हरियो मोजाको बल
रुखको हाँगाको विकेट
र दशैँको दक्षिणा जोगाएर
किनेको भिक्सेनको ब्याट –
गल्लीमा नानीहरू क्रिकेट खेलिरहेछन् ।
ब्याट्सम्यानले ब्याटिङ गरेपछि
अचानक बल मेरो मुख निरै आयो ।
म स्तब्ध भए
कि सायद मेरो मुख निर ग्रेनेड आइरहेथ्यो ।
कुनै समय म क्रिकेट खेलेको हेर्थे मात्र ।
तैँले नै थिइस् हिम्मत दिएको—
'आइज तुइलै खेल्ल ।
गीरले लाग्ज्ञा झिक्कै भए एकदिन त दुःखोलो'
त्यसपछि हो म डरसँग हार्न छोडेको ।
यार तैँले क्या खत्रा थ्रो गर्थिस् बल !
अर्काको घरमा गएको बल
ल्याउन तँ मात्रै हिम्मत गर्थिस् ।
सिधै फालिदिन्थिस बलरको हातैमा ।
पक्कै त्यसरी नै फालेको हुनुपर्छ
बंकरमै पसेको ग्रेनेड तैँले ।
…
त्यो बेला साँझ हाम्रै लागि पर्थ्यो ।
हामी निकालीहाल्थ्यौ साइकल,
बेफिक्री पेडल मार्थ्यौ दोधारा चाँदनी पुल तिर ।
साँझ पनि ढिला रात परिदिन्थ्यो ।
छुट्टीको दिन
घाम हाम्रै लागि चर्किन्थ्यो ।
लोकेन्द्र, चक्र, त, म
नुहाउन गईहाल्थ्यौ रौतेला खोला तिर ।
पैसा कमाउन विदेश जान्छु भन्दा
तैँ थिस् रोक्ने–
'कै न कै गर्न सकिने हो,
आकाशले पानी पाड्डे सोचेपाछा
कसैले रोकेर रोकिने नाइ,
क्याई जान् पड्यो अर्का देश'
र हामीले यै कृषि गर्ने सोच्यौँ ।
मैले सिँचाइ सिक्न इन्जिनियरिङ पढेँ ।
तैँले कृषि पढिस् ।
विज्ञ बनेर फर्किन त इजरायल पुगिस्,
जाँदा तैँले भनेको कुरा अझै आलै छ –
'खेतगाडा तयार पारिराख्या,
छिट्टै बिउ रोप्द आउने हूँ !'
विपिन यार,
हम्रा खेत तयारै छन्, बाँझै छन्,
खेतमा तिनपातेका कोपिलाहरुले
आफ्नो पत्रहरूमा
लुकाउने गरेका छन् बिहानी शितका थोपाहरू ।
तुई मात्तरी गायब छै यार दोस्त ।
बंकर मै पसेको ग्रेनेड
तैँले बाहिर फ्याँकेर
कति मुटु भित्र धड्किरहेको देश जोगाइस् दोस्त !
मिडियामा देखाउन बाहेक
देशले तँलाई जोगाउन सायदै केही गर्यो ।
खुब याद आउँदै छ यार दोस्त तेरो ।
यार तँलाई खोज्न
काँ काँ गुहारीसके
पालिकासँग गुहारे
सरकारसँग गुहारे
यु एन सँग गुहारे
गुहारले नपुग्न थालेपछि
आफै चिच्याईरहेछु 'सिजफायर'
प्रयास गरिरहेछु तेरो लागि यसरी चिच्याउन
की फैलियोस् चिच्याहट र त्यसको गुञ्जले
ढाकिदियोस् संसारका सबै हटीयारको आवज ।
.....
विपिन यार,
तँ नभेटिदै जाँदा, देश पनि हराउँदै गएको छ !
पोइट आइडलमा मोहित जोशीले प्रस्तृत गरेको कविता
.gif)