शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चैते धानमा किसानको आकर्षण


पश्चिम प्रेस
बिहीबार , चैत १५ २०८०
  • 561
    Shares

  • images
    images
    चैते धानमा किसानको आकर्षण
    रासस । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आएका छन । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गरे । 
     
    राम्रो उत्पादन दिने र  वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान रोप्न थालेको पतीरामले बताए । “उत्पादन बर्खे धानकै जस्तो हुन्छ । बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ”, उनले भने, “बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन । त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए ।”
     
    भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्नुहुन्छ । उनले हिउँदे खेतीमा तोरी लगाउछन । भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन । “खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ । पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो”,  रुपलालले भने, “चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन । उजाड देखिने उर्वर फाँट वैशाख÷जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन् ।”
     
    भजनी–८ का किसन चौधरीले ११ वर्षदेखि चैते धानखेती गर्दै आउनुभएको छ । वर्षात्को समयमा पथरैया नदी र काढा नदीको डुबानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आएका छन ।“बर्खाको समयमा बाढी र डुबानका कारण कृषियोग्य फाँट सबै बाँझा हुन्छन् । लगाएको खेती पनि डुबानले सबै नष्ट हुन्छ”, किसनले भने, “बर्खाको विकल्प फागुन–चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको सङ्ख्या बढ्दै गएको छ ।” उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको उहाँको बुझाइ छ ।
     
    नगरपालिकाको वडा नं ८ मा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याइएको छ । नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण वडा नं ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले जानकारी दिए । 
     
    “पालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकिएन । किसानलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ”, उनले भने, “बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका किसान चैते धानमा आकर्षित छन् । त्यसलाई फैलाउँदै लैजान नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ ।”
     
    नगरपालिकामा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भइरहेको छ । गत वर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेका कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए । उनँका अनुसार चैते धानका चार–पाँच प्रजातिका छन् ।
     
    नगरपालिकाले किसानको पहिचान खुल्ने गरी कृषि व्यक्तित्व (प्रोफाइल) निर्माणको तयारी पनि गरिरहेको छ । नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन रहेको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाका अनुसार वर्षायाममा झण्डै तीन हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ ।
     
    टीकापुर नगरपालिकामा पनि चैते धानको विस्तार सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले चैते धान विस्तारको कार्यक्रम अघि सारेको हो । 
     
    नगरपालिकाको वडा नं ६, ७ र ८ को डुबान क्षेत्रमा चैते धान विस्तार भइरहेको नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए । “गत वर्ष भन्दा यस वर्ष केही किसानले धानखेती गरेका छन् । त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ”, उनले भने, “किसानलाई चैते धानप्रति आकर्षण बढाउन आगामी दिनमा नगरपालिकाले कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”
     
    जोशीपुर गाउँपालिकामा पनि बर्सेनि चैते धानको खेती विस्तार हुँदै गएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख किशोर पन्तले गत वर्षको तुलनामा यस वर्ष चैते धान खेती गर्नेको सङ्ख्या बढेको बताए । “यस वर्ष झण्डै २० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको पाइन्छ । जुन गत वर्षको भन्दा बढी हो”, उनले भने, “गाउँपाकिकाले मात्रै १० हेक्टर क्षेत्रफलका लागि किसानलाई धानको बीउ वितरण गरेको थियो ।” 
     
    गाउँपालिकको वडा नं ५ मा किसानले सबैभन्दा बढी चैते धान रोप्ने गरेका भन्दै पन्तले यहाँ एक हजार एक सय २० हेक्टर कृषियोग्य जमिन रहेको बताए ।कुनै समय चैते धानप्रति किसानको निकै आकर्षण रहेको जानकी गाउँपालिका–४ र ७ मा भने सिँचाइको समस्याका कारण खेती गर्न छाडेका छन् । राष्ट्रिय गौरवको आयोजना सुरु भएपछि सहजरूपमा सिँचाइको पहुँच नहुँदा किसानले चैते धानखेती छाडेका बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताए ।
     
    “सहकारीले चैते धानको बिज वृद्धिको कार्यक्रमअन्तर्गत खेती गर्दै आएको थियो । त्यसमा किसानलाई प्रोत्साहन गर्ने काम पनि सहकारीले गर्दै आएको थियो”, रावतले भने, “आयोजनाको काम हुँदा सिँचाइमा समस्या भएपछि अहिले पूर्ण रूपमा धानखेती रोकिएको छ ।” सिँचाइको सहज सुविधा भए पुनः चैते धानखेती विस्तार कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।
     
    जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पालिकाभित्र यस वर्ष करिब तीन हेक्टर क्षेत्रफलका मात्रै चैते धानको खेती भएको बताए । “केही वर्ष पहिले पालिकाभित्र मात्रै आठ–नौ हेक्टरमा यो धानखेती गरिन्थ्यो । सिँचाइको सहज सुविधा नहुँदा अहिले अधिकांशले छाडेका छन”, उनले भने ।

     


  • सम्बन्धित विषय:

  • # चैते धान
  • प्रतिक्रिया दिनुहोस