महेन्द्रनगर । मन र मुटु साट्ने धेरै जोडीले मनाउने भ्यालेन्टाइन डे कहिले र कसले सुरुवात गरेको हो ? यस बारेमा धेरै नै मत छन् । अनि धेरै काल्पनिक कथाहरू बाट ढाकिएको छ प्रेम अथवा प्रणय दिवस । नेपाल सहित विश्वभर बुधवार भ्यालेन्टाइन डे अर्थात् प्रेम अथवा प्रणय दिवस मनाइँदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउने गरिएको छ ।
यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । केही दिन अघि देखिनै सहर बजारका विभिन्न फूल पसल रातो गुलाबले झकिझकाउ भएका छन् ।
कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको हो । मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो । यस्तै प्राचीन रोममा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो ।
विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट् क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट् क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लङ्घन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेलरकी छोरीलाई दिएको कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो । प्रेम अनि विवाहका लागि सहादत पाएका कारण उनको सम्झनामा विश्व भर भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।
संयोगले भेलेन्टाईन डे आजकै दिन मेरो पनि वैवाहिक वर्षगाँठ परेकोले मेरो उनिलाई वैवाहिक वर्षगाँठको साथसाथै भेलेन्टाईन डे को असिम शुभकामना ।
सबैसबैमा प्रणय दिवस अर्थात् प्रेम दिवस अथवा भेलेन्टाईन डे को धेरैधेरै शुभकामना , सबैका परिवारमा खुशी छाओस् एक आपसमा माया र विश्वास प्रगाढ बनोस् जीवन सुखमय वितोस हार्दिक हार्दिक शुभकामना ।
.gif)