शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

शब्द श्रद्धाञ्जली साहित्य श्रष्टा डम्बर शर्मा बडू


मंगलबार, चैत ६ २०८०
  • 681
    Shares

  • images
    images
    शब्द श्रद्धाञ्जली साहित्य श्रष्टा डम्बर शर्मा बडू

    मानिसलाई शब्द पनि कति किसिमले लेख्नुपर्ने रहेछ आफैलाई एक किसिमले अनौठो लागिरहेछ । मानिसको जन्मसँगै मृत्यु त सत्य विषय हो तर कतिपय मानिसहरूको भौतिक शरीरको अनुपस्थितिमा पनि उसले गरेका सत्कार्यहरूले सम्पूर्ण समाजलाई नै दुःखको भुमरीमा घुमाई रहने रहेछ । त्यस्तै व्यक्ति हुनुहुन्छ डोटेली, तथा नेपाली साहित्यका कवि, लेखक, गजलकार, व्यङ्ग्य एवम् हास्य विधाका धरोहर डम्बर शर्मा बडू ।

    २०५१ सालतिर वहाँसँग मेरो भेट महाकाली साहित्य सङ्गमको कार्यक्रममा भयो । पहिलो भेटमा नै वहाँ पूर्व परिचित आफ्नै भाइ जस्तो व्यवहार पाए र त्यही दिन वहाँले बझाङ्गी भाषामा एक हास्य कविता सुनाउनुभयो । बैतडीको भाषा बोल्ने मानिसले बझाङ्गी भाषामा हास्य कविता सुनाउँदा हामी हलभरिका मानस यती हाँस्यौँ कि जसको शब्दद्वारा वर्णन गर्न असमर्थ छु । पहिलो दिनको भेटमा नै वहाँ सरल स्वभावका साहित्य विशेष साधक मिलनसार हास्य रसका भण्डारका रूपमा परिचय पाए ।

    यसपछि समय–समयमा साहित्यिक कार्यक्रम गौरा पर्वको बेला, विवाह, पाठ शिव मन्दिरको प्राङ्गणमा श्रीमद्भागवत कथा वाचनको समय, डिलाशैनी गाउँपालिकाको आयोजनामा चर्मण्वति साहित्य सम्मेलन तथा नेपाल भारत काव्य गोष्ठी २०८० जेठ १५ र १६ गते सम्पन्न कार्यक्रम लगायत स्थानीय स्तरमा बाक्लै भेटघाट भइरहन्थ्यो । जब जहाँ भेट भए पनि उही आदर भाव, उही उच्च सम्मान, उही सरल र हँसिलो अनुहारसँगको निकट परिचयले आजको दिनमा वहाँको भौतिक चोला फेरिएको विषयमा विश्वास भइरहेको छैन ।

    चर्मण्वति साहित्य सम्मेलनको कार्यक्रमबाट महेन्द्रनगर फर्किने क्रममा हामी ( रमेश पन्त मितबन्धु, जगदीश ओझा, नारायण गिरी, नारायण लम्साल, डम्बर शर्मा बडू, सिर्जन श्री र पत्रकार) थियौँ ।

    बाटोमा उदयदेवको मन्दिरमा दर्शन ग¥यौँ अनि पाताल भुवनेश्वर जाने विषयमा हिँड्नु पर्ने हुँदा मैले ‘जाँदैन हजुरहरु जानुहोस् म यही गाडीमा बस्छु’ भन्दा शर्मा जी लगायत सबैले भन्नुभयो यो मौका कहाँ मिल्छ ? बिस्तारै जाउँला बाटो सजिलो छ, हिँड्नुहोस् भनेपछि म पनि गए । हुन पनि बाटो सजिलो रहेछ । पाताल भुवनेश्वरको प्राकृतिक गुफाको दर्शन गर्न पाउनु भनेको सौभाग्य नै रहेछ । गुफामा बसेर शर्मा जीले फाग गाउनुभयो सुन्दर स्वरका धनी धर्म र संस्कारका प्रवर्तक शिव शक्ति भावले ओत परोत भएको देख्न पाउँदा हाम पनि भाग्यशाली भयौँ । वहाँको धार्मिक गाथाहरूको ज्ञानलाई यसरी प्रस्तुत गर्नुभयो कि त्यो ठाउँ नै झंकारले जाज्वल्यमान भयो । पाताल भुवनेश्वर महादेवको स्थान धन्य भयो, हामी श्रोता पनि धन्य भयौँ ।

    यसै गरी बाटो भरी कहिले कविता कहिले हास्य चुट्किला सुनाउदै महेन्द्नगर पुगेको थाहा नै भएन । शर्माजीको साहित्य पतिको रुचि,लेखन समर्पणको विषयमा जति खोज्यो त्यति सृजनाहरू प्राप्त हुनेछन् ।

    यही मिति २०८० चैत ३ गतेको योग चौतारीको सन्ध्याकालीन साहित्यिक मञ्चमा पनि बडूजीलाई साहित्यिक श्रद्धाञ्जलीको कार्यक्रम गरेको थियो । यो कार्यक्रममा पनि वहाँका कृति रचना र हास्यव्यङ्ग्य विषयमा चर्चा गरियो । बडू जीको लागि यो कार्यक्रमको आयोजक योग चौतारीलाई हार्दिक धन्यवाद छ ।  एक श्रष्टाको सम्मानमा १ घण्टा दिनु भनेको सम्पूर्ण श्रष्टाको सम्मान गर्नु हो । यो परम्पराको थालनी गर्ने योग चौतारीका संस्थापक योग गुरु लवराज भट्ट तथा वहाँको सम्पूर्ण टिमलाई पुनः हार्दिक धन्यवाद छ ।

     यस्ता कार्यक्रमले श्रष्टालाई सधैँ जीवित राख्ने रहेछ भन्ने पङ्क्तिकारको अनुभूति हो । समय समयमा साहित्यिक कार्यक्रमका झल्काहरू याद आउँदै गर्दा श्रद्धाञ्जलीका दुई शब्द कोरे ।

    यो शोकको घडीमा वहाँको धर्मपत्नी, छोरा छोरी लगायत परिवारजनमा गहिरो संवेदना तथा श्रष्ठा डम्बर शर्मा बडू ज्यूलाई  हार्दिक शब्द श्रद्धाञ्जली व्यक्त गर्दछु ।

     

    गोलोकमा वास होस् !!!

    नारा जोशी

    पूर्व शिक्षक बैजानाथ उमावि

    कञ्चनपुर

     

     




    प्रतिक्रिया दिनुहोस