एउटा अज्ञात भनाई छ ‘हरेक हृदयभित्र दुःख लुकेको हुन्छ कोही हाँसेर लुकाउलान् !कोही रोएर देखाउलान् कुरा एउटै हो ।’
आज यस्तै मनभित्र अन्तर द्वन्द्व हलचल गरिरहेछ । कसलाई देखाउने? कसरी देखाउने ? कहाँ प्रदर्शन गर्ने ? हाँसेर लुकाउने की रोएर देखाउने ? यो जुक्ति फुरी रहेको छैन । एक भेल झैँ मनमा उर्लिन्छ र फेरी बिस्तारै वेग कम हदै जान्छ तर केही समय (घण्टाका वा दिन) फेरी आफ्नै लयमा उर्लिन्छ । पोखिन खोज्छ तर पोखिन पनि अनेक किसिमका अप्ठ्याराहरूले रोकिदिन्छन् ।
पोख्न सजिलो त छ तर पोखिएपछि बटुली दिने हातहरूको आवश्यकता महसुस हुन्छ । तै पनि आज पोख्नु चाहिए कसैले बटुल्ने छन् । न चाहिए छर्पष्ट भएको हेर्ने दर्शकको त कमी अवश्य पनि हुने छैन ।
प्रिय कञ्चनपुर ! गुनासो तिमीसँगै नै पोख्ने अनुमति चाहन्छु । तर तिमी चुप बस्ने छैनौँ मलाई अवश्य अनुमति दिनेछौँ । बरु मेरो गुनासोलाई जन समक्ष पु¥याएर कार्यान्वयन गर्नमा मद्दत गर्नेछौ । मेरो गुनासोमा तिम्रो सहानुभूति होइन सहयोग चाहिएको छ । फेरी सुनेर नसुने झैँ गर्न पाउने छैनौँ है ! यो बाचालाई पनि मौन स्वीकृति दिने नै छौ भन्ने आशामा छु ।
प्रिय कञ्चनपुर ! संसारसँगै तिम्रो पनि दिन दुई गुना र रात चौगुना उन्नति प्रगति भएको नै छ । बिजुली, पानी, सड, इन्टरनेट, स्कुल, विद्यालय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी कार्यालय वाणिज्य व्यापारी व्यवसायीका निजी भवन, पार्क लगायत आजको विज्ञान तथा प्रविधिको युगले दिएको सुविधा तिम्रो तिम्रा सहरका बासिन्दालाई प्राप्त नै छ । जसको उपभोग गरेर आम्दानी गरी बिलासी जीवन यापन गर्नेको कमी पनि छैन भने एकातिर आयातित संस्कृतिको सिको गरेर आफ्नो संस्कार र संस्कृति पनि तिरस्कृत नै भएको देख्न पनि मुस्किल छैन । आफ्नो खानपान, संस्कार रीतिरिवाज, चाडपर्व गरगहना, भेष भूषा पनि परनिर्भर भइसकेका उदाहरण यत्र तत्र सर्वत्र देख्न चस्मा लगाउनु पर्दैन । सामान्य भन्दा सामान्य तिम्रो सहरका नागरिकले गाई पाल्न छाडिसक्यो । घरमा पकाएको भोजन मिठो हुँदैन । विवाह, वर्तवन्ध, पास्नी, नामकरणदेखि वेवी सावरजस्ता कर्मलाई सकेसम्म भड्किलो बनाउन त तछाड मछाड भइरहेको तिम्रो सहरमा सेवा निवृत्त शिक्षक, प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, निजामती कर्मचारी तथा समाजका ज्येष्ठ नागरिकको लागि एक सार्वजनिक वाचनालय, पुस्तकालय छैन कञ्चनपुर ! पङ्क्तिकारको गुनासो वा छटपटी यही पुस्तकालय हो कञ्चनपुर !
