बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पत्ति


पश्चिम प्रेस
आइतबार, जेठ ६ २०८१
  • 481
    Shares

  • images
    images
    गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पत्ति

    महेन्द्रनगर ।  ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उनकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त छन्। यतिबेला उनीहरु छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहका छन् । 

    बर्दियाको बडैयाताल गाउँपालिका–८ कण्ठपुरका उहाँहरु पारिवारको आर्थिक अवस्था नाजुक भएपछि आफूले सृजना गरेका गीत गाउँदै आर्थिक सङ्कलनमा जुटेका छन् । बाँसुरी, सारङ्गी र मादलको धुनमा सुमधुर गीत गाउँदै गाउँ सहर डुलेर आर्थिक सङ्कलन गरेर परिवारको गुजारा चलिरहेको छ । 

    “घरमा कमाउने कोही छैन । भएकै खेतमा बाली लगाउन पनि खेतालाको भर पर्नुपर्छ । खान लाउन र छोराछोरीलाई पढाउन पैसा अभाव छ । त्यसकै लागि खर्च जोहो गर्न आर्थिक सङ्कलन गरिरहेका छौँ”, कञ्चनपुरको झलारीमा भेटिएका धनबहादुरले भने, “दसैँँतिहार र छोराछोरीको विद्यालयको बिदाको समय गाउँ सहर डुल्छौँ ।”

    जन्मजातै न्यून दृष्टियुक्त धनबहादुरले केही गीत रेकर्ड पनि गराएका छन् । थुप्रै गीत सृजना गरे पनि आर्थिक अभावले रेकर्ड गराउन नसकेको उनले सुनाए। गीत रेकर्ड गर्न नसके पनि गाउँबस्तीमा आफूले सृजना गरेका गीत सुनाउने गरिरहेका छन् उनी । उनी कहिले माया पिरतीका गीत सुनाउँछन् त कहिले दुःख, सुख र व्यथाका । 

    “अहिले अडियो मात्रै निकालेर भएन । भिडिओ पनि बनाउनुपर्छ । खर्च धेरै लाग्ने भएकाले बनाउन सकिएको छैन”, उनी भन्छन्, “आफूलाई खान लाउनलाई त धौ धौ छ । कसरी गीत रेकर्ड गराउने रु”

    गाउँबस्ती डुल्दै गीतमार्फत उनीहरु आफ्नो कथाव्यथा सुनाउँछन् । धनबहादुरका चार सन्तान छन् । तीमध्ये दुई छोरीको बिहे भइसकेको छ । हाल साथमै रहेका एउटी छोरी कक्षा १० र छोरा ८ मा अध्ययनरत छन् । 

    “हामीहरुले आँखा देख्न सकेनौँ । छोराछोरी आँखा देख्छन् । शिक्षा दिएर उनीहरुलाई बाहिरी संसार देख्ने बनाउने सपना छ”, प्रमिलाले भनिन्। परिवारको आर्थिक अवस्था नाजुक भएपछि डेढ दशकदेखि ठाउँठाउँ डुलेर सहयोग सङ्कलन गरिरहेको उनको भनाइ छ । झलारी भेटिनुभएका उनीहरु धनगढी हुँदै घरतिर जाने बताउँछन्।

    “छोराछोरीको विद्यालय पनि सुरु भइ सक्यो । अब घरतिर जान्छौँ”, धनबहादुरले भने, “गीत गाउँदै देशका विभिन्न ठाउँ पुगिन्छ । सबैतिर माया गरेर सहयोग पाउँदा निकै खुसी लाग्छ ।” बाँसुरी, सारङ्गी, किबोर्ड, हार्मोनियम, मादललगायत वाद्ययन्त्र बजाउने गरेको उनी  बताउँछन्।


    प्रतिक्रिया दिनुहोस