसको विश्वास गुमाउँदै राष्ट्रको चौथो अङ्ग


शनिबार, माघ २७ २०८०
  • 992
    Shares

  • images
    images
    जनमानसको विश्वास गुमाउँदै राष्ट्रको चौथो अङ्ग

    महेन्द्रनगर । पछिल्लो समय नेपालमा पत्रकारिता प्रति जनमानसको विश्वास गुम्दै गएको छ । राष्ट्रको चौथो अङ्गको मान्यता पाएको सञ्चार क्षेत्रमा पछिल्लो समय पत्रकारिता विनाको पत्रकार बन्नेहरूको ठुलै जमात छ ।

    पत्रकारिता आफैमा संवेदनशील विषय हो । देश र जनताको प्रतिविम्ब रहेको पत्रकारिता क्षेत्र दिनानुदिन यसरी जनताको नजरबाट गिर्नु पर्ने अवस्था कसरी सिर्जना भयो ? यसमा सम्वद्ध सबै पक्ष सचेत हुनु जरुरी छ ।

    हरेक पेशाका आ–आफ्नै आचारसंहिता हुन्छन् । पत्रकारिता र पत्रकारको पनि आफ्नै आचारसंहिता रहेको छ । तर यसको विविधता र पत्रकारको चेतना, दक्षता र योग्यताका कारण यो पेसा धुमिल हुँदै भान भइरहेको छ । खास गरि पछिल्लो समय मोफसलको पत्रकारिता हेर्न हो भने पत्रकारिता पेसा आफ्नो इमान, आचारसंहिताको आधारमा अघि बढ्नुभन्दा पनि कमाउने धन्दामा लिप्त बन्दै गइरहेको छ । पत्रकारिता जस्तो संवेदनशील क्षेत्रको दुरुपयोग गरेर व्यक्ति केन्द्रित स्वार्थमा बग्नु आफैँमा दुर्भाग्यपूर्ण छ । पत्रकारिताको खोल ओढेर आफ्नो स्वार्थपूर्तिका लागि गरिने क्रियाकलापले पत्रकारिताको विश्वसनीयता माथि नै प्रश्न खडा गरिदिएको छ । जुन पत्रकारिता क्षेत्रका लागि दूभाग्यपूर्ण हो ।

    कञ्चनपुरमा पत्रकारिताको इतिहास हेर्न हो भने दलीय पत्रकारिताबाट सुरु भएको देखिन्छ । उति बेलाको दलीय पत्रकारिताबाट विकसित हुँदै अहिले पार्टीमा पनि गुटगत पत्रकारिता मौलाएको छ । पछिल्लो समय मोफसलका मिडियाहरू समाज रूपान्तरणका लागि सूचना समाचार सम्प्रेषण गर्नुपर्नेमा व्यक्ती र संस्थालाई खुसी मनाउने गरी समाचार सम्प्रेषणमा लागेका छन् । पछिल्लो समय पत्रकारहरूले सञ्चार माध्यममा समाचार सम्प्रेषण गर्नुको साटो सामाजिक सञ्जालमा आरोप प्रत्यारोप गर्नुले पनि पत्रकारिताको विश्वसनीयता माथि नै प्रश्न उठ्ने गरेको छ । जन्मदिनमा अनाथालयमा खिर खुवाएको,व्यावसायिक पसलहरू उद्घाटन भएको र नेताका भाषणहरूले मोफसलका मिडियाका पानाहरू रङ्गिएका हुन्छन् । यस्तै प्रवृत्तिका कारण पछिल्लो समय मोफसलको पत्रकारिता धरापमा समेत छ । यस्तो प्रवृत्तिले केहीको स्वार्थ पूर्ति भए पनि पत्रकारिताको उद्देश्य भने पुरा हुँदैन ।

    सत्य–तथ्य र सन्तुलित समाचार सङ्कलन गर्नु पर्नेमा मोफसलको पत्रकारिता चुकेको देखिन्छ । पछिल्लो समय चर्चित हुनका लागि पत्रकारहरू जे लेख्न पनि तयार हुने गरेका छन् । जसले गर्दा आवेगमा बिकाऊ समाचार लेख्ने र फुर्सदमा पछुताउनु परेको छ । पत्रकारले लेखेका समाचारले समाजमा आतङ्क, अराजकता उत्पन्न हुनु दुर्भाग्यको विषय हो । विषयवस्तुको सत्य र सही उठान गर्नुभन्दा अर्काको बहकाउमा लाग्ने र सामाजिक सञ्जालमा उपभोक्ता बढाउने, समाजलाई नै अराजक मच्चाउने हेतुले गरिएको पत्रकार र पत्रकारिताले समाजमा आपसी द्वन्द्व र अराजकता निम्त्याउनेछ । सूचना प्रेषित गर्दा व्यक्तिको चरित्रहत्या र मर्यादामा आँच आउने गतिविधिले समाज आपसी द्वन्द्व र अराजकतामा गुज्रिनु परेको छ । पत्रकारिता जस्तो संवेदनशील पेसामा समेत कुनै योग्यता, क्षमता र इमानदारीको कुनै पनि मापन नहुनुले पनि यस पेसाप्रति जनताको विश्वास दिन प्रतिदिन गुम्दै गइरहेको छ ।

    प्रेस स्वतन्त्र हुनुपर्छ । नेपालको संविधानले पनि प्रेसलाई स्वतन्त्रतालाई पदान गरेको छ । तर प्रेस स्वतन्त्रताका आडमा पत्रकारले जे गरे पनि हुन्छ भन्ने हेतुले गरेका अनैतिक कृयाकलापले भने पछिल्लो समय समाजमा नकारात्मक असर परेको छ । पत्रकारको आडमा गरिने यस्ता क्रियाकलापले प्रेसले झन झन विश्वास गुमाउदै गएको छ । अहिलेको गणतान्त्रीक लोकतन्त्रमा प्रेस यति स्वतन्त्र भएको छ कि स्वयंम पत्रकाहरुहरुनै कमिसन दिने दोकान खोलेर बसेका छन । यो पत्रकारिताका लागि दूभाग्यपूर्ण हो ।

    पत्रकारितामा देखिएको विकृति, विसङ्गति रोक्नका लागि सम्बन्धित निकाय अग्रसर हुनु आवश्यक छ । पत्रकारिताको आचार संहितामा टेकेर पत्रकारिता गरेमा जनताको नजरमा गिरेको साख उठाउन सकिन्छ होइन भने कानुन पनि मै, प्रशासन र न्यायालय पनि मै भन्ने हेतुले गरिएको पत्रकारिताले एक दिन आफैलाई डुबाउँदैन भन्न सकिँदैन । किनकि अराजक भीडको कुनै मूल्य मान्यता र स्वरूप हुँदैन ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रको चौथो अङ्ग


  • प्रतिक्रिया दिनुहोस