तिम्रो सहरका लब्ध प्रतिष्ठित व्यक्तित्वहरू आफ्नो आवास भित्र गुम्सीहरको छन् छटपटीरहेका छन् । आफ्ना विचारका अमूल्यउ खजानाहरूलाई त्यो अमुक टी.भी. वा मोबाइलसँग साटिरहेका छन् । समकक्षीसँग विचार आदान प्रदान गर्ने पुरानो परम्परा हराइसक्यो ।
एक समय थियो गाउँघरका केटाकेटी बुढा पाखाका कथा सुन्न, रामायण सुन्न, वन ज्ञान गुनका कुरा सुन्न आँगनमा बसेर तर आज यो सहरीकरणको व्यवस्थाले त्यो समय त एकादेशको कथा भइसक्यो ठिक छ परिवर्तन हो । गाउँको विकास भएर सहर हुनु त एकदम समयको माग हो विकास नै उन्नतीको मार्ग हो यहाँ पङ्क्तिकारको भनाई विकास हुनुहुँदैन भन्ने कदापि होइन । बरु केही चाहिँ हो भने विकसित एवम् सभ्य सहरको पहिचान शान भनेको सहरको सार्वजनिक पुस्तकालय पनि हो । जहाँ ज्येष्ठ बरिष्ठदेखि कनिष्ठ नागरिकको पहुँच हुन सकोस्, त्यहाँ बालबालिका युवायुवती, प्रौढ कृषक तथा आम नागरिकले आफूले चाहेको पाठ्य सामग्री पढ्न पाउने वा सीप हस्तान्तरणका केही तरिकाहरु प्राप्त हुन । गाउने ,बजाउने, नृत्य गर्ने, चित्र बनाउने, अथवा स्थानीय स्तरका नयाँ सीपहरू हस्तान्तरण हुने एक सार्वजनिक स्थान तिम्रो सहरमा स्थापित हुन सके तिम्रो सहरको उचाइ अवश्य पनि चुलिने छ । यहाँ सिको गर्ने ठाउँ छैन जस्तो अनुभूति पोख्ने कञ्चनपुर तर तिम्रो योजना, तिम्रो छनोट, तिम्रो व्यवस्था के छ ? ...
प्रिय कञ्चनपुर ! तिम्रो सहरमा पुस्तकालय नभएको कहाँ हो र ? एक थियो वाल पुस्तकालय जुन आज नाम पनि हराइसक्यो ठाउँ पनि सबैलाई थाहा छैन होला। पङ्क्तिकारको बुझाइमा ओपेरा होटेलको दक्षिणपट्टि हालको सब्जी मन्डीको पश्चिमपट्टि रहेको घर हो जसमा आजभोलि विभिन्न किसिमका घाँसपातले घरको छानो सजाइएको छ अर्थात् एक खण्डहर जस्तै छ । यो वाल पुस्तकालय थियो र आज पनि कहीँ कतै यही नाममा यो घर हुनुपर्छ । यस्तै अर्को हो इन्जिनियर श्री वीर सिंह हमाल एवं शिक्षक श्री मधु हमालले आफ्नो निजी सारमा आफ्नै घरमा २०५० सालमा स्थापना गरेको स्थापना गर्नुभएको सुजित स्मृति पुस्तकालय गल्ली नम्बर ३ मा थियो उहाँहरूले आफ्नो एक मात्र पुत्रको देहावसान भएपश्चात् उसै स्मृतिमा सुजित स्मृति पुस्तकालयको स्थापना गर्नुभएको विषय तिम्रो सहरका हरेक नागरिक विद्यार्थी शिक्षक प्राध्यापक सबैलाई थाहा छ । यस पुस्तकालयले झन्डै ३८ वर्ष निजी स्तरबाट तिम्रो सहरका नागरिकलाई पठन संस्कृतिमा सहयोग पु¥याएको हो। यो पुस्तकालयलाई २०७८ फागुनमा भीमदत्त नगरपालिकाको वार्ड नं ४ को कार्यालयको एउटा कोठामा नगरपालिकाकै अनुमतिमा सारिएको हो। त्यसपछि त्यहाँ रहेका पुस्तकका संरक्षण संवर्द्धन तथा सञ्चालन गर्ने जिम्मेवारी भीमदत्त नगरपालिकालाई सुजित स्मृति पुस्तकालयका संरक्षक इन्जिनियर श्री वीरसिंह हमालले लिखित पत्र मार्फत हस्तान्तरण गरिएको थियो। तर हाल त्यहाँ रहेका पुस्तक के कस्तो अवस्थामा छन् त्यसको केही जानकारी छैन । यसरी पुस्तक पनि झन्डै पाँच हजार जति भएको र एक स्थानको मात्र आवश्यकता भएको समयमा तिम्रो सहरको कुनै पनि स्थानीय सरकारको मातहतमा रहेको कार्यालयको एक हलमा वा नयाँ भवन निर्माण गरेर पुस्तकालय भवन बनाउन सकिँदैन कञ्चनपुर ? पङ्क्तिकारको गुनासो तिमीसँग नै छ नत्र कसलाई भन्ने कुन निकाय हो जसले यो सहरमा पठन संस्कृतिको विकास गरी सभ्य एवं वैभवशाली सहरको रूपमा आफ्नो परिचय दिन सक्नेछ ।
तिम्रो सहरको छिमेकी जिल्ला कैलालीलाई हेर्दा तिमीलाई कस्तो अनुभव हुन्छ ? त्यहाँको बाटो सरसफाइ पशु चौपायाको व्यवस्थापनदेखि कैलाली पुस्तका कैलाली जनपुस्तकालयको भवन उसको ज्ञान उसका आजीवन सदस्यको सङ्ख्या उसको कला साहित्य तथा संस्कृतिप्रतिको चासो देखेर कञ्चनपुर तिमीलाई केही गरौँ जस्तो महसुस हुँदैन र ? या केही हुँदाहुँदै पनि बुझ पचाएर बसेका हौ ? तिम्रो नाम भन्ने कन्चन तर यसको गरिमा भने उचाइमा उक्लनुको ठाउँमा जहाँको त्यही कि त्यहीभन्दा पनि एक पाइला अझै पछाडि हो । यो मूल्याङ्कन गर्ने जिम्मा तिम्रै सहरका आम नागरिकमाथि रहनेछ। जनइच्छा जनचाहना र आफ्ना आफ्ना नागरिकलाई सभ्य भव्य व्यवस्थित एवं सुनिश्चित भएको देख्ने इच्छा त तिम्रो पनि हुनुपर्छ है कञ्चनपुर ! व्यक्तिगत रूपमा छिमेकीले ठुलो घर बनाउँदा साइकल मोटरसाइकल वा कार किन्दा बच्चाहरूलाई निजी विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउँदा अर्को छिमेकीले पनि आफ्नो सकेको सेवा सुविधा सम्मान गर्ने चाहना राखेको देखिन्छ भने कञ्चनपुर तिम्रो पनि नजिकको छिमेकी जिल्ला कैलाली हो कि त्यो पनि एकै भूगोल एकै हावापानी उस्तै नागरिकको बसोबास भएकोमा कैलालीको त्यति उचाइ हुँदा तिमीलाई उचाइ बढाउनमा कुन पोषक तत्त्वको कमी भयो र ? जसले गर्दा तिम्रो मूल्याङ्कनकर्ता तिमीलाई कमजोर महसुस गरिरहेका छन् कि ? एक समय अर्थात् २०६० को दशकमा तिम्रो शिक्षाको केन्द्रबिन्दु थियो तिम्रो शान शिद्धनाथ विज्ञान तथा मानविकी क्याम्पस । यो क्याम्पसले हजारौँ डाक्टर, इन्जिनियर, शिक्षक, प्राध्यापक, व्यापारी तथा राष्ट्रको उच्च ओहोदाका कर्मचारी उत्पादन गरी राष्ट्रलाई नै विशेष गुण लगाएको विषय घाम जतिकै छर्लङ्ग छ। यस्तै निजी स्तरमा सञ्चालित कञ्चन विद्या मन्दिर, महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण), बैजनाथ माध्यमिक विद्यालय लगायतका विद्यालयहरूले शिक्षाको विकास तथा विस्तारमा विशेष योगदान पुर्याएको विषय तिम्रो दस्ताबेजमा अङ्कित हुनुपर्छ कञ्चनपुर !
अब धेरै ढिला गर्नु हुँदैन कञ्चनपुर ! एक भव्य सभ्य पुस्तकालयको व्यवस्था गर्न यो पङ्क्तिकारको हार्दिक अनुरोध छ। अवश्य पनि सुन्ने छौँ र आम नागरिकलाई सुनाउनेछौ यदि तिमीलाई साँच्चिकै नै पोषक तत्त्वको अभाव खड्किएको हो भने आम नागरिक सामुन्ने जिम्मेवारी पूरा गर्ने सहयोगी दाताको कमी हुने छैन मात्र हृष्टपुष्ट हुने इच्छाशक्ति तिम्रो हो कञ्चनपुर तिमीसँग पङ्क्तिकारको अपिल हो ।
.gif)